BK Murli 10 August 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 10 August 2016 Nepali

    २६ श्रावण बुधबार 10.08.2016 बापदादा मधुवन

    “मीठे बच्चे— आफूले आफैंसँग प्रतिज्ञा गर— मलाई धेरै-धेरै मीठो बन्नु छ। सबैलाई सुखको, प्यारको दृष्टिले हेर्नु छ, कसैको नाम-रुपमा फँस्नु छैन।”  

    प्रश्न:

    योगको सिद्धि के हो? पक्का योगीको निशानी सुनाऊ?

    उत्तर:

    सबै कर्मेन्द्रियहरू बिल्कुल शान्त, शीतल हुनु— यो हो योगको सिद्धि। पक्का योगी बच्चा ती हुन्, जसको कर्मेन्द्रियहरू अलिकति पनि चंचल हुँदैनन्। रिंचक मात्र पनि कुनै देहधारीमा आँखा नडुबोस्। प्यारा बच्चाहरू! अब तिमी जवान छैनौ, तिम्रो वानप्रस्थ अवस्था हो।

    गीतः—

    जाग सजनियाँ जाग....

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। यसको अर्थ दिलमा विचार सागर मन्थन गर्नु छ र खुशी हुनु छ किनकि यो हो नयाँ दुनियाँको लागि नयाँ कुरा। यो नयाँ कुरा अहिले सुन्दछौ। बच्चाहरूले अब जान्दछन्— नयाँ दुनियाँको स्थापना गर्नेवाला कुनै मनुष्य हुन सक्दैन। तिमीले जब यो कुरा सुन्छौ, सम्झन्छौ— यो त ५ हजार वर्ष पहिलेको पुरानो कुरा हो, जुन फेरि शुरुदेखि सुनाइन्छ। पुरानो नै नयाँ, नयाँ नै पुरानो हुन्छ। अहिले तिमीले जान्दछौ— ५ हजार वर्ष पहिलेको उही कुरा बाबाले नयाँ गरेर सुनाउनुहुन्छ। कुरा उही हो। केको लागि सुनाउनुहुन्छ? नयाँ दुनियाँको वर्सा दिन। यसमा ज्ञान डान्स गर्नुपर्ने हुन्छ। भक्तिमा पनि धेरै डान्स गर्छन्। चारैतिर घुम्दै डान्स गर्छन्। ज्ञानको डान्स त बिल्कुलै सहज छ। त्यसमा कर्मेन्द्रियहरू धेरै चल्छन्, मेहनत गर्नुपर्ने हुन्छ। यहाँ त केवल भित्र ज्ञान डान्स चल्छ। सृष्टिचक्र कसरी घुम्छ— यो ज्ञान बुद्धिमा छ। यसमा कुनै कष्ट छैन। हो, यादमा भने मेहनत लाग्छ। कति बच्चाहरू फेल हुन पुग्छन्, कहीँ न कहीँ गिर्न पुग्छन्। सबैभन्दा मुख्य कुरा हो— नाम-रुपमा फँस्नु हुँदैन। स्त्री-पुरूष काम वश नाम-रुपमा फँस्छन् नि। क्रोधले नाम-रुपमा फँसाउँदैन। पहिलो मुख्य काम विकार नै हो, जसको सम्हाल गर्नु छ, कसैको पनि नाम-रुपमा फँस्नु छैन। आफूलाई आत्मा सम्झनु छ। म आत्मा अशरीरी आएको थिएँ, अब अशरीरी भएर जानु छ। यस शरीरको भान तोड्नु छ। नाम-रुपमा फँस्नु— यो धेरै खराब बिमारी हो। बाबाले बच्चाहरूलाई सावधानी दिनुहुन्छ। कोही-कोहीले यस कुरालाई बुझ्दैनन्। भन्छन्, बाबा त्यत्तिकै भन्नुहुन्छ— नाम-रुपमा फँसेका छौ। तर यो गुप्त बिमारी हो, त्यसैले साजनले सजनीहरूलाई अथवा बाबाले बच्चाहरूलाई जगाउनुहुन्छ। प्यारा बच्चाहरू जाग, अब फेरि कलियुग पछि सत्ययुग आउँदैछ। बाबाले ज्योति जगाउन आउनुहुन्छ। मनुष्य मर्छन् भने उसको लागि दियो बाल्छन्। फेरि दीपकको सम्हाल गर्छन् कतै ननिभोस्, आत्मालाई अँध्यारो नहोस् भनेर। वास्तवमा यो सबै हो भक्तिमार्गको कुरा। आत्मा त सेकेण्डमा गइहाल्छ। कतिले ज्योतिलाई पनि भगवान मान्छन्। ब्रह्मलाई महाज्योति भन्छन्। ब्रह्म समाजीहरूको मन्दिर हुन्छ, जहाँ रात-दिन दियो बलिरहन्छ। कति खर्च हुन्छ। फालतू घिउ खर्च हुन्छ। यहाँ त्यो केही पनि गर्नु पर्दैन। यादले घिउको काम गर्छ। याद रुपी घृत हो। मीठा-प्यारा बच्चाहरूले यो बुझ्दछन्। नयाँ कुरा हुनाको कारण नै झगडा हुन्छ। बाबा भन्नुहुन्छ— म आउँछु, प्यारा बच्चाहरूको पासमा। यहाँ नै आउँछु। आफू जन्मेको देश सबैलाई प्यारो लाग्छ नि। बाबालाई त सबै प्यारो लाग्छ। फेरि पनि म भारत देशमा नै आउँछु। गीतामा यदि कृष्णको नाम हुँदैनथ्यो भने सबै मनुष्य मात्रले शिवबाबालाई मान्दथे। शिवको मन्दिरमा कति जान्छन्। सबैभन्दा ठूलो मन्दिर सोमनाथको थियो। अहिले कति धेरै मन्दिर बनेका छन्। कृष्णलाई सबैले त्यति मान्दैनन्, जति बेहदका बाबालाई मान्छन्। त्यसैले यस समय तिमीलाई उहाँ जस्तो प्यारो वस्तु अरु कोही छैन। यसमा साकारको कुनै महिमा छैन। यो त निराकारको महिमा हो, जो अभोक्ता हुनुहुन्छ। बेहदका बाबा स्वर्गका रचयिता हुनुहुन्छ, त्यसैले उहाँबाट स्वर्गको वर्सा लिनको लागि पुरूषार्थ गर्नुपर्छ नि। 

