BK Murli 1 November 2016 Nepali



BK Murli 1 November 2016 Nepali

२०७३ कात्तिक १६ गते मंगलबार 01.11.2016 बापदादा मधुवन

“मीठे बच्चे– बाबाद्वारा जुन ज्ञान मिलेको छ, त्यो बुद्धिमा कायम राख्नु छ, बिहान सबेरै उठेर स्वदर्शन चक्रधारी बनेर विचार सागर मन्थन गर्नु छ।”  

प्रश्न:

यस ईश्वरीय पढाइको कुनचाहिँ नियम छ? यसको लागि कुनचाहिँ निर्देशन मिलेको छ?

उत्तर:

यस ईश्वरीय पढाइको नियम छ– नियमित पढ्नु। कहिले पढ्ने, कहिले नपढ्ने– यो नियम छैन। बाबाले पढाइको लागि धेरै प्रबन्ध दिनुभएको छ। मुरली यहाँबाट पोस्टमा जान्छ। ७ दिनको कोर्स लिएर कहीँ पनि पढ्न सक्छौ। पढाइ कहिल्यै मिस गर्नु हुँदैन।

गीतः–

ओम् नमो शिवाय.....

ओम् शान्ति।

तिमी बच्चाहरू जो यहाँ बसेका छौ, रचयिता र रचनाको आदि-मध्य-अन्त्य अथवा स्वदर्शन चक्रलाई याद गर्छौ। बाबाले बच्चाहरूलाई ज्ञान दिनुभएको छ– स्वदर्शन चक्रधारी बन। तिमी ब्राह्मण बच्चाहरूको उद्देश्य हो– स्वदर्शन चक्रधारी बन्नु। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन– यो ८४ जन्मको चक्रलाई बुद्धिमा राख्नु छ। अरु सबै कुरा बुद्धिबाट निकालिदिनु छ। अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– वास्तवमा बाबाले हामीलाई सूर्यवंशी, चन्द्रवंशी बनाउनुभएको थियो, फेरि ८४ जन्म लियौं। हिँड्दा-डुल्दा, उठ्दा-बस्दा यो स्व आत्मालाई बाबाको र रचनाको आदि मध्य अन्त्यको ज्ञान छ। अहिले तिमीलाई शिवबाबाले शूद्रबाट ब्राह्मण बनाउनुभएको छ। बाबाले सम्झाउनु भएको छ– तिमीले ८४ जन्मको चक्रको बाजी कसरी खेल्छौ। हामी ब्राह्मण हौं, हामी ब्राह्मणहरूलाई रच्नेवाला ब्रह्माद्वारा शिवबाबा हुनुहुन्छ। रचयिता र रचनाको ज्ञानद्वारा नै तिमी स्वदर्शन चक्रधारी बन्छौ। यो ज्ञान बुद्धिमा कायम राख्नु छ। बिहानै उठेर स्वदर्शन चक्रधारी बनेर बस्नुपर्छ। हामीले आफ्नो ८४ जन्मको चक्रलाई जानेका छौं। हामी सबै आत्माहरूको रचयिता बाबा एक हुनुहुन्छ। भन्दछन् पनि– हामी सबै भाइ-भाइ हौं। हाम्रो बाबा उहाँ निराकार परमपिता परमात्मा हुनुहुन्छ, परमधामका निवासी हुनुहुन्छ। हामी पनि वहीँ रहन्थ्यौं, उहाँ हाम्रो बाबा हुनुहुन्छ। बाबा शब्द धेरै प्यारो छ। शिवबाबाको मन्दिरमा गएर कति पूजा गर्छन्, धेरै याद गर्छन्। बाबा भन्नुहुन्छ– म तिमीलाई मनुष्यबाट देवता, तुच्छ बुद्धिबाट स्वच्छ बुद्धि बनाउँछु। तुच्छ बुद्धि अर्थात् शूद्र बुद्धिबाट स्वच्छ बुद्धि बनाएको थिएँ अर्थात् उच्च बुद्धि, पुरूषोत्तम बुद्धि बनाएको थिएँ। सबै स्त्री-पुरूषले यी लक्ष्मी-नारायणलाई नमन गर्छन्। तर उनीहरू को हुन्? यो चिनेका छैनन्। कहिले आए? के गरे? बाबाले सम्झाउनुभएको छ– यो भारतवर्ष अविनाशी खण्ड हो किनकि अविनाशी बाबा परमपिता परमात्माको पनि जन्म भूमि हो। पतित-पावन, सर्वका सद्गति दाताको जन्म स्थान हो, त्यसैले यो भयो सबैभन्दा ठूलो तीर्थ स्थान। यति नशा कहाँ छ कसैलाई– यो परमपिता परमात्माको, सर्वको सद्गति दाता बाबाको जन्मभूमि हो। पतित-पावनको जयन्ती भारतमा भएको हो। शिव जयन्ती मनाउँछन् त्यसैले अवश्य शिवको जन्म यहाँ नै हुन्छ। यो भारत ठूलो तीर्थ स्थान हो। तर ड्रामा अनुसार कसैलाई थाहा छैन– उहाँ हाम्रो परमपिता अथवा माता-पिता, पतित-पावन सर्वको सद्गति दाताको