BK Murli 9 June 2016 Nepali

BK Murli 9 June 2016 Nepali

२७ जेष्ठ २०७३ बिहिबार 9.06.2016 बापदादा मधुबन

“मीठे बच्चे– यस दुनियाँमा निष्काम सेवा केवल एक बाबाले नै गर्नुहुन्छ। तिमीले जुन कर्म गर्छौ त्यसको फल अवश्य मिल्छ।”  

प्रश्न:

ड्रामा अनुसार कुनचाहिँ कुरा १०० प्रतिशत निश्चित छ, जसको तिमी बच्चाहरूलाई खुशी छ?

उत्तर:

ड्रामा अनुसार निश्चित छ– नयाँ राजधानी स्थापना हुनु नै छ। तिमी बच्चाहरूलाई खुशी छ– श्रीमत अनुसार हामीले आफ्नो लागि राजधानी स्थापना गरिरहेका छौं। यस पुरानो दुनियाँको विनाश त हुनु नै छ। तिमी बच्चाहरूले जति पुरूषार्थ गर्छौ, उति उच्च पद मिल्छ।

गीतः–

तुम्हें पाके हमने जहाँ पा लिया है.....

ओम् शान्ति।

जे बच्चाहरूले भन्छन्, बाबाले पनि त्यही भन्नुहुन्छ। बच्चाहरूले भन्छन्– बाबा, हजुरलाई पाएर हामी स्वर्गको मालिक बन्छौं। बाबाले पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू मनमनाभव। कुरा एकै भयो। सबैले सोध्छन्– ब्रह्माकुमार कुमारीहरूलाई यस सत्सङ्गमा गएर के मिल्छ? तिमीले भन्छौ– हामी बापदादाद्वारा विश्वको मालिक बन्छौं। विश्वको मालिक अरु कोही बन्न सक्दैन। विश्वको मालिक यी लक्ष्मी-नारायण नै हुन्, शिवबाबा त विश्वको मालिक हुन सक्नुहुन्न। तिमी बच्चाहरू विश्वको मालिक बन्छौ। तिम्रो बाबा विश्वको मालिक बन्नुहुन्न। यस्तो निष्काम सेवा गर्ने अरु कोही हुन सक्दैन। हरेकलाई आफ्नो सेवाको फल अवश्य मिल्छ। भक्ति मार्गमा वा कुनै पनि प्रकारले जसले जे गर्छन्.... समाजसेवीलाई पनि सेवाको फल अवश्य मिल्छ। सरकारबाट तलब मिल्छ। बाबा भन्नुहुन्छ– एक मैले नै निष्काम सेवा गर्छु, बच्चाहरूलाई विश्वको मालिक बनाउँछु, म बन्दिनँ। बच्चाहरूलाई सुखी बनाएर, सुखधामको मालिक बनाएर, २१ जन्मको सुख दिएर म आफ्नो निर्वाणधाममा वा वानप्रस्थ अवस्थामा बस्छु। वानप्रस्थ त मूलवतनलाई नै भनिन्छ। मनुष्यले वानप्रस्थ लिन्छन्। बच्चाहरूलाई सबैथोक दिएर गएर सत्सङ्ग आदि गर्छन्। गुरू गर्छन्, ताकि उनले मुक्तिको मार्ग बताउनेछन्। अब तिमी बच्चाहरूले बुझिसकेका छौ– मुक्ति जीवनमुक्तिको मार्ग कुनै मनुष्यले कहिल्यै कसैलाई बताउन सक्दैनन्। उनीहरूले कसैलाई पनि सद्गति दिन सक्दैनन्। आफूलाई पनि दिन सक्दैनन्। आफूलाई दिए त फेरि अरुलाई पनि दिन सक्ने थिए। बाबा आउनुहुन्छ नै परमधामबाट। उहाँ वहाँका निवासी हुनुहुन्छ, तिमी बच्चाहरू पनि वहाँका निवासी हौ। तिमीले पार्ट खेल्नु छ, यस कर्मक्षेत्रमा। बाबा पनि एक पटक यहाँ आउनुपर्छ तिमी बच्चाहरूको लागि। स्वर्गको स्थापना भइरहेको छ त्यसैले अवश्य नर्कको विनाश हुनु नै छ।

