BK Murli 9 August 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 9 August 2016 Nepali

     २५ श्रावण मंगलबार 09.08.2016 बापदादा मधुवन

    “मीठे बच्चे— अहिलेसम्म जे जति पढेका छौ, त्यसलाई भुलेर एक बाबालाई याद गर।”   

    प्रश्न:

    विश्वमा सत्ययुगी स्वराज्य स्थापना गर्नको लागि कुनचाहिँ बल चाहिन्छ?

    उत्तर:

    पवित्रताको बल। तिमीले सर्वशक्तिमान बाबासँग योग लगाएर पवित्र बन्छौ। यो पवित्रताको नै बल हुन्छ, जसबाट सत्ययुगी स्वराज्यको स्थापना हुन्छ। यसमा लडाईं आदिको कुनै कुरा छैन। ज्ञान र योगबलले नै पावन दुनियाँको मालिक बनाइदिन्छ। यसै बलबाट एक मतको स्थापना हुन्छ।

    गीतः—

    आखिर वह दिन आया आज.......

    ओम् शान्ति।

    बच्चाहरूले गीत सुन्यौ। यो गीत कुनै आफूले बनाएको होइन। जसरी अरु वेद शास्त्रहरूको सार सम्झाइन्छ, त्यस्तै यो पनि जो गीत बनाइएका छन्, त्यसको पनि सार सम्झाउँछु। बच्चाहरूले जान्दछन्— खिवैया, बागवान वा सद्गति दाता एउटै बाबा हुनुहुन्छ। भक्ति गर्छन् जीवनमुक्तिको लागि। तर जीवनमुक्ति वा सद्गति दाता एक भगवान हुनुहुन्छ। यसको अर्थ बच्चाहरूले नै बुझ्न सक्छन्, मनुष्यले बुझ्दैनन्। सद्गति अर्थात् दुःखबाट छुटाएर शान्तिको प्राप्ति गराउनुहुन्छ। बच्चाहरूले जान्दछन्— यहाँ पवित्रता, सुख, शान्ति थियो, जब यी लक्ष्मी-नारायणको राज्य थियो। राधा-कृष्णको राज्य भन्न सकिँदैन। वास्तवमा माताहरूको सहेली राधा हुन्। उनलाई धेरै प्यार गर्नुपर्छ, फेरि पनि कृष्णलाई धेरै प्यार गर्छन्। झुलामा पनि झुलाउँछन्। कृष्णको जन्माष्टमी पनि मनाउँछन्। राधाको जयन्ती मनाउँदैनन्। वास्तवमा मनाउनुपर्छ दुवैको। समझ त केही पनि छैन। उनीहरूको जीवन कहानीलाई त कसैले जान्दैनन्। बाबा आएर आफ्नो र सबैको जीवन कहानी सुनाउनुहुन्छ। मनुष्यले भन्दछन् पनि— शिव परमात्माए नमः। तर उहाँको जीवन कहानीलाई जान्दैनन्। मनुष्यको जीवन कहानीलाई इतिहास-भूगोल भनिन्छ। दुनियाँको इतिहास-भूगोल त भन्ने गरिन्छ— कति इलाकामा राज्य गर्दथे, कति जमीनमा राज्य गर्दथे? कसरी राज्य गरे फेरि ती कहाँ गए... यी कुरा कसैले जान्दैनन्। तिमी बच्चाहरूलाई राम्ररी सम्झाइन्छ। रचयिता र रचनाको ज्ञान बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा भइसकेको छ— अवश्य अहिले कलियुगको अन्त्य हो र सत्ययुगको आदि हो। संगममा नै परमपिता परमात्मा आएर मनुष्यलाई पतितबाट पावन देवता बनाउनुहुन्छ। उत्तम पुरूष अथवा पुरूषोत्तम बनाउनुहुन्छ किनकि यस समयका मनुष्यहरू उत्तम छैनन् कनिष्ठ छन्। उत्तम, मध्यम, कनिष्ठ, सतो-रजो-तमो हुन्छन्। 

