BK Murli 11 August 2016 Nepali
२७ श्रावण विहिबार 11.08.2016 बापदादा मधुवन
“मीठे बच्चे— तिमीले ग्यारेन्टी गर्छौ— हामी आफ्नै योगबलद्वारा यस दुनियाँलाई स्वर्ग बनाउँछौं। वहाँ एक धर्म, एक राज्य हुन्छ।”
प्रश्न:
मायाको कुनचाहिँ विघ्नबाट सुरक्षित रहने बच्चाहरूले धेरै राम्रो कमाल गर्न सक्छन्?
उत्तर:
मायाको सबैभन्दा ठूलो विघ्न हो— देह-अभिमानमा ल्याएर एक-अर्काको नाम-रुपमा फँसाउनु। जो बच्चाहरू यस विघ्नबाट सुरक्षित रहन्छन्, मायाको धोकाबाट बचेर रहन्छन्, उनीहरूले धेरै कमाल गरेर देखाउँछन्। उनको बुद्धिमा सेवाको नयाँ-नयाँ ख्याल चलिरहन्छ। सेवामा उन्नति तब हुन्छ, जब देही-अभिमानी हुन्छौ।
ओम् शान्ति।
बाबा आउनुभएको छ रुहानी बच्चाहरूलाई श्रीमत दिन। यो त बच्चाहरूले जान्दछन्— थोरै समय भित्र, ड्रामा प्लान अनुसार सारा कार्य हुनु छ। हामीले रावणपुरीलाई विष्णुपुरी बनाउँछौं। बाबा पनि गुप्त र पढाइ पनि गुप्त छ। सेन्टरहरू त धेरै छन्। सानो ठूलो गाउँमा सेन्टरहरू छन्, बच्चाहरू पनि धेरै छन्। अझै पनि दिन-प्रतिदिन बढ्दै जान्छन्। पुस्तकहरूमा पनि लेख्छन्— हामीले यस भूमिलाई स्वर्ग बनाएर नै छोड्छौं। तिमीलाई यो भूमि धेरै प्यारो छ किनकि तिमीले जान्दछौ— यहाँ नै स्वर्ग थियो। ५ हजार वर्ष भयो। पहिले धेरै शानदार थियो। तिमी ब्रह्मा मुख वंशावली बच्चाहरूलाई नै यो ज्ञान छ। यसलाई श्रीमत अनुसार स्वर्ग बनाउँछौं। सबैलाई बाटो बताउनु छ, यहाँ कुनै खिटपिटको कुरा छैन। आपसमा बसेर राय गर्नुपर्छ— यी चित्रहरूद्वारा यस्तो के विज्ञापन गरौं, जुन अखबारमा पनि यी चित्र छपाऊन्। आपसमा यसमा सेमीनार गर्नुपर्छ। जस्तै त्यस सरकारका मानिसहरू आपसमा मिल्छन्, राय गर्छन्— हामीले देशलाई कसरी सुधार्न सक्छौं? यो जुन यति मतभेद भएको छ, त्यसलाई आपसमा मिलेर ठीक गरौं ताकि देशमा सुख-शान्ति स्थापना हुन सकोस्। तिमी पनि रुहानी पाण्डव सरकार हौ। यो महान् ईश्वरीय सरकार हो। पतित-पावन बाबाले नै पतित बच्चाहरूलाई पावन बनाएर पावन दुनियाँको मालिक बनाउनुहुन्छ। यो रहस्य तिमी बच्चाहरूले जान्दछौ। मुख्य हो नै आदि सनातन देवी-देवता धर्म। यो हो रूद्र ज्ञान यज्ञ। रूद्र भनिन्छ शिवबाबालाई। अब तिमीलाई बाबाले आएर जगाउनुभएको छ। तिमीले फेरि अरुलाई जगाउनु छ। ड्रामा प्लान अनुसार तिमीले जगाइरहन्छौ। अहिलेसम्म जस-जसले जस्तो-जस्तो पुरूषार्थ गरेका छौ, उति नै कल्प पहिले पनि गरेका थियौ। तिम्रो