BK Murli 15 October 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 15 October 2017 Nepali

    २०७४ असोज २९ आइतबार १५-१०-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज १५-०२-८३ मधुबन

    विश्व शान्ति सम्मेलनको समाप्ति समारोहमा प्राण अव्यक्त बापदादाको मधुर अनमोल महावाक्य


    आज बेहदका बाबा सेवाको लागि निमित्त बनेका सेवाधारी बच्चाहरूलाई देखिरहनु भएको छ। जुन बच्चालाई हेर पनि हरेक, एक अर्कोभन्दा श्रेष्ठ छन्। त्यसैले बापदादा हरेक श्रेष्ठ आत्माको, सेवाधारी आत्माको विशेषतालाई देखिरहनु भएको छ। बापदादालाई हर्ष छ– हरेक बच्चा यस विश्व परिवर्तनको कार्यमा आधारमूर्त, उद्धारमूर्त हुन्। सबै बच्चाहरू बापदादाको कार्यमा सदा सहयोगी आत्मा हुन्। यस्ता सहयोगी, सहजयोगी श्रेष्ठ विशेष आत्माहरूलाई वा सेवाको निमित्त बनेका बच्चाहरूलाई देखेर बापदादा अति स्नेहको सुनौलो पुष्पहरूले बच्चाहरूको स्वागत र बधाई समारोह मनाइरहनु भएको छ। बापदादा हर बच्चालाई मस्तकमणि, सन्तुष्टमणि, हृदयमणि जस्तो चम्किरहेको स्वरूपमा देख्नुहुन्छ। बापदादा पनि सदा एक गीत गाइरहनुहुन्छ, कुनचाहिँ गीत गाउनुहुन्छ, जान्दछौ नि? यही गीत गाउनुहुन्छ– वाह मेरो बच्चा वाह! वाह मीठे बच्चे वाह! वाह अति प्यारो बच्चा वाह! वाह श्रेष्ठ आत्मा वाह! यस्तो निश्चय र नशा सदा रहन्छ हैन? सारा कल्पमा यस्तो भाग्य प्राप्त हुन सक्दैन जहाँ भगवान् बच्चाहरूको गीत गाउनुहुन्छ। भक्तले भगवान्‌को गीत धेरैले गाउँछन्। तिमीहरू सबैले पनि धेरै गीत गाएका छौ। तर यस्तो कहिल्यै सोचेका थियौ– कुनै समय भगवान्ले पनि हाम्रो गीत गाउनु हुन्छ! जे सोचेका थिएनौ त्यो साकार रूपमा देखिरहेका छौ। विश्व शान्तिको सम्मेलन गर्यौन। सबै बच्चाहरूले मुखद्वारा धेरै राम्रो राम्रो कुरा सुनायौ र मनद्वारा सर्व आत्माहरूप्रति शुभ भावना, श्रेष्ठ कामना, शुभ संकल्पको भाइब्रेशन पनि चारैतर्फ ज्ञान सूर्य बनेर फैलायौ। तर बापदादा सबै भाषण गर्नेहरूको सार सुनाइरहनु भएको छ। तिमीहरूले त चार दिनको भाषण गर्यौै तर बापदादा एक सेकेन्डको भाषण गर्नुहुन्छ। ती दुई शब्द हुन् “रियलाइजेशन र सोलुसन”। जे पनि तिमीहरू सबैले बोल्यौ त्यसको सार रियलाइजेशन नै हो। आत्मालाई नबुझे पनि मानवको मूल्यलाई जानेमा पनि शान्ति हुन जान्छ। मानव विशेष शक्तिशाली स्वरूप हो। यदि यति मात्र रियलाइज गरे पनि मानवको हिसाबले मानव धर्म ‘स्नेह’ हो नकि लडाईं-झगडा। यो भन्दा अगाडि बढ– मानव जीवनको वा मानवताको आधार आत्मामा आधारित छ। म कुनचाहिँ आत्मा हुँ, यो रियलाइज गरे मात्रै पनि शान्ति त स्वधर्म हुन जान्छ। फेरि अगाडि बढ– म श्रेष्ठ आत्मा हुँ, सर्वशक्तिमान्‌को सन्तान हुँ, यो रियलाइजेशनले निर्बलबाट शक्ति स्वरूप बनाइदिन्छ। शक्ति स्वरूप आत्मा वा मास्टर सर्वशक्तिमान् आत्माले जे चाह्यो, जस्तो चाह्यो त्यो प्राक्टिकलमा गर्न सक्छ। त्यसैले सुनाएँ– सारा भाषणहरूको सार एउटै हो ‘रियलाइजेशन’। बापदादाले सबै भाषण सुन्नु भएको छ नि! बापदादा सदा बच्चाहरूको साथ नै हुनुहुन्छ। अच्छा।

