BK Murli 24 December 2017 Nepali
२०७४ पौष ९ आइतबार २४-१२-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज १३-०४-८३ मधुबन
परचिन्तन तथा परदर्शनबाट हानी
सबै श्रेष्ठ आत्माहरू संगमयुगको हीरा समान श्रेष्ठ मेला मनाउनको लागि आएका छन् अर्थात् हीरा समान अमूल्य जीवनको निरन्तर अनुभव गर्ने विशेष साधन फेरि स्मृति स्वरूप वा समर्थ स्वरूप बनिरहोस्, त्यसको बाबाबाट वा आफ्नो परिवारबाट वा वरदान भूमिबाट अनुभव प्राप्त गर्नको लागि आएका छन्। हीरा समान जीवन जन्म देखि नै प्राप्त भयो। तर हीरा सदा चम्किरहोस्, कुनै प्रकारको धुलो वा दाग नआओस् त्यसको लागि पटक पटक पालिश गराउन आउँछौ, यसैले आउँछौ होइन? त्यसैले बापदादा आफ्ना हीरा समान बच्चाहरूलाई देखेर हर्षित पनि हुनुहुन्छ र चेक पनि गर्नुहुन्छ– अहिलेसम्म कुन बच्चालाई धुलोको असर पर्छ वा संगतको रंगमा आउनाले कसै-कसैलाई सानो वा ठूलो दाग पनि लाग्छ? कुनचाहिँ संगतले दाग लगाउँछ! त्यसको मूल दुई कारण छन् वा मुख्य दुई कुराहरू छन्:– १) परचिन्तन २) परदर्शन। परचिन्तनमा व्यर्थ चिन्तन पनि आइहाल्छ। यिनै दुई कुराहरूले संगतको रंगमा स्वच्छ हीरालाई दागयुक्त बनाइदिन्छन्। यही परदर्शन, परचिन्तनका कुराहरूमा कल्प पहिलाको यादगार रामायणको कथा बनेको छ। गीता ज्ञान बिर्सन्छन्। गीता ज्ञान अर्थात् स्वचिन्तन। स्वदर्शन चक्रधारी बन्नु, नष्टोमोहा स्मृति स्वरूप बन्नु। गीता ज्ञानको सारलाई बिर्सेर रामायणको कथा यथार्थमा ल्याउँछन्। सीता पनि उनै बन्छन् जो मर्यादाको रेखाबाट बाहिर निस्कन्छन्। सीताको दुई रूप देखाएका छन्– एक सदा साथ रहनेवाला र दोस्रो शोकवाटिकामा रहनेवाला। संगदोषमा आएर शोकवाटिकामा रहने सीता बन्न पुग्छन्। त्यो एक हो फरियादको रूप र दोस्रो हो यादको रूप। जब फरियादको रूपमा आउँछन् भने पहिलो स्थितिबाट दोस्रो स्थितिमा आउँछन्। त्यसैले सदा बेदाग सच्चा हीरा, चम्किलो हीरा, अमूल्य हीरा बन। यी दुई कुराबाट सदा टाढा रहेमा धुलो र दाग लाग्न सक्दैन। चाहँदैनौ तर गरिहाल्छौ, कुरा धेरै नयाँ-नयाँ रमणिक बताउँछौ। यदि ती कुरा सुनाएमा धेरै मोटो शास्त्र बन्छ। कारण के हो? आफ्नो कमजोरी। तर आफ्नो कमजोरीलाई सेतो लगाइदिन्छौ र लुकाउनको लागि अरूको कारणहरूको लामा कथा बनाउँछौ। यसैबाट परदर्शन, परचिन्तन सुरु हुन जान्छ त्यसैले यस विशेष मूल आधारलाई, मूल बीजलाई समाप्त गर। यस्तो बिदाईको बधाई समारोह मनाऊ। मेलामा समारोह मनाउँछौ हैन! यही समारोह मनाउनुलाई नै मिल्नु अर्थात् बाबा समान बन्नु भनिन्छ। महिमा त आफ्नो धेरै सुनेका छौ। महिमामा पनि कुनै कमी रहेन किनकि जुन बाबाको महिमा त्यो बच्चाहरूको महिमा। बापदादाको यही विशेष स्नेह छ– हर बच्चा बाबा समान सम्पन्न बनून्। समय भन्दा पहिला नम्बरवन हीरा बनून्। अहिले रिजल्ट आउट भएको छैन। जे बन्न चाहन्छौ, जति नम्बरमा आउन चाहन्छौ, अझै आउने मार्जिन छ त्यसैले उड्ती कलाको पुरुषार्थ गर। बेदाग नम्बरवन चम्किलो हीरा बन। बुझ्यौ के गर्नु छ? केवल यो गएर नसुनाउनु– मधुवन पुगेर आयौं, मिलन मनाएर आयौं। यो सुनाऊ– बनेर आएका छौं! जब संख्यामा वृद्धि भइरहेको छ भने पुरुषार्थको विधिमा पनि वृद्धि गर। अच्छा!
