BK Murli 2 April 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 2 April 2016 In Nepali

     20 चैत्र 2072 शनिवार 02.04.2016 प्रातः मुरली मधुबन

    “मीठे बच्चे– बाबा जो हुनुहुन्छ, जस्तो हुनुहुन्छ, तिमी बच्चाहरू मध्ये पनि नम्बरवार चिन्दछन्, यदि सबैले पहिचान गर्ने हो भने धेरै भीड मच्चिनेछ।”   

    प्रश्न:

    चारैतर्फ प्रत्यक्षताको आवाज कहिले फैलिन्छ?

    उत्तर:

    (१) जब मनुष्यलाई थाहा हुन्छ– स्वयं भगवान् यस पुरानो दुनियाँको विनाश गराएर नयाँ दुनियाँ स्थापना गर्न आउनुभएको छ। (२) हामी सबैको सद्गति गर्नेवाला बाबा हामीलाई भक्तिको फल दिन आउनुभएको छ। यो निश्चय भयो भने प्रत्यक्षता हुन्छ। चारैतर्फ हलचल मच्चिनेछ।

    गीतः–

    जो पिया के साथ है.......

    ओम् शान्ति।

    बच्चाहरूले गीतका दुई लाइन सुने। जो पियाको साथमा छन्... अब पिया को हो? यो दुनियाँले जान्दैन। धेरै बच्चाहरू छन्, तर उनीहरूमा पनि धेरै छन् जसले जान्दैनन्– कुन विधिले बाबालाई याद गर्नुपर्छ? त्यो याद गर्न आउँदैन। घरी-घरी भुल्छन्। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू आफूलाई आत्मा सम्झ, हामी बिन्दु हौं। बाबा, ज्ञानको सागर हुनुहुन्छ, उहाँलाई नै याद गर्नु छ। याद गर्ने यस्तो अभ्यास परोस् जसकारण याद टिकोस्। अन्तिममा यही याद रहोस्– म आत्मा हुँ, शरीर त छ तर यो ज्ञान बुद्धिमा राख्नु छ– म आत्मा हुँ। बाबाको निर्देशन मिलेको छ, म जो हुँ, त्यस रुपमा बिरलै कसैले याद गर्छन्। देह-अभिमानमा बच्चाहरू धेरै आउँछन्। बाबाले सम्झाउनुभएको छ, कसैलाई जबसम्म बाबाको परिचय दिँदैनौ तबसम्म केही पनि बुझ्न सक्दैनन्। पहिले त उनीहरूलाई यो थाहा होस्– उहाँ निराकार हाम्रो बाबा, गीताको भगवान् हुनुहुन्छ, उहाँ नै सबैको सद्गति दाता हुनुहुन्छ। उहाँ यस समय सद्गति गर्ने पार्ट खेलिरहनु भएको छ। यस प्वाइन्टमा निश्चयबुद्धि हुने हो भने फेरि जति पनि साधु-सन्त आदि छन्, सबै एक सेकेन्डमा आउनेछन्। यहाँ ठूलो हंगामा मच्चिनेछ। अहिले थाहा हुने हो कि यो दुनियाँ विनाश हुने वाला छ, यो कुराको निश्चय हुने हो भने मुम्बइ देखि लिएर आबूसम्म क्यू लाग्नेछ। तर यति छिटो कसैलाई निश्चय हुन सक्दैन। तिमी जान्दछौ– विनाश हुनु छ, यी सबै घोर निद्रामा सुति नै रहन्छन्। फेरि अन्त्य समय तिम्रो प्रभाव निस्कन्छ। सानिमाँको घर होइन जो यस कुरामा निश्चय होस्– गीताको भगवान् परमपिता परमात्मा शिव हुनुहुन्छ। यो प्रसिद्ध हुने हो भने सारा दुनियाँमा