    सबै सेवामा समर्पित बच्चाहरूलाई, सबै जोन देखि आएका बच्चाहरूलाई, एक-एक यही सम्झियून्–बापदादाले मलाई भनिरहनु भएको छ। एक एक सँग कुरा गरिरहनु भएको छ। सबै बच्चाहरूले जुन प्रत्यक्ष सबूत देखाए, त्यसको रिटर्नमा बापदादा हरेक बच्चालाई नाम सहित, रूप त देखिरहनु भएको छ, नाम सहित बधाई दिइरहनु भएको छ। अहिले जब तिमीले समय परिवर्तनको सूचना दिइरहेका छौ भने बापदादाको मिल्ने विधिमा पनि परिवर्तन होला नि। तिमीहरू सबैको संकल्प छ हाम्रो परिवार वृद्धि होस्, त्यसको लागि पुरानाले त्याग गर्नु पर्ने हुन्छ। तर यो त्याग नै भाग्य हो। अरूलाई अगाडि बढाउनु नै स्वयं अगाडि बढ्नु हो। यस्तो नसम्झ– किन बापदादालाई विदेशी बच्चा प्रिय छन्, स्वदेशी छैनन्! वा कुनै बच्चा विशेष प्रिय छन्। बापदादाको लागि त हरेक बच्चा दिलको सहारा, मस्तकको ताजको मणि हुन्। त्यसैले बापदादा सबैभन्दा पहिला आफ्ना दाहिने हात सहयोगी बच्चाहरूलाई दिलोज्यान एवं अति प्रेमले याद दिइरहनु भएको छ। यो त अवश्य हो टाढाबाट आएका, सम्पर्कमा आउनेलाई सम्बन्धमा ल्याउनको लागि तिमीहरू सबै खुशी-खुशी उनीहरूलाई अगाडि बढाइरहेका छौ र बढाउँदै जानेछौ।

    यतिबेला सबै सेवाप्रति आएका छौ त्यसैले यो पनि सेवा हुन गयो। के हरेक जोनको नाम लिऊँ? यदि एउटा नाम लिँदा कुनै छुटे भने? त्यसैले सबै जोनले सम्झ– बापदादा मलाई पहिलो नम्बर देखिरहनु भएको छ। सबै देशका वा विदेशका, अहिले त सबै मधुवन निवासी हौ। त्यसैले सबै विश्व शान्ति हलमा उपस्थित बच्चाहरूलाई, ओम् शान्ति भवन निवासी बच्चाहरूलाई बापदादा भन्नुहुनछ– सदा यादमा रहेर याद दिलाउँदै गर, हर कदम यादगार चरित्र बनाउँदै बढ्दै जाऊ। हर सेकेन्ड आफ्नो प्राक्टिकल लाइफको ऐनाद्वारा सर्व आत्माहरूलाई ‘स्व’को, बाबाको साक्षात्कार गराउँदै जाऊ, यस्ता वरदानी महादानी सदा सम्पन्न बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    रोबर्ट मुलर (असिस्टेन्ट सेक्रेटरी जनरल यू.एन.ओ.) प्रति महावाक्य

    सेवामा श्रेष्ठभन्दा श्रेष्ठ पार्टधारी आत्मा हौ। जस्तो मनमा यो श्रेष्ठ संकल्प राख्यौ– जुन कार्यको लागि निमित्त बनेको छु, त्यो गरेर नै देखाउँछु। यो संकल्प बापदादा र सारा ब्राह्मण परिवारको सहयोगले साकारमा आइरहनेछ। संकल्प धेरै राम्रो छ। योजना पनि धेरै राम्रो-राम्रो सोच्छौ। अब यही योजनाको बीचमा जब यो आध्यात्मिक शक्ति थप हुन जान्छ, यी योजनाले साकार रूप लिंदै जानेछन्। बापदादाको पासमा बच्चाहरूको सबै उमंग पुगिरहन्छन्। सदा अटल रहनु छ। हिम्मतवान बनेर अगाडि बढिरहनु छ। त्यो दिन पनि यही आँखाले देखिनेछ– विश्व शान्तिको झण्डा विश्वको चारैतर्फ फहराउनेछ। त्यसैले अगाडि बढ्दै जाऊ। दुनियाँले मनलाई कमजोर बनाउँछन्। तिमी नबन। एक बल एक भरोसा– यही निश्चयले चलिराख। जुन समय कुनै पनि परिस्थिति आउँछ, बाबालाई साथी बनाइहाल अनि यस्तो अनुभव गर्नेछौ– म एक्लै छैन, मेरो साथमा विशेष शक्ति छ। सपना पूरा हुन जान्छ। जहाँ बाबा हुनुहुन्छ, वहाँ चाहे जतिसुकै तुफान होस्, त्यो तोहफा (उपहार) बन्छ। ‘निश्चय बुद्धि विजयन्ती’– यो टाइटल याद राख– म निश्चय बुद्धि विजयी रत्न हुँ। अच्छा।