यस्ता सबै उड्ती कलाको पुरुषार्थी, सबै व्यक्त संगतहरूबाट टाढा रहने, एकै सम्पूर्णताको रंगमा रंगिएका आत्माहरू, समय भन्दा पहिला स्वयंलाई सम्पन्न बनाउने, प्राप्ति स्वरूप विशेष आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
पार्टीहरू सँग भेटघाट
१) सर्व सम्बन्धहरू सहित बाबालाई आफ्नो बनाइसक्यौ? कुनै पनि सम्बन्धमा अहिलेसम्म लगाव त छैन किनकि कुनै एक सम्बन्ध पनि यदि बाबा सँग नजुटाएमा नष्टोमोहा, स्मृति स्वरूप बन्न सक्दैनौ। बुद्धि भट्किरहन्छ। बस्छौ बाबालाई याद गर्न र याद आउँछ नाती पनाती। जसमा पनि मोह हुन्छ उही याद आउँछ। कसैको पैसामा हुन्छ, कसैको गहनामा हुन्छ, कसैको कुनै सम्बन्धमा हुन्छ। जहाँ पनि हुन्छ वहाँ बुद्धि जान्छ। यदि बारम्बार बुद्धि वहाँ जान्छ भने एकरस रहन सक्दैनौ। आधाकल्प भट्किदा भट्किदा के हाल हुन पुग्यो, देखिहाल्यौ नि! सबै कुरा गुमाइदियौ। तन पनि गयो, मनको सुख-शान्ति पनि गयो, धन पनि गयो। सत्ययुगमा कति धन थियो, सुनको महलमा बस्थ्यौ, अहिले ईंटाको घरमा, पत्थरको घरमा रहन्छौ, त्यसैले सारा गुमाइदियौ नि! त्यसैले अब भट्कन बन्द। एक बाबा दोस्रो न कोही, यही मनले गीत गाऊ। कहिल्यै पनि यस्तो नभन– यो त बद्लिदैन, यो त चल्दैन, कसरी चल्ने, के गरूँ... यस बोझबाट पनि हल्का होऊ। ठीकै छ भावना त राम्रो हो यो चलोस्, यसको बिमारी समाप्त होस् तर यो भन्नाले त हुँदैन नि! यो भन्नुको सट्टा स्वयं हल्का भएर उड्ती कलाको अनुभवमा रह्यौ भने उसलाई पनि शक्ति मिल्छ। बाँकी यो सोच्नु वा भन्नु व्यर्थ हो। माताहरूले भन्छन् मेरो पति ठीक होस्, बच्चा चलोस्, धन्धा ठीक होस्– यही कुरा सोच्छन् वा बोल्छन्। तर यो चाहना पूर्ण तब हुन्छ जब स्वयं हल्का भएर बाबा सँग शक्ति लिन्छौ। यसको लागि बुद्धि रूपी वर्तन खाली हुनु पर्छ। के होला, कहिले होला, अहिले त भएको छैन, यसबाट खाली होऊ। सबैको कल्याण चाहन्छौ भने स्वयं शक्तिरूप बनेर सर्वशक्तिमान्को साथी बनेर शुभ भावना राख्दै जाऊ। चिन्तन वा चिन्ता नगर, बन्धनमा नफँस। यदि बन्धन छ भने त्यसलाई काट्ने तरिका हो याद। भन्नाले छुट्दैनौ, स्वयंलाई छुटाइदियौ भने छुट्नेछौ।
२) संगमयुगको सर्व खजाना प्राप्त भइसक्यो? कहिल्यै पनि आफूलाई कुनै पनि खजानाबाट खाली त सम्झिदैनौ? किनकि खाली हुने समय बितिसक्यो। अहिले भर्ने समय हो। खजाना मिलेको छ, यसको अनुभव पनि अहिले हुन्छ। अप्राप्तिबाट प्राप्ति भयो त्यसको नशा रहन्छ। त्यसैले भरपुर आत्मा बन्यौ! यस्तो त भन्दैनौ सर्व शक्तिहरू छन् तर सहन शक्ति छैन, शान्तिको शक्ति छैन। अलि क्रोध वा अलि आवेश आउँछ। भरपुर चीजमा कुनै अर्को चीज आउन सक्दैन। मायाको हलचल हुन्छ अर्थात् खाली छौ, जति भरपुर उति हलचल हुँदैनौ। त्यसैले