BK Murli 25 July 2016 Nepali

 BK Murli 25 July 2016 Nepali

१० श्रावण सोमबार 25.07.2016 बापदादा मधुवन

“मीठे बच्चे– अब तिमी नयाँ दुनियाँमा जानु छ, यी दुःखका दिन समाप्त हुँदैछन्, त्यसैले पुराना बितेका कुरालाई बिर्स।”  

प्रश्न:

तिमी कर्मयोगी बच्चाहरूले कुनचाहिँ अभ्यास निरन्तर गर्नुपर्छ?

उत्तर:

उत्तिखेरै शरीर निर्वाहको लागि देहमा आयो, उत्तिखेरै देही-अभिमानी बन्यो। देहको स्मृति विना कर्म त हुन सक्दैन। त्यसैले अभ्यास गर्नु छ– कर्म गर्यो, देह-अभिमानी बन्यो, फेरि देही-अभिमानी बन्यो। यस्तो अभ्यास तिमी बच्चाहरू सिवाय दुनियाँमा कसैले गर्न सक्दैन।

गीतः–

जाग सजनियाँ जाग.....

ओम् शान्ति।

रुहानी बाबा भन्नुहुन्छ– मीठा-प्यारा आत्माहरूले अथवा बच्चाहरूले यो गीत सुन्यौ। यसलाई भनिन्छ ज्ञानको गीत। यो गीत त धेरै राम्रो छ। तिमी आत्माहरू अब जागेका छौ। ड्रामाको रहस्यलाई पनि अहिले तिमीले जानेका छौ। भक्तिमार्गको लीला त देख्यौ नि, जे कुरा बित्यो, त्यो तिम्रो बुद्धिमा छ। तिमीले आफ्ना बितेका ८४ जन्मको इतिहास जान्दछौ। बाबाले ८४ जन्मको कथा सुनाउनुभएको छ। यी हुन् नयाँ दुनियाँको लागि नयाँ कुरा। बाबाद्वारा तिमीले नयाँ कुरा सुन्छौ। बाबाले बच्चाहरूलाई धैर्य दिनुहुन्छ। प्यारा बच्चाहरू! अब नयाँ दुनियाँमा जानु छ, त्यसैले पुराना कुरालाई बिर्सिदेऊ। यी वेद शास्त्र जति पनि भक्तिमार्गका सामग्री हुन्, यी सबै समाप्त हुनु छ। वहाँ भक्तिमार्गको चिन्ह पनि रहँदैन। वहाँ त भक्तिको फल मिल्छ। भक्तहरूलाई बाबा आएर फल दिनुहुन्छ। बच्चाहरूले जान्यौ– बाबाले कसरी आएर भक्तिको फल दिनुहुन्छ? जसले सबैभन्दा बढी भक्ति गरेको छ, उसलाई अवश्य धेरै फल मिल्छ। ज्ञानको पुरूषार्थ पनि उसैले धेरै गर्छ। तिमीले जान्दछौ– हामी आत्माहरूले धेरै भक्ति गरेका छौं। अवश्य ज्ञानमा पनि तीक्ष्ण हुन्छौं, तब यी लक्ष्मी-नारायणको जस्तो उच्च पद पाउँछौं। अहिले तिम्रो पुरूषार्थ ज्ञान र योगका लागि हो। देही-अभिमानी भएर रहनु छ र फेरि देहधारी पनि हुनु छ। कर्म गर्दै बाबालाई याद गर्नु छ। देह विना त हामीले कर्म गर्न सक्दैनौं। यो त ठीक हो, बाबालाई याद गर्नु छ, तर आफूलाई आत्मा सम्झिनु छ। देहलाई बिर्सिनाले कर्म हुँदैन, कर्म त गर्नु नै छ। बाबाको यादमा धेरै आनन्द छ। उठ्दा-बस्दा, हिँड्दा-घुम्दा बाबालाई याद गर तर फेरि पनि पेटलाई भोजन त चाहिन्छ। देही-अभिमानी भएर रहनु छ। यतिबेला तिमी बच्चाहरू सिवाय अरु कोही पनि देही-अभिमानी छैनन्। आफूलाई आत्मा सम्झे पनि परमात्माको परिचय छैन। हुन त सम्झन्छन्– हामी आत्मा अविनाशी छौं, यो शरीर विनाशी छ तर यो सम्झनाले विकर्म विनाश हुँदैन। भनिन्छ पनि– पुण्य आत्मा, पतित आत्मा। म आत्मा हुँ, मेरो यो शरीर हो। यो त साधारण कुरा हो। मूल कुरा बाबाले सम्झाउनुहुन्छ– मलाई याद गर। शरीर निर्वाहको लागि देह-अभिमानमा त आउनुपर्छ। देहलाई खुवाउनु पनि छ। देह विना त केही पनि गर्न सकिँदैन। हर जन्ममा आफ्नो शरीर निर्वाह गर्दै आउँछौ। कर्म गर्दागर्दै पनि एक साजन याद राख्नु छ। उहाँ साजनको बारेमा कसैलाई पूरा थाहा छैन। उहाँ साजन अथवा बाबाद्वारा हामीले वर्सा पाउनु छ र उहाँको यादद्वारा विकर्म विनाश हुन्छ। यो कसैले पनि बुझाउँदैनन्। तिमी बच्चाहरूले नयाँ कुरा सुन्छौ। तिमीले जान्दछौ– हामीले घर जाने मार्ग पाएका छौं। आफ्नो घर गएर फेरि राजधानीमा आउँछां। पिताले नयाँ भवन बनाउँछन् भने त्यसैमा गएर बसौं भन्ने मन हुन्छ। अहिले तिमीलाई मार्ग मिलेको छ– जसलाई अरु कसैले जान्दैनन्। जतिसुकै यज्ञ-तप आदि गर्छन्, मेहनत गरिरहन्छन्, तर सद्गति पाउन सक्दैनन्। यस दुनियाँबाट त्यस दुनियाँमा जान सक्दैनन्। यो कुरा पनि बुझ्नुपर्छ। शास्त्रहरूमा लाखौं वर्ष लेखिदिएका छन्, त्यसैले मनुष्यको बुद्धिले काम गर्न सक्दैन। तिमीले राम्ररी सम्झन्छौ, हिजोको कुरा हो। पहिले स्वर्ग थियो, हामी आदि सनातन देवी-देवता धर्मका थियौं। देवी-देवता धर्म धेरै सुखदायक छ। तिमीले जस्तो सुख कसैले पनि पाउन सक्दैन। स्वर्गमा त अरु कुनै धर्मवाला जान सक्दैन। तिमीलाई जस्तो सुख अरु कसैलाई हुन