BK Murli 23 July 2017 Nepali

BK Murli 23 July 2017 Nepali

२०७४ श्रावण ८ आइतबार २३-०७-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज २८-४-८२ मधुबन

सर्वस्व त्यागीका निशानीहरू


बापदादाले चारैतर्फका सर्व महात्यागी, सर्वस्व त्यागी बच्चाहरूलाई देखिरहनु भएको छ। कुन, कुन बच्चाले यस महान् भाग्यलाई प्राप्त गरिरहेका छन् वा समीप पुगेका छन्– यस्ता समीप अर्थात् समान, श्रेष्ठ, सर्वस्व त्यागी बच्चाहरूलाई बापदादा देखेर हर्षित हुनुहुन्छ। सर्वस्व त्यागी बच्चाहरूको विशेषता के हुन्, जुन विशेषताका आधारमा समीप वा समान बन्छन्? साकार तनद्वारा पनि लास्ट बोलीमा तीन विशेषताहरू सुनाउनु भएको थियो:–

१) संकल्पमा सदा निराकारी सो साकारी, सदा न्यारा र बाबाका प्यारा आत्माहरू। 

२) वाणीमा सदा निरहंकारी अर्थात् सदा रूहानी मधुरता र निर्माणता। 

३) कर्ममा हर कर्मेन्द्रियद्वारा निर्विकारी अर्थात् पवित्रताको व्यक्तित्व भएका। 

त्यसैले हर कर्मेन्द्रियद्वारा महादानी वा वरदानी। मस्तकद्वारा सबैलाई स्व-स्वरूपको स्मृति दिलाउने वरदानी वा महादानी। नयनबाट रूहानी दृष्टिद्वारा सबैलाई स्व-देश अर्थात् मुक्तिधाम र स्वराज्य अर्थात् जीवनमुक्ति, आफ्नो राज्यको दर्शन गराउनु वा बाटो देखाउने दृष्टिद्वारा इशारा दिनु। यस्तो अनुभव गर्ने वरदान दिनु, जुन आत्माहरूले महसुस गरून्– यही हाम्रो वास्तविक घर र राज्य हो। घरको बाटो, राज्य पाउने बाटो मिल्यो। यस्तो महादान वा वरदान पाएर सदा हर्षित हुन पुगून्। मुखद्वारा रचयिता र रचनाको विस्तारलाई स्पष्ट जानेर स्वयंलाई रचयिताको पहिलो रचना श्रेष्ठ ब्राह्मण सो देवता बन्ने वरदान पाउन्। यस्तै हस्तद्वारा सदा सहज योगी, कर्मयोगी बन्ने वरदान दिने श्रेष्ठ कर्मधारी श्रेष्ठ फल प्राप्त गर्ने वरदानी बनाउनेवाला। चरण कमलद्वारा हर कदम फलो फादर गरेर, हर कदममा पदमको कमाई जम्मा गर्नेवाला वरदानी। त्यस्तै हर कर्मेन्द्रियद्वारा विशेष अनुभूति गराउने वरदानी अर्थात् निर्विकारी जीवन। यी तीन विशेषताहरू सर्वस्व त्यागीमा सदा स्पष्ट देखिन्छ। सर्वस्व त्यागी आत्मा कुनै पनि विकारको अंशको पनि वशीभूत भएर कुनै कर्म गर्दैनन्। विकारहरूको रोयल अंश स्वरूप पहिले पनि सुनाएको थिएँ– मोटो रूपमा विकार समाप्त भएर रोयल रूप अंश मात्रको रूपमा रहन जान्छ। याद छ हैन! ब्राह्मणहरूको भाषा पनि रोयल बनिसक्यो। त्यो विस्तार त धेरै लामो छ। म नै यथार्थ हुँ वा राइट हुँ– यसरी आफूलाई सिद्ध गर्ने रोयल भाषाका शब्द पनि धेरै छन्। आफ्नो कमजोरी लुकाएर अरूको कमजोरी सिद्ध गर्ने वा स्पष्ट गर्ने कुराको विस्तार गर्नु, त्यसको पनि धेरै रोयल शब्द छन्। यो पनि ठूलो शब्दकोश हुन्छ। जुन वास्तविकता होइन तर स्वयंलाई सिद्ध गर्न वा स्वयंको कमजोरीहरू बचावटको लागि मनमतका बोली हुन्। यसको विस्तार राम्रोसँग सबैले जानेका छौ। सर्वस्व त्यागीको यस्तो भाषा हुँदैन, जसमा कुनै पनि विकारको अंश मात्र पनि भरिएको हुन्छ। मनसा-वाचा-कर्मणा‚ सम्बन्ध-सम्पर्कमा सदा विकारहरूको अंश मात्रबाट पनि पर– यसलाई भनिन्छ सर्वस्व त्यागी। सर्व अंशको त्याग। 