    जसले राम्ररी ज्ञान सुन्छन्, उनलाई सतोगुणी भनिन्छ। जसले अलिकति सुन्छन्, उनलाई रजोगुणी भनिन्छ र जसले सुन्दैनन्, उनलाई तमोगुणी भनिन्छ। पढाइमा पनि यस्तै हुन्छ। तिमी बच्चाहरूलाई सतोप्रधान पढाइ चाहिन्छ, त्यसैले सतोप्रधान लक्ष्मी-नारायण बन्ने ज्ञान तिमीलाई दिइन्छ। नरबाट नारायण, नारीबाट लक्ष्मी बन्नु छ। गीताको लागि पनि तिमीले भन्छौ— यो हो सच्चा गीता। तिमीले लेख्न पनि सक्छौ— यो हो सच्चा गीतापाठशाला अर्थात् सत्य-नारायण बन्ने कथा अथवा सच्चा अमर कथा, सच्चा तिजरीको कथा। चित्र त सबै तिम्रो पासमा छन्, यिनमा सारा ज्ञान छ। तिमी बच्चाहरूले अब प्रतिज्ञा गर्छौ— हामी प्रजापिता ब्रह्माकुमार-कुमारीहरूले विश्वलाई सतोप्रधान, स्वर्ग बनाउँछौं। तिमीले खबर गर्नुपर्छ। गान्धीजीले पनि पावन राज्य चाहन्थे त्यसैले अवश्य अहिले पतित राज्य हो। यो कसैले पनि पनि बुझ्न सक्दैनन्— हामी स्वयं पतित छौं। रावण हो ५ विकार। भन्दछन्— रामराज्य चाहियो, त्यसैले अवश्य आसुरी सम्प्रदाय हुन् नि। तर यो कसैको बुद्धिमा आउँदैन। कति ठूला-ठूला गुरूले पनि यति कुरा बुझ्न सक्दैनन्। तिमी बच्चाहरूले जानकारी दिन्छौ— हामी श्रीमत अनुसार ब्रह्माद्वारा ५ हजार वर्ष पहिले जस्तै दैवी राज्य स्थापना गर्छौं। यो हो पुरूषोत्तम संगमयुग, यसमा तिमी कनिष्ठ पुरूषबाट सतोप्रधान पुरूषोत्तम बन्छौ। मर्यादा पुरूषोत्तम आदि सनातन देवी-देवता धर्म नै हो। अहिले एउटै देवी-देवता धर्मको स्थापना हुन्छ, फेरि अरु धर्म नै हँदैनन्। तिमी बच्चाहरूले सिद्ध गरेर सम्झाउन सक्छौ— सत्ययुगमा एक धर्म, एउटै राज्य थियो। हुन त त्रेतामा सूर्यवंशीबाट चन्द्रवंशीमा जान्छन् तर एउटै भाषा हुन्छ। अहिले त यहाँ अनेक भाषाहरू छन्। बच्चाहरूले जान्दछन्— हाम्रो राज्यमा एउटै भाषा थियो। आजकल त धेरै कुरा देखिन्छ। जसरी यात्राबाट आफ्नो देशतिर नजिक आइपुगेपछि खुशी हुन्छन्, अब आफ्नो घरमा आइपुग्यौं। अब गएर भेट्छु। तिमीलाई पनि आफ्नो राजधानीको साक्षात्कार भइरहनेछ। आफ्नो पुरूषार्थको पनि साक्षात्कार हुनेछ। देख्नेछौ— बाबाले हामीलाई कति भन्नुहुन्छ, पुरूषार्थ गर। नत्र त्राहि-त्राहि गर्नेछौ र पद पनि कम हुन्छ। योगको यात्रा सबैलाई बताउँदै गर। सम्झाउनु त धेरै सहज छ। सिँढी कति सहज छ। जो ढिलो आउँछन् उनलाई दिन-प्रतिदिन सहज ज्ञान मिल्छ। एक हप्ता कोर्स गरेपछि नै सहज बुझ्न सक्छन्। 

