BK Murli 18 July 2016 Nepali

BK Murli 18 July 2016 Nepali

०३ श्रावण सोमबार 18.07.2016 बापदादा मधुवन

“मीठे बच्चे– आफ्नो स्वधर्ममा स्थित भएर आपसमा प्यारसँग ओम् शान्ति भन, यो पनि सम्मान दिनु हो।”  

प्रश्न:

भक्तिमा पनि भगवानलाई भोग लगाउँछन्, यहाँ तिमी बच्चाहरूले पनि लगाउँछौ– यो चलन किन?

उत्तर:

किनकि यो पनि उहाँको सम्मान गर्नु हो। तिमीले जान्दछौ– शिवबाबा निराकार हुनुहुन्छ, अभोक्ता हुनुहुन्छ। खानुहुन्न तर वासना त पुग्छ। सबैका सद्गतिदाता, पतित-पावन बाबा हुनुहुन्छ। त्यसैले भोग पनि अवश्य उहाँलाई लगाउनुपर्छ।

गीतः–

हमारे तीर्थ न्यारे है....

ओम् शान्ति।

प्यारा बच्चाहरूको दिलमा पनि आयो ओम् शान्ति। जसरी कसैलाई नमस्ते भनिन्छ भने उसले पनि जवाफमा भन्छ नमस्ते। यहाँ बाबाले भन्नुभयो– ओम् शान्ति। त्यसैले सबै बच्चाहरू र यिनको आत्मा सहित सबैको दिलबाट आउँछ ओम् शान्ति अर्थात् म आत्मा शान्त स्वरुप हुँ। जवाफ त दिनु पर्यो नि। यो जवाफ भयो नि। अरु कसैले अर्थ सहित यसरी भन्न सक्दैनन्। ज्ञान सूर्य बाबाले पनि भन्नुहुन्छ– ओम् शान्ति। ज्ञान चन्द्रमाले पनि भन्छन्– ओम् शान्ति। ज्ञान सिताराहरूले पनि भन्छन् ओम् शान्ति। सितारामा सबै आउँछन्। अहिले तिमी बच्चाहरूलाई आफ्नो स्वधर्मको बारेमा थाहा भएको छ, हामी शान्त स्वरुप आत्मा हौं र शान्तिधामका निवासी हौं। यो तिमीलाई निश्चय भएको छ। तिमीले राम्ररी आत्मालाई जानेका छौ। भनिन्छ पनि– महान् आत्मा, पाप आत्मा। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। तर आत्माको यथार्थ परिचय कसैलाई छैन। हामी आत्मा यति सानो छौं। ८४ जन्मको पार्ट खेल्छौं। यो कुरा न तिमीलाई थाहा थियो, न अरु कसैले जान्दछन्। अहिले तिमी बच्चाहरू बाबाको सम्मुख बसेका छौ। बाबालाई आफ्नो बनाउँछौ। बच्चाहरूले बाबालाई आफ्नो बनाउँछन् वर्सा लिनको लागि। 