रुहानी युद्ध हो। कहिले मायाको जोड हुन्छ, कहिले ईश्वरको। कहिले त सेवा राम्रो तेजसँग चल्छ। कहिले कति बच्चाहरूमा मायाको विघ्न पर्न जान्छ। मायाले एकदम बेहोश गरिदिन्छ। लडाईंको मैदान त हो नि। मायाले रामको सन्तानलाई बेहोश गरिदिन्छ। लव-कुशको कहानी पनि छ नि। रामका २ बच्चाहरू देखाइएको छ। यहाँ त बाबाका धेरै बच्चाहरू छन्। यस समय सबै मनुष्य कुम्भकर्णको निद्रामा सुतेका छन्। उनीहरूले यो पनि जान्दैनन्— परमपिता परमात्मा आउनुभएको छ, बच्चाहरूलाई वर्सा दिन। बाबा यहाँ नै आउनुहुन्छ। यो कुरा बिल्कुलै बिर्सिएका छन्। हामी नै स्वर्गका मालिक थियौं, यसमा कुनै शंका छैन। परमपिता परमात्माको जन्म पनि यहाँ हुन्छ, त्यसैले त शिव जयन्ती भारतवर्षमा मनाउँछन्। अवश्य उहाँले आएर केही गर्नुभएको थियो। बुद्धिले भन्दछ— अवश्य बाबाले आएर स्वर्गको स्थापना गर्नुभएको हुनुपर्छ। प्रेरणाद्वारा कहाँ स्थापना गर्नुहुन्छ र। यहाँ त तिमी बच्चाहरूलाई राजयोग सिकाइन्छ, यादको यात्रा सिकाइन्छ। प्रेरणामा त कुनै आवाज हुँदैन। सम्झन्छन्— शंकरले प्रेरणाद्वारा विनाश गर्छन्, तर यसमा प्रेरणाको कुरा छैन। तिमीले जानिसकेका छौ— ड्रामामा उनीहरूको पार्ट नै छ मिसाइल बनाउने। उनीहरू विनाशका लागि निमित्त बनेका छन्। प्रेरणा शास्त्रहरूको शब्द हो, यसमा प्रेरणाको त कुरा छैन। शंकर त सूक्ष्मवतनमा छन्। ड्रामा अनुसार त विनाश हुनु नै छ। गायन गरिएको छ— महाभारत लडाईंमा यो मूसल आदि काममा आएको थियो। जो बितिसक्यो, त्यो फेरि दोहोरिनु छ। तिमीले ग्यारेन्टी गर्छौ— हामीले योगबलद्वारा स्वर्गको स्थापना गर्छौ, वहाँ एक धर्म हुन्छ। अरु सबै धर्म कहाँ हुन्छन्? अवश्य विनाश हुन्छन्। यो बुझ्ने कुरा हो। गायन गरिएको छ— ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना। यो त ठीक छ, तर शंकरलाई त शिवसँगै मिसाइदिएका छन्। यो गलत हो। शिव-शंकर भनिदिन्छन् किनकि शंकरले त कुनै काम गर्दैनन्, त्यसैले शिवसँग मिसाइदिएका छन्। तर शिवबाबा भन्नुहुन्छ— मलाई त धेरै काम गर्नुपर्ने हुन्छ। सबैलाई पावन बनाउनुपर्छ। म यस ब्रह्मा तनमा प्रवेश गरेर यस साकारद्वारा स्थापनाको कार्य गराउँछु। शंकरको त कुनै पार्ट नै छैन। शिवको पूजा हुन्छ। शिव नै कल्याणकारी झोली भर्नेवाला हुनुहुन्छ। शिव परमात्माए नमः भन्छन् नि। यी ब्रह्मा पनि प्रजापिता ठहरिए। