BK Murli 27 December 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 27 December 2017 Nepali

    २०७४ पौष १२ बुधबार २७-१२-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे – ३ बाबाको रहस्य सबैलाई कथा जसरी सुनाऊ। जबसम्म बेहद बाबालाई चिनेर पावन बन्दैनौ तबसम्म वर्सा मिल्न सक्दैन।”  

    प्रश्न:

    बाबा बिल्कुलै नयाँ हुनुहुन्छ, उहाँले तिमीलाई आफ्नो कुनचाहिँ नयाँ परिचय दिनु भएको छ?

    उत्तर:

    बाबालाई मनुष्यहरूले हजारौं सूर्य भन्दा तेजोमय भन्छन् तर बाबा भन्नुहुन्छ म त बिन्दु हुँ। नयाँ बाबा हुनुभयो नि। पहिला यदि बिन्दुको साक्षात्कार हुन्थ्यो भने कसैले मान्ने थिएनन्, त्यसैले जस्तो जसको भावना हुन्छ उसलाई त्यस्तै नै साक्षात्कार हुन जान्छ।

    गीत:–

    ओम् नमो शिवाए ...

    ओम् शान्ति।

    निराकार भगवानुवाच, केवल भगवानुवाच भन्नाले कृष्णको नाम याद आउँछ किनकि आजकल भगवान् सबै भएका छन्. त्यसैले निराकार शिव भगवानुवाच भनिन्छ। परमपिता परमात्मा भनिन्छ। निराकार भगवानुवाच, कसप्रति? निराकार बच्चाहरू, आत्माहरूप्रति। रूहानी भगवानुवाच वा ईश्वर उवाच यो अक्षर ठीक लाग्दैन। निराकार भगवानुवाचले शोभा दिन्छ। अब घरी-घरी भनिदैन। यो छ धेरै गुप्त। यसको चित्र निस्कन सक्दैन। बिन्दु बनाएर भगवानुवाच लेख्यो भने कसैले मान्दैनन्। भगवान्‌को यथार्थ नाम, रूप, देश, काललाई कसैले जान्दैनन्। यदि बाबालाई जाने भनेको भए रचनालाई पनि जान्नेछन्। तर नजान्नु नै उनीहरूको ड्रामामा निश्चित छ। तब मात्रै फेरि बाबा आएर आफ्नो पहिचान दिनुहुन्छ। बाबा भन्नुहुन्छ– जब मेरो पार्ट हुन्छ पतितलाई पावन बनाउने, तब नै आएर मैले आफ्नो परिचय दिन्छु। पुरानो दुनियाँलाई नयाँ बनाउँछु। पुरानो दुनियाँमा रहने मनुष्यले नयाँ दुनियाँमा रहने मनुष्यहरूलाई पुज्दछन्। तिमी बच्चाहरूले सम्झाउनु छ। जबकि ऋषि-मुनि आदि सबैले भन्दछन् हामीले रचयिता र रचनालाई जान्दैनौं फेरि तपाईंले कहाँबाट जान्नुभयो! यदि तपाईंले बाबालाई, रचनालाई जान्नु भएको छ भने हामीलाई ज्ञान दिनुहोस्। कहिल्यै कसैलाई दिन सक्दैनन्। वर्सा दिन सक्दैनन्। तिमी बच्चाहरूलाई बाबाबाट वर्सा मिलिरहेको छ। तिमीलाई थाहा छ– बेहदको बाबा आउनु भएको छ, नयाँ दुनियाँको वर्सा अथवा सुख दिन। अवश्य दु:ख खतम हुन्छ। त्यो हो सुखधाम, यो हो दु:खधाम। अब यस दु:खधामको विनाश हुनु छ। नयाँ दुनियाँ नै अब पुरानो भएको छ, फेरि नयाँ बन्छ। नयाँ दुनियाँलाई सत्ययुग, पुरानो दुनियाँलाई कलियुग भनिन्छ। नयाँ दुनियाँमा अवश्य मनुष्य थोरै हुनुपर्छ। सत्ययुगमा एउटै धर्म थियो। अहिले त अनेक धर्म छन्, दु:ख पनि छ। सुखबाट दु:ख, दु:खबाट फेरि सुख हुन्छ। यो खेल बनेको छ। दु:ख कसले दिन्छ, यो कसैलाई थाहा नै छैन। रावणलाई माया भनिन्छ। धनलाई माया भनिंदैन। विकारीले जान्दछन्– देवताहरू निर्विकारी हुन्। तर उनीहरूलाई विकारको नशा चढेको छ। देवताहरूलाई हुन्छ निर्विकारीपनको नशा। वहाँ अपवित्र कोही हुँदैन। संगममा नै तिमी बच्चाहरूलाई पवित्रताको रहस्य सम्झाइन्छ। तिमीले फेरि अरूलाई सम्झाउनु छ। बाबाले त सारा दुनियाँलाई बसेर सम्झाउनु हुन्न। बच्चाहरूले नै सम्झाउनु पर्छ तर सम्झाउने धेरै युक्ति चाहिन्छ। सबैलाई बताऊ– जुन स्वर्ग नयाँ दुनियाँ थियो, त्यो अहिले पुरानो भएको छ। रचयिता त बाबा नै हुनुहुन्छ। उहाँ स्वयं भन्नुहुन्छ– मैले ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना गर्छु। बच्चाहरूलाई गोद लिन्छु। ब्रह्माको नाम नै प्रजापिता हो। अवश्य यतिका बच्चाहरूलाई गोद लिनुहुन्छ। जसरी संन्यासीले अनुयायीलाई गोद लिन्छन्। पुरुषले, स्त्रीलाई आफ्नो बनाउँछ– तिमी मेरो हौ। यहाँ पनि तिमीले भन्छौ– शिवबाबा म हजुरको हुँ। घर बस्दा पनि धेरैलाई अनुभूति हुन्छ फेरि के भन्छन्? बाबा, मैले हजुरलाई देखेको त छैन किनकि बन्धनमा छु, आउन सक्दिनँ तर म हुँ हजुरको नै। पवित्र त अवश्य बन्नुपर्छ। पतित मुक्ति-जीवनमुक्तिमा जान सक्दैनन्। पतितले पुकार्छन्– आउनुहोस् आएर पावन बनाउनुहोस्।

