BK Murli 22 March 2017 Nepali
२०७३ चैत्र ०९ बुधबार २२-०३-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन
“मीठे बच्चे– बाबा आउनु भएको छ तिमीलाई सच्चा-सच्चा वैष्णव बनाउन, तिमी अहिले ट्रान्सफर भएर कालोबाट गोरो बनिरहेका छौ।”
प्रश्न:
सर्वको कामना पूर्ण गर्नेवाला तिमी बच्चाहरूको टाइटल के हो? तिमीले कुनचाहिँ कामना पूर्ण गर्नु छ?
उत्तर:
तिमी सर्वको मनोकामना पूर्ण गर्नेवाला जगत् अम्बाका बच्चाहरू कामधेनु हौ। सबैको कामना छ– हामीलाई मुक्ति-जीवनमुक्ति मिलोस्। तिमी जगत् अम्बा, जगत् पिताका बच्चाहरूले सबैलाई मुक्ति-जीवनमुक्तिको बाटो बताउँदै गर, यही तिम्रो धन्धा हो।
गीत:–
अम्बे तू है जगदम्बे......
ओम् शान्ति।
यो हो मम्माको लागि भक्तहरूको महिमा। भन्दछन्– भक्तहरूको रक्षा गर्नेवाला। अब यो भयो भक्तिमार्ग। मम्माको महिमा शिवबाबाको पछि हुन्छ। जब परमपिता परमात्मा शिव आउनुहुन्छ, आएर जगत् अम्बालाई रच्नुहुन्छ। रच्ने अर्थ नै हो ट्रान्सफर गर्नु। कालोलाई गोरो बनाउनुहुन्छ। यस समय जगत् अम्बा त एकै छिन्। जस्तै शिवको चित्र त एकै छ, फेरि उहाँका भिन्न-भिन्न नाम राखेर, भिन्न-भिन्न मन्दिर बनाएका छन्। अनेक प्रकारले महिमा पनि गर्छन्। परमपिता परमात्मा एकै हुनुहुन्छ। त्यस्तै जगत् अम्बा पनि एकै छिन्। २ भुजावाला हुन्। ८ भुजा भएका कुनै देवी-देवता हुँदैनन्। प्रजापिता अथवा जगत् अम्बा पनि २ भुजावाला छन्। जगत् अम्बाको महिमा धेरै कलकत्तामा हुन्छ। प्रसिद्ध छ– काली कलकत्ते वाली। उनको चित्र पनि धेरै भयानक बनाएका छन्। खप्परको माला पनि लगाएकी छन्। यो सबै हो भक्तिमार्ग। जगत् अम्बाले त बलि लिन सक्दिनन्। उनी त जगत्लाई रच्नेवाला ठहरिइन्। उनले बलि कसरी लिन सक्छिन् अथवा उनी मांसाहारी कसरी हुन सक्छिन्! उनको मन्दिर न केवल कलकत्तामा मात्र छन्, धेरै ठाउँमा छन्। माताहरूले आफ्ना बच्चाहरूको बलि कहाँ लिन्छन् र! भक्ति कति कडा छ। अब उनीहरूलाई कसले बसेर सम्झाउने– जगत् अम्बाको यस्तो भयानक रूप हुँदैन। न यस्तो बलि लिन्छिन्। त्यसमा पनि एउटा हुन्छ वैष्णव देवी, अर्को हुन्छ मांसाहारी। अब जो मांसाहारी हुन्छ, ऊ वैष्णव बन्छ। मम्मा त कुमारी हुन्, सायद त्यस्तो केही खाइनन् होला। जगत् अम्बा ब्रह्माकी छोरी कुमारी हुन्। अब कुमारीलाई फेरि अम्बा कसरी भनिन्छ, यो बुझ्नुपर्ने कुरा हो। कलकत्तामा धेरै पूजा हुन्छ। धेरै भयानक अनुहार बनाएका छन्, जगत् अम्बाको त यस्तो अनुहार हुन सक्दैन। उनी त सबैको मनोकामना पूर्ण गर्नेवाला हुन्। उनी सच्चा-सच्चा वैष्णव देवी हुन्। उनको अघिल्लो जन्म अवश्य मांसाहारी थियो। फेरि वैष्णव अथवा पावन दैवी गुणवाला बनिरहेकी छिन्। हो सारा संगमयुगको कुरा। त्यसैले जगत् अम्बाको मन्दिरमा गएर महिमा गर्नुपर्छ। पहिले बताउनुपर्छ– निराकार आत्माहरूका पिता पनि एक हुनुहुन्छ। फेरि