BK Murli 20 April 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 20 April 2016 In Nepali

    ०८ बैशाख 2072 बुधबार 20.04.2016 प्रातः मुरली मधुबन

    “मीठे बच्चे– तिमी बाबाद्वारा सम्मुख पढिरहेका छौ, तिमी सत्ययुगी बादशाहीको लायक बन्नको लागि पावन अवश्य बन्नु छ।”  

    प्रश्न:

    बाबाको कुन कर्तव्यलाई तिमी बच्चाहरूले नै जान्दछौ?

    उत्तर:

    तिमी जान्दछौ– हाम्रो बाबा पिता, टिचर र सतगुरू पनि हुनुहुन्छ। बाबा पुरानो दुनियाँलाई नयाँ बनाउन, एक आदि सनातन धर्मको स्थापना गर्न कल्पको संगमयुगमा नै आउनुहुन्छ। बाबाले अहिले हामी बच्चाहरूलाई मनुष्यबाट देवता बनाउनको लागि पढाइरहनु भएको छ। यो कर्तव्यलाई हामी बच्चाहरू बाहेक अरु कसैले जान्दैन।

    गीतः–

    भोलेनाथ से निराला...

    ओम् शान्ति।

    ओम् शान्तिको अर्थ त बच्चाहरूलाई घरी-घरी सम्झाइएको छ। ओम् अर्थात् म आत्मा हुँ र यो मेरो शरीर हो। शरीरले पनि भन्न सक्छ– यो मेरो आत्मा हो। जसरी शिव बाबाले भन्नुहुन्छ– तिमी मेरा हौ। बच्चाहरूले भन्छन्– बाबा हजुर हाम्रो हुनुहुन्छ। त्यसरी आत्माले पनि भन्छ मेरो शरीर। शरीरले भन्छ मेरो आत्मा। अहिले आत्माले जान्दछ– म अविनाशी हुँ। आत्मा विना शरीरले केही गर्न सक्दैन। भन्दछन्– मेरो आत्मालाई दुःख नदेऊ। मेरो आत्मा पाप आत्मा हो वा मेरो आत्मा पुण्य आत्मा हो। तिमीले जान्दछौ– मेरो आत्मा सत्ययुगमा पुण्य आत्मा थियो। आत्माले स्वयं पनि भन्छ– म सत्ययुगमा सतोप्रधान वा सच्चा सुन थिएँ। सुन त थिएन, यो एक उदाहरण दिइन्छ। मेरो आत्मा पवित्र थियो, गोल्डन एजेड थियो। अहिले त भन्छ– म अपवित्र छु। दुनियाँले यो जान्दैनन्। तिमीलाई त श्रीमत मिल्छ। तिमीले अहिले जान्दछौ– हाम्रो आत्मा सतोप्रधान थियो, अहिले तमोप्रधान बनेको छ। हरेक चीज यस्तो हुन्छ। बाल, युवा, वृद्ध.... हरेक चीज नयाँबाट पुरानो अवश्य हुन्छ। दुनियाँ पनि पहिले गोल्डन एजेड, सतोप्रधान थियो फेरि तमोप्रधान, आइरन एजेड छ, त्यसैले दुःखी छ। सतोप्रधान अर्थात् सुध्रेको, तमोप्रधान अर्थात् बिग्रेको। गीतमा पनि भनिएको छ– बिग्रेकोलाई बनाउनेवाला... पुरानो दुनियाँ बिग्रेको छ किनकि रावणको राज्य छ र सबै पतित छन्। सत्ययुगमा सबै पावन थिए, त्यसलाई नयाँ निर्विकारी दुनियाँ भनिन्छ। यो हो पुरानो विकारी दुनियाँ। अहिले कलियुग आइरन एज हो। यी सबै कुरा कुनै विद्यालय, कलेजमा पढाइँदैन। भगवानले आएर पढाउनुहुन्छ र राजयोग सिकाउनुहुन्छ। गीतामा लेखिएको छ भगवानुवाच– श्रीमत भगवत गीता। श्रीमत अर्थात् श्रेष्ठ मत। सर्वश्रेष्ठ, सर्वोच्च भगवान हुनुहुन्छ। उहाँको नाम एक्यूरेट शिव हो। रूद्र जयन्ती वा रूद्र रात्रि कहिल्यै सुनेका छैनौ। शिवरात्रि भन्दछन्। शिव त निराकार हुनुहुन्छ। अब निराकारको रात्रि वा जयन्ती कसरी मनाउने? कृष्णको जयन्ती त ठीक छ। फलानोका बच्चा हुन्, उनको तिथि मिति देखाउँछन्। शिवको लागि त कसैले जान्दैन कहिले जन्मिनु भयो? यो त