    चित्र यस्ता बनेका छन्, जसमा एक्युरेट ज्ञान छ। ८४ जन्मको चक्र बिलकुल ठीक छ। यो हिन्दूहरूको लागि हो। तिमी बच्चाहरूको बुद्धिमा सारा ज्ञान छ। तिमीले जान्दछौ— पतित-पावन, सद्गतिदाता शिवबाबाको मतमा हामीले फेरि सहज राजयोगको बलबाट, आफ्नो तन-मन-धनद्वारा विश्वलाई स्वर्ग बनाउँछौं। अरु कसैको पनि हामी लगाउँदैनौं। आफ्नै तन-मन-धनबाट सेवा गर्छौं। जति जसले गर्छ, त्यति उसले आफ्नो भविष्यको लागि बनाउँछ। तिमी एकै परिवारका हौ। तिमीहरूद्वारा नै बाबाले सत्ययुगी स्वराज्य स्थापना गराइरहनु भएको छ। खर्च पनि तिमीले नै गर्छौ। तिम्रो कुनै धेरै खर्च हुँदैन। तिमीले केवल शिवबाबालाई याद गर्नु छ, कन्याहरूले के खर्च गर्नुपर्छ र! उनको पासमा के नै छ र? बाबाले बच्चाहरूसँग के शुल्क लिनुहुन्छ? केही पनि लिनुहुन्न। विद्यालयमा त पहिले शुल्कको कुरा गर्छन्। वहाँ पढाइमा कति खर्च हुन्छ। यहाँ शिवबाबाले बच्चाहरूसँग कसरी पैसा लिनुहुन्छ? शिवबाबाले आफ्नो घर कहाँ बनाउनु छ र, जसको लागि पैसा लिनु परोस्। तिमी बच्चाहरूले भविष्य स्वर्गमा गएर हीरा जुहारातको महल बनाउनु छ। त्यसैले तिमीले यहाँ जे गर्छौ, त्यसको रिटर्न भविष्यमा तिमीलाई महल मिल्छ। यो धेरै बुझ्नुपर्ने कुरा छ। जति जसले तन-मन-धनबाट सेवा गर्छ, उसले त्यस्तै वहाँ पाउँछ। कलेज वा हस्पिटल बनाउँछन्। त्यसमा १० लाख, २० लाख लगाउनुपर्छ। यहाँ त त्यति खर्च लाग्दैन। सानो घरमा रुहानी कलेज कम हस्पिटल बनाउँछौ। पाण्डवहरूका आदिपति को थिए? उनीहरूले त कृष्णको नाम लेखिदिएका छन्। वास्तवमा हो निराकार भगवान। तिमीलाई श्रीमत दिनेवाला भगवान हुनुहुन्छ। बाँकी त सबै छन् रावणको मतमा, रावण राज्यमा। रावणको मतमा कति फोहोरी बनेका छन्। अब यही सृष्टि पुरानो, यही नयाँ बन्छ। सृष्टिमा भारतवर्ष नै थियो। भारतवर्ष नयाँ, भारतवर्ष पुरानो भनिन्छ। नयाँ भारतवर्ष त स्वर्ग थियो। फेरि पुरानो भएपछि नर्क छ। यसलाई भनिन्छ रौरव नर्क। मनुष्यको नै कुरा हो। यहाँ सुखको नाम निशान छैन। यो कुनै सुख कहाँ हो र! संन्यासीले पनि भन्छन्— यस समयको सुख काग विष्टा समान छ, त्यसैले उनीहरूले गृहस्थ व्यवहारलाई छोडिदिन्छन्। उनीहरूले स्वर्ग वा सत्ययुगको स्थापना गर्न सक्दैनन्। 