साकार प्रजापिता ब्रह्मा पनि एक हुनुहुन्छ। ब्रह्माकी छोरी सरस्वती पनि एक हुनुहुन्छ, उहाँले कहिल्यै बलि आदि लिनुहुन्न। पहिले सुन्दर हुनुहुन्थ्यो, अहिले कालो हुनुहुन्छ, फेरि सुन्दर बन्नुहुन्छ। त्यसपछि सारा कुटुम्ब पनि सुन्दर बन्नेछ। धेरै ठाउँमा अम्बालाई २ भुजावाला नै देखाउँछन्। बुझाउनाले कुनैले त बुझ्छन् पनि, कुनै त झगडा पनि गर्छन्। हंगामा गर्न पनि बेर लगाउँदैनन्। त्यसैले बुझाउने होसियार चाहिन्छ।
तिमी बच्चाहरू हौ कल्याणकारी। मम्मा जान त पहिले कलकत्तामा गएकी थिइन् तर यस्तो मुरली चलेको थिएन। जगत् अम्बा हुन् एक। तिमी अनेकानेक बच्चीहरू हौ। नाम त एकको हुन्छ नि। एकको नै अनेक मन्दिर बनाएका छन्। अब कलकत्तामा भक्तहरूलाई यस पूजाबाट छुटाउने कसरी? उनीहरूलाई पनि पूज्य त बनाउनु छ नि! त्यसैले वहाँ गएर कसैले सम्झाओस्। यस समय उनै जगत् अम्बा सबैको मनोकामना पूर्ण गर्ने यहाँ बसेकी छिन्। उनी हुन् कामधेनु। कसरी उनले कामना पूर्ण गर्छिन्, यो कसैलाई थाहा छैन। तिमी हौ कामधेनु जगत् अम्बाका बच्चीहरू। केवल गाई माता मात्र छैनन्, पुरुष पनि छन्। उनले पनि धेरैको कामना पूर्ण गर्छन्। तिम्रो धन्धा नै हो सबैको मनोकामना पूर्ण गर्नु। कहीँ भाइले पनि सेन्टर चलाउँछन्। उनीहरूको बुद्धिमा आउँछ– मैले पनि सबैको मनोकामना पूर्ण गरूँ अर्थात् मुक्ति जीवनमुक्तिको बाटो बताऊँ, स्वर्गको वर्सा दिऊँ। जसले कल्प पहिले लिएको छ, उसैले लिन्छ। हो, वहाँ सबै प्रकारको सुख मिल्छ। जगत् पिता, जगत् अम्बा– यी दुवैका रचयिता हुनुहुन्छ शिवबाबा। यी द्वारा कति मनोकामना पूर्ण हुन्छन्। कलकत्तामा धेरै पूजा हुन्छ। कुनै कसलाई, कुनै कसलाई मान्नेवाला हुन्छन्। कुनै वैष्णव देवीलाई पनि मान्नेवाला हुन्छन्। उनीहरू तिम्रो कुराले झट्ट राजी हुन्छन्। भन, हामीलाई राज्य-भाग्य मिलेको थियो, यी जगत् अम्बाबाट। जगत् अम्बालाई फेरि कहाँबाट मिल्यो? जगत् पिताद्वारा। उनलाई कहाँबाट मिल्यो? शिव बाबाबाट। जो सारा सृष्टिको रचयिता हुनुहुन्छ, तिमीले राम्रो सँग सम्झाउन सक्छौ। जगत् अम्बालाई सबैले मान्छन्। अवश्य जगत् अम्बा र जगत् पितालाई पनि वर्सा शिवबाबा सँग मिल्छ फेरि उनीद्वारा बच्चाहरूलाई मिल्छ। जगत् अम्बा एक हुनुहुन्छ, २ भुजावाला हुन्। धेरै भुजा छैनन्। सरस्वती ब्रह्माकी छोरी हुन्, ज्ञान-ज्ञानेश्वरी। तर उनको रूप त भयानक देखाएका छन्। त्यसले यसमा सम्झाउनुपर्छ– जगत् अम्बाको यस्तो भयानक रूप हुँदैन। सतोप्रधान मनुष्यबाट फेरि तमोप्रधान बन्छन्। तमोप्रधान मनुष्यले फेरि सतोप्रधान मनुष्यहरूलाई पुज्छन्। जगत् अम्बा मनुष्य हुन् किनकि जगत् त यहाँ छ। मूलवतन, सूक्ष्मवतनलाई जगत् भनिँदैन। सूक्ष्मवतनमा देवताहरू, मूलवतनमा आत्माहरू रहन्छन्। त्यसैले यी सबै कुरा बुझाउनको लागि हुन्। बाँकी बाबा र वर्सालाई याद गर्नु छ। ८४ जन्मको कथा सबैलाई सुनाउनुपर्छ। जो देवता थिए, ती अब छैनन्।