सक्दैन। जतिसुकै प्रयत्न गरुन्! धन खर्च गरुन् फेरि पनि स्वर्गमा जुन सुख हुन्छ, त्यो पाउन सकिँदैन। कसैको स्वास्थ्य राम्रो भए पनि सम्पत्ति हुँदैन। कसैको सम्पत्ति हुन्छ, स्वास्थ्य हुँदैन। यो हो नै दुःखको दुनियाँ। बाबा भन्नुहुन्छ– हे आत्माहरू हो जाग... तिमीलाई अहिले ज्ञानको तेस्रो नेत्र मिलेको छ। कति जागृति आएको छ। तिमीले सारा दुनियाँको इतिहास-भूगोल जान्दछौ। बाबा जानी-जाननहार हुनुहुन्छ नि। यसको मतलब यो होइन– सबैको दिलको कुरा जान्नुहुन्छ। यो को हो, कतिलाई सम्झाउँछ, कहाँसम्म पवित्र रहन्छ, कति याद गर्छ....। मैले बसेर हरेकको यो ख्याल किन गरुँ? मैले त मार्ग बताउँछु– तिमी आत्माहरूले आफ्नो परमपिता परमात्मालाई याद गर्नु छ। यस सृष्टि चक्रलाई बुद्धिमा राख्नु छ। देही-अभिमानी त अवश्य बन्नु छ। देह-अभिमानी बनेका हुनाले तिम्रो यो दुर्गति भएको हो। अब तिमीले बाबालाई याद गर्नु छ। गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बन्नु छ। स्वदर्शन चक्रधारी पनि तिमी हौ, देवताहरूको त शंख आदि होइन। यी ज्ञान शंख आदि तिमी ब्राह्मणहरूको हुन्। सिक्खहरूले शंख बजाउँछन्, धेरै ठूलो आवाज निकाल्छन्। तिमीले पनि बसेर यो ज्ञान दियौ भने ठूलो सभामा लाउड-स्पीकर लगाउँछौ। तिमीलाई यहाँ लाउड-स्पीकर लगाउन आवश्यक छैन। शिक्षकले पढाउँदा लाउड-स्पीकर लगाउँछन् र? यहाँ त केवल शिवबाबालाई याद गर्नु छ अनि विकर्म विनाश हुन्छ। म सर्वशक्तिमान हुँ। तिमीले लाउड-स्पीकर लगाउँछौ ताकि टाढा टाढासम्म सुनियोस्। त्यो पनि पछि गएर काममा आउँछ। तिमीले सुनाउनु यो छ, मृत्यु सामुन्ने छ। अब सबै फर्केर जानु छ। महाभारत लडाईं पनि सामुन्ने खडा छ। गीतामा पनि लेखिएको छ– महाभारत लडाईं भयो, विनाश भयो। ठीकै छ फेरि के भयो? पाण्डव पनि गलेर मरे। बाबाले सम्झाउनुहुन्छ– पहिले नै विनाश भयो भने त यहाँ पनि खाली हुन्छ। भारतवर्ष त अविनाशी खण्ड हो, खाली त हुँदैन। तिमीले जान्दछौ– प्रलय त हुँदैन। बाबा अविनाशी हुनुहुन्छ त्यसैले उहाँको जन्मस्थान पनि अविनाशी छ। बच्चाहरूलाई खुशी हुनुपर्छ– बाबा सबैका सद्गतिदाता, सुख-शान्ति कर्ता हुनुहुन्छ। जति पनि आउँछन्, भन्छन् शान्ति चाहियो। आत्मालाई यत्ति शान्ति किन याद आउँछ! शान्तिधाम आत्माहरूको घर हो नि। घर कसलाई याद रहँदैन? बेलायतमा कोही मर्यो भने चाहन्छन्– यसलाई आफ्नो जन्मभूमिमा लैजाऊँ। भारत सर्वका सद्गति दाता, दुःखबाट मुक्ति दिलाउने शिवबाबाको जन्मस्थान हो भन्ने कुरा सबैलाई थाहा हुन्थ्यो भने त उहाँको धेरै मान हुन्थ्यो। एकै शिवबाबामाथि फूल चढाउँथे। अहिले त कतिलाई फूल चढाइरहन्छन्। जो सबैलाई सुख-शान्ति दिनेवाला हुनुहुन्छ, उहाँको नाम निशानै गुम गरिदिएका छन्। जसले बाबालाई राम्ररी जान्दछन्, उनैले वर्सा लिने पुरूषार्थ गर्छन्। मेरो नाम हो नै दुःख हर्ता सुख कर्ता। दुःखबाट मुक्त भएपछि के गर्ने! तिमीले जान्दछौ– शान्तिधाममा शान्ति हुन्छ, सुखधाममा सुख हुन्छ। शान्तिधामको स्थान भिन्नै, सुखधामको स्थान भिन्नै, यो त हो नै दुःखधाम। सबैलाई यतिखेर दुःखै दुःख छ। अहिले तिमीले जान्दछौ– अब हामी यस्तो सुखमा जान्छौं, जहाँ २१ जन्म कुनै प्रकारको दुःख हुँदैन। नामै हो, सुखधाम। कति मीठो नाम छ। बाबा भन्नुहुन्छ– तिमीलाई कुनै कष्ट दिन्नँ। केवल बाबा र वर्सालाई याद गर्नु छ। आफूलाई आत्मा सम्झनु छ। यो ज्ञान तिमीलाई बाबाले सिकाइरहनु भएको छ। सत्ययुगमा आत्माको ज्ञान हुन्छ, म आत्माले यो शरीर छोडेर अर्को जन्म लिन्छु। यसैलाई आत्म-अभिमानी भनिन्छ। यो हो रुहानी ज्ञान, जुन अरु कसैले दिन सक्दैन। रुह अर्थात् आत्माहरूलाई रुहानी बाबा आएर ज्ञान दिनुहुन्छ। हर ५ हजार वर्ष पछि दिनुहुन्छ। मनुष्य त बिल्कुलै घोर अन्धकारमा छन्। अहिले तिमीलाई प्रकाश मिलेको छ, तिमी अज्ञान निद्राबाट जागेका छौ। सबै सजनीहरूको साजन हुनुहुन्छ एक बाबा। बाबा भन्नुहुन्छ– म तिम्रो पिता पनि हुँ, साजन पनि हुँ, गुरूहरूको गुरू पनि हुँ। परम शिक्षक हुँ। सबै गुरूहरूका सद्गति दाता एउटै सद्गुरू हुनुहुन्छ। भन्नुहुन्छ– प्यारा बच्चाहरू! मैले सबैको सद्गति गर्छु। गति पछि सद्गति हुन्छ। 

