BK Murli 18 May 2018 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:







    BK Murli 18 May 2018 Nepali


    २०७५ जेष्ठ ४ शुक्रबार १८-०५-२०१८ प्रात: मुरली ओम् शान्ति “बापदादा” मधुबन


    “मीठे बच्चे– कहिल्यै पनि देह वा साकार शरीरलाई याद गर्नु छैन, आँखाले यिनलाई देखे पनि याद परम शिक्षक शिवबाबालाई नै गर्नु छ।”  

    प्रश्न:

    तिमी बच्चाहरूले कुन एक काइदालाई जानेका हुनाले अहिले फूलमालालाई स्वीकार गर्न सक्दैनौ?

    उत्तर:

    हामीले जानेका छौं– जसका आत्मा एवं शरीर दुवै पवित्र हुन्छन् उनीहरू नै फूलमालाका हकदार हुन्छन्। यो काइदा अनुसार अहिले हामीले फूलमालालाई स्वीकार गर्न सक्दैनौं। बाबा भन्नुहुन्छ– म पनि तिम्रो फूल– मालालाई स्वीकार गर्दिन किनभने म नत पूज्य बन्छु नत पुजारी। म त तिम्रो आज्ञाकारी पिता एवं शिक्षक हुँ।

    गीत:–

    छोड भी दे आकाश सिंहासन...

    ओम् शान्ति।

    मीठे-मीठे सिकीलधे बच्चाहरूले गीत सुन्यौ। यस गीतबाट सर्वव्यापीको ज्ञान समाप्त हुन्छ। सम्झन्छन्– अहिले दुनियाँ धेरै दु:खी छ। ड्रामा अनुसार यी सबै गीतहरू बनेका हुन्। मनुष्यहरूले यो कुरा जान्दैनन्। बाबा आउनुहुन्छ पतितलाई पावन बनाउन वा दु:खीहरूलाई दु:खबाट मुक्त गर्न अर्थात् दु:ख हरण गरेर सुख दिनको लागि। प्यारा बच्चाहरूले जानेका छन् उनै बाबा आउनु भएको छ। बच्चाहरूलाई आफ्नो पहिचान प्राप्त भएको छ। स्वयं बाबाले बसेर बताउनुहुन्छ– म साधारण तनमा प्रवेश गरेर तिमी बच्चाहरूलाई सारा सृष्टिको आदि-मध्य-अन्तको रहस्य बताउँछु। यो सृष्टि एउटै हो, केवल नयाँ र पुरानो हुन्छ। जसरी शरीर बाल्यावस्थामा नयाँ हुन्छ, पछि गएर पुरानो बन्छ। नयाँ शरीर, पुरानो शरीर– दुई चीज त भनिंदैन। हो एउटै, तर केवल नयाँ र पुरानो बन्छ। त्यसैगरी यो दुनियाँ पनि एउटै हो, नयाँबाट अहिले पुरानो भएको छ। नयाँ कहिले थियो– यो कुरा कसैले पनि भन्न सक्दैन। बाबा आएर सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू, जब दुनियाँ नयाँ थियो त्यसबेला भारतवर्ष पनि नयाँ थियो। त्यसलाई सत्ययुग भनिन्थ्यो। त्यही अहिले पुरानो भएको छ। यसलाई पुरानो दुनियाँ भनिन्छ। नयाँ दुनियाँबाट फेरि पुरानो बनेको छ, त्यसपछि यो दुनियाँ नयाँ बन्नै पर्छ। नयाँ दुनियाँलाई तिमी बच्चाहरूले साक्षात्कार गरेका छौ। त्यो नयाँ दुनियाँको मालिक को थिए? अवश्य पनि यी लक्ष्मी-नारायण थिए। आदि सनातन देवी देवताहरू मालिक थिए, यो कुरा बाबाले तिमी बच्चाहरूलाई सम्झाइरहनु भएको छ। बाबा भन्नुहुन्छ– अब निरन्तर यही याद गरिराख। परमधामबाट बाबा हामीलाई पढाउन र राजयोग सिकाउन आउनु भएको छ। सारा महिमा उही एक परमात्माको नै हो, यिनको (ब्रह्माको) केही महिमा छैन। यस समयमा सबै मनुष्य तुच्छ बुद्धिका छन्। केही पनि बुझ्दैनन्, त्यसैले म आउँछु। यो गीत पनि यसै अनुसार बनेको छ। सर्वव्यापीको ज्ञान त समाप्त हुन्छ। हरेकको आ-आफ्नो पार्ट छ। बाबाले बारम्बार भन्नुहुन्छ– देह-अभिमानलाई त्यागी देही-अभिमानी बन, शिवबाबालाई याद गर। यस्तै सम्झ– शिवबाबाले नै सबै कुरा गर्नुहुन्छ। ब्रह्मा छँदै छैनन्। देखिन त यिनको रूप यी आँखाले देख्छ तर तिम्रो बुद्धि शिवबाबातिर नै जानु पर्छ। शिवबाबा नहुने हो भने यिनको आत्मा र यिनको शरीरको केही काम छैन। हरबखत यही सम्झ– यिनमा शिवबाबा हुनुहुन्छ र यीद्वारा पढाउनुहुन्छ। तिम्रो यिनी शिक्षक होइनन्। परम शिक्षक उहाँ हुनुहुन्छ, त्यसैले याद उहाँको गर्नु पर्छ। कहिल्यै पनि यो देहलाई याद नगर। बुद्धियोग बाबा सँग लगाउनु छ। त्यसपछि सर्वव्यापीको ज्ञान पनि रहँदैन। बच्चाहरूले फेरि आएर ज्ञान योग सिकाऊ भनी याद गरिरहन्छन्। परमपिता परमात्मा शिवाय कसैले पनि राजयोग सिकाउन सक्दैन। तिमी बच्चाहरूको बुद्धिमा छ– यो गीताको ज्ञान स्वयं बाबाले सुनाउनुहुन्छ, पछि गएर यो ज्ञान प्राय: लोप हुन्छ। त्यहाँ यो ज्ञानको आवश्यकता नै हुँदैन। राज्य स्थापना भएपछि सद्‌गति हुन्छ। ज्ञान त दुर्गतिबाट सद्‌गतिमा जानको लागि दिइन्छ। तर ती त सबै भक्तिमार्गका कुरा हुन्। मनुष्यले जप, तप, दान, पुण्य आदि जे जति कार्य गर्छन् ती सबै भक्तिमार्गका कुरा हुन्, यसबाट मलाई कसैले पनि प्राप्त गर्न सक्दैन। आत्माको त पखेटा टुटेको छ। पत्थर बनेको छ। पत्थरबाट फेरि पारस बनाउन म नै आउनु पर्छ। 