    स्टीव नारायण (उपराष्ट्रपति, ग्याना) प्रति महावाक्य:– आफूलाई बाबाको दिलतख्तनशीन समीप रत्न अनुभव गर्छौ? टाढाको देशमा बसेर पनि दिल टाढा छैन। बच्चाहरूको सेवामा उमंग-उल्लास देखेर बापदादा हर्षित हुनुहुन्छ र नम्बरवन दिनुहुन्छ। सदा उड्ती कलामा रहने, बापदादाको नूरे रत्न हौ त्यसैले बापदादा बधाई दिनुहुन्छ।

    (अण्टीको छोरीसँग)– तिमीलाई नयाँ जन्म लिनासाथ आशीर्वाद मिलेको छ– तिमी सर्विसएबुल हौ। अनुभवीमूर्त हौ। ग्यानामा रहेर पनि विश्व सेवा अर्थ निमित्त मूर्ति हौ र रहनेछौ। यादद्वारा बाबाको सहयोग र वरदानको अनुभव हुन्छ नि! तिम्रो याद बाबाको पासमा पुगिरहन्छ। सबै संकल्प सिद्ध भइरहन्छन् नि! तिमी एक श्रेष्ठ आत्माको एकै श्रेष्ठ संकल्पले सारा परिवारले श्रेष्ठ पद प्राप्त गरिरहेका छन्। पद्माापद्मह भाग्यशाली हौ।

    “विश्व शान्ति सम्मेलनमा सम्मिलित भएका भाइ-बहिनीहरूप्रति अव्यक्त बापदादाको मधुर सन्देश” 

    – गुल्जार दादी

    सदा जसरी आज जब म वतनमा पुगें, बापदादाले धेरै मीठो नजरले दृष्टिद्वारा सबै बच्चाहरूलाई याद-प्यार दिइरहनु भएको थियो। बाबाको दृष्टिबाट आज यस्तो अनुभव भइरहेको थियो मानौं अति शान्ति, शक्ति, प्रेम र आनन्दको किरण निस्किरहेको छ। यस्तो रूहानी दृष्टि जसबाट चारै कुराको प्राप्ति भइरहेको थियो। यस्तो लागिरहेको थियो मानौं हामीले धेरै कुरा पाइरहेका छौं। यसरी बापदादाले हामी सबै बच्चाहरूलाई स्वागत गर्नुभयो र भन्नुभयो बच्ची– सबैको याद ल्याएकी छौ? मैले भने– याद त ल्याएकी छु तर सबैको आह्वातनको संकल्प पनि ल्याएकी छु। त्यसपछि बाबाले भन्नुभयो– यतिबेला त मेरा यतिका प्यारा बच्चा, जति पनि आएका छन्, बुझ्नको लागि आएका छन्, यस्तो पनि दिन आउँछ जो फेरि मिल्नको लागि पनि आउनेछन्। बापदादा त सबै बच्चाहरूको दृश्य वतनमा बस्दा पनि सदा देखिरहनुहुन्छ। यस्तो भन्दै बाबाले एक दृश्य देखाउनुभयो– जसरी भारत देशमा भक्तहरू मन्दिरहरूमा शिवलिंगको प्रतिमा बनाउँछन्। त्यस्तै वतनमा पनि एक प्रतिमा देखियो तर त्यस प्रतिमाको गोलो आकार थियो र त्यस गोलो आकारमा अनेक चम्किरहेका हीरा चारैतर्फ देखिइरहेको थियो। ती चम्किरहेका हीराहरूमा चार प्रकारको लाइट परिरहेको थियो। एक रंग थियो सेतो, दोस्रो हरियो, तेस्रो हल्का निलो र चौथो सुनौलो। थोरै समयमा ती लाइट शब्दहरूमा परिवर्तन भयो। सेतो लाइटको अक्षरहरूले लेखेको थियो ‘शान्ति’, दोस्रोमा ‘उमंग’, तेस्रोमा ‘उत्साह’ र चौथोमा ‘सेवा’।