सर्वस्व त्यागी सदा विश्व कल्याणकारीका विशेषता भएका हुन्छन्। सदा दाताको बच्चा दाता बनेर सबैलाई दिने भासनाले भरपुर हुन्छन्। यस्तो होइन– यसले गरोस् वा यस्तो परिस्थिति होस्‚ वायुमण्डल होस् तब मैले यो गरूँ। अरूको सहयोग लिएर आफ्नो कल्याणको श्रेष्ठ कर्म गर्नेवाला अर्थात् लिएर फेरि दिनेवाला‚ सहयोग लियो फेरि दियो‚ लिनु र दिनु दुवै साथ-साथ भयो। तर सर्वस्व त्यागी स्वयं मास्टर दाता बनेर परिस्थितिहरूलाई पनि परिवर्तन गर्ने‚ कमजोरलाई शक्तिशाली बनाउने‚ वायुमण्डल वा वृत्तिलाई आफ्नो शक्तिहरूद्वारा परिवर्तन गर्ने‚ सदा स्वयंको कल्याणको लागि जिम्मेवार आत्मा सम्झेर हरेक कुरामा सहयोग वा शक्तिको महादान वा वरदान दिने संकल्प गर्नेछन्। यसो भएमा यो गर्नेछु‚ होइन। मास्टर दाता बनेर परिवर्तन गर्ने शुभ-भावनाले शक्तिहरूलाई कार्यमा लगाउने अर्थात् दिने कार्य गरिरहन्छन्। मैले दिनु छ‚ मैले गर्नु छ‚ म बदलिनु छ‚ म निर्माण बन्नु छ। यस्तो “जसले गर्छ त्यो अर्जुन” अर्थात् दातापनको विशेषता हुन्छ। 

सर्वस्व त्यागी अर्थात् सदा गुण मूर्त। गुण मूर्तको अर्थ हो गुणवान बन्नु र सबैमा गुण देख्नु। यदि स्वयं गुण मूर्त छ भने उसको दृष्टि र वृत्ति यस्तो गुण सम्पन्न हुन जान्छ, जुन उसको दृष्टि वृत्तिद्वारा सबैमा जुन गुण छ त्यही देखिन्छ। अवगुण देखेर‚ जानेर पनि कसैको अवगुण बुद्धिद्वारा ग्रहण गर्दैन अर्थात् बुद्धिमा धारण हुँदैन। होली हंस यस्तो हुन्छ। पत्थरलाई चिनेर पनि ग्रहण गर्दैन। अझै त्यस आत्माको अवगुणलाई मेटाउनको लागि स्वयंमा प्राप्त भएको गुणद्वारा, शक्तिद्वारा त्यस आत्मालाई पनि गुणवान बनाउनमा सहयोगी हुन्छ किनकि मास्टर दाताको संस्कार हुन्छ। 