अहिले तिमीले बुझिसकेका छौ– शिवबाबाले ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको स्थापना गरिरहनु भएको छ। तिमीले जान्दछौ– हामी मनुष्यबाट देवता बनिरहेका छौं, फेरि। तिमी बच्चाहरूको बुद्धिमा छ– हर ५ हजार वर्षपछि हामी आएर फेरि ब्रह्माद्वारा शिवबाबाका बच्चा बन्छौं, वर्सा प्राप्त गर्नको लागि। पतित-पावन उहाँलाई भनिन्छ। नलेजफुल, ज्ञानका सागर पनि हुनुहुन्छ। योग अर्थात् याद सिकाउनु हुन्छ तर निराकारले कसरी सम्झाउने? यसैले भन्नुहुन्छ– ब्रह्माद्वारा मनुष्यबाट देवता बनाउँछु अर्थात् देवी-देवता धर्मको स्थापना गराउँछु। अहिले त्यो धर्म छँदै छैन, फेरि बनाउनुपर्छ। अब फेरि आदि सनातन देवी-देवता धर्मको स्थापना गरेर बाँकी सबैलाई मुक्तिधाममा लैजान्छु। भारतवर्ष प्राचीन खण्ड हो यसैले यहाँको जनसंख्या वास्तवमा सबैभन्दा धेरै हुनुपर्छ। यस्तो कुरा अरु कसैको बुद्धिमा आउँदैन। आदि सनातन देवी-देवता धर्म सबैभन्दा बढी हुनुपर्छ। ५ हजार वर्ष देखि उनीहरूको वृद्धि भइरहन्छ। बाँकी अरु त आउँछन् नै २५०० वर्ष पछि। इस्लामीहरूको जनसंख्या कम हुनु पर्ने हो। फेरि थोरै समय पछि बौद्ध धर्मका आउँछन्, त्यसैले उनीहरूमा थोरै फरक हुनुपर्छ। इस्लामी, बौद्धी आदि पहिले सतोप्रधान हुन्छन्, फेरि बिस्तारै-बिस्तारै तमोप्रधान बन्छन्। यो पनि हिसाब हो। जो अनन्य समझदार बच्चाहरू छन्, उनीहरूले विचार चलाउनुपर्छ। आजकल लेख्छन्– चाइनीज सबैभन्दा बढी छन्। तर उनीहरूलाई सृष्टि चक्रको ज्ञान त छँदै छैन। यो सबै रहस्य तिमी बच्चाहरूको बुद्धिमा छ। जो पढे-लेखेका छन्, उनीहरूलाई विस्तार पूर्वक सम्झाउनुपर्छ। देवी-देवता धर्म भएको ५ हजार वर्ष भयो। त्यसैले यस समय उनीहरूको संख्या धेरै हुनुपर्छ। तर देवी-देवता धर्मका फेरि अन्य धर्महरूमा परिवर्तित भएका छन्। पहिला शुरुमा धेरै मुसलमान बने, फेरि बौद्धी पनि धेरै बनेका छन्। यहाँ पनि बौद्धी धेरै छन्, क्रिश्चियन त असंख्य छन्। देवता धर्मको त नाम नै छैन। यदि हामीले ब्राह्मण धर्म भन्छौं भने पनि हिन्दूको लाइनमा लेखिदिन्छन्। अब तिमीले जान्दछौ– आदि सनातन देवी-देवता धर्मको स्थापना भइरहेको छ, हामी ब्राह्मणहरूद्वारा, श्रीमत अनुसार। यो पनि समझ हुनुपर्छ। धर्मको गायन त गरिन्छ नि। यहाँका मनुष्यले आफूलाई हिन्दूको लाइनमा ल्याउँछन्। भन्दछन्– हिन्दू आर्य धर्म हो, सबैभन्दा पुरानो हो। हिन्दूहरू पहिला शुरुमा आर्य (पवित्र) थिए, धेरै धनवान थिए, अब अनआर्य बनेका छन्। कुनै अक्कल छैन, जसलाई जे आयो, त्यही धर्मको नाम राखिदिन्छन्। वृक्षमा पछि गएर साना-साना हाँगा, पातहरू निस्किन्छन्। नयाँको थोरै मान हुन्छ। 

