BK Murli 15 April 2017 Nepali

BK Murli 15 April 2017 Nepali

२०७३ बैशाख २ शनिबार १५-०४-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– पुरानो देह र देहको सम्बन्धी जो एक अर्कालाई दुःख दिनेवाला छन्, ती सबैलाई भुलेर एक बाबालाई याद गर, श्रीमतमा चल।”  

प्रश्न:

बाबाको साथमा फर्केर जानको लागि बाबाको कुन श्रीमतको पालना गर्नु पर्छ?

उत्तर:

बाबाको श्रीमत छ– प्यारा बच्चाहरू! पवित्र बन, ज्ञानको पूरा धारणा गरेर आफ्नो कर्मातीत अवस्था बनाऊ, तब साथ-साथै वापस जान सक्छौ। कर्मातीत बनेनौ भने बीचमा रोकिएर सजाय खानु पर्छ। विनाशको समयमा कति आत्माहरू शरीर छोडेर भट्कन्छन्, साथमा जानुको सट्टा यहाँ नै पहिले सजाय भोगेर हिसाब चुक्ता गर्छन् त्यसैले बाबाको श्रीमत छ बच्चाहरू शिरमा जुन पापको बोझ छ, पुरानो हिसाब किताब छ, सबै योगबलद्वारा भस्म गर।

गीत:–

ओ दूर के मुसाफिर.........

ओम् शान्ति।

अहिले तिमी ब्राह्मणको बुद्धिबाट सर्वव्यापीको ज्ञान त निस्किएर गएको छ। यो त राम्रो सँग सम्झाइन्छ– परमपिता परमात्मा प्रजापिता ब्रह्माद्वारा नयाँ रचना रच्नुहुन्छ। उहाँ रचयिता ठहरिनुभयो, जसलाई परमात्मा भनिन्छ। यो पनि बच्चाहरूले जान्दछन्– उहाँ आउनुहुन्छ, आएर बच्चाहरूलाई आफ्नो बनाउनुहुन्छ। मायाबाट मुक्त गर्नुहुन्छ। पुरानो देह, देहसहित जति पनि मित्र सम्बन्धी आदि छन्, जो एक अर्कालाई दुःख दिनेवाला छन्, उनीहरूलाई भुल्नु छ। जसरी कोही बूढो भयो भने उनलाई मित्र सम्बन्धी आदिले भन्दछन्– राम जप्नुहोस्। अब उनीहरूले पनि झुटो नै बताउँछन्। न स्वयम् लाई जान्दछन्, न उनीहरूको बुद्धिमा परमात्माको याद ठहर्छ। सम्झन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ। एकातर्फ गाउँछन्– दूर के मुसाफिर... आत्माहरू टाढाबाट आएर शरीर धारणा गरेर आ-आफ्नो पार्ट खेल्छन्। यी सबै कुरा मनुष्यको लागि नै सम्झाइन्छ। मनुष्यले शिवको मन्दिर बनाउँछन्। पूजा गर्छन्। फेरि पनि यहाँ-वहाँ खोजिरहन्छन्। भनिदिन्छन्– ममा तिमीमा सबैमा व्यापक हुनुहुन्छ। उनीहरूलाई टुहुरा भनिन्छ– धनीलाई नचिन्नेवाला। याद गर्छन्– हे भगवान् तर जान्दैनन्। हात जोड्छन्। सम्झन्छन्– उहाँ निराकार हुनुहुन्छ। हाम्रो आत्मा पनि निराकार छ। यो आत्माको शरीर हो। तर आत्मालाई कसैले पनि जान्दैनन्। भन्छन् पनि– भृकुटीको बीचमा अजब सितारा चम्कन्छ। यदि तारा हो भने फेरि यति ठूला लिंग किन बनाउँछन्। आत्मामा नै ८४ जन्मको पार्ट छ। यो पनि जान्दैनन्। यहाँ-वहाँ खोज्दै धक्का खाइरहन्छन्। सबैलाई भगवान् भन्छन्। बद्रीनाथ पनि भगवान्, कृष्ण पनि भगवान्, पत्थरमा पनि भगवान् हुनुहुन्छ भने फेरि यति टाढा-टाढा खोज्न किन जान्छन्। जो हाम्रो देवी-देवता धर्मको हुँदैन ऊ न ब्राह्मण बन्छ, न उसलाई धारणा हुन्छ। उनीहरू यत्तिकै राम्रो-राम्रो भनिरहन्छन्। बाबा भन्नुहुन्छ– बच्चाहरू म तिमीलाई साथै लिएर जान्छु। जब तिमी श्रीमतमा चलेर पहिले पवित्र बन्छौ, ज्ञानको धारणा गर्छन्, आफ्नो कर्मातीत अवस्था बनाउँछौ तब नै मेरो साथ-साथै घर पुग्छौ। नत्र त बीचमा रोकिएर धेरै बडो सजाय खानुपर्छ। मरेपछि कति आत्माहरू भट्कन्छन् पनि। जबसम्म शरीर मिल्दैन तबसम्म भट्किँदै सजाय खाएर भोग्छन्। यहाँ धेरै गन्दगी भएर जान्छ– विनाशको समयमा। शिरमा पापको बोझ धेरै छ, सबैलाई हिसाब-किताब त चुक्ता गर्नु नै छ। कुनै बच्चाहरूले त अहिलेसम्म पनि योगलाई बुझेका छैनन्। एक मिनट पनि बाबालाई याद गर्दैनन्। तिमी बच्चाहरूलाई घडी-घडी भनिन्छ, बाबालाई याद गर किनकि शिरमा बोझ धेरै छ। मनुष्यले भन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ। फेरि पनि तीर्थ यात्रातर्फ कति भट्कन्छन्। 

