BK Murli 3 August 2016 Nepali
१९ श्रावण बुधबार 03.08.2016 बापदादा मधुवन
“मीठे बच्चे— परचिन्तनलाई छोडेर आफ्नो कल्याण गर, तिमी सुन जस्तो बनेर अरुलाई बाटो बताऊ।”
प्रश्न:
जसले सदा अशरीरी बन्ने अभ्यास गरिरहन्छ, उसको मुख्य निशानी सुनाऊ?
उत्तर:
उसले हठपूर्वक आफ्ना कर्मेन्द्रियहरूलाई वशमा गर्दैन। उसका कर्मेन्द्रियहरू स्वतः शीतल हुन्छन्। हामी आत्मा भाइ-भाइ हौं— यो स्मृृति स्वतः रहन्छ। देह-अभिमान छुट्दै जान्छ। नाम-रुपको नशा समाप्त हुँदै जान्छ। अरुको याद आउँदैन।
गीतः—
तू प्यार का सागर है....
ओम् शान्ति।
उहाँ केवल प्यारका सागर मात्र हुनुहुन्न, ज्ञानका सागर पनि हुनुहुन्छ। ज्ञान र अज्ञान। ज्ञानलाई दिन, अज्ञानलाई रात भनिन्छ। ज्ञान शब्द नै राम्रो छ। अज्ञान शब्द नराम्रो लाग्छ। आधा कल्प हुन्छ अज्ञानको प्रारब्ध। अज्ञानको प्रारब्ध हो दुःख। ज्ञानको प्रारब्ध हो सुख। यो त धेरै सहज बुझ्ने कुरा हो। दिन हो ज्ञान। रात हो अज्ञान, यो पनि कसैलाई थाहा छैन। ज्ञान केलाई भनिन्छ, अज्ञान केलाई भनिन्छ? यी बेहदका कुरा हुन्। तिमीले सबैलाई सम्झाउँछौ— ज्ञान के हो, भक्ति के हो। ज्ञानद्वारा तिमी पूज्य बनिरहेका छौ। जब पूज्य बन्छौ, पूजाको सामग्रीलाई जान्दछौ। तिमीले जान्दछौ— जति पनि मन्दिर आदि छन्, ती सबै यादगार हुन्। उनीहरूको जीवन कहानी के हो? त्यो तिमीले जान्दछौ। जो पूजा गर्न जान्छन्, उनीहरू स्वयंले पनि जान्दैनन्। पूजालाई भक्ति भनिन्छ। भगवानले भक्तिको फल दिन भक्तहरूसँग मिल्नुपर्ने हुन्छ। भगवानले नै आएर पुजारीबाट पूज्य बनाउनुहुन्छ। पूज्य सत्ययुगमा र पुजारी कलियुगमा हुन्छन्। तिमी बच्चाहरूले जान्दछौ— आज के छ भोलि के हुनु छ? विनाश त अवश्य हुनु छ, कुनै पनि समय हुन सक्छ। तयारी भइरहेको छ। गायन गरिएको छ— अनेक प्राकृतिक प्रकोप हुन्छन्। यो त लेखिदिनुपर्छ—
गृहयुद्ध र प्राकृतिक प्रकोप, यी कुनै ईश्वरीय प्रकोप होइनन्। यो त ड्रामामा निश्चित छ, जसमा प्राकृतिक प्रकोप सबै आउनेवाला छ। विनाशमा पनि मदत गर्नेछन्। मूसलधारे बर्सात हुनेछ। भोकले मर्नेछन्, भूकम्प आदि सबै आउनेछन्। यीद्वारा नै विनाश हुनु छ। बच्चाहरूले जान्दछन्— यो त अवश्य हुनु छ। नत्र सत्ययुगमा यति थोरै मनुष्य कसरी हुन्छन्? अवश्य एकैचोटि विनाश हुन्छ। बच्चाहरूले राम्ररी जान्दछन्— यी सबै कपडाहरूको धुलाइ हुन्छ। यो बेहदको ठूलो मेशीन