जन्मस्थान हो। त्यसैले भारत भूमिलाई वन्दे मातरम् भनिन्छ अर्थात् यस भूमिमा तिमी बच्चीहरू, जसले श्रीमतद्वारा विश्वलाई स्वर्ग बनाउँछौ, यो नशा रहनुपर्छ– श्रीमतमा हामी कल्प-कल्प विश्वलाई स्वर्ग बनाउँछौं। जो जति श्रीमतमा चल्छन्, त्यति उच्च पद पाउँछन्। कल्पको आयु लाखौं वर्ष लेखिदिएका छन्। तिमीले जान्दछौ– बाबा, जसको यो भारत जन्मस्थान हो, उहाँले जुन धर्म स्थापना गर्नुभयो, त्यस धर्मको हो गीता। गीता कसले उच्चारण गर्यो, यो भुलेका छन्। कति फरक परेको छ। कहाँ निराकार शिव, कहाँ श्रीकृष्ण। तिमीले जान्दछौ– कृष्णको आत्मा, जुन गोरो थियो, त्यो अहिले धेरै जन्मको अन्तिम जन्ममा तमोप्रधान बनेको छ। फेरि उनमा प्रवेश गरेर उनलाई अर्थात् श्रीकृष्णलाई गोरो बनाइरहेको छु। त्यसैले कृष्णलाई कालो र गोरो, श्याम र सुन्दर भनिन्छ। उनी सत्ययुगको पहिलो नम्बर सुन्दर राजकुमार थिए। उनको महिमा छ– मर्यादा पुरूषोत्तम, अहिंसा परमोधर्म। दुनियाँले यो जान्दैनन्– राधा-कृष्ण र लक्ष्मी-नारायणको आपसमा के सम्बन्ध छ! बाबा भन्नुहुन्छ– अहिलेसम्म तिमीले जे जति पढ्दै आएका छौ, त्यसमा कुनै सार छैन। अहिले तिमी सम्मुख बसेका छौ। जान्दछौ– बाबा ५ हजार वर्षपछि हामीलाई फेरि राजयोगको शिक्षा दिइरहनु भएको छ। सारा दुनियाँले भन्छन्– कृष्णले गीता सुनाउनुभयो। बाबा भन्नुहुन्छ– कृष्णमा सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान नै छैन। कृष्णको आत्माले अघिल्लो जन्ममा यो ज्ञान प्राप्त गरेको हो, अहिले फेरि गरिरहेको छ, जसको नाम मैले ब्रह्मा राखेको छु। उनको धेरै जन्मको अन्त्यको जन्ममा म प्रवेश गर्छु। तिमी मरजीवा बनेका छौ नि। तिम्रो अव्यक्त नाम पनि राखेको थिएँ। अब राखिँदैन किनकि धेरैले छोडिदिए। बाबाको बनेर नाम रखाएर पनि भाग्नु, यो त शोभा दिँदैन। त्यसैले नाम दिन बन्द गरिदिएँ। अब तिमी ब्राह्मण बनेका छौ। प्रजापिता ब्रह्माका बच्चा, शिवबाबाको नाति हौ। बाबा भन्नुहुन्छ– वर्सा तिमीले मसँग लिनु भने मलाई याद गर। यिनको यो धेरै जन्मको अन्त्यको जन्म हो। सूक्ष्मवतनमा जुन ब्रह्मा देखाउँछन्, उनी त पावन छन्। सूक्ष्मवतनमा प्रजापिता त हुन सक्दैन। बाबा सम्झाउनु हुन्छ– यिनी व्यक्त हुन्, वृक्षको अन्तिममा उभिएका छन्। यहाँ बच्चाहरूको साथमा योगमा बसेका छन्– पवित्र फरिश्ता बन्नको लागि। त्यसैले सूक्ष्मवतनमा देखाउनु पर्ने हुन्छ। यहाँ पनि प्रजापिता अवश्य हुनुपर्छ। उनी अव्यक्त, यिनी व्यक्त। तिमी पनि फरिश्ता बन्न आएका हौ। यसमा नै मनुष्य अलमलिन्छन् किनकि यो हो बिल्कुल नयाँ ज्ञान। कुनै पनि शास्त्र आदिमा यो ज्ञान छँदै छैन। भगवान एक हुनुहुन्छ सर्वोच्च निराकार परमपिता परमात्मा, सबै आत्माहरूका पिता। उहाँ रहने स्थान हो परमधाम। उहाँलाई सबैले याद गर्छन्– आउनुहोस्– हामी माथि मायाको छायाँ परेको छ। पतित बनेका छौं। यो कुरा नयाँको बुद्धिमा बस्दैन। अहिले तिमीले रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौ। सत्ययुगमा हामी थोरैले राज्य गर्दथ्यौं। वहाँ अधर्मको कुरा हुन सक्दैन। शास्त्रहरूमा कति कुरा लेखिदिएका छन्, तर त्यसमा कुनै सार छैन। सिँढी झर्दै-झर्दै अब अन्त्यमा आएर पतित बनेका छौं। अब तिमीले जम्प गर्छौ। झर्न ८४ जन्म लाग्यो, जम्प सेकेण्डमा गर्छौ। 