क्रोध, मोह... सबैलाई बिदाई दियौ वा दुश्मनलाई पनि पाहुना बनाइदिन्छौ? दुश्मन जबरदस्ती भित्र आउँछ भने पनि लापर्बाही छ। यदि लक बलियो छ भने दुश्मन आउन सक्दैन। आजकल सुरक्षित रहनको लागि गुप्त लक राख्छन्। यहाँ पनि डबल लक छ। याद र सेवा– यो हो डबल लक। यसैबाट सुरक्षित रहन्छौ। डबल लक अर्थात् डबल व्यस्त। व्यस्त रहनु अर्थात् सुरक्षित रहनु। बारम्बार स्मृतिमा रहनु– यही हो लकलाई लगाउनु। यस्तो नसम्झ म त हुँ नै बाबाको तर बारम्बार स्मृति स्वरूप बन। यदि हौ नै बाबाको भने स्मृति स्वरूप हुनु पर्छ, त्यो खुशी हुनु पर्छ। वर्सा प्राप्त हुनुपर्छ। केवल छँदै छ को लापर्बाहीमा होइन, हर सेकेण्ड स्वयंलाई भरपुर समर्थ अनुभव गर। यसलाई भनिन्छ स्मृति स्वरूप सो समर्थ स्वरूप। मायाले आक्रमण गर्न नआओस्, नमस्कार गर्न आओस्।
३) सबैले आफूलाई पूज्य आत्मा अनुभव गर्छौ? पुजारीबाट पूज्य बन्यौ हैन! पूज्यलाई सदा उच्च स्थानमा राख्छन्। कुनै पनि मूर्तिलाई तल धर्तीमा राख्दैनन्। तिमी पूज्य आत्माहरू कहाँ रहन्छौ! माथि रहन्छौ! भक्तिमा पनि पूज्य आत्माहरूको कति मान राख्छन्। जब जड मूर्तिको यति मान छ भने तिम्रो कति होला! आफ्नो मान स्वयंलाई थाहा छ? किनकि जति जसले आफ्नो मान जानेको छ, त्यति अरूले पनि उसलाई मान दिन्छन्। आफ्नो मान राख्नु अर्थात् आफूलाई सदा महान् श्रेष्ठ आत्मा अनुभव गर्नु। कहिलेकाहीँ महान् आत्माबाट साधारण आत्मा त बन्दैनौ! पूज्य त सदा पूज्य हुन्छ नि! आज पूज्य भोलि पूज्य होइन– यस्तो त होइनौ नि। सदा पूज्य अर्थात् सदा महान्। सदा विशेष। कति बच्चाहरूले सोच्छन्– हामी त अगाडि बढिरहेका छौं तर अरूले हामीलाई अगाडि बढ्नको मान दिंदैनन्। यसको कारण के होला? सदा स्वयं आफ्नो मानमा रहँदैनौ। जो आफ्नो मानमा रहन्छन् उनले मान माग्दैनन्, स्वत: मिल्छ। जो सदा पूज्य छैन, उसलाई सदा मान मिल्न सक्दैन। यदि मूर्तिले आफ्नो आसनलाई छोडिदिएमा वा उसलाई जमिनमा राखिदिएमा उसको के मूल्य होला! मूर्तिलाई मन्दिरमा राखेमा सबैले महान् रूपमा हेर्छन्। त्यसैले सदा महान् स्थानमा अर्थात् उच्च स्थितिमा बस, तल नआऊ। आजकल दुनियाँमा कुनचाहिँ विशेषता देखाइरहेका छन्? मर र मार– यही विशेषता देखाउँछन्। त्यस्तै यहाँ पनि सेकेण्डमा मर्नेवाला बन। बिस्तारै-बिस्तारै मर्नेवाला होइन। आज मोह छोड्यो, महिना पछि क्रोध छोड्यो, साल पछि लोभ छोड्यो... यस्तो होइन। एक धक्काबाट कुर्बान बन्नेवाला। के सबै मरजीवा बनिसक्यौ वा कहिले जिउँदो, कहिले मर्योर, कति यस्तो हुन्छन् जो चिताबाट पनि उठेर जान्छन्। जाग्छन्। तिमीहरू सबै त एक धक्काबाट मरजीवा भइसक्यौ नि! जस्तो लौकिक संसारमा आफ्नो शो देखाउँछन्, त्यस्तै अलौकिक संसारमा पनि तिमीले आफ्नो शो देखाऊ। सदा श्रेष्ठ, सदा