तिमी बच्चाहरूले जान्दछौ– हामी आत्माहरूको बेहदका बाबा यस ब्रह्मा तनमा आउनुभएको छ, ब्रह्मा तनमा आएर आदि सनातन देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ। कल्प पहिले पनि आदि सनातन देवी-देवता धर्म अर्थात् सूर्यवंशी राजधानी स्थापना भएको थियो। यो स्थापनाको कार्य कल्प-कल्प बाबाले नै गर्नुहुन्छ, जसलाई भगवान भनिन्छ। भगवान बाबासँग सबैले माग्छन्– दुःख हर्नुहोस्, सुख दिनुहोस्। सुख पाएपछि माग्ने आवश्यकता रहँदैन। यहाँ माग्छन् किनकि दुःख छ। वहाँ केही पनि माग्ने आवश्यकता रहँदैन किनकि बाबाले सबै कुरा दिएर जानुहुन्छ, त्यसैले सत्ययुगमा कसैले पनि बाबालाई याद गर्दैनन्। बाबाले सम्झाउनुहुन्छ– तिमी बच्चाहरूलाई मैले सुखधामको मालिक बनाउँछु। तिमी बच्चाहरूले जान्दछौ– बाबाद्वारा हामीले फेरि सुखधामको वर्सा लिइरहेका छौं। बेहदका बाबाद्वारा बेहदको सुख लिन्छौं। तिमीलाई सम्झाइन्छ– भक्तिमार्ग कसरी चल्छ? मनुष्य सृष्टिरुपी वृक्षको उत्पत्ति, पालना र संहार कसरी हुन्छ वा ड्रामाको आदि-मध्य-अन्त्य के हो? यो हो साकारी दुनियाँ, त्यो हो निराकारी। बच्चाहरूले जानेका छौ– हामीले पूरा आधाकल्प भक्ति गर्यौं। अब कलियुगको अन्त्य हुन्छ। वर्सा मिल्छ नै संगममा। यो कुरा बच्चाहरूले राम्ररी बुझ्नुपर्छ। अहिले हामी संगममा छौं, यो कुरा तिमी बच्चाहरूले मात्र जान्दछौ। अरु कसैले जान्दैनन्, जबसम्म परिचय दिइँदैन। अवश्य संगमयुग आउँछ, जब पुरानो दुनियाँ परिवर्तन भएर नयाँ हुन्छ। यो सारा पुरानो दुनियाँ हो, यसलाई कलियुग भनिन्छ। यो पनि तिमीले जान्दछौ– पहिला शुरुमा सारा दुनियाँमा एउटै धर्म हुन्छ। नयाँ दुनियाँमा केवल भारत खण्ड नै हुन्छ, थोरै मनुष्य हुन्छन्। नयाँ दुनियाँलाई नै स्वर्ग भनिन्छ। यसबाट सिद्ध हुन्छ– नयाँ दुनियाँ भारत थियो। अहिले पुरानो दुनियाँमा पुरानो भारत छ। गान्धीले पनि भन्दथे– नयाँ दुनियाँ, नयाँ भारत होस्, नयाँ दिल्ली होस्। अहिले त नयाँ भारत वा नयाँ दिल्ली छैन। नयाँ भारतमा यी लक्ष्मी-नारायणको राज्य थियो। अहिले त्यही भारतखण्डमा रावणको राज्य छ। यो पनि लेख्नुपर्छ– नयाँ दुनियाँ, नयाँ दिल्ली। फलानो समयदेखि फलानो समयसम्म यिनको राज्य। यो कुरालाई सम्झाउन पनि उसैले सक्छ, जसले नयाँ दुनियाँ बनाउँछ। ब्रह्माद्वारा नयाँ दुनियाँ स्वर्ग स्थापना गर्नुहुन्छ, जुन स्वर्गको वर्सा लिनको लागि तिमी आउँछौ। बाबाले तिमीलाई युक्ति बताउनुहुन्छ अथवा पुरूषार्थ गराउनुहुन्छ। सम्मुख पनि मिल्न आउँछौ वा वहाँ पनि बसेर पढ्छौ। दिल हुन्छ सम्मुख मिलन गरौं। उनीहरू सम्मुख भेट्छन् मनुष्यले मनुष्यसँग। यहाँ तिमीले भन्छौ– हामी जान्छौं शिवबाबासँग मिलन मनाउन। भन्छौ उहाँ त निराकार हुनुहुन्छ। हामी आत्माहरू पनि निराकार छौं। हामी पनि यहाँ पार्ट खेल्न आउँछौं नि। जसको नाम छ, ऊ अवश्य पार्टधारी पनि हुन्छ। भगवानको पनि नाम छ नि। निराकार शिवलाई नै भगवान भनिन्छ, अरु कसैलाई भगवान भनिँदैन। भगवानलाई निराकार भनेर नै गायन गरिन्छ। उहाँको पूजा हुन्छ, आत्माको पनि पूजा हुन्छ। रूद्र यज्ञ रच्छन् नि। उनीहरूले माटोको शालिग्राम बनाउँछन्। पत्थरको बनाउन् वा माटोको। माटोको फुटाउन र बनाउन सहज छ। दुनियाँले