BK Murli 5 October 2016 Nepali

BK Murli 5 October 2016 Nepali

२०७३ आश्विन १९ गते वुधबार 05.10.2016 वापदादा मधुवन

“मीठे बच्चे– तिमीले योगबलद्वारा रावण दुस्मनमाथि जित पाउनु छ, मनुष्यबाट देवता बन्नको लागि दैवीगुण धारण गर्नु छ।”  

प्रश्न:

सबै बच्चाहरू बाबाको श्रीमतमा समान रुपले चल्दैनन्, किन?

उत्तर:

१) किनकि बाबा जो हुनुहुन्छ, उहाँलाई सबैले समान रुपले चिनेका छैनन्। जब पूरा चिन्छन् अनि श्रीमतमा चल्छन्। २) माया दुस्मनले श्रीमतमा चल्न रोकावट गर्छ, त्यसैले बच्चाहरूले बीच-बीचमा आफ्नो मत चलाउँछन्। फेरि भन्छन्– बाबा! मायाको तूफान आउँछ, हजुरको याद बिर्सिन्छु। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! रावण मायासँग नडराऊ। तीव्र पुरूषार्थ गर्यौ भने माया थाक्छ।

गीतः–

न वह हमसे जुदा होंगे....

ओम् शान्ति।

तिमी एक्लो आत्मा हौ। हरेकले भन्छ ओम् शान्ति। यहाँ डबल हुनुहुन्छ त्यसैले दुइचोटि भन्नुपर्छ– ओम् शान्ति, ओम् शान्ति। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ– तिमी यहाँ युद्धको मैदानमा बसेका छौ। यस्तो होइन– जसरी उनीहरू आपसमा लड्छन्। यसरी त घर-घरमा लडाई-झगडा चलिरहन्छ। धेरैजसोको कुरा गरिन्छ। नम्बरवन हो देह-अभिमान, सेकेण्ड हो काम। अहिले तिमी यादको बलद्वारा ५ विकार रुपी रावणमाथि विजय प्राप्त गर्छौ। यादको बल भयो भने तिमी गिर्दैनौ। तिम्रो एक रावणसँग नै युद्ध छ। वहाँ त अनेक प्रकारका कुरा हुन्छन्। यहाँ एउटै कुरा छ। तिम्रो युद्ध छ रावणसँग। तिमीलाई सिकाउने को हुनुहुन्छ? पतित-पावन भगवान। उहाँ हुनुहुन्छ पतितबाट पावन बनाउनेवाला। पावन अर्थात् देवता, तिमी विश्वको मालिक बन्छौ। यो कुनै मनुष्यले जान्दैनन्– रावणद्वारा हामी पतित बनेका हौं। बाबाले सम्झाउनु भएको छ– यस समय सारा दुनियाँमा रावणको राज्य छ। हुन त रामराज्य हुन्छ सत्ययुग, त्रेतामा। फेरि पनि सारा दुनियाँमा भनिन्छ। तर वहाँ यतिका मनुष्य हुँदैनन्। तिमीले विश्वको राज्य लिइरहेका छौ योगबलद्वारा। यस्तो पनि होइन– यहाँ बस्दा मात्र बाबालाई याद गर्नु छ वा स्वदर्शन चक्र घुमाउनु छ। यो त हरेक समय बुद्धिमा रहनुपर्छ। हामीले स्वर्गमा आधाकल्प राज्य गर्छौं फेरि रावणको श्राप मिल्नाले झर्छौं। झर्न त समय लाग्छ। ८४ सिँढी झर्नुपर्छ। चढ्ती कलामा सिँढी त छैन, यदि सिँढी भए त सेकेण्डमा जीवनमुक्ति कसरी भन्न सकिन्छ? कहाँ तिमीलाई झर्न २५०० वर्ष लाग्छ अनि कहाँ तिमी थोरै वर्षमा नै चढ्ती कलामा आउँछौ। तिम्रो हो योगबल। उनीहरूको हो बाहुबल। द्वापरदेखि झर्छन् फेरि बाहुबल सुरू हुन्छ। सत्ययुगमा पिट्ने कुरा हुन सक्दैन। कृष्णको लागि जुन देखाइएको छ– ओखलमा बाँधे। यस्तो कुनै कुरा हुन सक्दैन। वहाँ बच्चा कहिल्यै चंचल हुँदैन। ऊ त सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण हुन्छ। कृष्णलाई कति याद गर्छन्। राम्रो चीजको याद आउँछ नि। जसरी दुनियाँमा सात आश्चर्य छन्। मनुष्यलाई त्यो याद आउँछ, देख्न जान्छन्। आबूमा सबैभन्दा राम्रो चीज के छ, जसलाई हेर्न मनुष्य आउँछन्? धार्मिक मनुष्य त आउँछन् नै मन्दिर हेर्न। भक्ति मार्गमा त मन्दिर धेरै छन्। सत्ययुग त्रेतामा कुनै मन्दिर हुँदैन। मन्दिर पछि गएर बन्छन्, यादगारको लागि। सत्ययुगमा चाड-पर्व आदि कुनै हुँदैनन्। दीपावली पनि यस्तो हुँदैन। हो, सिंहासनमा बस्दा राज्यारोहण दिवस मनाउँछन्। वहाँ त आत्माको ज्योति सबैको प्रज्वलित हुन्छ। 