जान्नुपर्छ नि। अब तिमीलाई समझ मिलेको छ– श्रीकृष्णले सत्ययुग आदिमा कसरी जन्म लिए। तिमी भन्छौ– उनको त ५ हजार वर्ष भयो। उनीहरूले पनि भन्छन्– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिले भारतवर्ष प्याराडाइज थियो। इस्लामीहरू भन्दा पहिले चन्द्रवंशी, उनीहरू भन्दा अगाडि सूर्यवंशी थिए। शास्त्रहरूमा सत्ययुगको आयु लाखौं वर्ष बताएका छन्। गीता हो मुख्य। गीताबाट नै देवी-देवता धर्म स्थापना भयो। त्यो सत्ययुग-त्रेतासम्म चल्यो अर्थात् गीता शास्त्रबाट आदि सनातन देवी-देवता धर्मको स्थापना, परमपिता परमात्माले गर्नुभयो। त्यसपछि त आधाकल्पसम्म न कुनै शास्त्र भयो, न कुनै धर्म स्थापक भए। बाबाले आएर ब्राह्मणहरूलाई देवता-क्षत्रिय बनाउनुभयो। बाबाले ३ वटा धर्मको स्थापना गर्नुहुन्छ। यो हो श्रेष्ठ धर्म। यसको आयु थोरै हुन्छ। सर्व शास्त्रमयी शिरोमणि गीता भगवानले उच्चारण गर्नुभएको हो। बाबा पुनर्जन्ममा आउनुहुन्न। जन्म हुन्छ तर बाबाले भन्नुहुन्छ– म गर्भमा आउँदिन। मेरो पालना हुँदैन। सत्ययुगमा पनि जो बच्चाहरू हुन्छन्, उनीहरू गर्भ महलमा रहन्छन्। रावण राज्यमा गर्भजेलमा आउनुपर्छ। पाप जेलमा भोगिन्छ। गर्भमा शपथ खान्छन्– म पाप गर्ने छैन, तर यो हो नै पाप आत्माहरूको दुनियाँ। बाहिर निस्केपछि फेरि पाप गर्न थाल्छन्। वहाँको वहाँ रहन्छ... यहाँ पनि धेरै प्रतिज्ञा गर्छन्, हामी पाप गर्ने छैनौं। एक-अर्कामा काम-कटारी चलाउने छैनौं किनकि यो विकारले नै आदि-मध्य-अन्त्य दुःख दिन्छ। सत्ययुगमा विष हुँदैन। मनुष्यले आदि-मध्य-अन्त्य २१ जन्म दुःख भोग्दैनन् किनकि रामराज्य हो। त्यसको स्थापना अहिले बाबाले फेरि गरिरहनु भएको छ। संगममा नै स्थापना हुन्छ नि। जति पनि धर्म स्थापना गर्न आउँछन्, उनीहरूले कुनै पनि पाप गर्नु छैन। आधा समय छ पुण्य आत्मा, फेरि आधा कल्प पछि पाप आत्मा बन्छन्। तिमी सत्ययुग त्रेतामा पुण्य आत्मा रहन्छौ, फेरि पाप आत्मा बन्छौ। सतोप्रधान आत्मा जब माथिबाट आउँछ, उसले सजाय खान सक्दैन। क्राइस्टको आत्मा धर्म स्थापना गर्न आयो, उनलाई कुनै सजाय मिल्न सक्दैन। भन्छन्– क्राइष्टलाई क्रुसमा चढाए तर उनको आत्माले कुनै विकर्म गरेकै छैन। उनले जसको शरीरमा प्रवेश गर्छन्, उसलाई दुःख हुन्छ। उसले सहन गर्छ। जसरी यिनमा बाबा आउनुहुन्छ, उहाँ त हुनुहुन्छ नै सतोप्रधान। कुनै पनि दुःख, कष्ट यिनको आत्मालाई हुन्छ, शिवबाबालाई हुँदैन। उहाँ त सदैव सुख-शान्तिमा रहनुहुन्छ। एभर सतोप्रधान हुनुहुन्छ। तर आउन त यस पुरानो शरीरमा आउनुहुन्छ नि। हुन त क्राइस्टको आत्माले जुन शरीरमा प्रवेश गर्यो, त्यस शरीरलाई दुःख हुन सक्छ, क्राइस्टको आत्माले दुःख भोग्न सक्दैन किनकि सतो-रजो-तमोमा आउँछ। नयाँ-नयाँ आत्मा आउँछन् नि। उनीहरूलाई अवश्य पहिले सुख भोग्नुपर्छ, दुःख भोग्न सक्दैन। नियमले भन्दैन। यिनमा बाबा बस्नुभएको छ, कुनै पनि कष्ट यिनलाई हुन्छ, नकि शिवबाबालाई। यी कुरा तिमीले जान्दछौ, अरु कसैलाई थाहा छैन। 