जो देवी-देवताहरूको पुजारी छन्, उनले नै यी सबै कुरालाई बुझ्नेछन्। उनीहरूले फेरि उच्च पद प्राप्त गर्नको लागि मेहनत पनि गर्छन्। कति बच्चाहरूले सम्झन्छन्– म त बाबाको बच्चा बनेँ, अवश्य उच्च पद पाउँछु। तर विचार गर, पहिला राम्रो सँग पढ, तब त राम्रो पद पाउँछौ। पढ्दैनौ, अझै विकर्म गरिरह्यौ भने एक त सजायँ खानुपर्छ, अनि फेरि गएर नोकर-चाकर दास-दासी बन्नेछौ किनकि विकर्मको बोझ धेरै छ। जन्म-जन्मान्तर दासी बन्यौ, अन्तिममा पद पायौ त के भयो! यस भन्दा त प्रजालाई धेरै धन मिल्छ। उनीहरू कसैको दास-दासी बन्दैनन्। यो सबै बुझ्नु पर्ने कुरा हुन्। बाँकी मूल कुरा बाबाले सम्झाइरहनु भएको थियो– वैष्णव देवी नै लक्ष्मी बन्छिन्। लक्ष्मीको मन्दिर ठूलो या वैष्णव देवीको मन्दिर ठूलो? महिमा कसको धेरै छ? उनी हुन् ज्ञान-ज्ञानेश्वरी। लक्ष्मीलाई ज्ञान-ज्ञानेश्वरी भनिदैन, त्यसैले महिमा जगत् अम्बाको हो। ठूलो मेला पनि उनको लाग्छ। लक्ष्मीलाई दीपावलीमा बोलाउँछन्। यो हो आत्माहरूको परमात्मा सँग मेला। यी कुरालाई कुनै मनुष्यले बुझ्दैनन्। सम्झाउने बडो होसियार चाहिन्छ, जो युक्ति सँग प्यारले काम गरोस्, जसले गर्दा कसैले पनि मानोस्– वास्तवमा यसले ठीक सम्झाउँछ। श्री लक्ष्मी कति सुन्दर थिइन्! लक्ष्मी-नारायणको जो यति पूजा हुन्छ, ती पनि पक्का वैष्णव हुन्। जगत् अम्बा पनि वैष्णव हुन्। बाबाले उनलाई राजयोग सिकाएर मनुष्यबाट देवता बनाउनु भएको हो। तिम्रो पूजा अहिले हुन सक्दैन किनकि शरीर त पवित्र छैन। तिमी सम्पूर्ण बन्छौ अनि तिम्रो शरीर बदलिन्छ, तब तिमी पूजा लायक बन्छौ। वास्तवमा संन्यासीहरूलाई पूजा गर्न मिल्दैन। आजकल त शिवोहम् भनेर बसेर पूजा गराउँछन्। उनीहरूमा पनि एक मठ हुन्छ, जसले आफ्नो पूजा गराउँदैनन्। अब शिव त हुनुहुन्छ निराकार, उहाँले आफ्नो पूजा कसरी गराउनु हुन्छ? हेर, शिवबाबा यिनमा आउँदा आफ्नो पूजा कहाँ गराउनु हुन्छ र। बाबा त आएर पुजारीबाट पूज्य बनाउनुहुन्छ। पूजा गर्न कसरी सिकाउनुहुन्छ! शिवबाबाले केही पनि गर्न दिनुहुन्न। भन्नुहुन्छ– राम-राम पनि मुखबाट नभन। केवल बाबालाई याद गर्नु छ। याद गर्नु कुनै जप होइन। बच्चाहरूले त पिताबाट वर्सा लिन्छन्। बच्चाले कहाँ पिताको जप गर्छ र! तिमीले पनि जप जप्नु पर्दैन। जप र यादमा रात दिनको फरक छ। प्वाइन्टहरू त धेरै नयाँ-नयाँ मिलिरहन्छन्, सम्झाउनको लागि। यो पनि आवश्यक कुरा हो– यहाँ पनि बाबा हुनुहुन्छ।