त यी कुरालाई जान्दैनन्। रूद्र यज्ञमा कति आत्माहरूको पूजा गर्न सक्छन्। बच्चाहरू त धेरै छन्। भक्त सबै भगवानका बच्चाहरू हुन्, बाबालाई याद गर्छन्। बाबाले सम्झाउनुभएको छ– शिवबाबा आउनुहुन्छ नै यहाँ। तिमी थोरै बच्चाहरू जो उहाँका सहयोगी, ईश्वरीय सेवाधारी बन्छौ, उनीहरूको नै भक्तहरूले शालिग्राम बनाएर पूजा गर्छन्। जुन यज्ञ रच्छन्, त्यसमा सानो यज्ञ पनि हुन्छ, ठूलो पनि हुन्छ। ठूला धनवानहरूले ठूलो यज्ञ रच्छन्। लाखौं-लाख बनाउँछन्। सानो यज्ञ भए ५-१० हजार बनाउँछन्। जस्तो जस्तो सेठ उस्तै यज्ञ र शालिग्राम बनाउँछन्। एउटा शिव, बाँकी शालिग्राम बनाउँछन्। त्यत्ति नै फेरि ब्राह्मण पनि चाहिन्छ। धेरैले यज्ञ देखेका छौ होला। तिमीले जान्दछौ– बाबाले हामी बच्चाहरूलाई सेवा गर्नुहुन्छ, हामीले फेरि अरुको सेवा गर्छौं त्यसैले पूजा हुन्छ। तिमी अहिले पूज्य बन्छौ। आत्माले भन्छ– बाबा हजुर त सदैव पूज्य हुनुहुन्छ। हामीलाई पनि पूज्य बनाइरहनु भएको छ। तिमी पूज्य आत्माले शरीर लिएपछि भनिन्छ पूज्य देवी-देवताहरू। आत्मा नै पूज्य अथवा पुजारी बन्छ। बाबा आउनुहुन्छ नै एकै पटक। फेरि कहिल्यै बाबाले आत्माहरूलाई पढाउने, यो हुँदैन। आत्माले नै सुन्छ। जसरी आत्माले शरीरद्वारा सुन्छ, त्यस्तै परमपिता परमात्मा, सुप्रीम आत्माले पनि शरीरको आधार लिएर यिनीद्वारा सुन्नुहुन्छ। यिनीद्वारा तिमीलाई राजयोग सिकाउनु हुन्छ। उहाँको आफ्नो शरीर त छैन। ब्रह्मा, विष्णु, शंकरको पनि आफ्नो सूक्ष्म शरीर हुन्छ। यहाँ त सबैको आ-आफ्नो शरीर छ। यो हो नै साकारी दुनियाँ। शिवबाबा हुनुहुन्छ निराकार। उहाँ ज्ञानका सागर, सुखका सागर, स्नेहको पनि सागर हुनुहुन्छ। उहाँ आएर सबैलाई पतितबाट पावन बनाउनु हुन्छ। यसमा प्रेरणाको कुनै कुरा छैन। मैले प्रेरणाद्वारा पावन बनाउने हो भने फेरि यहाँ आएर रथ लिने के आवश्यकता छ? शिवको मन्दिरमा अगाडि बयल राख्छन्। मनुष्यको बुद्धि बिल्कुलै पत्थरबुद्धि भएका हुनाले केही पनि बुझ्दैनन्। बयल शिवको अगाडि किन राखिएको हो? गौशाला नाम सुनेका छन् त्यसैले बयल राखिदिएका छन्। तर बयलमा कसले सवारी चलाए! कृष्णको आत्मा त सत्ययुगमा हुन्छ। उनलाई के पर्यो, जो जनावरमा आएर बसून्। केही पनि बुझ्दैनन्। द्रौपदी पनि एउटी कहाँ थिइन् र? धेरै छन् जसले पुकार्छन्। उनीहरूले त एक नाटक बनाइदिएका छन्, श्रीकृष्णले साडी दिँदै जान्छन्, अर्थ केही पनि बुझ्दैनन्। अहिले तिमी बच्चाहरूले बुझेका छौ– तिमीलाई २१ जन्मका लागि नंगन हुनु पर्दैन। कहाँको कुरा कहाँ पुर्याएका छन्। भक्ति मार्गका अथाह कथाहरू छन्। भन्दछन्– यी कथा आदि सबै अनादि हुन्। पुनर्जन्म लिँदै सुन्दै आएका छन्। अनादि पनि कहिलेदेखि शुरु भयो, केही थाहा छैन। यो पनि थाहा छैन रावण राज्य कहिलेदेखि शुरु हुन्छ। त्यसको कुनै वर्णन छैन। तिमीले कति सेवा गर्छौ। ती सूर्य, चन्द्रमा, तारा आदि त छँदै छन्। सत्ययुगमा पनि हुन्छन्, अहिले पनि छन्। तिनीहरू बदलिँदैनन्। तिमी अहिले निमित्त बनेका छौ। विश्वलाई नै फेरि अन्धकारबाट निकालेर उज्यालोमा ल्याउनु छ। भक्तिमार्गलाई अन्धकार भनिन्छ। तिम्रो महिमा छ, तिमी धर्तीका सितारा हौ। सितारा भएपछि चन्द्र, सूर्य पनि त हुनुपर्छ। 

