BK Murli 31 July 2015 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 31July 2015 In Nepali

    15 Shrawan 2072 Friday 31-7-2015 Nepali


    “मीठे बच्चे— सधैं एउटै चिन्तामा रहने गर, हामीले राम्रो सँग पढेर स्वयंलाई राजतिलक दिनु छ, पढाइबाट नै राजाई प्राप्त हुन्छ।”  

    प्रश्न:

    बच्चाहरुले कुन उल्लासमा रहनु पर्छ? निराश हुनु हुँदैन किन?

    उत्तर:

    सधैं यही उल्लास रहोस्, हामीलाई लक्ष्मी–नारायण जस्तो बन्नु छ, यसैको लागि पुरूषार्थ गर्नु छ। निराश कहिल्यै पनि हुनु हुँदैन किनकि यो पढाइ धेरै सजिलो छ, घरमै बसेर पनि पढ्न सक्छौ, यसको लागि कुनै फिस लाग्दैन, तर हिम्मत अवश्य हुनु पर्छ।

    गीतः-

    तुम्हीं हो माता पिता तुम्हीं हो......

    ओम् शान्ति।

    प्यारा बच्चाहरुले आफ्नो बाबाको महिमा सुन्यौ। महिमा एकैको छ । अरु कसैको महिमा गाउन सकिंदैन। जबकि ब्रह्मा–विष्णु–शंकरको पनि कुनै महिमा छैन। ब्रह्माद्वारा स्थापना गराउनु हुन्छ, शंकरद्वारा विनाश गराउनु हुन्छ, विष्णुद्वारा पालना गराउनु हुन्छ। लक्ष्मी–नारायणलाई यस्तो लायक पनि शिवबाबाले नै बनाउनु हुन्छ। उहाँको नै महिमा छ। उहाँको सिवाय अरु कसको महिमा गाउन सकिन्छ? यिनलाई यस्तो बनाउने टिचर नभएको भए त यिनी पनि यस्तो बन्ने थिएनन्। फेरि महिमा छ सूर्यवंशी घरानाको, जसले राज्य गर्छ। बाबा संगममा नआउनेभए यिनलाई राजाई पनि मिल्न सक्दैन। अरु त कसैको महिमा छँदै छैन। विदेशी आदि कसैको पनि महिमा गाउने आवश्यकता छैन। महिमा छ नै केवल एकको, अरु कसैको छैन। उच्चभन्दा उच्च शिवबाबा नै हुनुहुन्छ। उहाँबाट नै उच्च पद मिल्छ त्यसैले उहाँलाई राम्रोसँग याद गर्नु पर्छ। आफूलाई राजा बनाउनको लागि आफैले पढ्नु पर्छ। जसरी वकालत पढिन्छ भने आफूलाई पढाइबाटै वकिल बनाइन्छ नि। तिमी बच्चाहरु जान्दछौ शिवबाबा हामीलाई पढाउनु हुन्छ। जसले राम्रोसँग पढ्छ उसैले उच्च पद पाउँछ। नपढ्नेले पद पाउन सक्दैन। पढ्नकै लागि श्रीमत मिल्छ। मुख्य कुरा हो पावन बन्नु, जसको लागि यो पढाइ हो। तिमी जान्दछौ यस बेला सबै तमोप्रधान पतित छन्। असल र खराब मानिस त हुन्छन् नै। पवित्र रहनेलाई असल भनिन्छ। राम्रोसँग पढेर ठूलो मानिस बन्यो भने महिमा हुन्छ। तर छन् त सबै पतित। पतितले नै पतितको महिमा गाउँछ। सत्ययुगमा हुन्छन् पावन। त्यहाँ कसैले कसैको महिमा गाउँदैनन्। यहाँ पवित्र संन्यासी पनि छन्, अपवित्र गृहस्थी पनि छन्। त्यसैले पवित्रको महिमा गाइन्छ। त्यहाँ त यथा राजा रानी तथा प्रजा हुन्छन्। अरु कुनै धर्म हुदैन जसको लागि पवित्र, अपवित्र भनियोस्। यहाँ त कसैले गृहस्थीहरुको पनि महिमा गाउँदै रहन्छन्। दुनियाँमा कति घोर अन्धकार छ। अहिले तिमी बच्चाहरु सम्झन्छौ त्यसैले बच्चाहरुमा यो उत्सुकता रहनु पर्छ— हामीले पढेर आफूलाई राजा बनाउनु छ। जसले राम्रोसँग पुरूषार्थ गर्छ उसैले राजतिलक पाउँछ। बच्चाहरुले उल्लासमा रहनु पर्छ— हामी पनि यी लक्ष्मी–नारायण जस्तै बनौं। यसमा अल्मलिने आवश्यकता छैन। पुरूषार्थ गर्नुपर्छ। निराश हुनु हुँदैन। यो पढाइ यस्तो छ, खाटमा सुतेरै पनि पढ्न सक्छौ। वेलायतमै बसेर पनि पढ्न सक्छौ। घरमै बसेर पनि पढ्न सक्छौ। यति सजिलो पढाइ छ। मेहनत गरेर आफ्नो पापलाई काट्नु छ र अरुलाई पनि सम्झाउनु छ। अन्य धर्मकाहरुलाई पनि तिमी सम्झाउन सक्छौ। कसैलाई पनि यो बताउनु पर्छ— तिमी आत्मा हौ। आत्माको स्वधर्म एउटै छ, यसमा कुनै फरक पर्न सक्दैन। शरीरबाट नै अनेक धर्म हुन्छन्। आत्मा त एउटै नै हो। सबै एउटै बाबाका बच्चाहरु हुन्। आत्माहरुलाई बाबाले एडप्ट गर्नु भयो, त्यसैले ब्रह्मा मुख वंशावली भनेर गायन गरिन्छ।