तिमी बच्चाहरूले अहिले राजयोग सिकिरहेका छौ, फेरि शान्तिधाममा गएर सुखधाममा आउँछौ। यो हो दुःखधाम। पहिले तिमी आएका हौ, त्यसैले बाबा पनि पहिला सुरूमा तिमीसँग मिल्नुहुन्छ। यहाँ बाबा र बच्चाहरू अर्थात् आत्माहरू र परमात्माको मेला लाग्छ। हिसाब छ नि– हामी ५ हजार वर्ष भयो बाबासँग बिदाई लिएको। पहिला सुरूमा स्वर्गमा पार्ट खेल्यौं, वहाँ देखि पार्ट खेल्दै-खेल्दै तिमी तल झर्दै आयौ। अहिले तिमी बाबाको पासमा आएका छौ, बाँकी थोरै जो होलान्, उनीहरू पनि आउँछन्। फेरि तिम्रो पढाइ पूरा हुन्छ, सबैलाई यहाँ आउनु छ। वहाँ जब खाली हुन्छ फेरि बाबाले सबैलाई लिएर जानुहुन्छ। यो बुझ्नु पर्ने कुरा हुन्। सधैं पढ्नु छ। विद्यालयमा कहिले जाने, कहिले नजाने– यो नियम हुँदैन। बाबाले पढाइको लागि धेरै प्रबन्ध पनि दिनुभएको छ। नत्र कहिले पनि कसैको पासमा पढाइ (मुरली) पोस्टमा जाँदैन। यो बेहद बाबाको पढाइ पोस्टमा जान्छ। कति कागज छापिन्छन्! कहाँ-कहाँ जान्छन्। ७ दिनको कोर्स लिएर फेरि जहाँ पनि पढ्न सक्छौ। यस समय सबै आधाकल्पका रोगी छन्, त्यसैले ७ दिन भठ्ठीमा राख्नु पर्ने हुन्छ। यो ५ विकारको बिमारी सारा दुनियाँमा फैलिएको छ। सत्ययुगमा तिम्रो शरीर निरोगी थियो, एभरहेल्दी, एभरवेल्दी थियौ। अब त के हालत भएको छ। यो सारा खेल यहाँ नै हुन्छ। तिमीलाई ८४ जन्मको अब स्मृति आएको छ। कल्पकल्प तिमी नै स्वदर्शन चक्रधारी बन्छौ र चक्रवर्ती राजा पनि बन्छौ। यो राजाई स्थापना भइरहेको छ, यसमा नम्बरवार पद हुन्छन्। प्रजा पनि अनेक प्रकारका चाहिन्छ। दिलसँग सोध्नुपर्छ– मैले कतिलाई आफू समान स्वदर्शन चक्रधारी बनाएको छु? जति जसले बनाउँछ, उसले नै उँच पद पाउँछ। तिमीलाई बाबाले मायासँग युद्ध गर्न सिकाउनु हुन्छ, त्यसैले यिनको नाम युद्धिष्ठिर राखिदिएका छन्। मायामाथि जित पाउनको लागि युद्ध सिकाउनु हुन्छ। युद्धिष्ठिर र धृतराष्ट्र पनि देखाउँछन्। गायन पनि गर्छन्– माया जीते जगत जित, कति समय तिम्रो जित कायम रहन्छ फेरि हार कति समय खान्छौ? यो पनि तिमीले जान्दछौ। यो जिस्मानी युद्ध होइन। न कुनै देवताहरू र असुरहरूको युद्ध हो। न कौरवहरू र पाण्डवहरूको युद्ध हो। झूटो काया, झूटो माया... यो भारत झुट खण्ड बनेको छ। सत्य खण्ड थियो, जबदेखि रावण राज्य सुरू भयो, तबदेखि झुटो खण्ड बनेको छ। ईश्वरको लागि कति झुटो बोल्छन्। कति कलंक लगाउँछन्। कलंगी अवतार पनि गायन गरिएको छ। सबैभन्दा धेरै कलंक बाबामाथि लाग्छ। उहाँको लागि भन्छन्– कच्छ-मच्छ अवतार, ढुंगा-माटोमा ईश्वर। कति गाली दिन्छन्। के यो सभ्यता हो? अहिले तिमीलाई प्रकाश मिलेको छ। तिमीले जान्दछौ– बाबाले हामीलाई रचयिता र रचनाको आदि मध्य अन्त्यको रहस्य सम्झाइरहनु भएको छ, जुन अरु कसैले जान्दैनन्। बाबा नै सद्गति दाता हुनुहुन्छ। बाबाको ज्ञानद्वारा सबैको सद्गति हुन्छ। बाँकी जो स्वयं नै दुर्गतिमा छन्, उनले कसरी अरुको सद्गति गर्छन्? तिमीलाई आएर राजाहरूको राजा बनाउँछु। तिमी नै पवित्र पूज्य थियौ, अब आएर पुजारी बनेका छौ। पवित्र राजाहरूको अपवित्र राजाहरूले पूजा गर्छन्। सत्ययुगमा डबल शिरताज थिए। विकारी राजाहरूको सिँगल ताज रहन्छ। त्यो पनि महाराजा महारानीको। तर पवित्रलाई अपवित्र गएर टाउको टेक्छन्। ती पवित्र प्रवृत्ति मार्गवाला, उनै फेरि पतित प्रवृत्ति मार्गवाला बन्छन्। बाबा भन्नुहुन्छ– अब तिम्रो यस मृत्युलोकमा अन्तिम जन्म हो। अहिले म आएको हुँ तिमीलाई फेरि सत्ययुगमा लैजान। यो मिसाइलहरूद्वारा लडाई ५ हजार वर्ष पहिले पनि भएको थियो। यो पुरानो दुनियाँ समाप्त हुनु छ। बाबा सम्झाउनु हुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बन्नु छ। कमल फूल समान तिमी ब्राह्मणहरू बनेका छौ। तर यो निशानी विष्णुलाई दिएका छन् किनकि तिमी सदैव एकरस रहँदैनौ। आज कमल फूल समान बन्छौ, २ वर्षपछि पतित बन्न पुग्छौ। 

