BK Murli 27 June 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 27 June 2017 Nepali

    २०७४ आषाढ १३ मंगलबार २७-०६-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– विकर्महरूबाट बच्नको लागि घरी-घरी अशरीरी बन्ने प्राक्टिस गर, यस प्राक्टिसले नै मायाजित बनाउँछ, स्थायी योग जुटिरहन्छ।”  

    प्रश्न:

    कुनचाहिँ निश्चय यदि पक्का भयो भने योग टुट्न सक्दैन?

    उत्तर:

    सत्ययुग त्रेतामा हामी पावन थियौं, द्वापर कलियुगमा पतित बन्यौं, अब फेरि हामी पावन बन्नु छ। यो निश्चय पक्का भयो भने योग टुट्न सक्दैन। मायाले हार खुवाउन सक्दैन।

    गीत:–

    जो पिया के साथ है...

    ओम् शान्ति।

    प्यारा बच्चाहरूले यस गीतको अर्थ बुझिसकेका छौ। त्यस बर्सातको त कुरा होइन। त्यो जुन सागर वा नदीहरू छन्, त्यसको कुरा होइन। यो हो ज्ञान सागर, उहाँ आएर ज्ञान बर्सात बर्साउनु हुन्छ, अनि अज्ञान अन्धकार मेटिन्छ। यो कसले बुझ्दछन्? जसले आफूलाई प्रजापिता ब्रह्माकुमार-कुमारी सम्झन्छन्। बच्चाहरूलाई थाहा छ– हाम्रो बाबा शिव हुनुहुन्छ, उहाँ हुनुभयो हामी सबै बी.के.को हजुरबुवा, त्यो पनि निराकार। तिमीले निश्चय गर्छौ हामी प्रजापिता ब्रह्माकुमार-कुमारी हौं, फेरि त यो बिर्सिने कुरा नै छैन। सबै बच्चाहरू पियाको साथमा छन्। यस्तो होइन, केवल तिमीहरू मात्र छौ, मुरली त सबैले सुन्छन्। बच्चाहरूको लागि नै ज्ञान बर्सात छ, जुन ज्ञानद्वारा घोर अन्धकारको विनाश हुन्छ। तिमीलाई थाहा छ– हामी घोर अन्धकारमा थियौं, अहिले प्रकाश मिलेको छ, त्यसैले सबै बुझ्दै गइरहेका छौं। परमपिता परमात्माको जीवनीलाई तिमीले जान्दछौ। जसले शिवबाबाको जीवनीलाई जानेका छैनौ, उनले हात उठाऊ? सबैले जानेका छौ परमात्माको जीवन कथा। त्यो पनि एक जन्मको होइन। शिवबाबाको कति जन्मको जीवन कहानी छ? तिमीलाई थाहा छ, बुझेका छौ– शिवबाबाको यस ड्रामामा के पार्ट छ। आदि देखि अन्त्यसम्म उहाँ र उहाँको जीवनीलाई जान्दछौ। वास्तवमा भक्ति मार्गमा जसले जुन भावनाले भक्ति गर्छन्, त्यसको फल मैले दिनु पर्छ। त्यो चैतन्य त होइन, साक्षात्कार मैले नै गराउँछु। तिमीलाई थाहा छ– आधाकल्प भक्ति मार्ग चल्छ। भक्तिको मनोकामना पूरा भयो, अहिले फेरि बच्चा बनेका छौ, त्यसैले अवश्य वर्सा मिल्छ। पिताले बच्चाहरूलाई वर्सा दिन्छन्, यो काइदा हुन्छ। तिम्रो अहिले सद्गतितिर मुख छ। तिमीले मूलवतन, सूक्ष्मवतन, स्थूल वतनलाई जान्दछौ। को को यस बेहद ड्रामामा मुख्य एक्टरहरू हुन्? रचयिता र फेरि डाइरेक्टर। रचयिता अनि गर्ने-गराउनेवाला हुनुहुन्छ। डाइरेक्शन दिनुहुन्छ नि। पढाउनु पनि हुन्छ। भन्नुहुन्छ– म तिमीलाई राजयोग सिकाउन आएको हुँ। यो पनि कर्म नै भयो नि र गराउनु पनि हुन्छ। आधाकल्प तिमी मायाको वश भएर असत्य कर्तव्य गर्दै आयौ। यो हो हार-जीतको खेल। मायाले तिमीबाट असत् कर्तव्य गराउँदै आएको छ। असत् कर्तव्य गराउनेलाई भगवान् कसरी भन्न सकिन्छ? भगवान्‌ले भन्नुहुन्छ– म त एकै हुँ, सबैलाई सत् कर्म गर्न सिकाउँछु। अहिले सबैको कयामतको समय हो। सबैलाई कब्रबाट जगाउनु छ। 