पूज्य, हरेक कर्म, हरेक गुणको सबैले कीर्तन गाउँदै गरून्। कीर्तनको अर्थ नै हो कीर्ति गाउनु। यदि सदा श्रेष्ठ कर्म अर्थात् कीर्तिवाला कर्म छ भने फेरि सदा नै तिम्रो कीर्तन गाइरहन्छन्। जब कुनै स्थानमा हंगामा हुन्छ, तब त्यस झगडाको समय शान्तिको शक्तिको कमाल देखाऊ। सबैको बुद्धिमा आओस् यो त शान्ति कुण्ड हो। शान्ति कुण्ड बनेर शान्तिको शक्ति फैलाऊ। जस्तो चारैतिर यदि आगो लागिरहेको छ भने एक कुना पनि शीतल कुण्ड छ भने सबै त्यतैतर्फ दौडेर जान्छन्। त्यस्तै शान्त स्वरूप भएर शान्ति कुण्डको अनुभव गराऊ। त्यस समय वाचाको सेवा गर्न सक्दैनौ, मनसाद्वारा आफ्नो शान्तिकुण्डको प्रत्यक्षता गर्न सक्छौ। जहाँ पनि शान्तिका सागरको बच्चा रहन्छन् त्यो स्थान शान्ति कुण्ड होस्। जब विनाशी यज्ञ कुण्डले आफूतर्फ आकर्षित गर्छ भने यस शान्ति कुण्डले आफूतर्फ नखिँचोस् यो हुन सक्दैन। सबैलाई भाइब्रेशन आउनुपर्छ– हो यहीँबाट शान्ति मिल्नेछ। यस्तो वायुमण्डल बनाऊ। सबैले माग्न आऊन्– बहिनजी शान्ति दिनुस्। यस्तो सेवा गर।
सेवाधारी टीचर्स बहिनीहरू प्रति:– टीचर्स अर्थात् सेवाधारी। सेवाधारी अर्थात् त्यागमूर्त र तपस्या मूर्त। जहाँ त्याग, तपस्या हुँदैन त्यहाँ सफलता हुँदैन। त्याग र तपस्या दुबैको सहयोगले सेवामा सदा सफलता मिल्छ। तपस्या हो नै एक बाबा दोस्रो न कोही। यो हो निरन्तरको तपस्या। त्यसैले जो पनि आऊन् उनले कुमारी नदेखून् तपस्वी कुमारी देखून्। जुन स्थानमा रहन्छौ त्यो तपस्या-कुण्ड अनुभव होस्। राम्रो स्थान हो, पवित्र स्थान हो– यो पनि ठीक छ तर तपस्या कुण्ड अनुभव होस्। तपस्या कुण्डमा जो पनि आउँछन्, ती स्वयं पनि तपस्वी हुन थाल्ने छन्। त्यसैले तपस्याको प्राक्टिकल स्वरूपमा जाऊ तब जयजयकार हुन्छ। तपस्याको अगाडि झुक्नेछन्। बी.के.को अगाडि महिमा गर्छन् तपस्वी कुमार/कुमारीको अगाडि झुक्नेछन्। तपस्या कुण्ड बनाऊ फेरि हेर कति पुतली आफैं आउनेछन्। तपस्या पनि ज्योति हो, ज्योतिमा पुतली आफैं आउनेछन्। सेवाधारी बन्ने भाग्य बनिसक्यो, अब तपस्वी कुमारीको नम्बर लेऊ। सदा शान्तिको दान दिने महादानी आत्माहरू बन। बापदादा वर्तमान समय मनसा सेवामाथि विशेष अटेन्शन दिलाइरहनु भएको छ। वाचाको सेवाले यति शक्तिशाली आत्माहरू प्रत्यक्ष हुनेछन्। वाणी त चलिरहन्छ तर अब हुनु पर्छ शुद्ध संकल्पको सेवाको। त्यसैले स्वरूप बनेर स्वरूप बनाउने सेवा गर, अब यसैको आवश्यकता छ। अब सबैको अटेन्शन यस प्वाइन्टमा होस् अनि नाम प्रसिद्ध हुन्छ। अनुभवीले अनुभव गराउन सक्छन्, त्यसैमा विशेष अटेन्शन दिंदै गर। यसैबाट मेहनत कम सफलता धेरै हुनेछ। मनसाले धर्तीलाई परिवर्तन गरिदिन्छ। सदा यही तरिकाले उन्नति गरिराख। अब यही विधि हो उन्नति गर्ने। अच्छा!