बाबाले सम्झाउनु भएको छ– हरेकको आत्मा फर्केर जानुपर्छ। आत्मा नै सतोप्रधान, सतो-रजो-तमो बन्छ। कसै-कसैको भने धेरै कम पार्ट हुन्छ। आयो अनि गयो। लामखुट्टे जस्तै जन्मियो अनि मर्यो। यसरी त पिताबाट वर्सा लिँदैनन्। बाबाद्वारा वर्सा लिइन्छ पवित्रता, सुख-शान्तिको। बाबाले तिमी आत्माहरूलाई सम्झाउनुहुन्छ, बाबा त हुनुहुन्छ निराकार। उहाँले पनि आएर यस मुखद्वारा सम्झाउनुहुन्छ। शिवबाबाको मन्दिर पनि धेरै अग्लो-अग्लो बनाउँछन्। त्यति टाढा-टाढा जान्छन् तीर्थमा, मेलामा। माथि कुनै ज्ञान अमृत पिउन पाइन्छ र! कति खर्च गर्छन्। सरकारले पनि उनीहरूको लागि कति प्रबन्ध गर्नुपर्छ। मेहनत हुन्छ। यहाँ तीर्थमा साना बच्चाहरूलाई कसरी लैजान्छन्। बच्चाहरूलाई कसै न कसैलाई सम्हाल्नको लागि दिएर जान्छन्। साथमा लिएर जाँदैनन्। दुई तीन महिना यात्रा गर्छन्। यहाँ तिमी आउँछौ, तिमीले बसेर सुन्नु छ, पढ्नु छ। साना बच्चाहरूले त सुन्दैनन्। यहाँ तिमी आएका छौ नै योग र ज्ञान सिक्न। बाबा बसेर ज्ञान सुनाउनुहुन्छ त्यसैले कुनै आवाज आदि हुनु हुँदैन। नत्र ध्यान जान्छ। शान्तिसँग बसेर ध्यान दिएर सुन्नु छ। योग त धेरै सहज छ। जुनसुकै काम गरे पनि बुद्धिको योग वहाँ लागिरहोस्। बाबाको यादमा रहनाले कमाई धेरै हुन्छ। तिमीले जान्दछौ– हामी सदा स्वस्थ बन्छौं। आफैँसँग कुरा गर्नु पर्ने हुन्छ। बाबाको यादमा रहेर भोजन पनि आफ्नै हातले बनाउनु छ। हातबाट काम पनि गर, बाँकी याद गर आफ्नो बाबालाई। तिम्रो पनि कल्याण हुन्छ र यादमा रहनाले चीज पनि मीठो बन्छ। तिमीलाई विश्वको बादशाही मिल्छ। तिमी यहाँ आउँछौ नै लक्ष्मी-नारायण बन्न। सबैले भन्छन्– हामी सूर्यवंशी बन्छौं। 