    तिमी बच्चाहरूले सम्झाउनु पर्छ– भारतखण्ड स्वर्ग थियो। यी लक्ष्मी-नारायण स्वर्गका मालिक थिए, अवश्य राजवंश चलेको हुनुपर्छ। नयाँ दुनियाँमा नयाँ राज्य थियो, अहिले त्यो छैन। अरू अनेक धर्म छन्, देवता धर्म छैन। यो पुरानो दुनियाँ कहिलेसम्म चल्छ? उनीहरूले सत्ययुगलाई लाखौं वर्ष भनिदिन्छन्। महाभारी लडाईंको पनि गायन छ। बीचमा थोरै खिटपिट भएको थियो त्यसैले भन्दथे– महाभारत लडाईंको समय हो। यादवहरूको लडाईं पनि देखाउँछन्– मूसलहरूद्वारा आफ्नो विनाश गरे। कहिले लेख्छन् पाण्डवहरू र कौरवहरूको युद्ध, कहिले लेख्छन् असुर र देवताहरूको। आसुरी दुनियाँ पछि तुरुन्तै दैवी दुनियाँ हुन्छ। ती पतित, यी पावन। पावन देवता कसरी लड्छन्? ती हुन्छन् सत्ययुगमा, यी कलियुगमा– दुवैको लडाईं कसरी हुन सक्छ? देवताहरू अहिंसक, असुर हिंसक। देवताहरू नर्कमा कसरी आउँछन्! अहिले तिमी संगममा छौ, नयाँ दुनियाँ स्थापना हुन्छ। त्यसको लागि तिमीले पुरुषार्थ गरिरहेका छौ। दुई पिताको रहस्य पनि कथा जस्तै सम्झाउनु पर्छ। सत्ययुगमा हुन्छन् एउटा पिता। बेहदको बाबालाई याद नै गर्दैनन् किनकि सुखधाम हो। द्वापरयुगमा हुन्छन् दुई पिता। लौकिक पिता भएर पनि पारलौकिक बाबालाई याद गर्छन्। आत्माले नै आफ्नो बाबालाई याद गर्छ किनकि आत्माले नै दु:ख सहन गर्छ। पुण्य आत्मा, पाप आत्मा। आत्माले नै सुन्छ। संस्कार आत्मामा हुन्छ। जसमा दैवी संस्कार छैन, उसले दैवी संस्कार भएकाहरूको गायन गर्छ। गाइएको पनि छ– आफै पूज्य आफै पुजारी। पुजारी बन्छन् त्यसैले गाउँछन्– मुझ निर्गुणमा... उनीहरूमा गुण छन् हामीमा छैनन्। पूज्य नै पुजारी। तिमी नै पूज्य सो देवता थियौ, फेरि तिमी नै पुजारी बनेका छौ। ८४ जन्म लियौ। आधाकल्प पूज्य आधाकल्प पुजारी। हिसाब सम्झाउनु पर्छ– देवता, क्षत्रिय, वैश्य, शूद्र... यतिबेला हामी ब्राह्मण छौं। बी.