सर्वस्व त्यागीले सदा आफूलाई हर श्रेष्ठ कार्यको– सेवाको सफलताको कार्यमा, ब्राह्मण आत्माहरूलाई उन्नतिको कार्यमा, कमजोरी वा व्यर्थ वातावरणलाई बदल्ने कार्यमा जिम्मेवार आत्मा सम्झन्छन्। सेवामा विघ्न बन्ने कारण वा सम्बन्ध-सम्पर्कमा कुनै पनि नम्बरवार आत्माहरूका कारण अलिकति पनि हलचल हुन्छ भने सर्वस्व त्यागीले बेहदको आधारमूर्त सम्झेर चारैतर्फको हलचललाई अचल बनाउने जिम्मेवारी सम्झन्छन्। यस्ता बेहदको उन्नतिको आधारमूर्त सदा स्वयंलाई अनुभव गर्छन्। यस्तो होइन– यो त यस स्थानको कुरा हो वा यो बहिनी वा भाइको कुरा हो। होइन, मेरो परिवार हो। म कल्याणकारी निमित्त आत्मा हुँ। टाइटल विश्व कल्याणकारीको मिलेको छ, न कि केवल स्व कल्याणकारी वा आफ्नो सेन्टरको कल्याणकारी। अरूको कमजोरी अर्थात् आफ्नो परिवारको कमजोरी हो, यस्तो बेहदको निमित्त आत्मा सम्झन्छन्। मै-पन होइन निमित्त मात्र हुँ अर्थात् विश्व कल्याणको आधारमूर्त, बेहद कार्यको आधारमूर्त हुँ। 

सर्वस्व त्यागी सदा एकरस, एक मत, एकै परिवारको एकै कार्य हो– सदा यस्तो एकको नै स्मृतिमा नम्बर वन आत्मा हुन्छन्। 

सर्वस्व त्यागीले सदा स्वयंलाई प्रत्यक्षफल प्राप्त भएको फलस्वरूप आत्मा अनुभव गर्छन् अर्थात् सर्वस्व त्यागी आत्मा सदा सर्व प्रत्यक्ष फलहरूले सम्पन्न अविनाशी वृक्ष समान हुन्छन्। सदा फलस्वरूप हुन्छन् त्यसैले हदको कर्मको, हदको फल पाउने अल्पकालको इच्छाबाट इच्छा मात्रम् अविद्या हुन्छन्। सदा प्रत्यक्ष फल खानेवाला सदा स्वस्थ मनवाला हुन्छन्। सदा स्वस्थ हुन्छन्। कुनै पनि मनको बिरामी हुँदैन। सदा मनमनाभव हुन्छन्। त्यसैले यस्तो सर्वस्व त्यागी बनेका छौ? तीनवटै विशेषता सम्मुख राखेर स्वयंलाई सोध– म कुनचाहिँ त्यागी हुँ! कहाँसम्म पुगेको छु? कति सिँढी चढेर बाबा समान लक्ष्यसम्म पुगेको छु? फुल स्टेपसम्म पुगेका छौ वा अहिले केही स्टेपसम्म पुगेका छौ? सात कोर्समा कति कोर्स गरेका छौ? सप्ताह पाठको लास्टमा भोग लगाउनुपर्छ। त्यसैले बापदादाले पनि अब भोग लगाउनुहुन्छ। तिमीहरूले त हरेक गुरुबार भोग लगाउँछौ तर बापदादाले त महाभोग गर्नुहुन्छ नि। जस्तो सन्देशीहरू माथि वतनमा भोग लिएर जान्छन्, त्यस्तै बापदादाले पनि कहाँ लैजानुहुन्छ! पहिला स्वयंलाई भोगमा समर्पण गर। भोग पनि अगाडि समर्पण गर्छौ नि! अहिले स्वयंलाई सदा प्रत्यक्षफल स्वरूप बनाएर समर्पण गर तब महाभोग हुन्छ। आफूले आफैंलाई सम्पन्न बनाएर अफर गर। केवल स्थूल भोगको अफर नगर। सम्पन्न आत्मा बनेर स्वयंलाई अफर गर। बुझ्यौ– बाँकी के गर्नु छ, त्यो बुझ्यौ?