तिमीले जान्दछौ– हाम्रो मम्मा बाबा यतिबेला ब्रह्मा-सरस्वती हुनुहुन्छ। अर्को जन्ममा लक्ष्मी-नारायण बन्नुहुन्छ। भविष्यमा कोही के बन्छन्, यस्तो कसैको जन्मको बारेमा थाहा छैन। नेहरू गएर के बने? के थाहा! केही राम्रो दान गरेका भए यहाँ राम्रो कुलमा जन्म लिन्छन्। अहिले तिमीलाई पूरा थाहा भएको छ। अहिले यिनको नाम हो, आदि-देव ब्रह्मा, आदि-देवी सरस्वती। उनै फेरि स्वर्गको मालिक बन्छन्। ठीकै छ यिनका बच्चाहरू पनि साथै छन्। उनीहरूले पनि भन्छन् हामी स्वर्गको मालिक बन्छौं। यो त पक्का छ। सूक्ष्मवतनमा पनि तिमीले देख्छौ– देवीहरूको मन्दिरमा पनि धेरै मेला लाग्छन्। अहिले जगदम्बा त छिन् एक। उनको स्वरुप पनि एउटै हुनुपर्छ। मम्मालाई पनि तिमीले देखेका छौ। तिमी बच्चीहरूको स्वरुप हो, फेरि नाम राखिदिएका छन् अधर कुमारी। तिमीले जान्दछौ– यो हामी नै बन्छौं। हामी सबै हौं ब्रह्माकुमार-कुमारी। युगलले पनि भन्छन्– हामी ब्रह्माकुमार-ब्रह्माकुमारी हौं, एक बाबाको बच्चा हौं। तिम्रै यादगार हो। अवश्य तिमी बसेर यो ज्ञान दिन्छौ, यो देलवाडा मन्दिर अर्थ सहितको छ। तर यो तिमीले मात्र सम्झाउन सक्छौ। तिमीले जान्दछौ– हामीले स्थापना गरिरहेका छौं, राजयोगद्वारा श्रीमत अनुसार विश्वलाई स्वर्ग बनाइरहेका छौं। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) ज्ञान र योगमा पूरा-पूरा ध्यान दिनु छ। सुन्ने बेलामा धेरै शान्त, एकाग्रचित्त भएर बस्नु छ। कर्मयोगी पनि बन्नु छ।