    बाबा भन्नुहुन्छ– अहिले कति धेरै मानिस छन्, मानिसै मानिसले यो संसार सस्र्र्यूंले भरिए जस्तै छ। यी सबै समाप्त भएर जान्छन्। सत्ययुगमा त यति धेरै मनुष्यहरू हुँदैनन्। नयाँ दुनियाँमा वैभव धेरै हुन्छ, मनुष्य थोरै हुन्छन्। यहाँ त यति धेरै मनुष्य छन्, खानै पनि पुग्दैन। यो दुनियाँ पुरानो र बाँझो भएको छ। अब फेरि नयाँ बन्छ। त्यहाँ सबै चीज नयाँ हुन्छ। नाम नै कति मीठो छ– हेविन, बहिश्त। देवताहरूको नयाँ दुनियाँ। पुरानो घरलाई भत्काएर नयाँमा रहने इच्छा हुन्छ नि। अहिले नयाँ दुनियाँ स्वर्गमा जाने धून छ। यो पुरानो शरीरको केही मूल्य छैन। शिवबाबाको त कुनै शरीरै छैन। बच्चाहहरूले माला पहिराइदिऊँ भन्छन्। तर यिनलाई माला लगाइदियौ भने तिम्रो बुद्धियोग यिनीतिरै जान्छ। शिवबाबा भन्नुहुन्छ– मलाई मालाको आवश्यकता छैन। तिमी नै पूज्य बन्छौ। पुजारी पनि बन्छौ। आफै पूज्य आफै पुजारी बन्छौ। त्यसैले आफ्नै चित्रको पूजा गर्न लाग्छौ। बाबा भन्नुहुन्छ– म नत पूज्य बन्छु नत फूल आदिको आवश्यकता नै पर्छ। मैले किन लगाउने? त्यसैले कहिल्यै पनि फूल स्वीकार गर्दिनँ। तिमी पूज्य बनेपछि जति चाहन्छौ त्यति फूलमाला लगाउन सक्छौ। म त तिमी बच्चाहरूको एकदम आज्ञाकारी पिता पनि हुँ, शिक्षक पनि हुँ अनि सेवक पनि हुँ। रहस्य परिवारका ठूला बडा व्यक्तिहरूले कागजमा सही गर्ने बेलामा तल लेख्छन्– मिन्टो वा कुर्जोन (ब्रिटिस भायसराय)... आफूलाई कहिल्यै मालिक (लर्ड) लेख्दैनन्। यहाँ त श्री श्री लक्ष्मी-नारायण, श्री फलाना भनी लेख्छन्। एकदम श्री अक्षर लेखिदिन्छन्। बाबा सामुन्ने बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू, अब यो शरीरलाई याद नगर। आफूलाई आत्मा हुँ भन्ने निश्चय गर र बाबालाई याद गर। यो पुरानो दुनियाँमा आत्मा एवं शरीर दुइटै पतित भएका छन्। यदि सुन ९ क्यारेटको भयो भने गहना पनि नौ क्यारेटकै हुन्छन्। सुनमा नै चाँदी आदि मिसाइन्छ। त्यसैले आत्मालाई निर्लेप सम्झनु हुँदैन। यो ज्ञान तिमीहरूलाई मात्र प्राप्त हुन्छ। सत्ययुग त्रेतामा २१ जन्मको लागि प्रारब्ध पाइन्छ भने कति धेरै पुरुषार्थ गर्नु पर्ला। तर बच्चाहरूले घरी-घरी बिर्सिन्छन्। शिवबाबाले ब्रह्माद्वारा हामीलाई शिक्षा दिइरहनु भएको छ। ब्रह्माको आत्माले पनि उहाँलाई याद गर्छ। एक भगवानलाई भक्तहरूले याद गर्छन्। तर तमोप्रधान बनेका हुनाले बाबालाई बिर्सिएर ढुङ्गा माटो सबैमा पुज्न थाल्छन्। हामीलाई थाहा छ– जे जस्तो हुन्छ त्यो त ड्रामामा शूट हुन्छ। ड्रामामा एक पटक जो शूटिङ्ग हुन्छ त्यही दोहोरिन्छ। मानौं बीचमा कोही पंछी आदि उडेको शूट भयो भने त्यही दृश्य शूटिङ्गमा घरी-घरी देखिन्छ। पुतली उड्यो र त्यसको शूट भयो भने त्यो फेरि दोहोरिन्छ। यो ड्रामा पनि सेकेन्ड-सेकेन्ड दोहोरिरहन्छ। शूट भइरहन्छ। यो बनिबनाउ ड्रामा हो र तिमी त्यसका पात्र हौ। सारा ड्रामालाई साक्षी भएर हेर्दछौ। एक एक सेकेन्ड ड्रामा अनुसार बितिरहन्छ। पात हल्लियो, ड्रामा पास भयो। यस्तो होइन– सम्पूर्ण पातहरू बाबाको आदेशले नै हल्लिन्छन्। यी सबै कुरा ड्रामामा निश्चित छ, यसलाई राम्रो सँग सम्झाउनु पर्छ। बाबाले नै आएर राजयोग सिकाउनुहुन्छ एवं ड्रामाको ज्ञान दिनुहुन्छ। चित्र पनि कति राम्रो बनाइएको छ! संगमयुगको चित्रमा काँटा पनि देखाइएको छ। कलियुगको अन्त र सत्ययुगको आदिको संगम हो। अहिलेको यो पुरानो दुनियाँमा अनेक धर्महरू छन्। नयाँ दुनियाँमा यी केही पनि रहने छैनन्। तिमी बच्चाहरूले सधैं बाबाले हामीलाई पढाइरहनु भएको छ भनी सम्झ। हामी ईश्वरीय विद्यार्थी हौं। भगवान्वाच– मैले तिमीलाई राजाको पनि राजा बनाउँछु। राजाहरूले पनि यी लक्ष्मी-नारायणलाई पूजा गर्छन्। यिनीहरूलाई पूज्य बनाउने पनि म नै हुँ। जो पूज्य थिए अहिले तिनै पुजारी भएका छन्। तिमी बच्चाहरूले अहिले हामी नै पूज्य थियौं र हामी नै पुजारी बनेका हौं भन्ने बुझेका छौ। बाबा त पुजारी बन्नुहुन्न। तिमी बच्चाहरूले अहिले फूलमाला आदि स्वीकार गर्न सक्दैनौ। काइदा अनुसार जसको आत्मा र शरीर दुवै पवित्र छन् ऊ नै फूलको हकदार हुन्छ। त्यहाँ स्वर्गमा त हुन्छन् नै सुगन्धित फूलहरू। फूल सुगन्ध लिनको लागि हुन्छन्। माला लगाउनको लागि पनि फूल हुन्छन्। बाबा भन्नुहुन्छ– अहिले तिमी बच्चाहरू विष्णुको गलाका माला बनिरहेका छौ। नम्बरवार तिमीहरू तख्तमा बस्नु छ। जसले कल्प पहिला जति पुरुषार्थ गरेको थियो त्यति अहिले पनि गर्छ, गर्न थाल्छ। नम्बरवार त छँदै छन्। बुद्धिले भन्दछ– फलानो बच्चा धेरै सेवाधारी छ। जसरी पसलमा देखिन्छ– कोही सेठ हुन्छन्, कोही साझेदार हुन्छन् कोही मेनेजर हुन्छन्। यहाँ पनि यस्तै हो। 