हो। गायन पनि छ— फोहोर कपडा धुनुहुन्छ... यो कपडाको कुरा होइन। यो हो शरीरको कुरा। आत्माहरूलाई योगबलले धुनु छ। यस समयमा ५ तत्व पनि तमोप्रधान छन्, यसैले शरीर पनि त्यस्तै बन्छ। पतित-पावन बाबा आएर पावन बनाउनुहुन्छ, बाँकी सबै खतम हुन्छन्। तिमीले जान्दछौ— पावन कसरी बनिन्छ? बाटो धेरै सहज बताउनुहुन्छ। मनुष्यहरूले त केही पनि बुझ्दैनन्। जहाँ-जहाँ भक्ति यज्ञ आदि हुन्छन्, वहाँ गएर सम्झाउनुपर्छ— जसको हामीले भक्ति गर्छौ, उनको जीवनी बुझेमा हामी देवता बन्न सक्छौं। उनीहरूले जीवनमुक्ति कसरी पाए? त्यो त बुझौं, अनि हामीले पनि जीवनमुक्ति पाउन सक्छौं। मन्दिरमा बसेर जीवन कहानी सम्झाउनाले राम्रोसँग बुझ्नेछन्।
तिमीले नै बाबाबाट अहिले जीवन कहानी सुन्छौ। तिमी बच्चाहरूलाई कति ज्ञान मिल्छ! परमपिता परमात्माको जीवन कहानीलाई कसैले पनि जान्दैनन्। सर्वव्यापी भन्नाले जीवन कहानी कहाँ हुन्छ र। तिमी बच्चाहरूले अहिले परमपिता परमात्माको जीवन कहानीलाई जान्दछौ अर्थात् आदि-मध्य-अन्त्यलाई जान्दछौ। यस समयलाई आदि भनिन्छ, जबकि बाबा आएर पतितहरूलाई पावन बनाउनुहुन्छ, फेरि मध्यमा भक्तिको पार्ट चल्छ। बाबा भन्नुहुन्छ— यस समयमा म आएर स्थापना गर्छु, गराउँछु। गर्ने-गराउनेवाला हुँ। प्रेरणालाई गर्नु भनिदैन। बाबा आएर यिनका कर्मेन्द्रियद्वारा गर्नुहुन्छ, यसमा प्रेरणाको कुरा छैन। गर्ने-गराउनेवाला त अवश्य सम्मुखमा नै गराउनुहुन्छ। प्रेरणाले केही पनि हुन सक्दैन। आत्मा, शरीर विना केही पनि गर्न सक्दैन। धेरैले भन्छन्— ईश्वरले प्रेरणाद्वारा नै सबै कुरा गर्नुहुन्छ। बाबा हजुर प्रेरणा गर्नुहोस्, मेरो पतिको बुद्धि ठीक होस्। बाबा भन्नुहुन्छ— प्रेरणाको त यसमा कुरै छैन। फेरि शिव जयन्ती किन मनाइन्छ। प्रेरणाले काम हुने भए फेरि आउनु नै किन पर्यो? एक त ईश्वर के चीज हो? यो जान्दैनन्। केवल भनिदिन्छन्— ईश्वरको प्रेरणाले सबै कुरा हुन्छ। निराकारले प्रेरणाद्वारा कसरी गर्नुहुन्छ? उहाँ त गर्ने-गराउनेवाला हुनुहुन्छ। आएर बाटो बताउनुहुन्छ। कर्मेन्द्रियद्वारा मुरली चलाउनुहुन्छ। कर्मेन्द्रियको आधार विना मुरली कसरी चलाउन सक्छु? ज्ञानको सागर हुँ, त्यसैले सुनाउनको लागि मुख चाहिन्छ नि। अब तिमी बच्चाहरूलाई सारा दुनियाँको आदि-मध्य-अन्त्य थाहा भएको छ। पूरा ज्ञान मिलेको छ। सम्झन्छन् ज्ञान विना गति छैन। ज्ञान कसले देओस्? अज्ञान मार्ग र ज्ञान मार्गमा फरक त हेर। विज्ञानले पनि भन्छ— अज्ञान हो अन्धकार। बाँकी ज्ञान र विज्ञानलाई हामीले मुक्ति जीवनमुक्ति पनि भन्न सक्छौं। तिमीलाई अब पावन बन्नको लागि ज्ञान मिल्छ। तिमी स्वदर्शन चक्रधारी बन्छौ। कसैले सुने भने अचम्म मान्छन्।