यो हो तिम्रो रुहानी तीर्थ। तिमी यस्तो यात्रामा जान्छौ, जहाँबाट फेरि यस मृत्युलोकमा आउँदैनौ। अहिले यो मृत्युलोक हो, फेरि यहाँ नै अमरलोक हुन्छ। द्वापरदेखि मृत्युलोक शुरु हुन्छ। अहिले तिमीले सच्चा-सच्चा अमरकथा सुनिरहेका छौ, अमरलोकमा जानको लागि। तिमीले बुझेका छौ– हामी आत्माहरूको यात्रा भिन्न छ। तिमी यहाँ बसी-बसी यात्रामा जाने पुरूषार्थ गर्छौ। यादद्वारा नै तिम्रो विकर्म विनाश हुन्छ। उनीहरू यात्रामा जान्छन्, विकर्म विनाश कहाँ हुन्छ! मदिरापानको त मनुष्यमा यति बानी परेको छ, जुन लुकाए पनि लैजान्छन्। आजकल त धेरै विकारी पनि बन्छन् यात्रामा। छन् त सबै पतित। जस्तै ब्राह्मण पतित, त्यस्तै यात्री पनि पतित। पण्डाहरूले यात्रा गराउँछन्, पावन कहाँ हुन्छन्! तिमी त पवित्र रहन्छौ। सच्चा ब्राह्मण तिमी हौ। तिम्रो आत्मा पवित्र रहन्छ। यादको यात्राद्वारा नै तिमी पवित्र बन्छौ। सतोप्रधान बन्नु छ। बाबाले बारम्बार लेख्नुहुन्छ– “मीठा-प्यारा बच्चाहरू”। यो शिवबाबाले आत्माहरूलाई लेख्नुभयो। मलाई याद गर्यौ भने तिमी तमोप्रधानबाट सतोप्रधान बनेर सतोप्रधान दुनियाँको मालिक बन्छौ। केवल एउटै निर्देशन छ मुख्य। कति सहज छ। यादद्वारा नै विकर्म विनाश हुन्छ। याद नगर्ने हो भने विकर्म विनाश हुँदैन फेरि सजायँ खान्छौ। बाबाले त भन्नुहुन्छ– तिमी जहाँ गए पनि, कमाई गर्न सक्छौ। उठ, बस, खाऊ केवल बाबालाई याद गर। तिम्रो कमाई हुन्छ। बच्चाहरूको लागि त अझै सहज छ। यसमा कुनै अटेन्सन आदिको कुरा छैन। श्रीनाथको मन्दिरमा श्रीनाथको यादमा बस्छन्। भोग लगाउँछन्। हो त पत्थरको मूर्ति। भोग पनि कसलाई लगाउनुपर्छ? अधिकारी त एउटै शिवबाबा हुनुहुन्छ। सबैका सद्गतिदाता, पतित-पावन उहाँ हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले स्वीकार गर्दिनँ। तिमीले ममाथि दूध पनि पानी हालेको चढाउँछौ, यो भोग लगाउँछौ, किन? म त निराकार अभोक्ता हुँ! मेरो के पूजा गर्छौ? मेरो अगाडि भोग राख्छन् तर भक्तहरूले भोग लगाए, उनीहरूले बाँडेर खान्छन्। तिमीले जान्दछौ– शिवबाबालाई भोग त अवश्य लगाउनु छ। फेरि बाँडेर तिमीले खान्छौ। यो कसैको सम्मान गरे जस्तै हो। हामीले शिव बाबालाई भोग लगाउँछौं। शिवबाबाको भण्डारा हो नि। जसको भण्डारा हो, उहाँलाई अवश्य भोग लगाउनुपर्छ। हुन त तिमीले भोग लगाउँछौ, खान पनि तिमी बच्चाले नै खान्छौ। यी ब्रह्माले खान्छन्, मैले खान्न। बाँकी वासना त आउँछ नि। धेरै राम्रो भोग बनाएको छ। बोल्नको लागि अंग त छ नि। यी ब्रह्माले खान सक्छन्। यो शरीर त यिनको हो नि। म केवल यिनमा आएर प्रवेश गर्छु। मुख काममा लगाउँछु, तिमी बच्चाहरूलाई पतितबाट पावन बनाउन। गौमुख पनि भन्छन् नि। अवश्य गाई पनि छन्। तिमीले जान्दछौ– यिनीद्वारा नै तिमी बच्चाहरूलाई गोदमा लिन्छु। यी माता-पिता दुवै हुन्। तर माताहरूलाई सम्हाल्ने कसले! त्यसैले सरस्वतीलाई निमित्त बनाउनुभयो, ड्रामा प्लान अुनसार। माता गुरूको पनि महिमा हुनुपर्छ नि। गुरू त पहिलो नम्बरमा प्रख्यात यी हुन्छन्। गुरू ब्रह्मा ठीक हो। जस्तो पिता, त्यस्तै बच्चा। तिमी ब्राह्मण नै सच्चा गुरू बन्छौ। सबैलाई सच्चा मार्ग बताउँछौ स्वर्गको। आत्माले नै मुखले मार्ग बताउँछ– मनमनाभव, मध्याजी भव। बाबा, माता, बच्चा सबैले त्यही मार्ग बताउँछन्। यहाँ तिमी सम्मुख बसेका छौ, याद रहन्छ। फेरि घर गएपछि धेरै बच्चाहरूले बिर्सिन्छन्। यहाँ आनन्द आउँछ, बाबाको पासमा आएका छौं। बाबा भन्नुहुन्छ– स्वदर्शन चक्रधारी बनेर यो युक्ति बताऊ– मुक्तिधाम, बाबा र वर्सालाई याद गर। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) आपसमा एक अर्कालाई वा बाबालाई यथार्थ सम्मान दिनु छ। हुन त बाबा अभोक्ता हुनुहुन्छ तर जसको भण्डाराबाट पालना हुन्छ, उहाँलाई पहिला अवश्य स्वीकार गराउनुपर्छ।