    तिमी बच्चाहरूले माता-पिताको दिललाई जित्नु छ। माता-पिता भन्दा पनि अगाडि कसरी जान सकिन्छ भनेर तिमी छक्क पर्छौ। बाबाले त बच्चाहरूलाई लायक बनाउन, तख्तनशीन बनाउनको लागि मेहनत गर्नुहुन्छ। भन्नुहुन्छ– हाम्रो तख्तमाथि विजय प्राप्त गर। एक अर्कामाथि विजयी हुन्छन् नि। यति धेरै पुरुषार्थ गर जो नरबाट नारायण बन्न सकियोस्। लक्ष्य, उद्देश्य त मुख्य रूपमा छ नै एउटै। फेरि भन्नुहुन्छ– राज्य स्थापना भइरहेको छ, त्यसमा धेरै प्रकारका पदहरू हुन्छन्। मायामाथि विजय प्राप्त गर्नको लागि पूरा पुरुषार्थ गर। बाल-बच्चाहरूलाई पनि प्यार सँग चलाऊ। तर साक्षी भएर चल। भक्तिमार्गमा भन्ने गर्छन्– हे प्रभु! यो सबै कुरा हजुरले नै दिनु भएको हो। जसको नाशो हो उसैले लग्यो भने अब रूनु पर्ने कुरै छैन। तर यो त हो नै रूनेहरूको दुनियाँ। मानिसहरूले कथा सुनाउँछन्, मोहजित राजाको कथा पनि सुनाउँछन्। त्यहाँ कुनै दु:खको अनुभव हुँदैन– एक शरीर छोडेर अर्को शरीर लिन्छन्। त्यहाँ कहिल्यै कोही बिमारी हुँदैनन्। सदा स्वस्थ निरोगी देह हुन्छ। विवाह आदि कसरी हुन्छ, कस्तो पोशाक लगाउँछन्, त्यहाँको रीति-रिवाज कस्तो हुन्छ– यो सबै तिमी बच्चाहरूले साक्षात्कार गरेका छौ। त्यो पार्ट पनि सबै बितेर गयो। त्यतिबेला यति धेरै ज्ञान थिएन। अब दिन-प्रतिदिन तिमी बच्चाहरूमा धेरै जोड सँग तागत पनि आउँछ। यो पनि सबै कुरा ड्रामामा निश्चित छ। आश्चर्य छ– परमात्माको कति ठूलो पार्ट छ। स्वयं बसेर बाबाले सम्झाउनुहुन्छ– माथि ब्रह्माण्डमा बसेर कति काम गर्छु! तल त कल्पमा एक पटक मात्र आउँछु। कतिपय त निराकारका पनि पुजारी हुन्छन्। तर निराकार परमपिता कसरी आएर पढाउनु हुन्छ भन्ने कुरा भने हटाइदिएका छन्। गीतामा श्रीकृष्णको नाम राखिदिएका छन्, त्यसैले त निराकारसँगको प्यार टुटेको छ। परमात्माले नै सहज राजयोग सिकाउनु भएको थियो, सारा दुनियाँलाई बताउनु भएको थियो। दुनियाँ परिवर्तन भइरहन्छ, युग पनि परिवर्तन भइरहन्छ। यो ड्रामाको चक्रलाई तिमीले अहिले बुझेका छौ। मनुष्यले त केही पनि जान्दैनन्। सत्ययुगका देवी देवताहरूलाई पनि चिनेका छैनन्। देवताहरूको त निशानीहरू मात्र बाँकी रहेका छन्। 