तिम्रो पासमा एक गीत पनि छ– नवयुग आया.... यो केवल तिमीलाई थाहा छ– हामी नवयुगको लागि अर्थात् सत्ययुगको लागि, देवी-देवता बन्नको लागि पुरूषार्थ गरिरहेका छौं। पढाइ त पूरा पढ्नुपर्छ। जहिलेसम्म बाँचिन्छ, ज्ञान अमृत पिउनु छ। यो ज्ञान हो सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्ने। यसमा कुनै भाषा आदि सिकिँदैन। केवल बाबालाई याद गर्नु छ र स्वदर्शन चक्र घुमाउनु छ। यहाँ तिमी बसेका छौ। स्वदर्शन चक्रधारी हौ। बुद्धिमा छ– हाम्रो ८४ को चक्र पूरा भयो। अब पुरानो शरीर, पुरानो सम्बन्धलाई छोडेर नयाँ लिनु छ। विष्णुपुरीको मालिक बन्नको लागि बाबाले पुरूषार्थ गराइरहनु भएको छ। दुनियाँमा अरु सबै छन् आसुरी सम्प्रदाय। भगवानुवाच– यो उही गीताको युग चलिरहेको छ। यो हो कल्प-कल्पको संगमयुग। बाबा भन्नुहुन्छ– म यस कल्पको संगमयुगमा आउँछु। म उही गीताको भगवान हुँ। यहाँ आउँछु नयाँ दुनियाँ स्वर्ग रच्न, म द्वापरमा कसरी आउँछु? यो एक ठूलो भूल हो। कुनै सानो कुनै ठूलो भूल हुन्छ। यो सबैभन्दा ठूलो भूल हो। शिव भगवान, जो पुनर्जन्म रहित हुनुहुन्छ, उहाँको बदलामा ८४ जन्म लिनेको नाम लेखिदिएका छन्। अहिले तिमी जान्दछौ– श्रीकृष्णले त यसरी भन्न सक्दैनन्, म एकलाई याद गर। सबै धर्मकाले उनलाई कहाँ मान्छन् र। शिव त निराकार हुनुहुन्छ। तिमी शिव शक्ति सेना हौ। शिवबाबासँग योग लगाएर शक्ति लिन्छौ। यसमा स्त्री-पुरूषको कुरा छैन। तिमी आत्माहरू सबै भाइ-भाइ हौ। सबैले बाबाबाट शक्ति लिइरहेका छौ। वर्सा बाबाले नै दिनुहुन्छ नि। उहाँ बाबा नै सर्वशक्तिमान हुनुहुन्छ। यी लक्ष्मी-नारायणलाई पनि सर्वशक्तिमान भनिन्छ किनकि सारा विश्वको मालिक हुन्। उनले यो राज्य कसरी पाए? अहिले भारत त के सारा दुनियाँमा रावणको राज्य छ। राजाहरूलाई थाहा हुन्छ, उनका अग्रजहरूले यो राजाई गरेका थिए, जुन चल्दै आउँछ। यहाँ त सत्ययुग आदिबाट चलेको हो, अवश्य अघिल्लो जन्ममा यस्तो पुरूषार्थ गरेको हुनुपर्छ। पतित राजाई मिल्छ दान-पुण्य गर्नाले। यहाँ त यस संगममा ज्ञान र योगबलद्वारा २१ जन्मको लागि राज्य पाउँछौ। तिमीले जान्दछौ– यो पुरानो दुनियाँ सारा विनाश हुनु छ। यो देह पनि रहँदैन, त्यसैले आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नु छ। बाबा-बाबा भन्न सिक। जसरी शारीरिक बच्चालाई सिकाइन्छ, उसले उही पितालाई याद गर्छ। अहिले रुहानी बाबाले तिमी बच्चाहरूलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू। यो नयाँ कुरा हो। बाबा भन्नुहुन्छ– अब म रुहानी पितालाई याद गर किनकि फर्केर घर जानु छ। आत्मा त अविनाशी छ, शरीर विनाशी छ भने शक्तिशाली को ठहरियो? शरीर आत्माको आधारमा चल्छ। आत्मा निस्किएपछि शरीरलाई आगोमा जलाइन्छ। आत्मा त हो नै अविनाशी। ऊ बिन्दुको बिन्दु नै हो। त्यस आत्मालाई कसैले जान्दैन। हुन त कसैलाई साक्षात्कार हुन्छ फेरि पनि त्यसबाट के भयो र! उनीहरूलाई थाहा छैन– आत्मा, जुन बिन्दु हो, त्यसमा ८४ जन्मको अविनाशी पार्ट भरिएको छ। यी कुरा तिम्रो बुद्धिमा छ। राजयोग सिकाउनेवाला हुनुहुन्छ नै उहाँ बाबा। बाँकी बेरिस्टर, वकील, इन्जिनियर आदि त छँदै छन्। यहाँ बन्नु छ मनुष्यबाट देवता। हुन त ती पनि मनुष्य नै हुन् तर उनलाई देवता भनिन्छ। देवता अर्थात् दैवी गुण धारण गर्नेवाला। तिमी पनि पुरूषार्थ गरेर यस्तै दैवी गुणवाला बन्नु छ। यो हो लक्ष्य-उद्देश्य। तिमीले जान्दछौ– यी देवताहरूमा कुनचाहिँ गुणहरू हुन्छन्। यस्तै हामी पनि बन्नु छ। प्रजा पनि हुन्छन् नि। प्रजा त धेरै बन्छन्। बाँकी राजा-रानी बन्नमा मेहनत लाग्छ। जसले मेहनत धेरै गर्छन्, धेरैलाई ज्ञान दिन्छन्, उनीहरू राजा-रानी बन्छन्। हरेकले आफ्नो दिलबाट जान्दछ। आत्माले भन्छ– म बेहदको बाबाको अवश्य बन्छु। उहाँमा समर्पित हुन्छु, कुर्बान जान्छु। जे जति मेरो पासमा छ सबै समर्पण गर्छु। ईश्वरलाई त दिन्छन् नि। भन्छन्– हजुर आउनुभयो भने हामी कुर्बान जान्छौं। त्यसको बदला हजुरबाट नयाँ तन-मन-धन लिन्छौं। मन नयाँ कसरी लिन्छौ? आत्मालाई नयाँ (पवित्र) बनाउँछौ। फेरि शरीर पनि नयाँ लिन्छौ। राजधानी पनि लिन्छौ। अहिले तिमीले लिइरहेका छौ नि। आत्माले भन्छ– हे बाबा यस शरीर सहित हजुरको हुँ। बाबा म हजुरको शरणमा आउँछु। सबै रावण राज्यमा धेरै दुःखी भएका छन्, त्यसैले बाबा यसबाट मुक्त गरेर आफ्नो राजधानीमा लैजानुहोस्। शिवबाबा त मिल्नुभयो बाँकी के चाहियो! तिमीले जान्दछौ– शिवबाबाको श्रीमतद्वारा स्वर्ग बन्छ। आसुरी रावणको मतले नर्क बन्छ। अब फेरि स्वर्ग बन्नु छ, श्रीमतद्वारा। अवश्य जो कल्प पहिले आएका थिए, उनीहरू नै आउँछन्। श्रीमतद्वारा उच्च बन्छन्। रावण मतमा चल्नाले गिर्न पुग्छन्। तिम्रो अहिले हुन्छ चढ्ती कला, बाँकी सबैको छ झर्ने कला। अनेक धर्म छन्। सत्ययुगमा एक देवी-देवता धर्म नै थियो। अहिले त्यो प्रायः लोप भएको छ (वरको वृक्षको उदाहरण)।