२) पूजनीय बन्नको लागि ईश्वरीय सेवाधारी बन्नु छ। बाबाको सेवामा सहयोगी बन्नु छ। जब आत्मा र शरीर दुवै पावन हुन्छन्, तब पूजा हुन्छ।

वरदान:

अधिकारीपनको स्मृतिद्वारा सर्व शक्तिहरूको अनुभव गर्ने प्राप्ति स्वरुप भव:-  

यदि बुद्धिको सम्बन्ध सदा एक बाबासँग लागिरह्यो भने सर्व शक्तिहरूको वर्सा अधिकारको रुपमा प्राप्त हुन्छ। जसले अधिकारी सम्झेर हर कर्म गर्छन्, उनीहरूलाई भन्ने वा संकल्पमा पनि माग्ने आवश्यकता रहँदैन। यो अधिकारीपनको स्मृतिले नै सर्व शक्तिहरूको प्राप्तिको अनुभव गराउँछ। त्यसैले नशा रहोस्– सर्वशक्ति मेरो जन्म सिद्ध अधिकार हो। अधिकारी बनेर चल्यौ भने अधीनता समाप्त हुन्छ।

स्लोगन:

स्वयंको साथ-साथै प्रकृतिलाई पनि पावन बनाउनको लागि सम्पूर्ण लगावमुक्त बन।   



***OM SHANTI***

Google+ Followers