    अहिले सबै कब्रदाखिल छन्। बाबा आएर जगाउनुहुन्छ। मृत्यु सामुन्ने खडा छ। शिवबाबाले ब्रह्मा तनद्वारा हामीलाई सबै सम्झाइरहनु भएको छ। तिमीले सबैको जीवनी, शिवबाबाको पनि जीवनी जानेका छौ। त्यसैले उच्च ठहरियौ नि। जो शास्त्र धेरै अध्ययन गर्नेवाला हुन्छन्, उनको अघि नजान्नेहरूले टाउको टेक्छन्। तिमीले टाउको टेक्नु पर्दैन। छ बिल्कुल सहज कुरा। बच्चाहरूले बुझेका छन्– हामी मूलवतन, शान्तिधामको निवासी बन्छौं, फेरि सुखधाममा आउँछौं। अहिले हामी प्रजापिता ब्रह्माकुमार कुमारी हौं। शिवबाबाका हामी नाति-नातिना हौं। शिवबाबालाई याद गर्नाले हामीलाई सुखको वर्सा मिल्छ। तिमी बच्चाहरूलाई निश्चय छ– हामी पवित्र थियौं, फेरि पतित बन्यौं अब फेरि हामी पावन बन्नु छ। यदि निश्चय भएन भने योग पनि लाग्दैन, पद पनि पाउन सकिँदैन। पवित्र जीवन त राम्रो हो नि। कुमारीहरूको धेरै मान छ किनकि यस समय तिमी कुमारीहरूले धेरै सेवा गर्छौ नि। अहिले तिमी पवित्र रहन्छौ। अहिलेको पवित्रता भक्ति मार्गमा पुजिन्छ। यो दुनियाँ त धेरै गन्दा छ, कीचकको कहानी छ नि। मनुष्य धेरै गन्दा विचार राखेर आउँछन्, उनलाई कीचक भनिन्छ। यसैले बाबा भन्नुहुन्छ– धेरै सम्हाल राख्नु छ। धेरै गन्दा काँडाको दुनियाँ छ। तिमीलाई त धेरै खुशी हुनुपर्छ। हामी शान्तिधाममा गएर फेरि सुखधाममा आउँछौं। हामी सुखधामको मालिक थियौं, फेरि चक्र लगाएका छौं। यो त निश्चय हुनुपर्छ नि। अशरीरी बन्ने बानी बनाउनु पर्छ, नत्र मायाले खाइरहन्छ, योग टुटिरहन्छ, विकर्म विनाश हुँदैन। कति मेहनत गर्नुपर्छ, यादमा रहने। यादद्वारा नै एवर-हेल्दी बन्छौ। जति हुन सक्छ अशरीरी बनेर बाबालाई याद गर। हामी आत्माहरूलाई बाबा परमपिता परमात्माले पढाइरहनु भएको छ। कल्प-कल्प पढाउनुहुन्छ, राज्य-भाग्य दिनुहुन्छ। तिमीले योगबलद्वारा आफ्नो राजधानी स्थापना गर्छौ। राजाले राज्य गर्छन्, सेनाले राज्यको लागि लड्छन्। यहाँ तिमी आफ्नो लागि मेहनत गर्छौ, बाबाको लागि होइन। म त राज्य नै गर्दिनँ। म तिमीलाई राज्य दिलाउनको लागि युक्ति बताउँछु। तिमीहरू सबै वानप्रस्थी हौ, सबैको मृत्यु सामुन्ने छ। साना-ठूला कसैको हिसाब छैन। यस्तो नसम्झ सानो बच्चालाई उसको पिताको वर्सा मिल्छ। यो दुनियाँ नै रहँदैन, जसले पाउन सकोस्। मनुष्य त घोर अन्धकारमा छन्। खुब पैसा कमाउने इच्छा राख्छन्, सम्झन्छन्– हाम्रो नाति-नातिनाहरूले खान्छन्। तर यो कामना कसैको पूर्ण हुँदैन। यो सबै माटोमा मिल्नेछ। यो दुनियाँ नै खतम हुनु छ। एकै बमले सबै खतम भएर जान्छ। निकाल्नेवाला कोही हुँदैन। 