तिमीले जान्दछौ– देवी-देवता धर्मको निशानीहरू त छन्। वास्तवमा देवी-देवताको राज्य थियो। ५ हजार वर्षको कुरा छ। तिमीले सिद्ध गरेर बताउँछौ– यो ५ हजार वर्षको चक्र हो। यसमा ४ युग छन्। हरेक युगको आयु १२५० वर्ष छ। उनीहरूले त लाखौं वर्ष बताएका छन्। धेरै फरक भएको कारणले कसैको पनि बुद्धिमा बस्दैन। सम्झन्छन्– जसरी अरु-अरु संस्थाहरू छन्, त्यसैगरी यो पनि बी. के. को संस्था हो। यिनीहरूले गीतालाई मान्छन्। अब गीता त कृष्ण भगवानले उच्चारण गरेको हो। यी दादा त जौहरी हुन्, त्यसैले मनुष्य अल्मलिन्छन् नि। बाबा भन्नुहुन्छ– म जो हुँ, जस्तो हुँ, अहिले कसैले मलाई जानेको छैन। पछि गएर तिमीले पनि पूरा चिन्नेछौ। अहिलेसम्म नम्बरवार जानेका छौ। त्यसैले त श्रीमतमा चल्न बडो मुश्किल सम्झन्छौ। राम्रा-राम्रा बच्चाहरू पनि श्रीमतमा चल्दैनन्। रावणले चल्न दिदैन। आफ्नो मत चलाउँछन्। श्रीमतमा चल्ने थोरै छन्। पछि गएर पूरा चिन्नेछन्, अनि श्रीमतमा चल्छन्। म जो हुँ, जस्तो हुँ त्यो पछि गएर बुझ्नेछन्। अहिले बुझिरहेका छन्। पूरा बुझेपछि के चाहियो! रहनु पनि आफ्नो गृहस्थमा छ तर माया दुस्मन यस्तो छ, जसले श्रीमतमा चल्न रोक्छ। भन्छन्– बाबा मायाको तूफान धेरै आउँछ। मायाले हजुरको याद भुलाइदिन्छ। हो, पुरूषार्थ तीव्र गर्दै रह्यौ भने आखिर माया पनि थाक्छ। माला पनि ८ को छ। मुख्य ८ रत्न छन्। ८ त हुन् जोडी। नवौं रत्न शिव बाबालाई बीचमा राख्छन्। कसैले रातो बनाउँछन्, कसैले सेतो। अब शिवबाबा त हुनुहुन्छ बिन्दु। बिन्दु रातो हुँदैन। बिन्दु त सेतो नै हुन्छ। उहाँ धेरै सूक्ष्म हुनुहुन्छ। दिव्य दृष्टि विना कसैले देख्न सक्दैन। डाक्टर आदिले देख्ने कति कोसिस गर्छन् तर देख्न सक्दैनन् किनकि अव्यक्त चीज हो नि। तिमी भन्छौ हामी आत्मा हौं, सोधिन्छ– कहिल्यै आत्मालाई देखेका छौ? आफैंलाई देख्न सक्दैनौ भने बाबालाई कसरी देख्न सक्छौ। कसरी आत्मामा पार्ट भरिएको छ, त्यो जान्नु छ। यो बिल्कुलै कसैले जान्दैन। ८४ को सट्टा ८४ लाख भनिदिन्छन्। बाबा आएर बच्चाहरूलाई सबै कुरा सम्झाउनु हुन्छ। आज के छ, भोलि के हुन्छ! महाभारत लडाई पनि छ। गीताको ज्ञान पनि दिनुभएको छ– यो रूद्र यज्ञ पनि हो। सबै धर्महरूको विनाश र एक धर्मको स्थापना भइरहेको छ। 