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा— यो त बडो गहन कुरा हो। यो केवल तिमी बच्चाहरूले नै जान्दछौ। समझदार बच्चाहरूको बुद्धिमा ज्ञान झट्ट समझमा आउँछ। मनुष्यलाई केही पनि ज्ञान छैन— पतित-पावन बाबा कहिले आउनुहुन्छ! अब त कलियुगको अन्त्य हो। कलियुगको अन्त्य हुन ४० हजार वर्ष बाँकी छ भने अझै कति पतित बन्ने? कति दुःख सहन गर्ने? कलियुगमा सुख त हुँदैन। केही पनि नजान्नाले बिचराहरू घोर अन्धकारमा परेका छन्।
तिमी बच्चाहरूले आपसमा मिलेर राय गर्नुपर्छ— कसरी सेवालाई बढाउने? बाबाले योजना त बताइरहनुहुन्छ फेरि बच्चाहरू आपसमा मिल्नुपर्छ। चित्रहरूमा राम्रोसँग सम्झाउनु छ। यो पनि ड्रामा अनुसार चित्र बन्दै गइरहेका छन्। बच्चाहरूले जान्दछन्— जुन समय बित्दै जान्छ, हुबहु ड्रामा चलिरहन्छ। बच्चाहरूको अवस्था त कहिले माथि, कहिले तल, यो चलिरहन्छ। बाबा पनि साक्षी भएर हेर्नुहुन्छ। कहिलेकाहीँ बच्चाहरूमा ग्रहचारी बस्छ, त्यसलाई मेटाउन लागि प्रयत्न गराउनुहुन्छ। बाबाले घरी-घरी भन्नुहुन्छ— बाबालाई याद गर। तर देह-अभिमानमा आउँछन् त्यसैले धोका खान्छन्। यसमा देही-अभिमानी बन्नुपर्छ। तर बच्चाहरूमा देह-अभिमान धेरै छ। तिमी देही-अभिमानी बन्यौ भने बाबाको याद रहन्छ, फेरि सेवाको उन्नति पनि भइरहन्छ। जसलाई उच्च पद पाउनु छ, ऊ सदैव सेवामा लागिरहन्छ। तकदिरमा यदि छैन भने पुरूषार्थ पनि गर्दैनन्। स्वयं भन्छन्— बाबा मलाई धारणा हुँदैन। बुद्धिमा बस्दैन। धारणा यदि हुँदैन भने खुशी पनि रहँदैन। जसलाई धारणा हुन्छ, खुशी पनि रहन्छ। सम्झन्छन्— शिवबाबा आउनुभएको छ। बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरू! तिमीले राम्ररी बुझेर फेरि अरुलाई पनि सम्झाऊ। कोही त सेवामा लाग्छन्। पुरूषार्थ गरिरहन्छन्। तिमी बच्चाहरूले जान्दछौ— जुन-जुन सेकेण्ड बित्छ, त्यो ड्रामामा निश्चित छ। फेरि यसैगरी दोहोरिन्छ। बच्चाहरूलाई नै सम्झाइन्छ— बाहिर भाषण गर्दा त अनेक प्रकारका मनुष्य आउँछन्। तिमी बच्चाहरूले जान्दछौ— सबैले वेद, शास्त्र, गीता आदिमा नै भाषण गर्छन्। उनलाई यो थाहा छैन— यहाँ ईश्वरले आफ्नो र यस रचनाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ। चित्रहरूमा कति राम्रोसँग देखाइएको छ— परमात्मा को हुनुहुन्छ! यो कुरा प्रोजेक्टरमा त सम्झाउन सकिँदैन। प्रदर्शनीमा चित्र पनि सामुन्ने हुन्छन् र फेरि तिमीले सम्झाएर सोध्न पनि सक्छौ। अब भन्नुहोस्— गीताका भगवान को हुनुहुन्छ? ज्ञानका सागर को हुनुहुन्छ? पवित्रता सुख-शान्तिका सागर, लिबरेटर, गाइड को हुनुहुन्छ? कृष्णको लागि त भन्न सकिँदैन। परमात्माको महिमा अलग छ। पहिला लेखाउनु पनि पर्छ, विचार लिनुपर्छ। सबैबाट सही पनि लिनु छ।