    बाबा सदा सम्झाउनुहुन्छ, यसरी बुझ– हामी शिवबाबाको हौं, शिवबाबाले हामीलाई पढाउनुहुन्छ, उहाँले यस ब्रह्मा तनद्वारा शिक्षा दिइरहनु भएको छ। शिवबाबाको यादमा रहँदा धेरै आनन्द आउँछ। यस्ता परमपिता अरू को हुन सक्छ। उहाँ पिता पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ। तर ती लौकिक पिता गुरु त हुन सक्दैनन्। शिक्षक हुन सक्छन्, पितालाई गुरु कहिल्यै भनिंदैन। यिनका (बाबाको) पिता पनि शिक्षक थिए, पढाउँथे। मैले पनि पढ्थें। ती भए हदका पिता, शिक्षक। उहाँ हुनुहुन्छ बेहदका पिता, शिक्षक। तिमीले आफूलाई ईश्वरीय विद्यार्थी सम्झन्छौ भने यो पनि अहो सौभाग्य हो। परमपिताले पढाउनुहुन्छ। कति स्पष्ट छ। त्यसैले कति मीठो बाबा हुनुहुन्छ! मीठो चीजलाई नै याद गरिन्छ। जसरी प्रियतमाले प्रियतमलाई प्यार गर्छिन्। तिनीहरूको प्यार विकारको लागि हुँदैन। एक-अर्कालाई हेरिरहन्छन्। तिम्रो यो त आत्माको परमात्मासँगको प्यार हो। आत्माले भन्छ– बाबा हजुर ज्ञानको, प्रेमको सागर हुनुहुन्छ! यो पतित शरीरमा आएर हामीलाई कति श्रेष्ठ बनाउनुहुन्छ। गायन पनि छ– मनुष्यबाट देवता बनाउन समय लाग्दैन। सेकेन्डमा बैकुण्ठ जान्छन्। सेकेन्डमा मनुष्यबाट देवता बन्छन्। यो हो लक्ष्य र उद्देश्य, यसैको लागि पढाइ पढ्नु पर्छ। गुरु नानकले पनि भनेका छन्– मूत पलीती कपड धोए... उनको लक्ष्यरूपी साबुन छ नि। बाबा भन्नुहुन्छ– म कति ठूलो धोबी हुँ। तिम्रो वस्त्र कति शुद्ध बनाउँछु। यस्तो धोबी कहिल्यै देखेका छौ? आत्मा जो एकदमै कालो भएको छ त्यसलाई योगबलबाट कति स्वच्छ बनाउँछु! त्यसैले यिनलाई (दादालाई) याद गर्नु छैन। यो सारा काम शिवबाबाको हो। उहाँलाई नै याद गर। यी ब्रह्मा भन्दा पनि मीठा प्यारा उहाँ हुनुहुन्छ। आत्माहरूलाई भन्नुहुन्छ-तिमीहरूले यी आँखाबाट यी ब्रह्मालाई रथका रूपमा देख्छौ तर याद भने शिवबाबालाई नै गर। शिवबाबाले तिमीलाई यिनका माध्यमबाट कौडीबाट हीरा जस्तो बनाइरहनु भएको छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) हामी ईश्वरीय विद्यार्थीहरू हौं, भगवानले शिक्षक बनेर पढाउनुहुन्छ– यसै स्मृतिमा रहनु छ। घर गृहस्थमा रहेर पनि पूरा साक्षी बन्नु छ।