यो शिवबाबाको भण्डारा हो, यहाँबाट तिमीलाई पवित्र भोजन मिल्छ। ब्राह्मण-ब्राह्मणीहरूले नै बनाउँछन्। त्यसैले उनीहरूको महिमा अपरम्पार छ। यसबाट तिमी पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्छौ। त्यसैले पवित्र भोजन राम्रो हुन्छ। जति तिमी उच्च हुँदै जान्छौ त्यति तिमीलाई भोजन पनि शुद्ध मिल्दै जान्छ। योगयुक्त भएर कसैले भोजन बनाउँछ भने बल धेरै मिल्छ, त्यो पनि पछि गएर मिल्नेछ। सेवाधारी बच्चाहरू जो सेन्टरमा रहन्छन्, उनीहरूले आफ्नै हातले भोजन बनाएर खाए भने त्यसबाट धेरै बल मिल्न सक्छ। जसरी पतिव्रता स्त्रीले पति विना कसैलाई याद गर्दिनन्। यसैगरी तिमी बच्चाहरूले पनि यादमा रहेर बनाउँछौ, खान्छौ भने बल धेरै मिल्छ। बाबाको यादमा रहनाले तिमीले विश्वको बादशाही लिन्छौ। बाबाले राय त दिनुहुन्छ तर अहिले कसैको बुद्धिमा आउँदैन। पछि गएर हुन सक्छ– भन्नेछन्, म आफ्नै हातले योगयुक्त भएर भोजन बनाउँछु ताकि सबैको कल्याण होस्। 