    अहिले त सुन आदिको खानीहरू बिल्कुल खाली भएका छन्। नयाँ दुनियाँमा ती फेरि सबै भरिन्छन्। वहाँ नयाँ दुनियाँमा सबैथोक नयाँ मिल्छ। अब ड्रामाको चक्र पूरा हुन्छ, फेरि सुरु हुन्छ। प्रकाश मिलेको छ। गाउँछन् ज्ञान सूर्य प्रकटा, अज्ञान अँध्यारो विनाश। त्यस सूर्यको कुरा होइन। मनुष्यले सूर्यलाई पानी दिन्छन्। वास्तवमा सूर्यले त पानी पुर्याउँछ सारा दुनियाँलाई। उसलाई फेरि पानी दिन्छन्, आश्चर्य छ भक्तिको। फेरि भन्छन्– सूर्य देवताए नम:, चन्द्रमा देवताए नम:। ती फेरि देवता कसरी बनेँ? यहाँ त मनुष्य असुरबाट देवता बन्छन्। त्यसलाई देवता भन्न सकिँदैन। ती त सूर्य, चन्द्रमा, सितारा हुन्। सूर्यको पनि झण्डा लगाउँछन्। जापानमा सूर्यवंशी भन्छन्। वास्तवमा ज्ञान सूर्यवंशी त सबै हुन्। तर ज्ञान छैन, अब कहाँ त्यो सूर्य, कहाँ यो ज्ञान सूर्य। यहाँ पनि यी वैज्ञानिकले आविष्कार निकाल्छन्, फेरि पनि नतीजा के हुन्छ! केही पनि छैन। विनाश त भयो कि भयो। सेन्सीबुल जो छन्, उनीहरूले सम्झन्छन्– यस साइन्सबाट आफ्नै विनाश गर्छन्। उनीहरूको छ साइन्स, तिम्रो छ साइलेन्स। उनीहरूले साइन्सद्वारा विनाश गर्छन्, तिमीले साइलेन्सद्वारा स्वर्गको स्थापना गर्छौ। अहिले त नर्कमा सबैको बेडा डुबेको छ। त्यसतर्फ ती सेनाहरू छन्, यसतर्फ तिमी योगबलवाला सेना छौ। तिमी उद्धार गर्नेवाला हौ। कति ठूलो जिम्मेवारी तिमीमाथि छ, त्यसैले पूरा सहयोगी बन्नुपर्छ। यो पुरानो दुनियाँ खतम भएर जान्छ। अहिले तिमी ड्रामालाई बुझेका छौ। अहिले संगमको समय हो। बाबा बेडा पार गर्न आउनु भएको छ। तिमीले बुझेका छौ– राजधानी पूरा स्थापना हुन्छ फेरि विनाश हुन्छ। बीच-बीचमा रिहर्सल भइरहन्छ। लडाई त धेरै भइरहन्छन्। यो हो नै फोहोरी दुनियाँ। तिमीलाई थाहा छ– बाबाले हामीलाई सुन्दर दुनियाँमा लैजानुहुन्छ। यो पुरानो चोला उतार्नु छ। फेरि नयाँ चोला धारण गर्नु छ। यो त बाबाले ग्यारेन्टी गर्नुहुन्छ– म कल्प-कल्प सबैलाई लिएर जान्छु, त्यसैले मेरो नाम कालको पनि काल महाकाल राखेका छन्। पतित-पावन, रहमदिल पनि भनिन्छ। 