(हलमा चराहरू लडिरहेका छन्) यस समय सारा दुनियाँमा लडाई-झगडा नै छ। सबै आपसमा लडिरहन्छन्। ५ विकार पनि मनुष्यमा गायन गरिएको छ, जनावरको त कुरा होइन। पतित दुनियाँ र पावन दुनियाँ मनुष्यको लागि गायन गरिएको छ। कलियुगमा हुन्छ आसुरी सम्प्रदाय, सत्ययुगमा हुन्छ दैवी सम्प्रदाय। मनुष्यको यति तमोप्रधान बुद्धि छ, जसकारण बिल्कुल बुझ्दैनन्— हामी नै आसुरी सम्प्रदाय हौं। देवताहरूका अगाडि गएर गाउँछन् पनि— हामी नै नीच, पापी हौं, हामी निर्गुणमा कुनै गुण छैन। तिमीले त उनीहरूलाई सिद्ध गरेर बताउन सक्छौ। सिँढीको चित्रमा बडो स्पष्ट छ। देखाइएको छ— कसरी कला चढ्छ र फेरि कसरी कला झर्छ। हिन्दूहरूको लागि मुख्य हो सिँढीको चित्र। यो हो सबैभन्दा राम्रो चीज। यस चित्रमा धेरै राम्ररी बुझाउन सक्छौ। ८४ जन्म पूरा गरेर फेरि पहिलो नम्बर जन्म लिनु छ, फेरि कला झरेर चढ्ती कलामा जानुपर्छ। हरेकको विचार चल्नुपर्छ— सबैलाई बाटो कसरी बताऊँ। विचार चल्दैन भने सेवा कसरी गर्छौ? चित्रहरूमा सम्झाउन धेरै सहज हुन्छ। सत्ययुग पछि सिँढी झर्नु नै छ। बच्चाहरूले जान्दछन्— अब हामी ट्रान्सफर भइरहेका छौं। तर सीधा सत्ययुगमा जाँदैनौं। पहिले शान्तिधाममा जानु छ। तिमीले जान्दछौ— हामी पार्टधारी हौं। बाँकी तिमीहरूमा पनि नम्बरवार आफूलाई पार्टधारी सम्झन्छौ, यस ड्रामाको। दुनियाँमा यस्तो कसैले भन्न सक्दैन— हामी पार्टधारी हौं। हामीले लेख्छौं पनि— हरेक मनुष्य मात्र यस बेहद ड्रामाका कलाकार भएर पनि ड्रामाको मुख्य कलाकार, निर्देशक र ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्दैनन्। त्यसैले ती बेसमझ भए नि। यस्तो लेख्दा कुनै फरक पर्दैन। एक कानबाट सुनेर अर्कोबाट निकाल्नु हुँदैन। सेवा, सेवा अनि सेवा। बाबाले जान्नुहुन्छ— बच्चाहरूमा कहिले ग्रहचारी पनि बस्छ। जब ग्रहचारी बस्छ भने कति नोक्सान हुन्छ, त्यो बाबाले जान्नुहुन्छ। धनवान गरिब बन्न पुग्छन्। कारण त हुन्छ नि। धेरैलाई बाबाले सम्झाइ पनि रहनुहुन्छ— प्यारा बच्चाहरू! नाम-रुपमा कहिल्यै नफँस। नत्र माया यस्तो छ, जसले नाकमा पक्रेर खाल्डोमा खसालिदिन्छ। मायाले धेरै धोका दिन्छ। आशिक माशुक यहाँ बन्नु छैन। आशिक माशुक कुनै विकारको लागि बन्छन्, कोही