अहिले तिमी बच्चाहरूले जान्दछौ– हामीले बाबासँग स्वर्गको वर्सा लिइरहेका छौं। त्यसैले यस्तो वर्सा दिने बाबालाई कति याद गर्नुपर्छ। तिमीले जति धेरै याद गर्छौ, एक त वर्सा मिल्छ र तिमी पावन बन्छौ। लौकिक पितासँग त धनको वर्सा मिल्छ। साथ-साथ फेरि पतित बन्ने पनि वर्सा मिल्छ। उहाँ लौकिक पिता, उहाँ पारलौकिक पिता र यी हुन् बीचमा अलौकिक पिता। यिनलाई बीचमा दुवै तर्फबाट जोडिन्छ। शिवबाबालाई त कुनै कष्ट हुँदैन, यिनले कति गाली खानुपर्छ। वास्तवमा कृष्णलाई गाली मिल्दैन। यिनी बीचमा फँसेका छन्। भन्दछन् नि– हिँड्दै जाँदा ब्राह्मण फँस्यो। गाली खानको लागि यी फँसेका छन्। अलौकिक बाबालाई नै सहन गर्नुपर्छ। यो कसैलाई थाहा छैन– शिवबाबा यिनमा प्रवेश गरेर पतितहरूलाई पावन बनाउनु हुन्छ। पवित्र बन्दा नै पिटाई खान्छन्। बाबा भन्नुहुन्छ– म आएको हुँ सबैलाई फर्काएर लैजान। तिमीले जान्दछौ– मृत्यु सामुन्ने खडा छ। विनाश त अवश्य हुनुपर्छ। विनाश विना सुख-शान्ति कसरी हुन सक्छ? जब कुनै लडाई आदि भयो भने मनुष्यले यज्ञ आदि रच्छन्, लडाई बन्द होस् भनेर। तिमी ब्राह्मण कुलभूषणले जान्दछौ– विनाश त अवश्य हुन्छ। नत्र स्वर्गको द्वार कसरी खुल्न सक्छ? सबै स्वर्गमा त आउँदैनन्। जसले पुरूषार्थ गर्छन्, उनै जान्छन्, बाँकी जान्छन् मुक्तिधाममा। यो कसैलाई पनि थाहा नभएका हुनाले कति डराउँछन्। शान्तिको लागि कति धक्का खान्छन्। सम्मेलन गरिरहन्छन्। केवल तिमी ब्राह्मणहरूले नै जान्दछौ– सुखधाम, शान्तिधामको कसरी स्थापना भइरहेको छ। विनाश नभइकन स्थापना हुन सक्दैन। तिमी अहिले त्रिकालदर्शी बनेका छौ। ज्ञानको तेस्रो नेत्र मिलेको छ। उनीहरूले त भनिरहन्छन्– शान्ति कसरी होला? अर्थात् कोही पनि लडाईं नगरुन्। सबैले भन्छन् एकता हुनुपर्छ। बाबाको मत छ– हामी सबै एक बाबाका बच्चाहरू भाइ-भाइ हौं, अनि मात्र एकता हुन्छ। एकै बाबाका बच्चाहरू हौं, त्यसैले आपसमा लडाईं गर्नु हुँदैन। यो त सत्ययुगमा नै थियो। वहाँ कुनै पनि आपसमा लडाईं गर्दैनन्। त्यो त सत्ययुगको कुरा भयो, यहाँ त छ कलियुग। वास्तवमा सत्ययुगमा देवता थिए, बाँकी सबै आत्माहरू कहाँ हुन्छन्, थाहा हुँदैन। तिमीले अब बुझेका छौ, एक राज्य केवल सत्ययुगमा नै थियो। वहाँ सुख-शान्ति सबै थियो। यो सबै कुरा तिम्रो बुद्धिमा छ– नम्बरवार