    भोलि भोलि भन्दा-भन्दै कालले खान्छ। समय थोरै बाँकी छ। बाबासँग वर्सा त लेऊ। विचार लेखाउने समयमा सम्झाउनु पनि पर्छ। भन— जब निश्चय छ उहाँ बेहदका बाबा हुनुहुन्छ, तब त उहाँबाट वर्सा लिने पुरूषार्थ गर्नुहोस्, नत्र बाहिर गएपछि छिटै बिर्सिन्छ। बाबा त कल्याणकारी हुनुहुन्छ नि। भन्नुहुन्छ— यस योगबाट तिम्रा सबै दुःख २१ जन्मको लागि दूर हुनेछ। बच्चीहरूले घरमा पनि सम्झाउँदै गर्नुपर्छ— अब सबै दुःखहरूलाई दूर गर्नेवाला बेहदका बाबालाई याद गर्नाले नै तमोप्रधानबाट सतोप्रधान बन्छौं। पवित्र त अवश्य रहनु छ। मूल कुरा हो पवित्रताको। जति-जति यादमा बढी रहन्छौ, इन्द्र्रियहरू पनि शान्त हुन्छन्। जबसम्म योगको सिद्धि पूरा हुँदैन, इन्द्रियहरू पनि शान्त हुँदैनन्। हरेकले आफ्नो जाँच गरोस्— काम विकारले मलाई धोका त दिदैन? कुनै चंचलता हुनु हुँदैन, यदि म पक्का योगी हुँ भने। यो मानौं वानप्रस्थ अवस्था हो— बाबालाई नै याद गरिरहनु छ। बाबाले सबै बच्चाहरूलाई सम्झाउनु हुन्छ। जब तिमी असल योगी बन्छौ, आँखा कतै पनि डुब्दैन, फेरि तिम्रा इन्द्रियहरू शान्त हुन्छन्। यो नै मुख्य हो, जसले सबैलाई धोका दिन्छ। योगमा राम्रो स्थिति बनेपछि महसुस हुन्छ— हामी जवानीमा नै मानौं वानप्रस्थ अवस्थामा आइपुग्यौं। बाबा भन्नुहुन्छ— काम महाशत्रु हो। त्यसैले आफ्नो जाँच गर्दै गर। जति यादमा रहन्छौ, उति कर्मेन्द्रिय शान्त हुन्छन् र स्वभाव धेरै मीठो हुन्छ। महसुस हुन्छ— पहिले म कति रुखो थिएँ, अहिले कति मीठो बनेको छु। बाबा प्रेमका सागर हुनुहुन्छ नि, त्यसैले बच्चाहरू पनि बन्नु छ। बाबा भन्नुहुन्छ— सबैसँग प्यारको दृष्टि रहोस्। यदि कसैलाई दुःख दिन्छौ भने दुःखी भएर मर्छौ। त्यसैले धेरै मीठो बन्नु छ। 