आत्माले ज्ञान लिन्छ भने आत्माले अवश्य संस्कार लिएर जान्छ नि। मनुष्यबाट देवता बन्छौ भने ज्ञान रहनुपर्छ। तर बाबा सम्झाउनुहुन्छ— यो पुरूषार्थ हो प्रारब्धको लागि। प्रारब्ध मिले पछि ज्ञानको के आवश्यकता रहन्छ? सत्ययुग हो नै तिमी बच्चाहरूको लागि प्रारब्ध। यी कुरा सुन्नाले नै अचम्म मान्छन्। यो ज्ञानको परम्परा किन चल्दैन? बाबा भन्नुहुन्छ— यो प्रायः लोप हुन्छ। दिन भएपछि अज्ञान त रहँदैन, त्यसपछि ज्ञानको के आवश्यकता? यो पनि बुझ्ने र बुझाउने कुरा हो। तुरुन्तै कसैले सम्झन सक्दैन। शिवबाबा यहाँ नै आउनुहुन्छ। बच्चाहरूको लागि सौगात लिएर आउनुहुन्छ, भक्तिको फल दिन। भक्ति पछि हुन्छ सद्गति। यो विनाश पनि अवश्य हुन्छ। लक्षण प्रत्यक्ष छ। तिमीले सुन्दछौ— आगोको झिल्कोबाट एक-दुई घण्टामा नै सारा घर जलेर भस्म हुन्छ। यो कुनै नयाँ कुरा होइन। विनाश त अवश्य हुनु छ। सत्ययुगमा हुन्छन् नै थोरै मनुष्य, श्रेष्ठाचारी। श्रेष्ठाचारी बन्नमा कति मेहनत लाग्छ। मायाले एकदमै नाकबाट पक्डन्छ। यसरी गिर्नेलाई ठूलो चोट लाग्छ। समय लाग्छ। सबैभन्दा ठूलो चोट हो काम विकारको। त्यसैले भनिन्छ— काम महाशत्रु हो। यसले नै पतित बनाउँछ। झगडा हुन्छ नै विकारको लागि। विकारको लागि छोड्दैन भने भनिन्छ— त्यो भन्दा त भाँडा माझ्नु राम्रो हो। झाडु-पोंछा लगाऊ, पवित्र बन। यसमा हिम्मत धेरै चाहिन्छ। जब कोही बाबाको शरणमा आउँछ भने फेरि मायाले पनि लड्न शुरु गर्छ। ५ विकारको बिमारी झन् प्रकट हुन्छ। पहिले त पक्का निश्चय बुद्धि हुनुपर्छ। जीवन छँदै मरेका छौ। यहाँबाट लंगर उठिसकेको छ। कलियुगी, विकारी किनारा तिमीले छोडिसकेका छौ। अब हामी यात्रामा गइरहेका छौं। हामी अशरीरी भएर आफ्नो घर जान्छां। आत्मालाई यो ज्ञान छ— हामी एक शरीर छोडेर अर्का लिन्छौं। हामी गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र बनेर यात्रामा रहन्छौं। बुद्धिमा याद रहोस्— यो त चिहान हो, फेरि हामी सुखधाममा जान्छौं। हामीलाई बाबाले वर्सा दिने युक्ति बताइरहनु भएको छ।