पुरूषार्थ अनुसार। बुझेका छौ– वास्तवमा हामी सत्ययुगमा राज्य गथ्र्यौं, धेरै सुख थियो। अद्वैत धर्म थियो। यो ज्ञान कसैलाई छँदै छैन। यस समय तिमी ज्ञानसागर बन्छौ। बाबाले तिमीलाई आफू समान बनाउनु हुन्छ। जो बाबाको महिमा, उही तिमी बन्नु छ। केवल दिव्य दृष्टिको चाबी बाबासँग रहन्छ। बाबाले भन्नुभएको छ– भक्ति मार्गमा मलाई काम गर्नुपर्छ। जसले जसको पूजा गर्छन्, मैले उनको मनोकामना पूरा गर्छु। यहाँ पनि दिव्य दृष्टिको पार्ट चल्छ। भनिएको छ नि– अर्जुनले विनाशको साक्षात्कार गरे। विनाश पनि अवश्य हुनु छ। विष्णुपुरी पनि अवश्य स्थापना हुनु छ। बाबाले जसरी कल्प पहिले सम्झाउनु भएको थियो, त्यसैगरी सम्झाउनु हुन्छ। बाबाले हामीलाई मनुष्यबाट देवता बनाउनु हुन्छ। जब देवता बन्छौं, आसुरी सृष्टिको विनाश अवश्य हुन्छ। चारैतर्फ हाहाकार मच्चिनेछ। बुद्धिले बुझ्न सक्छ– प्राकृतिक प्रकोप आउनु छ। मुसलधारे बर्सात पनि हुनु छ। यी सबैको विनाश भएपछि नै सत्ययुगको स्थापना हुन्छ। ५ तत्वहरूको मल पनि मिल्नेछ। यस धर्तीलाई मल हेर कति मिल्छ। बाबा भन्नुहुन्छ– यस रूद्र ज्ञान यज्ञमा यो सबै स्वाहा हुन्छ। भक्ति मार्गमा हेर, रूद्र यज्ञ कसरी रच्छन्! शिवबाबाको लिङ्ग र साना-साना शालिग्राम धेरै बनाएकर, पूजा गरेर फेरि मेटाइदिन्छन्। फेरि सधैं बनाउँछन्। पूजा गरेर फेरि भत्काइदिन्छन्। शिवबाबाको साथमा जसले पनि सेवा गरे, उनीहरूको पनि यो हालत गर्छन्। रावणको हेर, हर वर्ष पुतला बनाएर उसलाई जलाउँछन्। दुश्मनको त एक दुई पटक पुतला बनाएर जलाउँछन्। यस्तो होइन– वर्ष-वर्ष जलाउने नियम राख्छन्। एक पटकमा नै क्रोध निकालिदिन्छन्। रावणलाई त हर वर्ष जलाउँछन्। यसको अर्थ कसैले पनि जानेका छैनन्। फेरि भन्दछन्– रावणले सीतालाई अपहरण गर्यो, अर्थ केही पनि बुझ्दैनन्। विदेशीहरूले के बुझ्न सक्छन्। दिन-प्रतिदिन रावणलाई ठूलो बनाउँदै जान्छन् किनकि रावणले धेरै दुःख दिन्छ। अहिले तिमी यसमाथि विजय प्राप्त गर्छौ। सत्ययुगमा हुँदै हुँदैन। यो जुन कर्मको भोग भोग्नुपर्ने, बिरामी आदि हुन्छ, यो हो रावणको कारण। रावणको प्रवेशता हुनाले मनुष्यले जुन पनि कर्म गर्छन्, त्यो विकर्म हुन्छन्। सुख-दुःखको खेल बनेको छ। यस इतिहास-भूगोलको बारेमा कसैलाई पनि थाहा छैन। लक्ष्मी-नारायणलाई यो राज्य कसरी