    तिमीलाई थाहा छ– हामी स्वर्गमा जाने पुरुषार्थ गरिरहेका छौं, श्रीमतद्वारा। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौा भने म तिमीलाई स्वर्गमा पठाइदिन्छु, साथ-साथै शरीर निर्वाह पनि गर। कर्म बिना त कोही रहन सक्दैन। कर्म सन्यास त हुँदैन। स्नान आदि गर्नु, यो पनि कर्म हो नि। अन्तिममा सबैले पूरा ज्ञान लिन्छन्, सम्झन्छन्– यिनले जो भन्छन्, शिवबाबा पढाउनुहुन्छ, यो ठीक हो। निराकार भगवानुवाच– उहाँ त एकै हुनुहुन्छ। त्यसैले बाबाले भनिरहनु हुन्छ– सबैसँग सोध, निराकार शिवसँग तपाईको के सम्बन्ध छ? सबै भाइ-भाइ हुन् भने भाइ-भाइका पिता त हुनुपर्छ नि। नत्र कहाँबाट आउने? गायन पनि छ– तिमी माता-पिता...। यो हो बाबाको महिमा, बाबा भन्नुहुन्छ– मैले नै तिमीलाई सिकाउँछु। तिमी फेरि विश्वको मालिक बन्छौ। यहाँ बस्दा पनि शिवबाबालाई याद गर्नु छ। यी आँखाले त शरीरलाई देखिन्छ, बुद्धिद्वारा जानिन्छ– हामीलाई पढाउनेवाला शिवबाबा हुनुहुन्छ। जो बाबाको पासमा छन्, उनको लागि नै यो राजयोग र ज्ञानको बर्सात छ। पतितहरूलाई पावन बनाउनु– यो बाबाको काम हो। यो ज्ञान सागर उही हुनुहुन्छ, तिमीलाई थाहा छ– हामी शिवबाबाका नाति-नातिना, ब्रह्माका बच्चा हौं। ब्रह्माको पिता हुनुहुन्छ शिव, वर्सा शिवबाबाबाट मिल्छ। याद पनि उहाँलाई गर्नु छ। अब हामी जानु छ विष्णुपुरी। यहाँबाट तिम्रो लंगर उठिसकेको छ। शूद्रहरूको नाउ खडा छ। तिम्रो नाउ चलिरहेको छ। अब तिमी सीधा घर जान्छौ। पुरानो कपडा सबै छोडेर जानु छ। अब यो नाटक पूरा हुन्छ, अब कपडा खोलेर जानेछौ घर। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कुनै पनि असत् कर्म गर्नु छैन, मृत्यु सामुन्ने खडा छ। अहिले कयामतको समय हो। त्यसैले सबैलाई कब्रबाट जगाउनु छ। पावन बन्ने र बनाउने सेवा गर्नु छ।

    २) यस फोहोरी दुनियाँमा कुनै पनि कामना राख्नु हुँदैन। सबैको डुबेको बेडालाई पार लगाउन बाबाको पूरा सहयोगी बन्नु छ।

    वरदान:

    ब्राह्मण जीवनमा सदा सुख दिने र लिने अतीन्द्रिय सुखको अधिकारी भव:-   

    जो अतीन्द्रिय सुखको अधिकारी छ, ऊ सदा बाबासँग सुखको झूलामा झुल्छ। उसलाई यो संकल्प कहिल्यै आउन सक्दैन– फलानोले मलाई धेरै दु:ख दियो। उसको प्रतिज्ञा छ– न दु:ख दिनेछु, न दु:ख लिनेछु। यदि कसैले जबरदस्ती दियो भने पनि त्यसलाई धारण गर्दैन। ब्राह्मण आत्मा अर्थात् सदा सुखी। ब्राह्मणहरूको काम नै हो सुख दिनु र सुख लिनु। ऊ सदा सुखमय संसारमा रहनेवाला सुख स्वरूप आत्मा हुन्छ।

    स्लोगन:

    नम्र बन्यौ भने सबैले नमन गर्दै सहयोग दिन्छन्।  



    ***OM SHANTI***