सम्झन्छन्, यो सबै कर्मकाण्ड आदि गर्नाले हामीलाई परमात्मा सँग मिल्ने मार्ग मिल्छ। बाबा भन्नुहुन्छ, पतित भ्रष्टाचार त मेरो पासमा पुग्न पनि सक्दैनन्। भन्छन्– फलानो पार निर्वाण गए, तर यिनले गफ मार्दछन्। कोही पनि जाँदैनन्। अहिले तिमीलाई थाहा छ– भक्तिमार्गमा कति धक्का खान्छन्। यी सबै शास्त्र आदि पढ्दा-पढ्दै मनुष्यलाई गिर्नु नै छ। बाबाले चढाउनुहुन्छ, रावणले गिराउँछ। अब बाबा सम्झाउनुहुन्छ तिमी मेरो मतमा चलेर पवित्र बन्छौ र राम्रो सँग पढ्छौ भने स्वर्गमा जान्छौ, नत्र भने यति उच्च पद पाउन सक्दैनौ। प्रदर्शनीको कति सेवा चल्छ। अब यो सेवा बढ्दै जान्छ। गाउँ-गाउँमा जान्छन्। यो हो नयाँ आविष्कार। नयाँ-नयाँ प्वाइन्टहरू निस्किइरहन्छन्। जबसम्म जिउनु छ तबसम्म सिक्नु नै सिक्नु छ। तिमीहरूको एम अब्जेक्ट हो नै भविष्यको लागि। यो शरीर छोडेपछि तिमी गएर राजकुमार-राजकुमारी बन्छौ। स्वर्ग मतलब स्वर्ग। वहाँ नर्कको नाम निशान पनि हुँदैन। धर्ती पनि उथल-पुथल गरेर नयाँ बन्दछ। यो भवन आदि सबै खत्तम हुन्छ। भन्छन्– सुनको द्वारिका तल गयो। तल कोही जाँदैन। यो त चक्र चल्दछ। यो तीर्थ यात्रा आदि सबै भक्तिमार्ग हो। भक्ति हो रात। जब भक्तिको रात पूरा हुन्छ तब ब्रह्मा आउँछन् दिन बनाउन। द्वापर कलियुग हो ब्रह्माको रात, फेरि दिन हुनुपर्छ। तिमी बच्चाहरूमा पनि नम्बरवार छन्। सबैले त एक समान पढ्न सक्दैन। भिन्न-भिन्न दर्जा छन्। प्रदर्शनीमा हेर कति आउँछन्। ५-७ हजार नित्य आउँछन्। फेरि को निस्कन्छन्! कोटीमा कोही, कोहीमा पनि कोही। लेख्छन्– बाबा, ३-४ निस्किए जो नित्य आउँछन्। कसैले ७ दिनको कोर्स पनि लिन्छन्, फेरि आउँदैनन्। जो देवी-देवता धर्मका हुन्छन् उनीहरू नै यहाँ ठहरिन्छन्। साधारण गरिब नै निस्कन्छन्। साहुकार त मुस्किलले ठहरिन्छन्। धेरै मेहनत गर्नुपर्छ। चिठी पनि लेख्छन्। ब्लडले पनि लेखेर दिन्छन्। फेरि चल्दा-चल्दै मायाले खान्छ। युद्ध चल्ने हो भने रावणले जित्दछ। बाँकी जसले थोरै सुन्छन् उनीहरू प्रजामा जान्छन्। बाबा त सम्झाइरहनुहुन्छ– श्रीमतमा चल्नु छ। जसरी मम्मा बाबा र अनन्य बच्चाहरूले पुरुषार्थ गरिरहेका छन्। महारथीको नाम त लिइन्छ नि! पाण्डव सेनामा को-को छन्, उनीहरूको नाम पनि प्रसिद्ध छ। त्यसरी नै कौरव सेनाको पनि मुख्यहरूको नाम प्रसिद्ध छ। युरोपवासी यादवहरूको पनि नाम छ। अखबारमा पनि जो प्रसिद्ध छन्, उनीहरूको नाम राख्छन्। उनीहरू सबैको परमपिता परमात्मा सँग विपरीत बुद्धि छ। परमात्मालाई जान्ने हो भने प्रीत राख्ने थिए। यहाँ पनि बच्चाहरूले प्रीत राख्न सक्दैनन्। घरी-घरी भुल्दछन्, फेरि पद भ्रष्ट हुन्छ। जति बाबालाई याद गर्छन्, त्यति विकर्म विनाश हुन्छ र पद उच्च मिल्छ। अरूलाई पनि आफू समान बनाउनु छ, रहमदिल बन्नु छ र अन्धाहरूको लाठी बन्नु छ। कोही अन्धा, कोही काना हुन्छन्। यहाँ पनि बच्चा नम्बरवार छन्। यस्ता फेरि साधारण प्रजामा गएर नोकर चाकर बन्छन्। 