के. हौं। यतिबेला हाम्रो तीनवटा पिता हुनुहुन्छ। लौकिक पिता, निराकार पारलौकिक बाबा, तेस्रो फेरि प्रजापिता ब्रह्मा, जसद्वारा हामी ब्राह्मणहरूलाई पढाउनुहुन्छ। प्रजापिता नाम त सुन्नु भएको छ नि? ब्रह्माद्वारा रच्नुहुन्छ। तपाई पनि ब्राह्मण हो। तपाईंले पनि बाबालाई याद गर्नुहोस्। बाबा भन्नुहुन्छ– म आएको छु तिमीलाई वापस लैजान। निराकार बाबाले आत्माहरू सँग कुरा गर्नुहुन्छ। तिमीले भन्छौ पनि– हामीले एक शरीर छोडेर अर्को लिन्छौं। शरीरको नाम-रूप फेरिन्छ। आत्मा त एउटा नै हुन्छ। बाबाको नाम पनि एउटै शिव हो। उहाँको शरीर त छँदै छैन। यो प्वाइन्ट पनि नोट गर्नुपर्छ। फेरि जस्तो व्यक्ति त्यसरी नै सम्झाउनु पर्छ। हामी बी.के.ले दादाबाट वर्सा लिइरहेका छौं। उहाँले नै राजयोग र ज्ञानको नलेज दिनुहुन्छ। मनुष्यबाट देवता बन्नु, यो पनि ज्ञान हो। ज्ञान मिल्छ संगममा। जसबाट फेरि नयाँ दुनियाँमा वर्सा मिल्छ। पतित दुनियाँमा आएर पावन दुनियाँ स्थापना गर्नुहुन्छ। अहिले बाबा आउनु भएको छ घर लैजान। ड्रामा अनुसार सबैलाई घर जानु छ फेरि पहिला सूर्यवंशी, फेरि चन्द्रवंशी, अनि वैश्य, शूद्रवंशी बन्छन्। त्यो हो निराकार आत्माहरूको वंशवृक्ष। यो हो साकारी मनुष्यहरूको वंशवृक्ष। ब्राह्मण, देवता, क्षत्रिय, वैश्य, शूद्र... यसमा सारा विराट् रूप आउँछ। ब्राह्मणको वृद्धि भइरहन्छ। रुद्र माला र विष्णुको माला बन्छ। ब्रह्माको माला भन्न सकिंदैन किनकि बदलिइरहन्छन् त्यसैले रुद्र माला पुजिन्छ। यी हुन् नयाँ-नयाँ कुरा। यी कुरा कसैको बुद्धिमा अलिकति पनि छैन। कल्पको आयु लाखौं वर्ष भनिदिन्छन्, त्यसैले तिम्रो कुरा सबैलाई नयाँ लाग्छ। नयाँ दुनियाँको लागि नयाँ चीज मिल्छ। बाबा पनि वास्तवमा नयाँ हुनुहुन्छ। उनीहरूले त भनिदिन्छन्– नाम-रूपबाट न्यारा हुनुहुन्छ या त भनिदिन्छन् हजारौं सूर्य भन्दा तेजोमय हुनुहुन्छ। त्यसकारण अवश्य जस्तो भावना हुन्छ त्यस्तै साक्षात्कार हुन्छ। बिन्दुको साक्षात्कार भयो भने कसैले मान्दै मान्दैनन्। यी सबै कुरा नयाँ हुनाले अलमलिन्छन्। जो यहाँको छ, उसैको नै कलमी लाग्छ। तिमी बच्चाहरूले अब राम्रो सँग बुझेका छौ त्यसैले पारलौकिक बाबाको लागि पनि सम्झाउनु छ। तिमीले आधाकल्पदेखि उहाँलाई याद गर्दै आएका हौ। सुख दिनेलाई नै याद गरिन्छ। रावण सबैको दुश्मन हो, त्यसैले त उसलाई जलाउँछन्। सोध– रावणलाई जलाएको कति समय भयो? भन्दछन् अनादि देखि। उनीहरूलाई