    २) अहिले फूलमाला स्वीकार गर्नु हुँदैन। विष्णुको गलाको माला बन्नको लागि मायामाथि विजय प्राप्त गर्ने पुरुषार्थ गर्नु छ।

    वरदान:

    अलौकिक जीवनको स्मृतिद्वारा वृत्ति, स्मृति र दृष्टिको परिवर्तन गर्ने मरजीवा भव:-  

    ब्राह्मण जीवनलाई अलौकिक जीवन भनिन्छ। अलौकिकको अर्थ हो यस लोकको जस्तो होइन। दृष्टि, स्मृति र वृत्ति सबैमा परिवर्तन होस्। सदा आत्मा भाइ-भाइको वृत्ति वा भाइ-बहिनीको स्मृति रहोस्। हामी सबै आपसमा एक परिवारका हौं, यो स्मृति रहोस्। त्यस्तै दृष्टिद्वारा आत्मालाई हेर, शरीरलाई होइन, तब भनिन्छ मरजीवा। यस्तो श्रेष्ठ जीवन मिल्यो त्यसैले पुरानो जीवन याद आउन सक्दैन।

    स्लोगन:

    सदा शुद्ध फिलिङमा रह्यौ भने अशुद्ध फिलिङको फ्लु नजिक आउन सक्दैन।  



    ***OM SHANTI***


    No comments

    Say Om Shanti to all BKs