तिम्रो यो सर्वोत्तम कुल हो। तिमी ब्राह्मण चोटी हौ। फेरि पुर्नजन्म लिँदा-लिँदा देवता, क्षत्रिय, वैश्य, शूद्र बन्छौ। शूद्रबाट फट्ट देवता कहाँ बन्छौ र। ब्राह्मण चोटी त हुनुपर्छ। अब ब्राह्मणलाई बाबाले पढाइरहनु भएको छ। त्यसैले यस्तो बाबालाई छोड-पत्र कहाँ दिनु छ र। बाबा भन्नुहुन्छ– आश्चर्यवत् मेरो बनन्ती, सुनन्ती फेरि पनि भागन्ती भएर मायाको बनन्ती। विश्वासघाती बनन्ती, मेरो निन्दा करावन्ती... उसलाई भनिन्छ सतगुरूको निन्दक स्वर्गको ठेगाना नपावन्ती। बाँकी ती भक्ति मार्गका गुरू हुन्, उनीहरू कुनै सद्गति दाता होइनन्। सबै आत्माहरूका पिता, टिचर, गुरू एकै निराकार बाबा हुनुहुन्छ। उहाँ नै सबैका उद्धार गर्न आउनु भएको छ। पछि गएर बुझ्नेछन्, फेरि टू लेट हुनेछ। उनीहरू फेरि आफ्नै धर्ममा जानेछन्। सर्वश्रेष्ठ हो देवता धर्म। उनीहरूभन्दा पनि उच्च तिमी ब्राह्मण हौ, जो बाबासँग बसेका छौ। तिमीलाई पढाउनेवाला विचित्र र विदेही हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो देह छैन। मलाई भन्दछन्– शिव, मेरो नाम बद्लिन सक्दैन। अरु सबैको शरीरको नाम बद्लिन्छन्। म हुँ परम आत्मा, मेरो जन्म-पत्री कसैले निकाल्न सक्दैन। जब बेहदको रात हुन्छ, तब म आउँछु दिन बनाउन। अहिले हो संगम, यी कुरालाई राम्रोसँग बुझेर फेरि धारण गर्नुपर्छ। स्मृतिमा ल्याउनुपर्छ। यहाँ तिमी बच्चाहरू आउँछौ, फुर्सत मिल्छ। विचार सागर मन्थन यहाँ राम्रो गर्न सक्छौ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) सर्वोत्तम कुलको स्मृतिद्वारा गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र बन्नु छ। कहिले पनि सद्गुरूको निन्दा गराउनु हुँदैन।

