BK Murli 15 September 2016 Nepali
२०७३ भाद्र ३० गते विहिबार 15.09.2016 वापदादा मधुवन
“मीठे बच्चे– बाबा आउनुभएको छ तिमीलाई पुजारीबाट पूज्य बनाउन। पूज्यबाट पुजारी र पुजारीबाट पूज्य बन्ने पूरा कथा तिमी बच्चाहरूले जान्दछौ।”
प्रश्न:
कुनचाहिँ कुरा दुनियाँवालाको लागि असम्भव लाग्छ र तिमीले सहज त्यसलाई आफ्नो जीवनमा धारण गर्छौ?
उत्तर:
दुनियाँवाला सम्झन्छन्, गृहस्थ व्यवहारमा रहेर पवित्र रहनु– यो त बिल्कुल असम्भव छ र तिमीले सहज धारणा गर्छौ, किनकि जान्दछौ– यसबाट स्वर्गको बादशाही मिल्छ। त्यसैले यो त धेरै सस्तो व्यापार भयो नि।
गीतः–
यह कौन आज आया सवेरे...
ओम् शान्ति।
अँध्यारो र उज्यालो, दुनियाँको लागि बिल्कुल अलग छ। त्यो त सामान्य हो। तिमी बच्चाहरूको सबेरै असामान्य छ। दुनियाँलाई थाहा छैन अँध्यारो र सबेरै केलाई भनिन्छ। वास्तवमा यो अँध्यारो र सबेरै कल्पको यस पुरूषोत्तम संगमयुगमा हुन्छ। अब अज्ञान अँध्यारो दूर हुन्छ। गायन पनि छ– ज्ञान सूर्य प्रगटा। त्यो सूर्यले त प्रकाश दिन्छ। यहाँ छ ज्ञान सूर्यको कुरा। भक्तिलाई अँध्यारो, ज्ञानलाई उज्यालो भनिन्छ। अहिले तिमी बच्चाहरू जान्दछौ– सबेरै भइरहेको छ। भक्तिमार्गको अँध्यारो समाप्त हुन्छ। भक्तिलाई अज्ञान भनिन्छ किनकि जसको भक्ति गर्छन्, उनको बारेमा ज्ञान केही पनि छैन। वेस्ट अफ टाइम हुन्छ। खेलौनाको पूजा भइरहन्छ। आधाकल्पबाट यो खेलौनाको पूजा हुन्छ। पूजा जसको गर्छन्, उनको पूरा ज्ञान पनि हुनुपर्छ। देवी-देवताहरूको हुन्छ पूज्य घराना। उनै पूज्य फेरि पुजारी बन्छन्, पूज्यबाट पुजारी, पुजारीबाट पूज्य बन्न कति लम्बा-चौडा कहानी छ। मनुष्यले त पूज्य र पुजारीको अर्थ पनि जान्दैनन्। परमपिता परमात्मा आउनुहुन्छ नै संगममा, जबकि अँध्यारो पूरा हुन्छ। सबेरै बनाउन आउनुहुन्छ। तर उनीहरूले कल्पको संगमयुगको बदला युगे-युगे लेखिदिएका छन्। जब ४ युग पूरा हुन्छ, अनि पुरानो दुनियाँ पूरा हुन्छ, फेरि नयाँ दुनियाँ सुरू हुन्छ। त्यसैले यसलाई भनिन्छ कल्याणकारी संगमयुग। यस समय सबै नर्कवासी छन्। जब कोही मर्छ भने भन्छन्– स्वर्ग जानुभयो, त्यसैले अवश्य नर्कमा थिए। यो कसैले बुझ्दैननन्, हामी नर्कमा छौं। रावणले सबैको बुद्धिलाई एकदम ताला लगाइदिएको छ। सबैको बुद्धि एकदम मारिएको छ। बाबा सम्झाउनुहुन्छ– तिमीहरूको बुद्धि सबैभन्दा विशाल थियो। फेरि जब बिल्कुलै पत्थरबुद्धि बन्छौ, तब नै दुःख पाउँछौ। ड्रामा प्लान अनुसार बेसमझ पनि बन्नु नै छ। बेसमझ बनाउँछ मायाले। पूज्यलाई समझदार र पुजारीलाई बेसमझ भनिन्छ। भन्दछन् पनि– हामी नींच पापी हौं। तर समझदार कहिले थियौं, यो थाहा हुँदैन। रावणरुपी मायाले बिल्कुलै पत्थरबुद्धि बनाइदिन्छ।