बाबाले बच्चाहरूलाई हरेक प्रकारको मत दिनुहुन्छ नि। त्रिमूर्ति चित्र सामुन्ने राखिएको होस्। वर्सा शिवबाबाबाट लिनु छ। केही न केही युक्ति गर्दै गर। बाबाले आफ्नो उदाहरण दिन्छन्– भक्ति मार्गमा मैले नारायणको चित्रलाई धेरै प्यार गर्थें। उनको याद गरेर आँसु आउँथ्यो किनकि त्यस समय वैराग्य थियो। सानो छँदा वृत्ति वैराग्यको थियो। यो हो फेरि बेहदको कुरा। फेरि पनि भन्नुहुन्छ– मनमनाभव। योगमा रहनाले नै तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। यादमा रहने चिन्ता गर्नु छ। श्रीमत मिल्छ, बाबा भन्नुहुन्छ– याद गर। म सृष्टिको रचयिता हुँ, त्यसैले तिमी पनि नयाँ दुनियाँको मालिक बन्छौ नि। नत्र सजाय पनि खान्छौ र पद पनि भ्रष्ट हुन्छ। मर्नुभन्दा पहिले बच्चाहरूलाई यो चिन्ता हुनुपर्छ– मसतोप्रधान कसरी बनूँ! बाबालाई याद त अवश्य गर्नु छ। यो हो सबैभन्दा ठूलो चिन्ता। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) योगयुक्त भएर आफ्नै हातले भोजन बनाएर खानु छ। पवित्र दुनियाँमा जानको लागि पवित्र भोजन खानु छ। यसमा नै बल छ।

२) नयाँ तन-मन-धन प्राप्त गर्नको लागि पुरानो सबैथोक बाबामा समर्पण गर्नु छ। यस शरीर सहित बाबामा पूरा-पूरा समर्पण हुनु छ।

वरदान:

सदा साथीपनको स्मृति र साक्षी स्टेजको अनुभव गर्ने शिवमयी शक्ति स्वरुप कम्बाइन्ड भव:-  

जसरी आत्मा र शरीर दुवै सँगै छन्। जबसम्म यस सृष्टिमा पार्ट छ, अलग हुन सक्दैनन्। त्यस्तै शिव र शक्ति दुवैको यति गहिरो सम्बन्ध छ। जो सदा शिवमयी शक्ति स्वरुपमा स्थित भएर चल्छन्, उनीहरूको लगनमा मायाले विघ्न पार्न सक्दैन। उनीहरूले सदा साथीपनको र साक्षी स्टेजको अनुभव गर्छन्। यस्तो अनुभव हुन्छ, मानौं कोही साकारमा साथमा छ।

स्लोगन:

निर्विघ्न र एकरस स्थितिको अनुभव गर्नको लागि एकाग्रताको अभ्यास गर।   



***OM SHANTI***

Google+ Followers