२) श्रीमतमा विश्वलाई स्वर्ग बनाउने सेवा गर्नु छ। स्वदर्शन चक्रधारी बन्नु र बनाउनु छ। जब फुर्सत मिल्छ, विचार सागर मन्थन अवश्य गर्नु छ।

वरदान:

दिव्य गुणहरूको आह्वानद्वारा अवगुणहरूलाई समाप्त गर्ने दिव्य गुणधारी भव:-  

जसरी दीपावलीमा श्री लक्ष्मीको आह्वान गर्छन्, यसैगरी तिमी बच्चाहरूले स्वयंमा दिव्य गुणहरूको आह्वान गर्यौ भने अवगुण आहुति रुपमा खतम हुँदै जान्छन्। फेरि नयाँ संस्कार रुपी नयाँ वस्त्र धारण गर्नेछौ। अब पुरानो वस्त्रसँग अलिकति पनि प्रीत नहोस्। जति पनि कमजोरी, कमी, निर्बलता, कोमलता बाँकी रहेका छन्– ती सबै पुराना खाता आजदेखि सदाकालको लागि समाप्त गर, तब दिव्य गुणधारी बन्नेछौ र भविष्यमा राज्याभिषेक हुनेछ। त्यसैको यादगार यो दीपावली हो।

स्लोगन:

स्वराज्य अधिकारी बन्नको लागि मन रुपी मन्त्रीलाई आफ्नो सहयोगी बनाऊ।    

 
***OM SHANTI***

Google+ Followers