अहिले तिमीलाई समझ आएको छ– हामी नै पूज्य थियौं फेरि पुजारी बन्यौं। अहिले तिमी बच्चाहरूलाई खुशी हुन्छ। धेरै दिनदेखि चिल्लाउँदै आएका थियौं– हामीलाई शान्ति मिलोस् अथवा जन्म-मरणबाट छुट्न सकौं। तर यस मायाको जंजीरबाट मुक्ति हुन सकिन्छ, यो ज्ञान पनि कसैको बुद्धिमा छैन। तिमीले जान्दछौ– सिँढी झर्दै आउँछौं। सत्ययुगमा त फेरि पनि विस्तारै-विस्तारै झर्छौं, समय लाग्छ। सुखको सिँढी झर्न समय लाग्छ। दुःखको सिँढी छिटो-छिटो झरिन्छ। सत्ययुग-त्रेतामा हुन्छ २१ जन्म, द्वापर-कलियुगमा ६३ जन्म, आयु कम हुन जान्छ। अहिले तिमीले जान्दछौ– हाम्रो चढ्ती कला छिटो हुन्छ। गायन पनि छ– जनकलाई सेकेण्डमा जीवनमुक्ति मिल्यो। तर जीवनमुक्तिको अर्थ बुझ्दैनन्। एक जनकलाई मात्र जीवनमुक्ति मिल्यो वा सारा दुनियाँलाई मिल्यो? अहिले तिम्रो बुद्धिको ताला खुलेको छ। कोही मन्दबुद्धि छ भने भन्छन्– परमात्मा यसलाई राम्रो बुद्धि दिनुहोस्। सत्ययुगमा यस्तो कुनै कुरा हुँदैन। जो आत्माहरू बहुतकाल परमात्माबाट अलग रहन्छन्, उनीहरूको पनि हिसाब छ। जो आत्माहरू बाबाको साथमा परमधाममा, मुक्तिधाममा रहन्छन्, उनीहरू अन्तिममा आउँछन्, उनीहरू धेरै समय साथमा रहन्छन्। हामी त थोरै समय वहाँ रहन्छौं। पहिला सुरूमा हामी बाबासँग बिछोड हुन्छौं, यसैले गायन गरिन्छ– आत्मा परमात्मा अलग रहे बहुकाल..... उनैको अहिले मेला हुन्छ, जो धेरै समय बाबासँग अलग रहन्छन्। जो वहाँ धेरै समय साथमा रहन्छन्, उनीहरूसँग मिल्नुहुन्न। बाबा भन्नुहुन्छ– खास तिमी बच्चाहरूलाई म पढाउन आउँछु। तिमी बच्चाहरूको साथमा छु, त्यसैले सबैको कल्याण हुन्छ। अब सबैको मृत्युको समय हो। अब सबै हिसाब-किताब चुक्ता गरेर जान्छन्। बाँकी तिमीले राज्य-भाग्य पाउँछौ। यो कुरा कसैको बुद्धिमा छैन। गायन पनि छ– परमपिता, लिबरेटर, गाइड। दुःखबाट लिबरेट गरेर शान्तिधाममा लैजानको लागि गाइड बन्नुहुन्छ। सुखधामको लागि गाइड बन्नुहुन्न। आत्माहरूलाई शान्तिधाममा लैजानुहुन्छ। त्यो हो निराकारी दुनियाँ, जहाँ आत्माहरू रहन्छन्।
तर वहाँ कोही जान सक्दैन किनकि पतित छन्, यसैले पतित-पावन बाबालाई पुकार्छन्। खास भारतवासी जब उल्टो बन्छन्, अनि बेहदका बाबालाई नै कुकुर-बिरालो, ढुंगा-माटोमा हुनुहुन्छ भनिदिन्छन्। आश्चर्य छ नि। आफू भन्दा पनि मलाई तल लैजान्छन्। यो पनि ड्रामा बनेको छ। कसैको दोष छैन, सबै ड्रामाको वशमा छन्। ईश्वरको वशमा छैनन्। ईश्वर भन्दा पनि ड्रामा तेज छ। बाबा भन्नुहुन्छ– म पनि ड्रामा अनुसार आफ्नो समयमा आउँछु। म एकै पटक आउँछु। भक्तिमार्गमा मनुष्य कति धक्का खान्छन्। तिमीलाई बाबा मिल्नुभएको छ। बाबाबाट सेकेन्डमा वर्सा लिनु छ। वर्सा मिल्यो, फेरि धक्का खाने आवश्यकता छैन। भगवान स्वयं भन्नुहुन्छ– म आएर वेद शास्त्रको सार सम्झाउँछु। पहिले सचखण्ड थियो फेरि झुटखण्ड कसरी बन्यो? यो कसैलाई थाहा छैन। गीता