केवल रुपमा आसक्त हुन्छन्। तिमीले जान्दछौ— सेन्टरहरूमा पनि यस्तो मायाको विघ्न धेरै पर्छन्, एक-अर्काको नाम-रुपमा फँस्छन्। माया यस्तो प्रबल छ, जसकारण माता, माताको नाम-रुपमा, कन्या, कन्याको नाम-रुपमा पनि फँस्छन्। पुरूषार्थ गर्दै गर्दा पनि मायाले एकदम पक्रिन्छ। त्यसैले बाबा सावधानी दिनुहुन्छ— प्यारा बच्चाहरू! मायाले फँसाउने धेरै कोसिस गर्छ, तर तिमी फँस्नु छैन। देह-अभिमानमा आउनु हुँदैन। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। मायाको धोकाबाट बचेर रहनु छ। तिमी बच्चाहरूलाई बाबा सुन्दर फूल बनाउन आउनुभएको छ। तिमीलाई कुनै कुरामा संशय आउनु हुँदैन। यदि दिलमा संशय आयो भने सेवा राम्रोसँग गर्न सक्दैनौ। भित्र अत्तालिइरहन्छौ। हिम्मत राख्नुपर्छ। समय धेरै कम छ। बाबाको मुरली सुन्यौ भने उत्साहमा आउँछौ। आत्मप्रकाश बच्चाले राम्रोसँग चित्रहरूमा ध्यान दिइरहेको छ। मुम्बई वालाको पनि दिमागमा आउनुपर्छ। मुख्य चित्रलाई पहिले बनाउनुपर्छ। जाँच गर्नुपर्छ, बाबाले निर्देशन दिइरहनुहुन्छ— कसरी चित्रहरूमा उन्नति हुनुपर्छ। यस्तो कुनै युक्ति रच, सिँढीको चित्र हवाई मैदानमा राख्न मिलोस्। यो चित्र देखेर सबै खुशी हुन्छन्। आखिर सम्झन्छन्— यिनलाई मत दिने को हुनहुन्छ! त्यसैले बच्चाहरूलाई धेरै नशा चढ्नुपर्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) तिमी बच्चाहरू लडार्इंको मैदानमा छौ, माया रावणसँग तिम्रो युद्ध हुन्छ। मायाले धेरै विघ्न पार्छ। बच्चाहरू धेरै सावधान रहनुपर्छ।
२) हरेकले आफ्नो उन्नतिको लागि विचार गर्नु छ— चित्रहरूमा कसरी सम्झाउने, सेवालाई कसरी बढाउने? चित्रहरूमा यस्तो के थप गरौं, जसले गर्दा मनुष्यले सहज बुझ्न सकून्।
वरदान:
बुद्धिको प्रीत एक प्रीतमसँग लगाएर सदा सम्मुखको अनुभूति गर्ने विजयी रत्न भव:-
प्रीत बुद्धि अर्थात् बुद्धिको लगन एक प्रीतमको साथमा लागेको होस्। जसको एकसँग प्रीत छ, उसको अन्य कुनै पनि व्यक्ति वा वैभवको साथमा प्रीत जुट्न सक्दैन। उसले सदा बापदादालाई आफ्नो सम्मुख अनुभव गर्छ। उसको मनसामा पनि श्रीमतको विपरीत व्यर्थ संकल्प वा विकल्प आउन सक्दैन। उसको मुखबाट वा दिलबाट यही बोल निस्किन्छ— हजुरसँगै खाऊँ, हजुरसँगै बसूँ.... हजुरसँग सर्व सम्बन्ध निर्वाह गरुँ... यस्तो सदा प्रीत बुद्धि रहनेहरू नै विजयी रत्न बन्छन्।
स्लोगन:
चाहियो-चाहियोको संकल्प आउनु पनि रोयल रुपमा माग्नु हो।