आवाज हुनेछ। अहिले त तिमीले एकलाई सम्झाउँछौ भने अर्काले भन्छ– तिमीलाई जादु लागेको छ। यो वृक्ष धेरै बिस्तारै बढ्नु छ। अहिले थोरै समय छ फेरि पनि पुरूषार्थ गर्नमा हर्जा छैन। तिमी ठूला-ठूला मानिसहरूलाई सम्झाउँछौ, तर उनीहरूले कहाँ बुझ्दछन् र? बच्चाहरू मध्ये पनि यस ज्ञानलाई बुझ्दैनन्। बाबाको याद छैन भने त्यो अवस्था हुँदैन। बाबा जान्नुहुन्छ– निश्चय केलाई भनिन्छ। अहिले त कोही १–२ प्रतिशत पनि मुश्किलले बाबालाई याद गर्छन्। बस्न त यहाँ बसेका छन्, बाबासँग त्यो प्रेम रहँदैन। यसमा प्रेम चाहिन्छ, तकदिर हुनुपर्छ। बाबासँग प्रेम हुने हो भने बुझ्नेछन्– मैले कदम-कदम श्रीमतमा चल्नु छ। हामी विश्वको मालिक बन्छौं। आधाकल्पको देह-अभिमान बसेको छ, त्यो अब देही-अभिमानी बन्नमा धेरै मेहनत लाग्छ। आफूलाई आत्मा सम्झिएर मस्ट बिलवेड बाबालाई याद गर्नु सानिमाँको घर होइन। उनीहरूको अनुहारमा नै रौनक आउँछ। कन्याले विवाह गर्छिन्, गहना आदि लगाउँछिन् भने अनुहारमा एकदम खुशी आउँछ। तर यहाँ त साजनलाई याद नै गर्दैनन् त्यसैले त्यो अनुहार ओइलाइरहन्छ। कुरै नगर। कन्याले विवाह गरिन् भने अनुहार खुशी हुन्छ। कसैको त विवाह पछि पनि अनुहार मुर्दाको जस्तो रहन्छ। किसिम-किसिमका हुन्छन्। कोही त अरुको घरमा गएपछि अलमलिन्छन्। त्यस्तै यहाँ पनि यस्तै छन्। बाबालाई याद गर्न मेहनत छ। यो गायन अन्त्यको हो– अतीन्द्रिय सुख गोपी वल्लभको गोप गोपीनीहरूसँग सोध। आफूलाई गोप गोपीनी सम्झिनु र निरन्तर बाबालाई याद गर्नु, त्यो अवस्था हुनेछ। बाबाको परिचय सबैलाई दिनु छ। बाबा आउनुभएको छ उहाँले वर्सा दिइरहनु भएको छ। यसमा सारा ज्ञान आउँछ। लक्ष्मी-नारायणले जब ८४ जन्म पूरा गरे तब बाबाले अन्त्यमा आएर उनीहरूलाई राजयोग सिकाएर राजाई दिनुभयो। लक्ष्मी-नारायणको यो चित्र हो नम्बरवन। तिमी जान्दछौ– उनीहरूले अघिल्लो जन्ममा यस्तो कर्म गरेका थिए, त्यही कर्म अहिले बाबाले सिकाइरहनु भएको छ। भन्नुहुन्छ– मनमनाभव, पवित्र बस। कुनै पनि पाप नगर किनकि तिमी अहिले स्वर्गको मालिक, पुण्य आत्मा बन्छौ। आधाकल्प माया रावणले पाप गराउँदै आएको छ। अब आफूसँग सोध्नु छ– मबाट कुनै पाप त हुँदैन? पुण्यको काम गरिरहन्छु? अन्धाको लट्ठी बनको छु? बाबा भन्नुहुन्छ– मनमनाभव। यो पनि सोध्नुपर्छ– मनमनाभव कसले भन्यो? उनीहरूले भन्छन्– कृष्णले भने। तिमी मान्दछौ– परमपिता परमात्मा शिवले भन्नुभयो। रात दिनको फरक छ। शिव जयन्तीको साथै गीता जयन्ती छ। गीता जयन्तीको साथै कृष्ण जयन्ती। 