पछि गएर तिमी सबैले साक्षात्कार गर्नेछौ। ईश्वरलाई सर्वव्यापी भन्नु, यो कुनै समझ होइन। ईश्वर त ज्ञानको सागर हुनुहुन्छ। उहाँ नै आएर तिमीहरूलाई ज्ञान दिइरहनु भएको छ, राजयोग पनि सिकाइरहनु भएको छ। कृष्णको आत्मा जसले ८४ जन्म पूरा गरेको छ अब उसले राजयोग सिकिरहेको छ। कति गुह्य कुरा छन्। यस समय सबैले बाबालाई भुलेका कारण महान् दुःखी बनेका छन्। तिमी बच्चाहरू जति-जति पुरुषार्थ गर्छौ, उति-उति तिमीहरूबाट कमी निस्कँदै जान्छ, बडो उच्च लक्ष्य छ। करोडौंबाट ८ मुख्य निस्कन्छन्। फेरि १०८ को माला बन्छ। फेरि छ १६ हजार। यो पनि आकर्षण दिइन्छ पुरुषार्थ गर्नको लागि। वास्तवमा १६ हजार हुँदैनन्। माला १०८ को हो। माथि फूल अनि युगल दाना, नम्बरवार विष्णुको माला बन्छ। पुरुषार्थ गराउनको लागि कति सम्झाइन्छ। जो यस धर्मका हुँदैनन् उनीहरूले केही पनि बुझ्दैनन्। स्वर्गको सुख पाउने लायक नै छैनन्। हुन त पुजारी धेरै छन्, उनीहरू पनि आउन त प्रजामा आउँछन्। प्रजा पद त केही पनि होइन। मम्मा-बाबा भन्छौ भने अनुसरण गरेर मम्मा-बाबाको तख्तनशीन बन। किन हार्टफेल हुन्छौ! स्कूलमा कुनै बच्चाले म पास हुन्न भन्छ भने सबैले भन्छन्– यो मन्दबुद्धि हो। बुद्धिमान बच्चाले धेरै राम्रो पढ्छन् र उच्च नम्बरमा आउँछन्। तिमी बच्चाहरूले प्रदर्शनीमा धेरै राम्रो सेवा गर्न सक्छौ। बाबा सँग पनि सोध्नसक्छौ– बाबा म सेवा गर्न लायक छु। तब बाबाले बताउन सक्नुहुन्छ– बच्चे अहिले तिमीलाई धेरै कुरा सिक्नु छ अथवा लायक बन्नु छ। विद्वान् आदिलाई सम्झाउनेवाला पनि बडो होसियार चाहिन्छ। पहिले-पहिले त यो निश्चय गराइन्छ– भगवान् आउनु भएको छ। बोलाउँछौ दूर देशको रहनेवाला आउनुहोस्, हामीलाई साथै लिएर जानुहोस् किनकि हामी धेरै दुःखी छौं। सत्ययुगमा त यति सबै मनुष्य हुँदै-हुँदैनन्। सबै आत्माहरू मुक्तिधाममा जानेछन्, जसको लागि दुनियाँले यति भक्ति गर्छ। बाबा भन्नुहुन्छ– म सबैलाई लिएर जाउँला। सेकेन्डमा मुक्ति-जीवनमुक्ति। निश्चय भयो भने जीवनमुक्त बन्नेछौ फेरि जीवनमुक्तिमा पनि पद छ। पुरुषार्थ गर्नु छ जीवनमुक्तिमा राजा-रानी पद पाउने। मम्मा-बाबा महाराजा-महारानी बन्नुहुन्छ भने हामी किन पद नपाऔं। पुरुषार्थ गर्नेवाला लुक्न सक्दैन। सारा राजधानी स्थापना भइरहेको छ। दैवी धर्मवाला जति पनि छन् अवश्य आउनेछन्। मम्मा-बाबा राजा-रानी बन्नुहुन्छ भने हामी किन पुरुषार्थ नगर्ने। 