    यो सबै रहस्य अहिले बाबाले बसेर सम्झाउनुहुन्छ। यस सहज राजयोगबाट नै स्थापना भएको थियो फेरि भक्तिमार्गमा यी नै कुराको गायन हुन्छ। यस संगममा जे-जति हुन्छ, त्यो नै गाइन्छ। 

    भक्तिमार्ग शुरु हुन्छ, फेरि शिवबाबाको पूजा हुन्छ। सबैभन्दा पहिले भक्ति कसले गर्छ, उनै लक्ष्मी-नारायणले जब राज्य गर्थे, पूज्य थिए फेरि वाममार्गमा आउँछन् अनि पूज्यबाट पुजारी बन्छन्। बाबाले सम्झाउनुहुन्छ– तिमी बच्चाहरूलाई सबैभन्दा पहिले बुद्धिमा आउनुपर्छ– निराकार परमपिता परमात्माले यिनीद्वारा हामीलाई पढाउनुहुन्छ। यस्तो ठाउँ सारा विश्वमा अन्त कहीँ हुन सक्दैन, जहाँ यसरी सम्झाइयोस्। बाबाले नै आएर फेरि स्वर्गको वर्सा दिनुहुन्छ। त्रिमूर्तिको तल लेखिएको छ– दैवी राज्य तिम्रो ईश्वरीय जन्मसिद्ध अधिकार हो। शिवबाबाले आएर तिमी बच्चाहरूलाई स्वर्गको बादशाहीको वर्सा दिइरहनु भएको छ, लायक बनाइरहनुभएको छ। तिमीले जान्दछौ– बाबाले हामीलाई लायक बनाइरहनु भएको छ, हामी पतित थियौं नि। पावन बनेपछि फेरि यो शरीर रहने छैन। रावणद्वारा हामी पतित बनेका छौं फेरि परमपिता परमात्माले पावन बनाएर पावन दुनियाँको मालिक बनाउनुहुन्छ। उहाँ नै ज्ञानको सागर पतित-पावन हुनुहुन्छ। उहाँ निराकार बाबाले हामीलाई पढाइरहनु भएको छ। सबैले त एकै ठाउँमा पढ्न सक्दैनन्। सम्मुखमा तिमी थोरै बसेका छौ। बाँकी सबै बच्चाहरूले जान्दछन्– अहिले शिवबाबाले ब्रह्माको तनमा बसेर सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाइरहनु भएको छ। त्यो मुरली छापिएर आउँछ। अरु सत्सङ्गमा यस्तो कहाँ सम्झन्छन् र! आजकल टेप मेशीन पनि निस्केको छ यसैले भरेर पठाइन्छ। उनीहरूले भन्छन्– फलानो नामवाला गुरूले सुनाउँछन्, बुद्धिमा मनुष्य नै रहन्छ। यहाँ त त्यस्तो कुरा छैन। यहाँ त निराकार बाबा ज्ञानका सागर हुनुहुन्छ। मनुष्यलाई ज्ञानका सागर भनिंदैन। गाउँछन्– गाड फादर इज नलेजफुल, पीसफुल, ब्लिसफुल। त्यसैले उहाँको वर्सा पनि चाहिन्छ नि। उहाँमा जो गुणहरू छन् ती बच्चाहरूलाई मिल्नुपर्छ, अहिले मिलिरहेको छ। गुणहरूलाई धारण गरेर हामी यस्तो लक्ष्मी-नारायण बनिरहेका छौं। सबै त राजा-रानी बन्दैनन्। गायन छ– राजा-रानी मन्त्री... वहाँ मन्त्री पनि हुँदैन। महाराजा-महारानीमा पावर रहन्छ। जब विकारी बन्छन् तब मन्त्री आदि हुन्छन्। पहिले मन्त्री आदि पनि थिएनन्। वहाँ त एक राजा-रानीको राज्य चल्थ्यो। उनलाई मन्त्रीको के आवश्यकता? राय लिने आवश्यकता रहँदैन, जबकि स्वयं मालिक हुन्छन्। यो हो इतिहास-भूगोल। तर सबैभन्दा पहिले त उठ्दा-बस्दा यो बुद्धिमा आउनुपर्छ– हामीलाई बाबाले पढाउनुहुन्छ, योग सिकाउनुहुन्छ। यादको यात्रामा रहनु छ। अब नाटक पूरा हुन्छ। हामी बिल्कुलै पतित बनेका छौं किनकि विकारमा जान्छौं यसैले पाप आत्मा भनिन्छ। सत्ययुगमा पाप आत्मा हुँदैनन्। वहाँ हुन्छन् पुण्य आत्माहरू। त्यो हो प्रारब्ध, जसको लागि तिमी अहिले पुरूषार्थ गरिरहेका छौ। तिम्रो हो यादको यात्रा, जसलाई भारतको योग भन्दछन्। तर अर्थ त बुझ्दैनन्। योग अर्थात् याद, जसले विकर्म विनाश हुन्छन्, फेरि यो शरीर