उहाँ सँग मिल्छ बेहदको वर्सा र लौकिक बाबा सँग मिल्छ हदको वर्सा। यस पारलौकिक बाबाले कल्प पहिले पनि वर्सा दिनु भएको थियो, अब फेरि दिन आउनु भएको छ। बुद्धिमा सारा ज्ञान फिराउनु पर्छ, जसबाट मनुष्य देवता बन्नेछ। हेर, ज्ञानमार्गमा सम्झाउन धेरै मेहनत चाहिन्छ। जसबाट मनुष्यको जीवन हीरा जस्तो बनोस्। दु:खी त धेरै छन्, एक-आपसमा लडिरहन्छन्। बाबा आएर ईश्वरीय सम्प्रदाय बनाएर फेरि दैवी सम्प्रदाय बनाउनुहुन्छ, त्यसैले लडाइँ झगडाको कुरा नै छैन। ईश्वरीय दरबारमा कुनै असुर रहन सक्दैन। विकारी पतित कपडालाई यहाँ बस्ने हुकुम छैन। बाबा सम्झाइ रहनु हुन्छ– प्यारा बच्चाहरू! कहिल्यै आपसमा लडाइँ-झगडा नगर। सतगुरुको निंदक ठौर न पाये अर्थात् सत्ययुगमा उच्च पद पाउँदैन। सतगुरु, जसले स्वर्गको मालिक बनाउनुहुन्छ, उहाँको निन्दा गरेमा उच्च पद पाउन सकिँदैन। यो हो सारा यहाँको कुरा। तर उनीहरूले आफूमाथि लगाएका छन् र मनुष्यहरूलाई डर देखाउँछन्। यहाँ त पूरा पवित्र बन्नुपर्छ। उनले गुरु गर्छन् तर पवित्र बन्दैनन्। गृहस्थीलाई गुरु बनाएर कुनै फाइदा छैन। यो हो प्रजाको राज्य फेरि दैवी राज्य बनाउने समर्थ चाहिन्छ। बाबा आउनु भएको छ आसुरी दुनियाँलाई दैवी बनाउन। दैवी धर्मको स्थापना हुन्छ, बाँकी सबै धर्म खतम हुन्छन्। भन्दछन्– भगवान् आएर फल दिनुहुन्छ। यसबाट सिद्ध हुन्छ– कोही पनि निर्वाणधाममा जान सक्दैन। बाबा नै आएर राजयोग सिकाउनु हुन्छ। बाबा भन्नुहुन्छ– म तिम्रो परमपिता परमात्मा हुँ। मेरो पासमा नै सारा ज्ञान छ। मलाई नै पतित-पावन भन्दछन्। मैले नै तिमीलाई राजयोग सिकाउँछु। तिमीले फेरि अरूलाई सिकाउनु छ। सम्झाउनेहरू सबै समान छैनन्। तिमीले नोट गर्नुपर्छ। राम्रो भाषण गर्नेलाई पनि सबै प्वाइन्टहरू त्यतिबेला याद आउँदैन। पछि ख्याल आउँछ– यो सुनाउन चाहन्थेँ। नोट अवश्य गर्नुपर्छ। तर यस्तो होइन, नोट गरेर फेरि छोडिदिनु छ, पढ्नु छैन। धारणा तब हुन्छ, जब श्रीमतमा चल्छौ। सबेरै अमृतबेला उठेर बाबालाई अवश्य याद गर्नुपर्छ। फेरि प्वाइन्टहरू रिपीट गर, अरूलाई सुनाऊ तब उच्च पद पाउँछौ। राजा बन्नु कुनै सानीमाँको घर होइन। बुझ्यौ! मेहनत गर्नुपर्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) पूज्य बन्न पूरा पुरुषार्थ गर्नुपर्छ। आफ्नो पूजा गराउनु हुँदैन। आत्मा र शरीर दुवै पवित्र भएपछि नै पूजनीय लायक बन्छौ।
२) बुद्धिमानी पूर्वक समझदार बनेर कल्याणको भावना राखेर सेवा गर। दैवीगुण धारण गरेर सत्य वैष्णव बन्नु छ।
वरदान:
सर्व शक्तिद्वारा हर कम्पलेनलाई समाप्त गरेर कम्पलीट बन्नेवाला, शक्तिशाली आत्मा भव:-
मनमा यदि कुनै पनि कमी छ भने त्यसको कारणलाई बुझेर निवारण गर किनकि मायाको नियम छ– जुन कमजोरी तिमी भित्र छ, त्यसै कमजोरीद्वारा उसले तिमीलाई मायाजित बन्न दिँदैन। मायाले त्यसै कमजोरीको लाभ लिन्छ र अन्त्य समयमा पनि त्यही कमजोरीले धोका दिन्छ। त्यसैले सर्व शक्तिको स्टक जम्मा गरेर शक्तिशाली आत्मा बन। योगको प्रयोगद्वारा हर कम्पलेनलाई समाप्त गरेर कम्पलीट बन। यही स्लोगन याद रहोस्– “अहिले नभए कहिल्यै हुँदैन”।
स्लोगन:
शान्ति र धैर्यताको शक्तिद्वारा विघ्नहरूलाई समाप्त गर्नेवाला नै विघ्न-विनाशक हो।