    तिमी जान्दछौ– हामी भविष्यमा प्रिन्स बन्छौं। भिखारीबाट राजकुमार बन्नु छ। यो लक्ष्य-उद्देश्य नै राजयोगको हो। तिमी सिद्ध गरेर बताऊ– गीताको भगवान् श्रीकृष्ण थिएनन्, उहाँ त निराकार हुनुहुन्थ्यो। त्यसपछि सर्वव्यापीको ज्ञान उड्छ। सर्वका सद्गति दाता, पतित-पावन बाबा हुनुहुन्छ। भन्छन् पनि– उहाँ मुक्तिदाता हुनुहुन्छ, फेरि सर्वव्यापी भनिदिन्छन्। जे जति बोल्छन्, त्यसलाई बुझ्दैनन्। धर्मको बारेमा जो आउँछ, बोलिदिन्छन्। मुख्य धर्म छन् तीन। देवी देवता धर्म त आधाकल्प चल्छ। तिमी जान्दछौ– बाबा ब्राह्मण, देवता, क्षत्रिय धर्म स्थापना गर्नुहुन्छ। यो दुनियाँले जान्दैन। उनीहरूले त सत्ययुगलाई नै लाखौं वर्ष भनिदिन्छन्। आदि सनातन देवी-देवता धर्म हो सबैभन्दा उच्च, तर यिनीहरूले आफ्नो धर्मलाई भुलेर अधार्मिक बनेका छन्। क्रिश्चियनहरूले आफ्नो धर्मलाई छोड्दैनन्। उनीहरूले जान्दछन्– क्राइस्टले हाम्रो धर्म स्थापना गर्नुभएको थियो। इस्लामी, बौद्धी, फेरि क्रिश्चियन, यी हुन् मुख्य धर्महरू। बाँकी त साना साना धेरै छन्। कहाँबाट वृद्धि भयो? यो कसैले जान्दैन। मुहम्मदको अहिले थोरै समय भएको छ, इस्लामी पुरानो हो। क्रिश्चियन पनि प्रसिद्ध छ। बाँकी त कति छन्। सबैको आ-आफ्ना धर्म छन्। आफ्नो भिन्न-भिन्न धर्म, भिन्न-भिन्न नाम छन् त्यसैले अलमलिन्छन्। यो जान्दैनन्– मुख्य धर्मशास्त्र ४ छन्। यसमा डिटिज्म, ब्राह्मणिज्म पनि आउँछन्। ब्राह्मण सो देवता, देवता सो क्षेत्रिय, यो कसैलाई थाहा छैन। गायन गर्छन्– ब्राह्मण देवताए नमः। परमपिताले ब्राह्मण, देवता, क्षत्रिय धर्म स्थापना गर्नुभयो, शब्द छन् तर पढ्छन् यसरी मानौं सुगा। 