छोडेर घर जान्छौं। त्यसलाई प्यारो घर भनिन्छ। आत्माले भन्छ– हामी त्यस शान्तिधामको निवासी हौं। हामी वहाँबाट नांगै (अशरीरी) आएका हौं, यहाँ पार्ट खेल्नको लागि शरीर लिएका हौं। यो पनि सम्झाइएको छ– माया ५ विकारलाई भनिन्छ। यी ५ भूतहरू हुन्। कामको भूत, क्रोधको भूत, नम्बरवन हो देह-अभिमानको भूत। बाबाले सम्झाउनुहुन्छ– सत्ययुगमा यी विकार हुँदैनन्, त्यसलाई निर्विकारी दुनियाँ भनिन्छ। विकारी दुनियाँलाई निर्विकारी बनाउनु, यो त बाबाको नै काम हो। उहाँलाई नै सर्वशक्तिमान ज्ञानको सागर, पतित-पावन भनिन्छ। यस समयमा सबै भ्रष्टाचारबाट पैदा हुन्छन्। सत्ययुगमा नै निर्विकारी दुनियाँ हुन्छ। बाबा भन्नुहुन्छ– अब तिमीलाई विकारीबाट निर्विकारी बन्नु छ। भन्छन्– यो विना बच्चा कसरी पैदा हुन सक्छ? बाबाले सम्झाउनुहुन्छ– अहिले तिम्रो यो अन्तिम जन्म हो। मृत्युलोक नै खतम हुनु छ फेरि यसपछि विकारी मनुष्य हुने छैनन्, यसैले बाबासँग पवित्र बन्ने प्रतिज्ञा गर्नु छ। भन्छन्– बाबा हामी हजुरबाट अवश्य वर्सा लिन्छौं। उनीहरूले झूठो कसम खान्छन्। जुन ईश्वरको लागि कसम खान्छन्, उहाँलाई त जान्दै जान्दैनन्। उहाँ कहिले कसरी आउनुहुन्छ, उहाँको नाम रुप देश काल के हो, केही पनि जान्दैनन्। बाबा आएर आफ्नो परिचय दिनुहुन्छ। अहिले तिमीलाई परिचय मिलिरहेको छ। सारा दुनियाँमा कसैले पनि ईश्वर पितालाई जान्दैनन्। बोलाउँछन् पनि, पूजा पनि गर्छन् तर कर्तव्यलाई जान्दैनन्। अहिले तिमीले जान्दछौ– परमपिता परमात्मा हाम्रो बाबा, टिचर, सतगुरू हुनुहुन्छ। बाबाले स्वयं परिचय दिनुभएको छ– म तिम्रो पिता हुँ। मैले यस शरीरमा प्रवेश गरेको छु। प्रजापिता ब्रह्माद्वारा स्थापना हुन्छ। कसको? ब्राह्मणहरूको। फेरि तिमी ब्राह्मण पढेर देवता बन्छौ। म आएर तिमीलाई शूद्रबाट ब्राह्मण बनाउँछु। बाबा भन्नुहुन्छ– म आउँछु नै कल्पको संगमयुगमा। कल्प ५ हजार वर्षको छ। यो सृष्टिचक्र त घुमिरहन्छ। म आउँछु पुरानो दुनियाँलाई नयाँ बनाउन। पुरानो धर्मको विनाश गराउन फेरि मैले आदि सनातन देवी-देवता धर्मको स्थापना गर्छु। बच्चाहरूलाई पढाउँछु फेरि तिमी पढेर २१ जन्मको लागि मनुष्यबाट देवता बन्छौ। देवताहरू त सूर्यवंशी, चन्द्रवंशी, प्रजा सबै हुन्छन्। बाँकी पुरूषार्थ अनुसार उच्च पद पाउँछन्। अहिले जसले जति पुरूषार्थ गर्छ, त्यही कल्प-कल्प चल्छ। सम्झन्छन्– कल्प-कल्प यस्तै पुरूषार्थ गर्छु, यस्तै पद गएर पाउँछु। यो तिमी बच्चाहरूको बुद्धिमा छ– हामीलाई निराकार भगवानले पढाउनुहुन्छ। उहाँलाई याद गर्नाले नै विकर्म विनाश हुन्छन्। याद गरे विना विकर्म विनाश हुन सक्दैनन्। मनुष्यहरूलाई यो पनि थाहा छैन– हामीले कति जन्म लिन्छौं। शास्त्रमा कसैले गफ लगाइदिएका छ– ८४ लाख जन्म। अहिले तिमीले जान्दछौ– ८४ जन्म हुन्छन्। यो अन्त्यको जन्म हो फेरि हामी स्वर्गमा जानु छ। पहिले मूलवतनमा गएर फेरि स्वर्गमा आउँछौं। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) बाबासँग जुन पवित्र बन्ने प्रतिज्ञा गरेका छौ, त्यसमा पक्का रहनु छ। काम, क्रोध आदि भूतहरूमाथि विजय अवश्य पाउनु छ।