यो थाहा नै छैन– रावण कहिलेदेखि आउँछ। सत्ययुगमा त रावण हुँदैन। भारतको सबै भन्दा पुरानो दुश्मन रावण हो। आत्मालाई पतित बनाउनेवाला हो। आत्माको दुश्मन को हो? रावण। आत्माको साथ शरीर पनि छ। दुवैको दुश्मन को भयो? (रावण) रावणमा आत्मा छ? रावण के चीज हो? केवल विकार हो। यस्तो होइन– रावणमा पनि आत्मा छ। रावण ५ विकारलाई भनिन्छ। आत्मामा नै ५ विकार छन्, जसको पुतला बनाउँछन्। तिमीलाई थाहा छ– अहिले छ दु:ख फेरि सुखमा जानु छ, अवश्य बाबा आएर लिएर जानुहुन्छ। उहाँ नै पतित-पावन हुनुहुन्छ। जसरी दोस्रो आत्मा आउँछ त्यसैगरी बाबा पनि आउनुहुन्छ। श्राद्ध खुवाउँदा आत्मालाई बोलाउँछन्। ब्राह्मणलाई नै आफ्नो पिताको आत्मा सम्झेर सबैथोक गर्छन्। सम्झन्छन् त्यो आत्मा आउँछ। आत्मा बोल्छ। हो यहाँ बाबाको आउने भिन्नै छ। यो हो भगवान्‌को रथ। भागीरथ भन्दछन्। पानीको कुरा होइन, यो हो सारा ज्ञानको कुरा। बाबा सम्झाउनुहुन्छ– मैले साधारण तनमा प्रवेश गर्छु, यिनको नाम ब्रह्मा राखेको छु। यिनलाई गोदमा लिन्नँ। यिनमा प्रवेश गर्छु फेरि तिमीलाई गोद लिन्छु। तिमीले भन्छौ शिवबाबा म हजुरको हुँ। तिम्रो बुद्धियोग माथि जान्छ किनकि बाबा स्वयं भन्नुहुन्छ– मलाई याद गर्यौे भने तिम्रो विकर्म विनाश हुन्छ। यस यात्रामा बस। मानौं यी बाबा कहीँ गए भने याद शिवबाबालाई गर्नुपर्छ। शिवबाबा यस रथमा दिल्ली जानु भयो, कानपुर जानु भयो... बुद्धिमा शिवबाबाको याद रहोस्। तल बस्ने होइन, बुद्धि माथि रहोस्। आत्माले परमात्मा बाबालाई याद गरोस्। बाबा भन्नुहुन्छ– मेरो निवासस्थान त माथि हो। मलाई खोज्न यहाँ भड्किने होइन। तिमीले मलाई पनि वहाँ याद गर। तिमी आत्माहरू पनि बाबाको साथमा निवास गर्छौ। यस्तो होइन बाबाको स्थान भिन्नै, तिम्रो भिन्नै छ, होइन। यी कुरा बुद्धिमा बसाल्नु छ। एक-एकलाई छुट्टा छुट्टै जसरी तिमीले कराँचीमा सम्झाउँथ्यौ, त्यसरी नै राम्रो हुन्छ। धेरैमा एक अर्काको प्रकम्पनले टिक्न दिंदैन। भक्ति पनि एकान्तमा गर्छन्। यो पढाइ पनि एकान्तमा गर्नु छ। पहिला बाबाको परिचय दिनु छ। बाबा पतित-पावन हुनुहुन्छ। उहाँद्वारा हामी पावन बनिरहेका छौं। 