    बाबा भन्नुहुन्छ— म रुप-वसन्त हुँ। बाबाबाट कति अमूल्य ज्ञान रत्न मिल्छ, जसबाट तिमी झोली भर्छौ। उनीहरू फेरि शंकरको अगाडि गएर भन्छन्— भरिदेऊ झोली। उनीहरूलाई यो थाहा छैन— शंकर झोली भर्नेवाला होइनन्। अहिले तिमी बच्चाहरू बुझेका छौ— ज्ञानसागर बाबाले हामी बच्चाहरूको ज्ञान रत्नले झोली भर्नुहुन्छ। तिमी पनि रुप-वसन्त हौ। हरेकको आत्मा रुप-वसन्त हो। आफूलाई हेर्दै गर— म कति ज्ञान रत्न धारण गरेर ज्ञान डान्स गर्छु अथवा रत्नहरूको दान गर्छु? सबैभन्दा राम्रो रत्न हो मनमनाभव। बाबालाई याद गर्नाले बाबाको वर्सा पाउँछौ। जस्तै बाबामा ज्ञान भरिएको छ, त्यसैले बाबा बसेर बच्चाहरूलाई आफू समान बनाउनुहुन्छ। गुरूहरूले पनि आफू समान बनाउँछन्। उहाँ हुनुहुन्छ बेहदका बाबा, जसको रुप बिन्दु छ। तिम्रो पनि रुप बिन्दु छ। तिमीलाई आफू समान ज्ञानको सागर बनाउनुहुन्छ। जति धारण गर्छा र गराउँछौ... उनीहरूले बुझून्— हाम्रो उच्च पद छ। धेरैको कल्याणकारी बन्यौ भने धेरैको आशीर्वाद मिल्छ। बाबाले पनि सधैं सेवा गर्नुहुन्छ नि। यी गुल्जार बच्ची हुन्, कति मीठो सम्झाउँछिन्। सबैलाई मन पर्छ। दिल हुन्छ— यस्तो ब्राह्मणी हामीलाई मिले हुन्थ्यो। अब एउटा ब्राह्मणी सबै ठाउँमा जान त सक्दिनन्। फेरि पनि बाबा भन्नुहुन्छ— जसले सम्झन्छ, मैले राम्रो सम्झाउँछु, उसले अलराउण्ड सेवा गर्नुपर्छ। आफैं सोख हुनुपर्छ। म सेन्टरहरूको चक्र लगाऊँ...। जस-जसले सम्झन्छन्— मैले धेरैको कल्याण गर्न सक्छु, मबाट राम्रो सुवास निक्लन्छ। त्यसैले सोख हुनुपर्छ। १०-१५ दिन गएर सेन्टरको चक्कर लगाएर आऊँ। एउटालाई देखेर फेरि अरुले पनि सिक्छन्। जसले गर्छ, उसले पाउँछ। यो सेवा धेरै कल्याणकारी छ। तिमीले मनुष्यहरूलाई जियदान दिन्छौ। यो सर्वोत्तम काम हो। धन्दा गर्नेले पनि समय निकालेर सेवामा जान सक्छन्। सेवाधारीलाई त बाबाले प्यार पनि गर्नुहुन्छ, पालना पनि गर्नुहुन्छ। जसलाई सेवाको सोख हुन्छ, उनीहरू सेवा विना रहन सक्दैनन्। बाबाले मदत पनि गर्नुहुन्छ नि। बच्चाहरू धेरै दयावान बन्नु छ। बिचराहरूको धेरै दुःखी जीवन छ। तिमीले जियदान दिन्छौ, कसैलाई अविनाशी ज्ञान रत्नको दान गर्नु— यसभन्दा सर्वोत्तम ज्ञान दान कुनै हुँदैन। धेरै रहमदिल बन्नु छ। ब्राह्मणी कमजोर हुनाले सेवा सेलाउँछ। त्यसैले राम्रो टिचरको माग गर्छन्। जब सेवा गर्ने विचार चल्छ, गइहाल्नुपर्छ। बाबा कुनचाहिँ सेन्टर ठण्डा छ, म गएर चक्कर लगाएर आउँछु। प्रदर्शनीका पनि चित्र छन्। चित्रमा राम्रोसँग बुझ्दछन्। ख्याल चलाउनुपर्छ— मैले सेवालाई कसरी बढाऊँ? बाबाले पनि सबैको जीवनलाई हीरा जस्तो बनाउनुहुन्छ। तिमी बच्चाहरूले पनि सेवा गर्नु छ। बन्दे मातरम् गायन गरिएको छ। तर अर्थ बुझ्दैनन्। पतित मनुष्यहरूको अथवा पृथ्वी आदिको कहिल्यै वन्दना गरिँदैन। यी त ५ तत्व हुन्, उनको के वन्दना गर्छौ? ५ तत्वले शरीर बनेको छ, त्यसैले यसको पूजा गर्नु अर्थात् पुतलाको पूजा गर्नु भयो। शिवबाबाको त शरीर नै छैन। उहाँको पूजा हो सबैभन्दा उत्तम। बाँकी हो मध्यम। आजकल त मनुष्यलाई पनि पुजिरहन्छन्, उनीहरू छन् पतित। महान् आत्माहरू त देवता हुन्छन्। संन्यासीहरू भन्दा पनि उनीहरू बढी पवित्र हुन्छन्। 