पावन बन्नको लागि हामी योगमा रहन्छौं। यादद्वारा नै विकर्म विनाश हुन्छन् अनि आत्माले शरीर छोड्छ। यात्रा कति अनौठो छ। केवल बाबालाई याद गर, आफ्नो राजधानीलाई याद गर। यति सहज कुरा पनि याद आउँदैन। अल्फलाई याद गर, पुग्यो। तर मायाले याद गर्न दिदैन, मेहनत लाग्छ। आत्मालाई ज्ञान मिलेको छ— हाम्रो बाबा आउनुभएको छ। आत्माले पढ्छ नि। आत्माले शरीरद्वारा जन्म लिन्छ। आत्मा भाइ-भाइ हुन्। देह-अभिमानमा आउनाले फेरि अनेक सम्बन्ध हुन्छन्। यहाँ तिमी भाइ-बहिनी भयौ। आपसमा भाइ-भाइ पनि हौ, भाइ-बहिनी पनि हौ। प्रवृत्ति मार्ग हो नि। दुवैलाई वर्सा मिल्छ। आत्माले नै पुरूषार्थ गर्छ। आफूलाई आत्मा सम्झिनु— यसमा नै मेहनत छ। देह-अभिमान नरहोस्। शरीरै छैन भने विकारी कोसँग बन्छौ? हामी आत्मा हौं बाबाको पासमा जानु छ। शरीरको भान नै नरहोस्। जति योगी बन्दै जान्छौ, कर्मेन्द्रियहरू उति शान्त हुँदै जान्छन्। देह-अभिमानमा आउनाले कर्मेन्द्रियहरू चंचल हुन्छन्। आत्माले जान्दछ— मलाई प्राप्ति भइरहेको छ। शरीरबाट अलग हुन्छौ भने कर्मेन्द्रियहरू शान्त हुन्छन्। संन्यासीहरूले औषधि खाएर कर्मेन्द्रियलाई शान्त गर्छन्। त्यो त हठयोग भयो नि। तिमीले त योगले काम लिनु छ। के योगबलद्वारा तिमीले वश गर्न सक्दैनौ? जति आत्म-अभिमानी बन्दै जान्छौ, त्यति कर्मेन्द्रियहरू शान्त हुन्छन्। धेरै मेहनत गर्नुपर्छ, प्राप्ति त धेरै उच्च छ नि। बाबा भन्नुहुन्छ— योगबलद्वारा तिमी विश्वको मालिक बन्छौ। कर्मेन्द्रियमाथि विजय पाउँछौ त्यसैले भारतको योग प्रसिद्ध छ। तिमी मनुष्यबाट देवता, पतितबाट पावन बन्छौ। प्रजा पनि स्वर्गवासी त हुन्छन् नि। योगबलले तिमी स्वर्गवासी बन्छौ। बाहुबलले बन्न सक्दैनौ। मेहनत कुनै ठूलो छैन। कुमारीहरूको लागि त मानौं मेहनत नै छैन।
स्वतन्त्र छन्। विकारमा गएपछि जञ्जाल सुरु हुन्छ। कुमारी रहनु राम्रो हो। नत्र फेरि अधर कुमारी नाम पर्छ। युगल पनि किन बन्ने! यसमा पनि नाम रुपको नशा चढ्छ। यो पनि मूर्खता हो। युगल बनेपछि पवित्र रहन बडो हिम्मत चाहिन्छ। ज्ञानको पूरा पराकाष्ठा चाहिन्छ। धेरै छन्, जसले हिम्मत गर्छन् तर आगोको राप लाग्यो भने खेल खतम। त्यसैले बाबा भन्नुहुन्छ— कुमारी रहनु फेरि पनि राम्रो हो। अधरकुमारी बन्ने ख्याल पनि किन गर्ने? कुमारीहरूको नाम प्रख्यात छ। बाल ब्रह्मचारी हौ। बाल ब्रह्मचारी रहनु राम्रो हो, तागत रहन्छ। अरु कसैको याद आउँदैन। बाँकी हिम्मत छ भने गरेर