    कृष्णपुरी त परमात्माले नै स्थापना गर्नुहुन्छ। श्रीकृष्णको आत्मा र शरीर दुवै सतोप्रधान थियो। त्यसैले कृष्णलाई धेरै प्यार गर्छन् किनकि पवित्र हुन्छन्। गायन पनि गरिन्छ— सानो बच्चा ब्रह्मज्ञानी समान हुन्छ। सानो बच्चालाई विकारको बारेमा थाहै हुँदैन। संन्यासीहरूलाई फेरि पनि थाहा छ। बच्चा त जन्मदेखि नै महात्मा हुन्छ। बच्चाहरूलाई त पवित्र फूल भनिन्छ। नम्बरवन फूल हुन् श्रीकृष्ण। स्वर्ग नयाँ दुनियाँका पहिलो राजकुमार। जन्म लिएपछि भनिन्छ फस्ट प्रिन्स। कृष्णलाई सबैले याद गर्छन् ताकि श्रीकृष्ण जस्तो बच्चा मिलोस्। अब बाबा भन्नुहुन्छ— जे बन्नु छ, बन। केवल एउटा मात्र कृष्ण कहाँ बन्छन् र? प्रिन्स अफ वेल्स कति बन्छन्? सेकेण्ड थर्ड हुन्छन् नि। त्यस्तै यहाँ पनि राजवंश हुन्छ। पिताको पछि फेरि दोस्रो गद्दीमा बस्छ। जस्तै अरु घराना हुन्छन्, त्यस्तै यो घराना हुन्छ। तिम्रो सम्बन्ध नै क्रिश्चियनसँग छ। कृष्ण र क्रिश्चियन दुवैको एउटै राशि हो। लेन-देन पनि आपसमा धेरै चल्छ। भारतबाट उनीहरूले कति धन लिएर गएका छन्। अब फेरि दिइरहेका छन्। रिटर्न सर्भिस गरिरहेका छन्। यी यूरोपवासी आपसमा लडेर खतम हुन्छन्। यसमा एक कहानी पनि छ— दुई बिराला आपसमा लडे, बीचमा मख्खन बाँदरले खायो। यो कुरा अहिलेको हो। उनीहरू आपसमा लड्छन् र राज्य भाग्य तिमीलाई मिल्छ। अहिले तिमी बच्चाहरूलाई अथाह ज्ञान छ। तिमी बच्चाहरूको बुद्धिमा छ— हामी सबै ब्रह्माकुमार-कुमारी हौं। यस्तो होइन— हामी गुजराती हौं, हामी बंगाली हौं। यो मतभेद पनि निस्किनुपर्छ। हामी एक बाबाका सन्तान हौं। ब्रह्माद्वारा शिवबाबाको श्रीमतमा फेरि हामीले आफ्नो स्वराज्य स्थापना गरिरहेका छौं— ज्ञान र योगबलद्वारा। योगबलद्वारा नै हामी पावन बन्छौं। बाबा हुनुहुन्छ सर्वशक्तिमान, उहाँबाट बल मिल्छ। तिमीले विश्वको बादशाही लिन्छौ। लडाईं आदि यसमा केही पनि गर्दैनौ। सारा पवित्रताको बल हो। भन्दछन् पनि— आएर पतितबाट पावन बनाउनुहोस्, त्यसैले यादको नै बल हो। यस्तो होइन, वहाँ गोरखधन्दामा गएर सबै कुरा बिर्सिनु छ। यहाँ सम्मुखमा त ज्ञान सागरको लहर देखिरहन्छौ। नदीमा त ती लहरहरू हुँदैनन्। सागरको एक लहरले कति नोक्सान पार्छ। जब भूकम्प आउँछ, सागर पनि उथल-पुथल हुन्छ। सागरलाई सुकाएर जमीन बनाउँछन्, त्यो जमीन फेरि कति मूल्यमा बेच्छन्। तिमीले जान्दछौ— यो मुम्बई नै रहँदैन। पहिले यो मुम्बई कहाँ थियो र! सानो एक गाउँ थियो। यी माताहरू त भोला छन्। यिनीहरू त्यति लेखे-पढेका पनि छैनन्। यहाँ त पढेको सबै भुल्नुपर्छ। तिमीले केही पनि पढेका छैनौ त्यसैले राम्रो। पढेका मनुष्यहरूले कति प्रश्न गर्छन्। यहाँ त केवल बाबालाई याद गर्नु छ। कुनै पनि देहधारी मनुष्यलाई याद गर्नुपर्ने कुरा छैन। 

    महिमा हो नै एक बेहदका बाबाको। तिमीले जान्दछौ— सर्वोच्च हुनुहुन्छ एक भगवान फेरि सेकेण्ड नम्बरमा ब्रह्मा। यिनी भन्दा उच्च कोही छैन। यिनी भन्दा ठूलो ऋणी (आसामी) कोही छैन। तर हेर कति साधारण रुपले हिँड्छन्। कति साधारण रुपले बच्चाहरूसँग बस्छन्। टे«नमा जान्छन्। सबैले के जानून् यी को हुन्! भगवान आएर ज्ञान दिनुहुन्छ, अवश्य प्रवेश गरेर ज्ञान दिनुहुन्छ नि। यदि कृष्ण भएको भए भीड लाग्थ्यो। फेरि त पढाउन पनि सक्दैनथे, केवल दर्शन गरिरहन्थे। यहाँ त बाबा गुप्त साधारण रुपले बसेर बच्चाहरूलाई पढाउनु हुन्छ। 