१२ घण्टा बच्चाहरू सँग मिलन मनाए पश्चात् बिहान ६ बजे बापदादाले सतगुरुवारको
यादप्यार सबै बच्चाहरूलाई दिनुभयो
सबै वृहस्पतिको दशा भएका श्रेष्ठ भाग्यको रेखावाला श्रेष्ठ आत्माहरूलाई बापदादा आज वृक्षपति दिवसमा यादप्यार दिइरहनु भएको छ। वृक्षपति बाबाले सबै बच्चाहरूको श्रेष्ठ तकदिर, अविनाशी बनाइदिनुभयो। यही अविनाशी तकदिरद्वारा सदा स्वयं पनि सम्पन्न रहन्छौ र अरूलाई पनि सम्पन्न बनाउँदै जानेछौ। वृक्षपति दिवस सबै बच्चाहरूको शिक्षामा सम्पन्न हुने विशेष यादगार दिवस हो। यही शिक्षाको यादगार दिवसमा शिक्षकको रूपमा बापदादा सबै बच्चाहरूलाई हरेक विषयमा सदा फुल पास हुने लक्ष्य राख्दै पास विद अनर बन्नेको र अरूलाई पनि यस्तो उमंग-उत्साहमा ल्याउने, शिक्षकको रूपमा शिक्षा सम्पन्न बन्ने यादप्यार दिनुहुन्छ। र, बृहस्पतिको तकदिरको रेखा कोर्नेवाला भाग्यविधाता पिताको रूपमा सदा श्रेष्ठ भाग्यको बधाई दिनुहुन्छ। अच्छा– यादप्यार एवं नमस्ते।
प्रश्न:– कुनचाहिँ स्मृति सदा रह्यो भने जीवनमा कहिल्यै पनि निराश हुँदैनौ?
उत्तर:–
म साधारण आत्मा होइन, म शिव शक्ति हुँ, बाबा मेरो र म बाबाको– यही स्मृतिमा रह्यौ भने कहिल्यै पनि एक्लोपनको अनुभव हुँदैन। कहिल्यै पनि निराश हुँदैनौ। सदा उमंग उत्साह रहनेछ। ‘शिव-शक्ति’ को अर्थ नै हो शिव र शक्ति कम्बाइण्ड। जहाँ सर्वशक्तिमान्, हजार भुजावाला बाबा हुनुहुन्छ, त्यहाँ सदा उमंग-उत्साह साथ रहन्छ।
वरदान:
स्वमानमा स्थित भएर देहभानलाई समाप्त गर्ने अकाल तख्तनशीन, अकालमूर्त भव:-
संगमयुगमा बाबाद्वारा अनेक स्वमान प्राप्त हुन्छ। हरेक दिन एक नयाँ स्वमान स्मृतिमा राख्यौ भने स्वमानको अगाडि देहभान यसरी भाग्छ, जसरी प्रकाशको अगाडि अन्धकार भाग्छ। न समय लाग्छ, न मेहनत लाग्छ। तिम्रो पासमा डाइरेक्ट परमात्म लाइटको कनेक्शन छ, केवल स्मृतिको स्वीच डाइरेक्ट लाइन सँग अन गर्यौ् भने यति लाइट आउँछ, जसबाट स्वयं त लाइट हुन्छौ नै साथसाथै अरूको लागि लाइट हाउस हुन पुग्छौ। जो यस्तो स्वमानमा रहन्छन्, उनलाई नै अकाल तख्तनशीन, अकालमूर्त भनिन्छ।
स्लोगन:
आफ्नो स्थिति उच्च बनायौ भने परिस्थितिहरू साना हुन पुग्छन्।