    २) हिँड्दा-डुल्दा, हरेक कार्य गर्दा पढाउनेवाला बाबालाई याद राख्नु छ। अब नाटक पूरा भइरहेको छ यसैले यस अन्तिम जन्ममा पवित्र अवश्य बन्नु छ।

    वरदान:

    आफ्नो भाग्य र भाग्य विधाताको स्मृतिद्वारा सबै उल्झनहरूबाट मुक्त रहने मास्टर रचयिता भव:-  

    सदा वाह मेरो भाग्य र वाह भाग्य विधाता! यस मनको सूक्ष्म आवाजलाई सुनेर खुशीमा नाँचिराख। जान्नु थियो त्यो जान्यौं, पाउनु थियो त्यो पायौं– यसै अनुभवमा रह्यौ भने सबै उल्झनहरूबाट मुक्त हुन्छौ। अब उल्झनमा परेका आत्माहरूलाई निकाल्ने समय हो यसैले मास्टर सर्वशक्तिमान हुँ, मास्टर रचयिता हुँ– यही स्मृतिद्वारा बचपनको सानो-सानो कुरामा समय नगुमाऊ।

    स्लोगन:

    कमल आसनधारी नै मायाको आकर्षणबाट न्यारा, बाबाको स्नेहमा प्यारा, श्रेष्ठ कर्मयोगी हो।   




    ***OM SHANTI***