अब एक पटकको मिलन बाँकी रहेको छ। त्यसो त साकारद्वारा मिलन मेलाको, यस रूप-रेखाबाट मिल्ने आज अन्तिम समय हो। कार्यक्रम अनुसार त आज साकार मेलाको समाप्ति समारोह हो फेरि त पछिको कुरा पछि हेर्नेछु। बाबाको थप बोनस पनि मिलिहाल्छ। तर यो सारा मिलन मेलाको स्व प्रति सार के लियौ? केवल सुन्यौ वा समाहित गरेर स्वरूपमा ल्यायौ? यस मिलनले मेलाको सिजन विशेष कुन सिजनलाई ल्याउनेछ? यस सिजनको फल के निस्कनेछ? सिजनको फलको महत्त्व हुन्छ हैन? त्यसोभए यस सिजनको फल के निस्कियो! बापदादा मिल्नुभयो– यो त भयो तर मिल्नु अर्थात् समान बन्नु। सदा बाबा समान बन्ने दृढ संकल्पको फल बापदादालाई देखाउँछौ नि! यस्तो फल तयार गरेका छौ? आफूलाई तयार गरेका छौ? वा अहिले केवल सुनेका छौ, बाँकी तयार हुनु छ? मिलन मात्र मनाउनु छ वा बन्नु पनि छ? जस्तो मिलन मनाउनको लागि धेरै उमंग-उत्साहले दौडिदै आइपुग्छौ, त्यस्तै बन्नको लागि पनि उडान भरिरहेका छौ? आउने-जाने साधनहरूमा असुविधा पनि भोग्छौ। तर उड्ती कलामा जानको लागि कुनै मेहनत हुँदैन। जुन हदको हाँगा बनाएर हाँगालाई समातेर बसेका छौ, अब हे उड्ता पंछी, हाँगालाई छोडिदेऊ। सुनको हाँगालाई पनि छोड। सीतालाई सुनको हरिणले शोक वाटिकामा पुर्या यो। यो मेरो मेरो हो। मेरो नाम, मेरो मान, मेरो शान, मेरो सेन्टर– यी सबै सुनका हाँगाहरू हुन्। बेहदको अधिकार छोडेर हदको अधिकार लिन थाल्छौ। मेरो अधिकार यो हो, यो मेरो काम हो– यी सबैबाट उड्ता पंछी बन। यी हदका आधारहरूलाई छोड। सुगा त होइनौ नि, जसले कराइरहन्छ छुटाऊ-छुटाऊ। स्वयंले छोड्दैन कराइरहन्छ छुटाऊ-छुटाऊ भनेर। यस्तो सुगा त बन्नु छैन। छोड अनि उड। छोडेमा छुट्नेछौ। बापदादाले पँखेटा दिइसक्नुभयो– पँखेटाको काम हो उड्नु वा बस्नु? त्यसैले उड्ने पंछी बन अर्थात् उड्ती कलामा सदा उड्दै गर। बुझ्यौ– यसलाई भनिन्छ सीजनको फल दिनु। अच्छा! 

यस्ता सदा प्रत्यक्षफल सम्पन्न, सर्वश्रेष्ठ आत्माहरू, सदा बाबा समान निराकारी, निरहंकारी, निर्विकारी, सदा हर कर्ममा विकारहरूका कुनै पनि अंशलाई स्पर्श नगर्ने, यस्ता सर्व अंश त्यागी, सदा उड्ती कलामा उड्ने उड्ता पंछी, यस्ता बाबा समान श्रेष्ठ आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