    बाबाले भन्नुभयो– सबै बच्चाहरूले धेरै नै उमंग-उत्साह र शान्तिको संकल्पद्वारा विश्वको सेवा गरे। एक-एक आत्मा संगठित रूपमा हेर कति चम्किरहेका छन्। फेरि बाबाले भन्नुभयो– मेरा बच्चाले मलाई यथाशक्ति चिन्न सके, फेरि पनि हुन् त मेरो नै बच्चा। मेरा सबै मीठे-मीठे बच्चाहरूलाई याद-प्यार देऊ, जति पनि बच्चाहरू आएका छन्। सबैको मुखबाट यो आवाज त निस्कनु नै छ– हामी आफ्नै घरमा आएका छौं– बापदादा बच्चाहरूको यही आवाज सुनेर मुस्कुराउनु हुन्छ। जब बच्चाहरू घरमा आएका छन् भने पूरा अधिकार लिन आएका छन् वा अलिकति? बाबाले भन्नुभयो– सागरको किनारमा आएर गाग्रो भरेर नजाऊन् बरू मास्टर सागर बनेर जाऊन्। खानीमा आएर दुई मुठ्ठी भरेर नजाऊन्। फेरि बापदादाले तीन प्रकारका बच्चाहरूलाई तीन प्रकारको उपहार दिनुभयो।

    १) बाबाले भन्नुभयो– मेरा कलमधारी बच्चाहरू (प्रेसवाला) जो आएका छन्, तिनलाई बापदादा कमल पुष्पको उपहार दिनुहुन्छ। मेरा कलमधारी बच्चाहरूलाई भन– सदा कमल आसनधारी बनेर सारा विश्वको तमोगुणी भाइब्रेशनबाट न्यारा र पिता परमात्माको प्यारा बन। यदि यस्तो स्थितिमा स्थित भएर कलम चलाउँछौ भने तिम्रो व्यवहार पनि सिद्ध हुन जान्छ र परमार्थ पनि सिद्ध हुन जान्छ।

    २) भी.आई.पी. बच्चा जति पनि आएका छन्, उनीहरूलाई बाबाले सिंहासन होइन, हंस-आसन दिनुभयो। बाबाले भन्नुभयो– यी जति पनि मेरा भी.आई.पी. बच्चा आएका छन् उनीहरूको मुखमा शक्ति छ। यिनीहरूलाई म हंस-आसन दिन्छु। यस आसनमा बसेर फेरि कुनै कार्य गर। हंस-आसनमा बस्नाले तिम्रो निर्णय शक्ति श्रेष्ठ हुन्छ र जुन पनि कार्य गर्छौ, त्यसमा विशेषता हुन्छ। जसरी कुर्सीमा बसेर कार्य गर्छौ, त्यस्तै बुद्धि यस हंस-आसनमा रहेमा लौकिक कार्यबाट पनि आत्माहरूलाई स्नेह र शक्ति मिलिरहनेछ।

    ३) सरेण्डर सेवाधारी बच्चाहरूलाई बापदादाले एउटा धेरै राम्रो लाइटको फूलहरूले बनेको हार दिनुभयो। हरेक लाइटमा कुनै न कुनै दिव्यगुण लेखिएको थियो। बाबाले भन्नुभयो– यी मेरा बच्चाहरू सर्वगुण धारण गर्नेवाला गुणमूर्त बच्चा हुन्। सबै बच्चाहरूले एक बल, एक मत भएर जुन यो बेहदको सेवा गरे, त्यसको रिटर्नमा बापदादा यी दिव्यगुणहरूको माला सबै बच्चाहरूलाई उपहार रूपमा दिनुहुन्छ। र, अन्तिममा भन्नुभयो– सबै बच्चाहरूलाई बापदादाको यही महावाक्य सुनाऊ– सदा खुशी रहनु, खुशनसीब बन्नु र सबैलाई खुशीको वरदानहरूले, खजानाहरूले सम्पन्न बनाउँदै रहनु छ। यस्तो मधुर महावाक्य सुन्दै, याद-प्यार दिंदै र लिंदै म आफ्नो साकार वतनमा आइपुगें।


    वरदान:

    बाबाद्वारा प्राप्त सर्व खजानाहरूलाई कार्यमा लगाएर बढाउने ज्ञानी-योगी आत्मा भव:-  

    बापदादाले बच्चाहरूलाई सर्व खजानाहरूले सम्पन्न बनाउनु भएको छ तर जसले समयमा हर खजानालाई काममा लगाउँछन्, उनको खजाना सदा बढ्दै जान्छ। उनले कहिल्यै पनि यस्तो भन्न सक्दैनन्– चाहेको त थिइनँ तर भइहाल्यो। खजानाहरूले सम्पन्न ज्ञानी-योगी आत्माहरू पहिला सोच्छन् फेरि गर्छन्। उनलाई समय अनुसार टच हुन्छ, उनले फेरि क्याच गरेर प्राक्टिकलमा ल्याउँछन्। एक सेकेन्ड पनि गरेपछि सोच्नेलाई ज्ञानी आत्मा भनिँदैन।

    स्लोगन:

    स्वभाव र विचारहरूमा अन्तर भए तापनि स्नेहमा अन्तर हुनु हुँदैन।  



    ***OM SHANTI***