मिल्यो? कसैलाई थाहा छैन। तिमी साना-साना बच्चाहरूले सम्झाउँछौ– यी लक्ष्मी-नारायणले सत्ययुगमा राज्य गर्थे। संगममा यिनले राजयोग सिकेर यो पद पाएका हुन्। बिडलालाई पनि साना-साना बच्चीहरू गएर सम्झाऊन्– यिनीहरूले यो राज्य कसरी पाएका हुन्? अहिले त कलियुग हो, यसलाई सत्ययुग भनिदैन। राजाई त अहिले छँदै छैन। राजाहरूको ताज नै उडाइदिएका छन्। धर्म शास्त्र केवल ४ छन्। गीता धर्म शास्त्र हो, जसबाट ३ धर्म अहिले स्थापना हुन्छन्, नकि सत्ययुगमा। यस्तो होइन लक्ष्मी-नारायणले वा रामले कुनै धर्म स्थापना गरे। यो धर्म अहिले स्थापना गरिरहेको छु फेरि इस्लामी, बौद्धी र क्रिश्चियन। क्रिश्चियनको एकै धर्म शास्त्र हो बाइबल। फेरि पछि वृद्धि हुँदै जान्छ। आदि सनातन हो नै देवता धर्म। अब फेरि देवी-देवता धर्मको स्थापना गर्छु। तिमीले ड्रामाको रहस्यलाई राम्रोसँग बुझिसकेका छौ। खुशी पनि रहन्छ। तिमी बच्चाहरूलाई १०० प्रतिशत निश्चय छ– हामीले फेरि आफ्नो राज्य-भाग्य स्थापना गरिरहेका छौं। यसमा लडाईं आदिको कुनै कुरा नै छैन। राजधानी स्थापना भइरहेको छ– यो निश्चित छ, जसरी मृत्यु निश्चित छ (एज सरटेन एज डेथ)। तिमीले जान्दछौ– हामीले फेरि राज्य भाग्य लिन्छौं। कल्प-कल्प बाबाबाट वर्सा लिन्छौं। जति पुरूषार्थ गर्छौ, उति उच्च पद पाउँछौं। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) जो बाबाको महिमा छ, त्यस महिमालाई स्वयंमा ल्याउनु छ। बाबा समान महिमा योग्य बन्नु छ। पारलौकिक बाबासँग पवित्रताको वर्सा लिनु छ। पवित्र बनेपछि नै स्वर्गको वर्सा मिल्छ।

२) श्रीमतमा आफ्नै तन-मन-धनद्वारा एक आदि सनातन देवी-देवता धर्मको स्थापना गर्नु छ।

वरदान:

अटुट कनेक्शनद्वारा करेन्टको अनुभव गर्ने सदा मायाजित, विजयी भव:-  

जसरी बिजुलीको शक्तिले यस्तो करेन्ट लगाउँछ, जसकारण मनुष्य टाढा पुगेर गिर्छ, बेहोस हुन्छ। यसैगरी ईश्वरीय शक्तिले मायालाई टाढा फ्याँकि देओस्। यस्तो करेन्ट हुनुपर्छ तर करेन्टको आधार कनेक्शन हो। हिँड्दा-डुल्दा हर सेकेण्ड बाबासँग कनेक्शन जुटेको होस्। यस्तो अटुट कनेक्शन भयो भने करेन्ट आउँछ र मायाजित, विजयी बन्छौ।

स्लोगन:

तपस्वी उसलाई भनिन्छ, जो राम्रो नराम्रो कर्म गर्नेको प्रभावको बन्धनबाट मुक्त छ।   



***OM SHANTI***

Google+ Followers