    कसैलाई पनि सम्झाउन सक्छौ— आत्माको पिता को हुनुहुन्छ? तिमीले जुन फाराम भराउँछौ, त्यसमा ठूलो अर्थ छ। बाबा त अवश्य हुनुहुन्छ, जसलाई याद पनि गरिन्छ, आत्माले आफ्नो पितालाई याद गर्छ। आजकल त भारतमा जो कोहीलाई पनि फादर भन्ने गर्छन्। मेयरलाई पनि फादर भन्छन्। तर आत्माको पिता को हो, वहाँलाई जान्दैनन्। गायन पनि गर्छन्, तिमी मात पिता ... तर उहाँ को हुनुहुन्छ, कस्तो हुनुहुन्छ केही थाहा छैन। भारतमा नै तिमी माता–पिता भनेर बोलाउँछौ। बाबा नै यहाँ आएर मुख वंशावली रच्नुहुन्छ। भारतलाई नै मातृभूमि भनिन्छ। किनकि यहाँ नै शिवबाबाले माता–पिताको रुपमा भूमिका खेल्नुहुन्छ। यहाँ नै भगवानलाई माता–पिताको रुपमा याद गरिन्छ। विदेशहरुमा त केवल गड फादर भनेर बोलाउँछन्, तर माता पनि चाहिन्छ जसबाट बच्चाहरुलाई एडप्ट गरिन्छ। पुरूषले पनि स्त्रीलाई एडप्ट गर्छन् फेरि तिनबाट बच्चाहरु पैदा हुन्छन्। रचना रचिन्छ। यहाँ पनि यिनीमा परमपिता परमात्मा बाबा प्रवेश गरेर एडप्ट गर्नुहुन्छ। बच्चाहरु पैदा हुन्छन् त्यसैले यिनलाई माता–पिता भनिन्छ। उहाँ हुनुहुन्छ आत्माहरुका पिता, फेरि यहाँ आएर उत्पत्ति गर्नुहुन्छ। यहाँ तिमी बच्चाहरु बनेपछि फादर र मदर भनिन्छ। त्यो त स्विट होम, जहाँ सबै आत्माहरु रहन्छन्। त्यहाँ पनि बाबा सिवाय अरुले लैजान सक्दैन। कसैलाई भेट्दा भन, तिमी स्विट होम जान चाहन्छौ? फेरि पावन अवश्य बन्नु पर्नेहुन्छ। अहिले तिमी पतित छौ, यो हो नै कलियुगी तमोप्रधान दुनियाँ। अब तिमीलाई जानु छ फर्केर घर। कलियुगी आत्माहरु त घर फर्केर जान सक्दैनन्। आत्माहरु स्विट होममा पवित्र नै रहन्छन्, त्यसैले अब बाबा सम्झाउनु हुन्छ, बाबाको यादद्वारा नै विकर्म विनाश हुन्छ। कुनै पनि देहधारीलाई याद नगर। बाबालाई जति याद गर्छौ त्यति पावन बन्छौ अनि फेरि उच्च पद पाउँछौ नम्बरवार। लक्ष्मीनारायणको चित्रमा कसैलाई पनि सम्झाउनु सजिलो छ। भारतमा यिनको राज्य थियो। यिनले जब राज्य गर्दथे तब विश्वमा शान्ति थियो। विश्वमा शान्ति बाबाले नै स्थापना गर्न सक्नु हुन्छ, अरु कसैको तागत छैन। अहिले बाबा हामीलाई राजयोग सिकाउँदै हुनुहुन्छ, नयाँ दुनियाँको लागि राजाहरुको राजा कसरी बन्न सकिन्छ, उहाँ बताउनु हुन्छ। बाबा ज्ञानका सागर (नलेजफूल) हुनुहुन्छ। तर उहाँमा कुनचाहिँ ज्ञान छ यो कसैले पनि जान्दैनन्। सृष्टिको आदि–मध्य–अन्तको इतिहास–भूगोल बेहदको बाबाले नै सुनाउनु हुन्छ। मनुष्यले त कहिले भन्छन् सर्वव्यापी हुनुहुन्छ वा कहिले भन्छन् सबैको मनको कुरा जान्नुहुन्छ। फेरि आफ्नो बारेमा त केही भन्न सक्दैनन्। यी सबै कुरा बाबा बसेर सम्झाउनुहुन्छ। राम्रोसँग धारणा गरेर अझै हर्षित हुनु छ। यी लक्ष्मी–नारायणको चित्र सदैव हषर््िातमुख भएको नै बनाइन्छ। स्कूलमा उच्च दर्जामा पढ्नेहरु कति हर्षित हुन्छन्। अरुले पनि सम्झन्छन्— यिनले त धेरै ठूलो परीक्षा पास गर्छन्। यो त धेरै उच्च पढाइ हो। फी आदिको पनि कुनै कुरा छैन केवल हिम्मतको कुरा छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ, जसमा नै मायाले विघ्न पार्छ। बाबा भन्नुहुन्छ, पवित्र बन। बाबासँग प्रतिज्ञा गरेर फेरि कालो मुख गरि दिन्छन्, धेरै जबर्दस्त छ माया, फेल हुन्छन् अनि उसको नाम गायन गर्न सकिंदैन। फलाना फलाना शुरुदेखि लिएर धेरै राम्रोसँग चलिरहेकाछन्। महिमा गाइन्छ। बाबा भन्नुहुन्छ— आफ्नो लागि आफैले पुरूषार्थ गरेर राजधानी प्राप्त गर्नु छ। पढाइबाट उच्च पद पाउनु छ। यो हो नै राजयोग। प्रजा योग होइन। तर प्रजा पनि त बनिन्छ नि। अनुहार र सेवाबाटै थाहा हुन्छ यो के बन्न लायक छ। घरमा विद्यार्थीको चालचलनबाट बुझ्न सकिन्छ, यो यो प्रथम श्रेणीमा, यो तेस्रो श्रेणीमा आउँछ। यहाँ पनि यस्तै हो। जब पछि गएर परीक्षा पूरा हुन्छ तब तिमीलाई सबै साक्षात्कार हुन्छ। साक्षात्कार हुनमा कुनै बेर लाग्दैन, अनि लाज लाग्छ, हामी फेल भयौं। फेल हुनेलाई कसले प्यार गर्छ? मनुष्यले चलचित्र (बाइस्कोप) हेरेर खुशीको अनुभव गर्छ, तर बाबा भन्नुहुन्छ— नम्बर वन गन्दा बनाउने हो चलचित्र। त्यसमा लाग्नेहरु धेरैजसो फेल भएर तल खस्छन्। कुनै कुनै महिला पनि यस्ता हुन्छन्, जसलाई चलचित्र नहेरिकन निन्द्रै लाग्दैन। चलचित्र हेर्नेहरुले अपवित्र बन्ने पुरूषार्थ अवश्य गर्छन्। यहाँ जे जति भइरहेछ, जसमा मनुष्य खुशी हुन्छन्, त्यो सबै दुःखको लागि हो। यी हुन् विनाशी खुशीका कुरा। अविनाशी खुशी, अविनाशी बाबाबाट नै प्राप्त हुन्छ। तिमी सम्झन्छौ बाबाले हामीलाई यी लक्ष्मी–नारायण जस्तै बनाउनु हुन्छ। त्यसो त पहिले २१ जन्मको लागि लेखिन्थ्यो। अहिले बाबा लेख्नुहुन्छ ५०–६० जन्म, किनकि द्वापरमा पनि पहिले त धेरै धनवान सुखी रहन्छौ नि। पतित त बन्छौ तर पनि धन धेरै हुन्छ। यो त बिल्कुल जब तमोप्रधान बन्छौ तब दुःख शुरु हुन्छ। पहिले त सुखी रहन्छौ। जब धेरै दुःखी हुन्छौ, अनि बाबा आउनुहुन्छ। महा अजामील जस्ता पापीहरुको पनि उद्धार गर्नुहुन्छ। बाबा भन्नुहुन्छ, म सबैलाई मुक्तिधाम लिएर जान्छु। फेरि सत्ययुगको राज्य पनि तिमीलाई दिन्छु। सबैको कल्याण त हुन्छ नि। सबैलाई आफ्नो ठेगानामा पुर्याई दिन्छ— शान्तिमा वा सुखमा। सत्ययुगमा सबैले सुख पाउँछन्। शान्तिधाममा पनि सुखी रहन्छन्। भन्छन्— विश्वमा शान्ति होस्। भन, जब यी लक्ष्मी–नारायणको राज्य थियो तब विश्वमा शान्ति थियो नि। दुःखको कुरा हुनै सक्दैन। न दुःख, न अशान्ति। यहाँ त घर–घरमा अशान्ति छ। देश–देशमा अशान्ति छ। सारा विश्वमा नै अशान्ति छ। कति टुक्रा टुक्रा भएका छन्। कति टुक्राहरु छन्। १०० माइलमा भाषा अलग। अब भन्छन्— भारतको प्राचीन भाषा संस्कृत हो। अब आदि सनातन धर्मको बारेमानै कसैलाई थाहा छैन भने फेरि कसरी भन्छन्, यो प्राचीन भाषा हो। तिमी भन्न सक्छौ आदि सनातन देवी–देवता धर्म कहिले थियो? तिमीमा पनि नम्बरवार छन्। कोही त मन्दबुद्धि (डलहेड) पनि हुन्छन्। हेर्दै थाहा हुन्छ यो पत्थरबुद्धि जस्तो छ। अज्ञानकालमा पनि भन्छन् नि हे भगवान! यसको बुद्धिको ताला खोलि दिनुहोस् ।