बाबालाई बच्चाहरूले पत्र लेख्छन्– बाबा कहिलेकाहीँ सेन्टरमा आउँछु। अब बच्चीको विवाह गराउनु छ। कुनै ज्ञानी केटो दिनुभयो भने विवाह गराउने थिएँ। बच्चीले म विवाह गर्दिनँ भनिन् भने धेरै बच्चीले पिटाइ खानु पर्छ। अबलाहरूमा अत्याचार हुन्छ। बाबा लेख्नुहुन्छ– माता-पिता र बच्चा तीनै जना बाबाको पासमा आयौ भने बाबा सम्झाउनुहुन्छ। आदरणीय पिताश्री लेख्छौ भने आऊ। पैसा नहोस्, टिकटको लागि त त्यो पनि मिल्न सक्छ। सम्मुख आउनाले श्रीमत मिल्छ। कुमारीको घात त गर्नु छैन। नत्र भने पाप आत्मा बन्नेछौ। बाबाको श्रीमतमा चलेर पवित्र बन्नु पर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) जीवनमुक्त पद पाउनको लागि पुरुषार्थ गर्नु छ। जसरी माता-पिता महाराजा-महारानी बन्छन्, यसरी नै फलो गरेर तख्तनशीन बन्नु छ। सेन्सीबल बनेर पढाइ राम्रो सँग पढ्नु छ।

२) बाबा सँग सच्चा प्रीत राख्नु छ। दयावान् बनेर अन्धाहरूलाई मार्ग देखाउनु छ। बाबाबाट सम्मुख श्रीमत लिएर पाप आत्मा बन्नबाट बच्नु र बचाउनु छ।

वरदान:

अनेक प्रकारको भावलाई समाप्त गरेर आत्मिक भावलाई धारण गर्नेवाला सबैको स्नेही भव:-  

देह भानमा रहनाले अनेक प्रकारका भाव उत्पन्न हुन्छन्। कोही बेला कोही राम्रो लाग्छ भने कोही बेला कोही खराब लाग्छ। आत्मा रूपमा देख्नाले रूहानी प्यार पैदा हुन्छ। आत्मिक भाव, आत्मिक दृष्टि, आत्मिक वृत्तिमा रहनाले हर एकको सम्बन्धमा आउँदा अति न्यारा र प्यारा रहन्छौ। त्यसैले चल्दा-चल्दै अभ्यास गर– “म आत्मा हुँ” यसबाट अनेक प्रकारका भाव-स्वभाव समाप्त भएर जान्छन् र सबैको स्नेही स्वतः बन्छौ।

स्लोगन:

जसको पासमा उमंग-उत्साहको पंख छ, उसलाई सफलता सहज प्राप्त हुन्छ।  

  

***OM SHANTI***

Google+ Followers