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो अन्तिम जन्म पावन बन्यौ भने विश्वको मालिक बन्छौ। कति ठूलो कमाई छ। बाबा भन्नुहुन्छ– धन्धा आदि बरू गर केवल मलाई याद गर। पावन बन्यौ भने योगबलबाट तिम्रो विकार निस्कने छ। तिमी सतोप्रधान बन्छौ, एकरस कर्मातीत अवस्था बन्छ। बुद्धिमा ज्ञानको स्मरण गर्दै राख। मित्र-सम्बन्धीहरूलाई पनि यो सम्झाउँदै राख। कल्प पहिला पनि तिमीलाई यसरी सम्झाएको थिएँ। कुनै नयाँ कुरा होइन। कल्प-कल्प बाबा आएर हामीलाई सम्झाउनुहुन्छ। हामीले फेरि दुनियाँलाई सम्झाउँछौं। यहाँ अवश्य स्वर्ग थियो फेरि बन्छ। यो चक्र घुमिरहन्छ। सत्ययुगको अवधि लाखौं वर्ष कसरी हुन सक्छ? यति धेरै जनसंख्या कहाँ छ र, फेरि त अनगिन्ति हुनु पर्थ्यो। ४ युग हुन्, हरेक युगको आयु १२५० वर्ष हुन्छ। जसरी तिमीले बुझेका छौ, त्यसैगरी बुझाउँदै जाऊ। वंशवृक्षको वृद्धि हुँदै जान्छ। कहिले ग्रहचारी बस्छ, फेरि उत्रिन्छ। बाबा भन्नुहुन्छ– सम्झाउन धेरै सहज छ। बाबा र वर्सा। मूल कुरा हो यादको यात्रा। मेहनत पनि छ। कल्प पछि यो यादको धन्धा मिल्छ, तर छ गुप्त। यो गाह्रो विषय हो। बाबालाई याद गर्नु, बाबालाई नै भुलेका छन्। भगवान्‌लाई कसैले चिनेका छैनन्। गाइएको पनि छ– सद्‌गुरु विना घोर अन्धकार। उज्यालोमा एकै सद्‌गुरुले लैजानुहुन्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) योगबलद्वारा आत्मालाई सतोप्रधान बनाएर एकरस कर्मातीत अवस्थासम्म पुग्नु छ। यादको गुप्त मेहनत गर्नु छ। एकान्तमा पढाइ पढ्नु छ।

    २) बाबाबाट मुक्ति-जीवनमुक्तिको वर्सा लिनको लागि यस अन्तिम जन्ममा पवित्र अवश्य बन्नु पर्छ।

    वरदान:

    सर्व विकारहरूको अंशलाई पनि त्याग गरेर सम्पूर्ण पवित्र बन्ने नम्बरवन विजयी भव:-   

    सम्पूर्ण पवित्र ऊ नै हो, जसमा अपवित्रताको अंश मात्र पनि नहोस्। पवित्रता नै ब्राह्मण जीवनको व्यक्तित्व हो। यो व्यक्तित्वले नै सेवामा सहज सफलता दिलाउँछ। तर एउटा मात्र पनि विकारको अंश छ भने अर्को साथी उसको साथमा अवश्य हुन्छ। जसरी पवित्रताको साथमा सुख-शान्ति हुन्छ, त्यसैगरी अपवित्रताको साथमा पाँच विकारहरूको गहिरो सम्बन्ध छ। त्यसैले एउटा पनि विकारको अंश नरहोस् तब नम्बरवन विजयी बन्छौ।

    स्लोगन:

    हिम्मतको एक कदम राख्यौ भने हजार गुणा मदत मिल्छ।  



    ***OM SHANTI***