कसले सुनायो, यो पनि जान्दैनन्। यहाँ नै आदि सनातन देवी-देवता धर्म थियो। देवता धर्मका नै सतोप्रधान पूज्यबाट जब तमोप्रधान पुजारी बन्छन्, तब देवता धर्म प्रायः लोप हुन्छ, फेरि बाबा आएर त्यस धर्मको स्थापना गर्नुहुन्छ। चित्र पनि छन्, शास्त्र पनि छन्। हिन्दूहरूको एउटै शास्त्र शिरोमणि गीता हो। हरेकले आफ्नो धर्मलाई नै बिर्सिएका छन्, यसैले नाम बदलेर हिन्दू राखिदिएका छन्। ड्रामामा निश्चित छ। आत्मा नै पुनर्जन्ममा आएर तमोप्रधान बन्छ, मैला पर्छ। तिमीले जान्दछौ– हामी सच्चा गहना थियौं, अहिले झुटो बनेका छौं। गहना शरीरलाई भनिन्छ। शरीरद्वारा नै पार्ट खेलिन्छ। हामीलाई कति लामो ८४ जन्मको पार्ट मिलेको छ। देवता, क्षत्रिय... आफैं पूज्य, पुजारी तिमी बन्छौ। म यदि पूज्य फेरि पुजारी बनेँ भने त तिमीलाई पूज्य कसले बनाउने? म त सदा पावन, ज्ञानको सागर, पतित-पावन हुँ। तिमी नै पूज्य पुजारी बनेर दिन र रातमा आउँछौ। तर उनीहरूले जान्दैनन्। बाबा सम्झाउनुहुन्छ– दुनियाँ झूटो बन्दै जान्छ, त्यसैले यति झूटो कथा बनाएका छन्। व्यासले पनि कमाल गरेका छन्। अब व्यास भगवान त होइनन्। भगवान्ले त आएर ब्रह्माद्वारा वेद शास्त्रको सार सम्झाउनुभयो। उनीहरूले शास्त्र दिएका छन्, ब्रह्मालाई। अब भगवान कहाँ? यस्तो त होइन, विष्णुको नाभिबाट ब्रह्मा निस्किए।
अनि विष्णुले बसेर शास्त्रको सार बताए। होइन, ब्रह्माद्वारा सम्झाउनुभएको हो। त्रिमूर्तिको माथि हुनुहुन्छ शिवबाबा, उहाँ बसेर सार बताउनुहुन्छ, ब्रह्माद्वारा। जसद्वारा सम्झाउनुहुन्छ, उनैले फेरि पालना गर्छन्। तिमी हौ ब्रह्माकुमार-कुमारी। ब्राह्मण वर्ण हो सबैभन्दा ऊँच। तिमी अहिले हौ ईश्वरीय सन्तान। ईश्वरले रच्नुभएको यज्ञको तिमीले सम्हाल गर्छौ। यस ज्ञान यज्ञमा सारा पुरानो दुनियाँ स्वाहा हुनु छ। यसको नाम राखिएको छ– राजस्व अश्वमेध अविनाशी रूद्र ज्ञान यज्ञ। राजाई प्राप्त गर्नको लागि बाबाले यज्ञ रच्नुभएको छ। उनले यज्ञ गर्छन् भने माटोको शिव र शालिग्राम बनाउँछन्। उत्पत्ति गरेर, पालना गरेर फेरि समाप्त गरिदिन्छन्। देवताहरूको मूर्ति पनि यस्तै गर्छन्। जसरी सानो बच्चाहरूले पुतलीको खेल गर्छन्, त्यस्तै यो पनि गर्छन्। अब बाबाको लागि त भनिन्छ– स्थापना, पालना फेरि विनाश गर्नुहुन्छ, पहिला स्थापना।
अहिले तिमी मृत्युलोकमा अमरलोकको लागि पढिरहेका छौ। यो तिम्रो मृत्युलोकको अन्तिम जन्म हो। बाबा आउनुहुन्छ अमरलोक स्थापना गर्न। एक पार्वतीलाई कथा सुनाएर के हुन्छ? अमरनाथ शंकरलाई भनिन्छ, उनको साथमा पार्वती दिएका छन्। अब शंकर पार्वती स्थूलमा आउन कसरी सक्छन्? जबकि उनीहरूलाई सूक्ष्मवतनमा देखाइएको छ। अहिले तिमीलाई सम्झाउनुभएको छ– जगत् अम्बा, जगत्पिता लक्ष्मी-नारायण बन्छन्। लक्ष्मी-नारायण फेरि ८४ जन्म