    बाबाले तिमी सबै बच्चाहरुलाई ज्ञानको प्रकाश दिनुहुन्छ, त्यसबाट ताला खोलिन्छ। फेरि पनि कसै कसैको बुद्धिको ताला खुल्दैन। भन्छन्— बाबा! हजुर बुद्धिवान्हरुको बुद्धि हुनुहुन्छ। मेरो पतिको बुद्धिको ताला खोलि दिनुहोस्। बाबा भन्नुहुन्छ— के म यसैको लागि आएको हुँ र जो एक एक जनाको बुद्धिको ताला खोलूँ? फेरि त सबैको बुद्धि खुल्ने थियो, सबै महाराजा–महारानी बन्ने थिए। मैले कसरी सबैको ताला खोल्छु? उनीहरुलाई सत्ययुगमा आउनु नै छैन भने म कसरी ताला खोल्न सक्छु? ड्रामा अनुसार समय आएपछि नै उनीहरुको बुद्धिको ताला खुल्छ। म कसरी खोल्न सक्छु? ड्रामाको माथि पनि त छ नि। सबै फुल पास त कहाँ हुन्छन् र? स्कूलमा पनि नम्बरवार हुन्छन्। यो पनि पढाइ हो। प्रजा पनि बन्नु छ। सबैको बुद्धिको ताला खुल्यो भने प्रजा कहाँबाट आउँछन्? यो त काइदा छैन। तिमी बच्चाहरुले पुरूषार्थ गर्नु पर्छ। हरएकको पुरूषार्थबाट जानिन्छ, जसले राम्रोसँग पढ्छ, उसलाई जताततै बोलाइन्छ। बाबाले जान्नु हुन्छ क–कसले राम्रोसँग सेवा गरिरहेका छन्। बच्चाहरुले राम्रोसँग पढ्नु छ। राम्रोसँग पढ्यो भने घर लिएर जान्छु फेरि स्वर्गमा पठाइ दिन्छु। नत्र सजायँ धेरै कडा छ। पद पनि भ्रष्ट हुन्छ। विद्यार्थीले टिचरको शो निकाल्नु पर्छ। सत्ययुगमा पारस बुद्धि थिए। अहिले छन् कलियुगमा त्यसैले यहाँ सत्ययुगको जस्तो बुद्धि कसरी हुन सक्छ? विश्वमा शान्ति थियो जब एउटै राज्य, एउटै धर्म थियो। अखबारमा पनि तिमी राख्न सक्छौ भारतमा जब यिनको राज्य थियो तब विश्वमा शान्ति थियो। आखिरमा अवश्य सम्झन्छन्। तिमी बच्चाहरुको नाम प्रख्यात हुनु छ। त्यो पढाइमा कति किताबहरु पढ्छन्। यहाँ त केही छैन। पढाइ बिल्कुलै सजिलो छ। बाँकी यादमा राम्रा–राम्रा महारथी पनि फेल छन्। यादको धार (शक्ति) छैन भने ज्ञान तरवार पनि चल्दैन। धेरै याद गरेपछि शक्ति आउँछ। हुन त बन्धन पनि छ, फेरि पनि याद गर्दै रह्यौ भने धेरै फाइदा हुन्छ। कहिल्यै बाबालाई देखेका पनि छैनन्, यादमै प्राण छोडि दिन्छन् भने पनि धेरै राम्रो पद पाउन सक्छन्, किनकि याद धेरै गर्छन्। बाबाकोे यादमा प्यारको आँसु बगाउँछन्, त्यो आँसु मोती बन्न पुग्छ। अच्छा!