    यो काँडाको जंगल हो। भारतवर्ष फूलको बगैंचा थियो, यो पनि मान्दछन्। तर त्यो कहिले, कसरी, कसले बनाउनुभयो, परमात्मा के चीज हो? यो कसैले जान्दैन। त्यसैले अनाथ भए नि यसैले यी लडाईं झगडा आदि हुन्छन्। केवल भक्तिमा खुशी भइरहन्छन्। अहिले बाबा आउनुभएको छ उज्यालो बनाउन, सेकेन्डमा जीवनमुक्त बनाइदिनुहुन्छ। ज्ञान अन्जन सद्गुरू दिया, अज्ञान अन्धेर विनाश। अहिले तिमी जान्दछौ– हामी उज्यालोमा छौं। बाबाले तेस्रो नेत्र दिनुभएको छ। हुन त देवताहरूलाई तेस्रो नेत्र देखाउँछन् तर अर्थ जान्दैनन्। वास्तवमा तेस्रो नेत्र तिमीलाई छ। उनीहरूले फेरि दिएका छन् देवताहरूलाई। गीतामा ब्राह्मणहरूको कुनै कुरा छैन। त्यसमा त फेरि कौरव, पाण्डव आदिको लडाईं, घोडा-गाडी आदि लेखिदिएका छन्, केही पनि बुझ्दैनन्। तिमी सम्झाउँछौ भने भन्छन्– तपाईंहरू शास्त्र आदिलाई मान्नुहुन्न। तिमी भन्न सक्छौ– हामीले शास्त्रलाई मान्दछौं किन नमान्ने? जान्दछौं– यी सबै भक्ति मार्गका सामाग्री हुन्। गायन छ– ज्ञान र भक्ति। जब रावण राज्य हुन्छ तब भक्ति शुरु हुन्छ। देवताहरू वाम मार्गमा गएर धर्म भ्रष्ट र कर्म भ्रष्ट बन्छन् यसैले अहिले हिन्दू भनिदिएका छन्। पतित बनेका छन्। पतित कसले बनायो? रावणले। रावणलाई जलाउँछन् पनि, सम्झन्छन्– यो परमपरादेखि चलि आएको हो। तर सत्ययुगमा त रावण राज्य नै थिएन। केही पनि बुझ्दैनन्। मायाले बिलकुलै पत्थरबुद्धि बनाइदिएको छ। पत्थरबाट पारस बाबाले नै बनाउनु हुन्छ। जब कलियुगमा आउनुहुन्छ तब त आएर स्वर्णिमयुग स्थापना गर्नुहुन्छ। बाबा सम्झाउनु हुन्छ, फेरि पनि बडो मुश्किलले कसैको बुद्धिमा बस्छ। 

    तिमी कुमारीहरूको अहिले विवाह हुन्छ। तिमीलाई पटरानी बनाउनु हुन्छ। तिमीलाई भगाउनुभयो अर्थात् तिमी आत्माहरूलाई भन्नुहुन्छ– तिमी मेरा थियौ फेरि तिमीले मलाई भुल्यौ। देह-अभिमानी बनेर मायाको बन्यौ। बाँकी भगाउने त कुरै होइन। म एकलाई याद गर। यादको नै मेहनत छ। धेरै देह अभिमानमा आएर विकर्म गर्छौ। बाबा जान्नुहुन्छ, यो आत्माले मलाई याद नै गर्दैन। देह अभिमानमा आएर धेरै पाप गर्छन् भने पापको घडा सय गुणा भरिन्छ। अरुलाई मार्ग बताउनुको सट्टा स्वयंले नै भुल्दछन्। अझै दुर्गति प्राप्त गर्छन्। बडो उच्च लक्ष्य छ। चढ्यो भने वैकुण्ठ रस, गिर्यो भने चकनाचुर। यो राजाईं स्थापना भइरहेको छ। यसमा फरक हेर कति पर्छ। कोही त पढेर आकाशमा चढ्छन्, कोही जमीनमा नै रहन्छन्। बुद्धि डल भयो भने पढ्न सक्दैनन्। कसै कसैले भन्छन्– बाबा म कसैलाई सम्झाउन सक्दिनँ। भन्दछु, ठीक छ आफूलाई आत्मा सम्झेर, म बाबालाई याद गर्यौ भने म तिमीलाई सुख दिन्छु। तर याद नै गर्दैनन्। याद गर्ने हो भने अरुलाई याद दिलाइरहन्छन्। बाबालाई याद गर्ने हो भने पाप नष्ट हुने थियो। उहाँको याद विना तिमी सुखधाम जान सक्दैनौ। २१ जन्मको वर्सा निराकार बाबाबाट मिल्न सक्छ। बाँकी त सबै अल्पकालको सुख दिनेवाला हुन्। कसैलाई रिद्धि सिद्धिद्वारा बच्चा मिल्यो वा आशीर्वादबाट लटरी मिल्यो भने विश्वास बसिहाल्छ। कसैलाई २-४ करोड फाइदा भयो भने धेरै महिमा गर्छन्। तर त्यो त हो अल्पकालको लागि। २१ जन्मको लागि हेल्थ वेल्थ त मिल्न सक्दैन नि। तर मनुष्यले जान्दैनन्। दोष पनि दिन सकिँदैन। अल्पकालको सुखमा नै खुशी हुन्छन्। बाबाले तिमी बच्चाहरूलाई राजयोग सिकाएर स्वर्गको बादशाही दिनुहुन्छ। कति सहज छ। कसैले त बिलकुल सम्झाउन सक्दैनन्। कसैले बुझ्दछन् पनि, तर योग पूरा न हुने भएकाले कसैलाई तीर लाग्दैन। देह अभिमानमा आउनाले केही न केही पाप भइरहन्छ। योग नै मुख्य हो। तिमी योगबलद्वारा विश्वको मालिक बन्छौ। प्राचीन योग भगवान्ले सिकाउनुभएको थियो, न कि श्रीकृष्णले। यादको यात्रा बडो राम्रो छ। तिमीले ड्रामा देखेर आयौ भने बुद्धिमा सारा सामुन्ने आउँछ। कसैलाई बताउनमा समय लाग्छ। यो पनि यस्तो हो। बीज र वृक्ष। यो चक्र बडो स्पष्ट छ। शान्तिधाम, सुखधाम, दुःखधाम...... सेकेन्डको काम हो नि। तर याद रहे त हो नि। मुख्य कुरा हो बाबाको परिचय। बाबा भन्नुहुन्छ– मलाई याद गर्नाले तिमीले सबै कुरा जान्दछौ। अच्छा! 