    अहिले तिमी बच्चाहरूले जान्दछौ— हामी देवता बनिरहेका छौं। बाबाले हामीलाई यो अविनाशी ज्ञान रत्नको दान गर्न सिकाउनुहुन्छ। यो जस्तो उच्च दान अरु कुनै छैन। एक बाबालाई नै याद गर्नु छ। शिव र लक्ष्मी-नारायणको चित्र त छन्। हरेकले आफ्नो घरमा राख्यो भने याद रहन्छ। शिवबाबाले हामीलाई यस्तो लक्ष्मी-नारायण बनाउनुहुन्छ। यस समय तिमी बनिरहेका छौ। स्वर्गको रचयिता हुनुहुन्छ नै शिवबाबा। सत्ययुगमा त वर्सा दिनुहुन्न। यस अन्तिम जन्ममा शिवबाबा भन्नुहुन्छ— मलाई याद गर्छौ भने तिमी यस्तो बन्छौ। अरु सबै कुरालाई छोडेर सेवा गर। बाबालाई याद गर्छौ। यो पनि ठूलो सेवा हुन जान्छ। तत्व आदि सबै पावन बन्छन्। योगको महिमा धेरै ठूलो छ। दुनियाँमा योग आश्रम त धेरै छन् तर ती सबै हुन् शारीरिक हठयोग। तिम्रो यो हो राजयोग, जसबाट तिम्रो बेडा पार हुन्छ। ती अनेक प्रकारका हठयोग आदिले सिँढी झर्दै आयौ। मूल कुरा हो यादको। देख्नु छ— मेरो मन कतै विकारतिर त जाँदैन? विकारीलाई नै पतित भनिन्छ अर्थात् कौडी तुल्य। विकारमा गिर्नाले आफ्नै नोक्सान गर्छौ। जसले गर्छ, उसले पाउँछ। बाबाले देखे पनि वा नदेखे पनि। आफूलाई जाँच गर्नु छ— मैले बाबाको सेवा गर्छु! ममा कुनै अवगुण त छैन! यदि छ भने निकाल्नुपर्छ। अवगुण निकाल्नको लागि बाबाले धेरै सम्झाउनुहुन्छ। निर्गुणको पनि अर्थ कसैले बुझेको छैन। निर्गुण बालकको मण्डलीले के गर्न सक्छ? जसमा कुनै गुण नै छैन। विना अर्थ जे आयो, भनिदिन्छन्। अनेक मत छन् नि। तिमीलाई एक मत मिल्छ, जसकारण तिमीलाई त अथाह खुशी हुनुपर्छ। बाबाले केवल भन्नुहुन्छ— मलाई याद गरेर कमल फूल समान बन। मन-वचन-कर्म पवित्र बन। तिमी बच्चाहरूले जान्दछौ— हामी ब्राह्मणहरूले श्रीमत अनुसार आफ्नै तन-मन-धनले आफ्नो र सारा विश्वको सेवा गरिरहेका छौं। बाबा आउनुहुन्छ नै यहाँ। तिमी पाण्डवहरूले विश्वलाई स्वर्ग बनाउने सेवा गरिरहेका छौ। तिमीले आफ्नो काम गर्छा। आखिर विजय त पाण्डवहरूको नै हुनु छ। यसमा लडार्इंको कुरा छैन। तिमी हौ डबल अहिंसक। न विकारमा जान्छौ, न गोली चलाउँछौ। हिंसाद्वारा कसैले पनि विश्वमा बादशाही पाउन सक्दैन। बाबाले सम्झाउनु भएको छ— ती दुवै क्रिश्चियनहरू यदि आपसमा मिले भने विश्वमा राज्य गर्न सक्छन्। तर ड्रामामा यस्तो छैन। क्रिश्चियनले नै कृष्णपुरीलाई निलेका हुन्। वास्तवमा भारत कृष्णको नै पुरी थियो नि। लडेर बादशाही लिए, अथाह धन लिएर गए। अब फेरि फिर्ता हुन्छ र फेरि तिमी विश्वको मालिक बन्छौ। बाबाले कति युक्ति बताउनुहुन्छ। उनीहरूले नै तिम्रो राज्यलाई छिनेका हुन्, फेरि उनीहरू आपसमा लड्छन् र विश्वको मालिक तिमी बन्छौ। कति ठूलो बादशाही छ। मेहनत केवल यसमा छ— याद गर्दै गर र आफ्नो वर्सा लेऊ। यसमा चिन्तित हुनु छैन। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) अरु सबै कुरा छोडेर ज्ञान दान गर्नु छ। रुप-वसन्त बन्नु छ। आफ्नो अवगुण निकाल्ने पुरूषार्थ गर्नु छ। अरुलाई देख्नु छैन।