    तिमी हौ गुप्त सेना। तिमीले जान्दछौ— हामी आत्माहरूले योगबलबाट फेरि आफ्नो राज्य स्थापना गरिरहेका छौं। यो पुरानो शरीर छोडेर नयाँ गोरो शरीर धारण गर्छौं। अहिले छ आसुरी सम्प्रदाय फेरि बन्छ दैवी सम्प्रदाय। आत्माले भन्दछ— म नयाँ दुनियाँमा दैवी शरीर धारण गरेर राज्य गर्नेछु। आत्मा मेल हो, शरीर प्रकृति हो। आत्मा सदैव मेल हुन्छ। बाँकी हिसाब-किताब अनुसार मेल-फीमेलको शरीर मिल्छ। तर म हुँ अविनाशी आत्मा। यो चक्र घुमिरहन्छ। कलियुगको विनाश पनि अवश्य हुन्छ। विनाशका लक्षण पनि सामुन्ने देखेका छौ। त्यही महाभारत लडाईं हो त्यसैले अवश्य भगवान पनि हुनुहुन्छ। कुन रुपमा, कुन तनमा हुनुहुन्छ? यो तिमी बच्चाहरू बाहेक कसैलाई थाहा छैन। भन्नुहुन्छ पनि— म बिलकुल साधारण तनमा आउँछु। म कृष्णको तनमा आउँदिनँ। यिनैले पूरा ८४ जन्म लिन्छन्। म यिनको धेरै जन्मको पनि अन्त्यमा आउँछु। ८४ जन्म सूर्यवंशी घरानाले नै लिन्छन्। उनै पहिलो नम्बरमा आउँछन्। साकारी वृक्ष र निराकारी वृक्ष दुवैको तिमीलाई सारा ज्ञान छ। मूलवतनबाट नम्बरवार आत्माहरू आउँछन्। सबैभन्दा पहिला देवी-देवता धर्मका आत्माहरू आउँछन् फेरि नम्बरवार अरु धर्मका आउँछन्। चित्रमा ज्ञान त धेरै राम्रोसँग सम्झाइएको छ। बच्चाहरूले सम्झाउनु छ, कुमारीहरू खडा हुनुपर्छ। कोही बच्चीहरूले यस्ता-यस्ता कुरा सम्झाए भने कमाल हुन्छ नि। कति नाम प्रत्यक्ष गर्नेछन्। लौकिक अलौकिक दुवै नाम प्रख्यात गर्नेछन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) संगमयुगमा श्रेष्ठ कर्म गरेर पुरूषोत्तम बन्नु छ। कुनै पनि यस्तो कर्म गर्नु छैन, जसले कनिष्ठ बनाउँछ।

    २) गुप्त रुपमा बाबाको सहयोगी बनेर स्वर्ग बनाउने सेवा गर्नु छ। आफ्नै तन-मन-धनबाट विश्वलाई स्वर्ग बनाउनु छ। याद र पवित्रताको बल जम्मा गर्नु छ।

    वरदान:

    श्रेष्ठ वृत्तिद्वारा प्रवृत्तिलाई प्रगतिको साधन बनाउने सदा समर्थवान भव:-  

    प्रवृत्तिमा वृत्तिद्वारा पवित्र वा अपवित्र बन्छौ। वृत्तिलाई सदा एक बाबासँग लगाऊ, एक बाबा दोस्रो न कोही— यस्तो उच्च वृत्ति रह्यो भने प्रवृत्ति प्रगतिको साधन बन्छ। वृत्ति उच्च र श्रेष्ठ छ भने चञ्चलता हुन सक्दैन। यस्तो श्रेष्ठ वृत्तिद्वारा प्रगति गर्दै गति-सद्गतिलाई सहजै प्राप्त गर्नेछौ। त्यस पछि सबै कम्पलेन समाप्त हुन्छ।

    स्लोगन:

    यदि पवित्रता सपनामा हलचल हुन्छ भने पनि निश्चयको फाउण्डेशन कच्चा छ।   



    ***OM SHANTI***