पछि, जगत् अम्बा, जगत्पिता बन्छन्। वास्तवमा जगत् अम्बा हो पुरूषार्थी, फेरि लक्ष्मी हो पावन प्रारब्ध। महिमा धेरै कसको छ? जगत् अम्बामा हेर कति मेला लाग्छ। काली कलकत्तेवाली प्रसिद्ध छ। काली माताको पासमा काला पिता किन बनाएनन्? वास्तवमा जगत् अम्बा आदि देवी ज्ञान चितामाथि बसेर कालोबाट गोरो बन्छिन्। पहिला ज्ञान ज्ञानेश्वरी हुन्छिन्, फेरि राज-राजेश्वरी बन्छिन्। यहाँ तिमी आएका हौ ईश्वरसँग ज्ञान लिएर राज-राजेश्वरी बन्नको लागि। लक्ष्मी-नारायणलाई राज्य कसले दियो? ईश्वरले। अमरकथा सत्य नारायणको कथा बाबाले नै सुनाउनुहुन्छ, सेकेण्डमा जसद्वारा नरबाट नारायण बनिन्छ।
अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– काम महाशत्रु हो। भन्दछन्– गृहस्थ व्यवहारमा रहेर पवित्र रहन असम्भव छ। सम्झाइन्छ– बाबा स्वर्गको रचयिता हुनुहुन्छ, त्यसैले अवश्य उहाँले आफ्ना बच्चाहरूलाई स्वर्गको बादशाही दिनुहुन्छ। स्वर्गको बादशाही पाउनको लागि एक जन्म त पवित्र रहनुपर्छ। यो त सस्तो व्यापार भयो नि। व्यापारीहरूले यस कुरालाई राम्ररी अपनाउँछन् किनकि व्यापारीहरूले दान पनि गर्छन्। धर्माऊ पनि निकाल्छन्। बाबा भन्नुहुन्छ– यो व्यापार कसै-कसैले गर्छन्। कति सस्तो व्यापार छ। फेरि पनि कति छन्, जसले यो व्यापार गरेर फेरि छोडिदिन्छन्। यो ज्ञान बाबा सिवाय कसैले सम्झाउन सक्दैन। ज्ञानसागर एकै हुनुहुन्छ, उहाँले नै सम्झाउनुहुन्छ। जो पावन पूज्य थिए, फेरि ८४ जन्मको अन्त्यमा पुजारी बनेका छन्। यिनको तनमा मैले प्रवेश गरेको छु। प्रजापिता त यहाँ हुन्छन् नि। अहिले तिमीले पुरूषार्थ गरेर फरिश्ता बनिरहेका छौ। अब भक्तिमार्गको रातपछि ज्ञान अर्थात् दिन हुन्छ। तिथि-मिति त छँदै छैन। शिवबाबा कहिले आउनुभयो, कसैलाई पनि थाहा छैन। कृष्णजयन्ती धूमधामसँग मनाउँछन्। शिवजयन्तीको बारेमा पूरा कसैलाई थाहा पनि छैन। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) यस कल्याणकारी युगमा एक बाबासँग नै सच्चा सत्य-नारायणको कथा, अमरकथा सुन्नु छ। बाँकी जे जति सुन्यौ त्यसलाई बिर्सिनु छ।
२) सत्ययुगी बादशाही लिनको लागि यस एक जन्ममा पवित्र रहनु छ। फरिश्ता बन्ने पुरूषार्थ गर्नु छ।
वरदान:
सदा शक्तिशाली वृत्तिद्वारा बेहदको सेवामा तत्पर रहने हदका कुराबाट मुक्त भव:-
जसरी साकार बाबालाई सेवा सिवाय केही पनि देखिँदैनथ्यो, त्यसैगरी तिमी बच्चाहरू पनि आफ्नो शक्तिशाली वृत्तिद्वारा बेहदको सेवामा सदा तत्पर रहने गर अनि हदका कुरा स्वतः खतम भएर जान्छन्। हदको कुरामा समय दिनु– यो पनि पुतलीको खेल हो, जसमा समय र शक्ति खेर जान्छ। त्यसैले सानो-सानो कुरामा समय वा जम्मा गरेको शक्ति व्यर्थ नगुमाऊ।
स्लोगन:
सेवामा सफलता प्राप्त गर्नु छ भने बोली र चालचलन प्रभावशाली हुनुपर्छ।