    २) आफ्नो स्वभाव धेरै मीठो बनाउनु छ। सबैप्रति प्यारको दृष्टि राख्नु छ। कसैलाई पनि दुःख दिनु छैन। कर्मेन्द्रियजित बन्नु छ।

    वरदान:

    थाकेका वा तड्पिरहेका आत्माहरूलाई सिद्धि दिने ईश्वरीय सेवाधारी भव:-   

    आत्माहरूलाई धेरै समयदेखि इच्छा वा आशा छ— निर्वाण वा मुक्तिधाममा जाने। यसैको लागि अनेक जन्मदेखि अनेक प्रकारका साधना गर्दा-गर्दा थाकिसकेका छन्। अब हरेकले सिद्धि चाहन्छन् नकि साधना। सिद्धि अर्थात् सद्गति। यस्ता तड्पिरहेका, थाकेका प्यासी आत्माहरूको प्यास मेटाउनको लागि तिमी श्रेष्ठ आत्माहरूले आफ्नो शान्तिको शक्तिद्वारा वा सर्व शक्तिद्वारा एक सेकेण्डमा सिद्धि देऊ, अनि मात्र ईश्वरीय सेवाधारी कहलाउँछौ।

    स्लोगन:

    कमजोर संकल्प नै माया आउने चोर गेट हो, अब यो गेटलाई बन्द गर।  



    ***OM SHANTI***