पार्टीहरूसँग

मास्टर सर्वशक्तिमान्‌को स्थितिले व्यर्थको किचडालाई समाप्त गर:- 

सदा आफूलाई मास्टर सर्वशक्तिमान् आत्मा सम्झन्छौ? सर्वशक्तिमान् अर्थात् समर्थ। जो समर्थ हुन्छ उसले व्यर्थको किचडालाई समाप्त गरिदिन्छ। मास्टर सर्वशक्तिमान् अर्थात् व्यर्थको नाम निशान छैन। सदा यो लक्ष्य राख– म व्यर्थलाई समाप्त गर्नेवाला समर्थ हुँ। जस्तो सूर्यको काम हो किचडालाई भस्म गर्नु, अन्धकारलाई मेटाउने प्रकाश दिनु। त्यसैले यसै रीतिले मास्टर ज्ञान सूर्य अर्थात् व्यर्थ किचडालाई समाप्त गर्नेवाला अर्थात् अन्धकारलाई मेटाउनेवाला। यदि प्रभावमा आउँछौ भने कमजोर भयौ। बाबा सर्वशक्तिमान् र बच्चा कमजोर, यो सुन्न पनि राम्रो लाग्दैन। जेसुकै होस् तर सदा स्मृति रहोस् “म मास्टर सर्वशक्तिमान् हुँ।” यस्तो नसम्झ कि म एक्लैले के गर्नु सक्दछु... एकले पनि अनेकलाई बदल्न सक्छ। त्यसैले स्वयं पनि शक्तिशाली बन र अरूलाई पनि बनाऊ। जब एक सानो लाग्ने दीपकले अन्धकारलाई मेटाउन सक्छ भने तिमीले के गर्न सक्दैनौ! त्यसैले सदा वातावरणलाई बदल्ने लक्ष्य राख। विश्व परिवर्तक बन्नुभन्दा पहिला सेवा केन्द्रको वातावरणलाई परिवर्तन गरेर पावरफुल वायुमण्डल बनाऊ। 

युगलहरूसँग बापदादाको भेटघाट:– 

सबै प्रवृत्तिमा रहँदै प्रवृत्तिको बन्धनबाट न्यारा र सदा बाबाको प्यारो छौ? कुनै पनि प्रवृत्तिको बन्धनमा बाँधिएका त छैनौ? लोकलाजको बन्धनमा, सम्बन्धमा बाँधिएकालाई बन्धनयुक्त आत्मा भनिन्छ। त्यसैले कुनै पनि बन्धन नहोस्। मनको पनि बन्धन नहोस्। मनमा पनि यो संकल्प नआओस् कि हाम्रो कुनै लौकिक सम्बन्ध छ। लौकिक सम्बन्धमा रहँदै अलौकिक सम्बन्धको स्मृति रहोस्। निमित्त लौकिक सम्बन्ध तर स्मृतिमा अलौकिक र पारलौकिक सम्बन्ध रहोस्। सदा कमल आसनमा विराजमान भइराख। कहिल्यै पानी वा किचडाको बुँदले पनि स्पर्श नगरोस्। जतिसुकै आत्माहरूका सम्पर्कमा आएर पनि सदा न्यारा र प्यारा भएर बस। सेवाको अर्थ सम्पर्क हो। देहको सम्बन्ध होइन, सेवाको सम्बन्ध हो। प्रवृत्तिमा सम्बन्धको कारण बसेका होइनौ, सेवाको कारण बसेका हौ। घर होइन सेवास्थान हो। सेवास्थान सम्झिनाले सदा सेवाको स्मृति रहनेछ। अच्छा!


वरदान:

विकाररूपी सर्पहरूलाई गलाको माला बनाउने सच्चा तपस्वी भव  

यी पाँच विकार मानिसहरूको लागि विषालु सर्प हुन् तर तिमी योगी तपस्वी आत्माहरूको लागि यी सर्प गलाका माला बन्छन्। त्यसैले तिमी ब्राह्मणहरूका र ब्रह्मा बाबाको अशरीरी, तपस्वी शंकर स्वरूपको यादगारमा सर्पहरूको माला गलामा देखाउँछन्। सर्प तिम्रो लागि खुशीमा नाच्ने स्टेज बन्न जान्छ, यो अधीनताको निशानी देखाइएको हो। स्थिति नै स्टेज हो। त्यसैले जब विकारहरूमाथि यति विजय हुन्छ, तब भनिन्छ सच्चा तपस्वी।

स्लोगन:

पुरानो संसार वा संस्कारहरूबाट मर्नु नै जीवन छँदै मर्नु हो।   



***OM SHANTI***

Google+ Followers