२) बाबाले जुन घरको बाटो बताउनुभएको छ, त्यो सबैलाई बताउनु छ। स्वदर्शन चक्रधारी बन्नुको साथ-साथै ज्ञान शंख पनि बजाउनु छ।

वरदान:

जिम्मेवारी सम्हाल्दै आकारी र निराकारी स्थितिको अभ्यासद्वारा साक्षात्कारमूर्त भव:-  

जसरी बाबाले साकार रुपमा यति बढी जिम्मेवारी हुँदाहुँदै पनि आकारी र निराकारी स्थितिको अनुभव गराउनुभयो, त्यसैगरी बाबालाई अनुसरण गर। साकार रुपमा फरिश्तापनको अनुभूति गराऊ। कोही जतिसुकै अशान्त वा बेचैन, आत्तिएको आत्मा तिम्रो सामुन्ने आओस् तर तिम्रो एक दृष्टि, वृत्ति र स्मृतिको शक्तिले उसलाई बिल्कुलै शान्त गरिदेओस्। व्यक्त भावमा आओस्, अव्यक्त स्थितिको अनुभव गरोस् अनि भनिन्छ साक्षात्कारमूर्त।

स्लोगन:

जो सच्चा रहमदिल छ, उसलाई देह वा देह-अभिमानको आकर्षण हुन सक्दैन।   



***OM SHANTI***

Google+ Followers