    शिवबाबाले तिमी बच्चाहरूलाई याद गर्नुहुन्छ, ब्रह्मा बाबाले याद गर्दैनन्। शिवबाबाले जान्नुहुन्छ– मेरा सपूत बच्चाहरू को को हुन्? सेवाधारी सपूत बच्चाहरूलाई त याद गर्छु। यिनले कहाँ कसैलाई याद गर्छन् र। यिनको आत्मालाई त निर्देशन छ– म एकलाई याद गर। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) भाग्यवान बन्नको लागि एक बाबासँग सच्चा सच्चा प्रेम राख्नु छ। प्रेम गर्नु अर्थात् कदम कदम एकको नै श्रीमतमा चलिरहनु।

    २) सधैं पुण्यको काम अवश्य गर्नु छ। सबैभन्दा ठूलो पुण्य हो सबैलाई बाबाको परिचय दिनु। बाबालाई याद गर्नु र सबैलाई बाबाको याद दिलाउनु।

    वरदान:

    समझदार बनेर तीन प्रकारको सेवा साथ साथै गर्ने सफलतामूर्त भव:-  

    वर्तमान समय अनुसार मनसा वाचा र कर्मणा तीनै प्रकारको सेवा साथ साथै हुनुपर्छ। वाणी र कर्मको साथै मनसा शुभ संकल्प वा श्रेष्ठ वृत्तिद्वारा सेवा गरिरह्यौ भने फल फलीभूत हुन्छ किनकि वाणीमा शक्ति तब आउँछ जब मनसा शक्तिशाली हुन्छ, नत्र बोल्नेवाला पण्डित समान हुन्छन् किनकि सुगाले जस्तै पढेर रिपिट गर्छन्। ज्ञानी अर्थात् समझदार। तीनै प्रकारका सेवा साथ साथै गर्छन् र सफलताको वरदान प्राप्त गर्छन्।

    स्लोगन:

    आफ्नो हर बोल, कर्म र दृष्टिद्वारा हर आत्मालाई शान्ति, शक्ति वा खुशीको अनुभव गराउनु नै महान् आत्माहरूको महानता हो।   

     
    ***OM SHANTI***