देखाऊ, तर मेहनत छ। दुई हुन पुग्छौ। कुमारी हुँदा एक्लो छौ। दुईबाट द्वैत हुन्छ। जहाँसम्म हुन सक्छ कुमारी भएर रहनु राम्रो हुन्छ। कुमारी सेवामा निक्लन सक्छन्। बन्धनमा पर्नाले फेरि बन्धन वृद्धि हुँदै जान्छ। यस्तो जाल किन बिछ्याउने, जसले बुद्धि फँस्न पुग्छ? यस्तो जालमा फँस्नु ठीक होइन। कुमारीहरूको लागि त धेरै राम्रो छ। कुमारीहरूले नाम पनि प्रख्यात गरेका छन्। कन्हैया नाम गायन गरिन्छ नि। कुमारी भएर रहनु बडो राम्रो हो। यिनीहरूको लागि धेरै सहज छ। विद्यार्थी जीवन पवित्र जीवन पनि हो। बुद्धि पनि फ्रेस रहन्छ। कुमारहरू भीष्म पितामह जस्तो बन्नु छ। कल्प पहिले पनि रहेका थियौ, त्यसैले त दिलवाडा मन्दिरमा यादगार बनेको छ। अब बाबाले बच्चाहरूलाई आदेश दिनुहुन्छ— मलाई याद गर। अरु सबै कुरालाई छोडेर तिमीले आफ्नो कल्याण गर। बाबालाई याद गर्नमा नै कल्याण छ। भूल-चूक हुन्छ, बच्चाहरू गिर्न पुग्छन्। तिमीले परचिन्तनलाई छोडेर आफ्नो कल्याण गर। अरुको चिन्तनमा जादै नजाऊ। तिमी सुन जस्तो बन, अरुलाई पनि बाटो बताऊ। सतोप्रधान बन्ने एउटै उपाय छ। पावन नबनेसम्म तिमी मुक्तिधाममा जान सक्दैनौ। उपाय एउटै छ फेरि अन्त मति सो गति हुन्छ। परचिन्तनलाई छोड। नत्र आफ्नै नोक्सान गर्छौ। बाबाले कुनै श्राप दिनुहुन्न। श्रीमतमा चल्दैनौ भने आफूले आफैंलाई श्रापित गर्छौ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) निश्चय बुद्धि बनेर जीवन छँदै यस पुरानो दुनियाँबाट आफ्नो लंगर उठाउनु छ। बाबाको हरेक आदेशलाई पालन गरेर आफ्नो कल्याण गर्नु छ।
२) अरुको चिन्तनलाई छोडेर आफ्नो बुद्धिलाई स्वच्छ, सुन जस्तो बनाउनु छ। परचिन्तनमा आफ्नो समय नष्ट गर्नु हुँदैन। योगबलद्वारा आफ्नो कर्मेन्द्रियहरूलाई शान्त, शीतल बनाउनु छ।
वरदान:
नशा र निशानीको स्मृतिद्वारा सर्व कर्मेन्द्रियहरूलाई आदेश अनुसार चलाउनेवाला ताज र तख्तनशीन भव:-
संगमयुगमा बापदादाद्वारा सबै बच्चाहरूलाई ताज र तख्त मिल्छ। पवित्रताको पनि ताज छ भने जिम्मवारीको पनि ताज छ। अकाल तख्त पनि छ र दिलतख्तनशीन पनि हौ। जब यस्तो डबल ताज र तख्तनशीन बन्छौ, नशा र निशाना स्वतः याद रहन्छ। फेरि यी कर्मेन्द्रियहरूले जी हजुर गर्छन्। जसले ताज र तख्त छोडिदिन्छन्, उनीहरूको आज्ञालाई कुनै पनि कर्मचारीले मान्दैनन्।
स्लोगन:
कमजोर संकल्पले नै प्रसन्नचित्तको सट्टा प्रश्नचित्त बनाउँछ।