    मीठे–मीठे सिकीलधे बच्चाहरुप्रति माता–पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलार्ई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालार्ई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) आफ्नो लागि स्वयंले नै पुरूषार्थ गरेर उच्च पद पाउनु छ। पढाइबाट स्वयंलाई राज तिलक दिनु छ। ज्ञानलाई राम्रोसँग धारण गरेर सधैं हर्षित रहनु पर्छ।

    २) ज्ञान तरवारमा यादको धार (जौहर) भर्नु छ। यादबाट नै बन्धन काट्नु छ। कहिल्यै पनि गन्दा चलचित्र हेरेर आफ्नो संकल्पलाई अपवित्र बनाउनु छैन।

    वरदान:

    हरेक खजानालाई कार्यमा लगाएर पद्मौंको कमार्ई जम्मा गर्नेवाला पद्मापदम भाग्यशाली भव  

    हर सेकेण्ड पद्मौंको कमार्ई जम्मा गर्न सक्ने वरदान ड्रामामा संगमको समयमा मिलेको छ। यस्तो वरदान स्वयंको लागि जम्मा गर अनि अरुलाई दान गर, त्यसैगरी संकल्पको खजानालाई, ज्ञानको खजानालाई, स्थूल धनरुपी खजानालाई कार्यमा लगाएर पद्मौंको कमार्ई जम्मा गर किनकि यस बेला स्थूल धन पनि ईश्वर अर्थ समर्पण गर्नाले एक नयाँ पैसा एक रत्नको जति नै मूल्यको हुन जान्छ— त्यसैले यी सबै खजानाहरुलाई स्वयंको लागि वा सेवाको लागि कार्यमा लगायौ भने पद्मापदम भाग्यशाली बन्छौ।

    स्लोगन:

    जहाँ दिलको स्नेह हुन्छ त्यहाँ सबैको सहयोग सजिलैसँग प्राप्त हुन्छ।  


    ***OM SHANTI***