BK Murli 30 August 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 30 August  2017 Nepali

    २०७४ भाद्र १४ बुधबार ३०-०८-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– बाबाको आदेश छ देही-अभिमानी बन, पवित्र बनेर सबैलाई पवित्र बनाऊ, निश्चयबुद्धि बनेर बाबा सँग पूरा वर्सा लेऊ।”  

    प्रश्न:

    शरीर छोड्ने समयमा कुन बच्चाहरू रुनु पर्छ? यस समय अनेक प्रकारका लडाईं-झगडा वा विभाजन आदि किन छन्?

    उत्तर:

    जसले जीवन छँदै पूरा पुरुषार्थ गर्दैनन्, पूरा वर्सा लिंदैनन्, उनीहरूलाई नै अन्त्यमा रुनु पर्छ। किनकि सबैले आफ्नो असली पितालाई भुलेर अनाथ बनेका छन्। जुन माता-पिताबाट अपार सुख मिलेको थियो, उहाँलाई भुलेर सर्वव्यापी भनिदिएका छन्, त्यसैले आपसमा लडाईं-झगडा गरिरहन्छन्।

    गीत:–

    ओम् नमो शिवाए....

    ओम् शान्ति।

    यो कसले भन्यो– ओम् शान्ति? आत्माले यो शरीरका कर्मेन्द्रियहरूद्वारा भन्यो। आत्मा छ अविनाशी, शरीर छ विनाशी। आत्माले एक शरीर छोडेर अर्को लिन्छ। आत्माले बढीमा ८४ जन्म लिन्छ। यसलाई भनिन्छ नै ८४ जन्मको चक्र। यस्तो होइन सबैले ८४ जन्म लिन्छन्। मनुष्यले त यी कुरालाई जान्दैनन्। गीतमा पनि सुन्यौ शिवाए नमः, सबैभन्दा उच्च हुनुहुन्छ शिव परमात्मा। उहाँ हुनुहुन्छ निराकारी दुनियाँमा रहनेवाला, जहाँ सबै आत्माहरू रहन्छन्। त्यो भन्दा तल सूक्ष्मवतनवासी। सर्वोच्च भगवान्‌को महिमा सुन्यौ शिवाए नमः। तिमी नै माता-पिता, बन्धु सहायक... यो उहाँको महिमा हो। फेरि भन्छन्– ब्रह्मा देवताए नमः.... उहाँ रचयिता, उनीहरू रचना। फेरि हो यो मनुष्य सृष्टि। यस मनुष्य सृष्टिमा नै पावन र पतित बन्छन्। सत्ययुगमा पावन, कलियुगमा पतित हुन्छन्। यहाँ आज भन्दा ५ हजार वर्ष पहिला देवी-देवता थिए। उनीहरू सबै हुन् मनुष्य, तर सर्वगुण सम्पन्न १६ कला सम्पूर्ण थिए। यो हो उनीहरूको महिमा। वहाँ हिंसा हुँदैन। विकारमा जाँदैनन्। उनीहरूलाई भनिन्छ सम्पूर्ण निर्विकारी। विकारी मनुष्यले उनीहरूको महिमा गाउँछन्। हजुर सर्वगुण सम्पन्न, हामी नीच पापी छौं। परमात्मालाई पनि याद गर्छन् तर उहाँलाई कसैले चिनेका छैनन् त्यसैले अनाथ ठहरिए। गाउँछन् पनि– तिमी माता-पिता.... जसबाट अपार सुख मिल्छ। फेरि जब रावण राज्य सुरु हुन्छ अनि मनुष्यले बाबालाई भुलेर पतित अनाथ बन्न पुग्छन्। आपसमा लडाइँ झगडा गरिरहन्छन्। सबै ठाउँमा हेर झगडा नै झगडा छ। कति विभाजन छन्। स्वर्गमा त एउटै लक्ष्मी-नारायणको राज्य थियो। तिमीहरू नै सारा विश्वको मालिक थियौ। अहिले त टुक्रा-टुक्रा छन्। यो समुद्र तिम्रो, यो हाम्रो। यो जमिन हाम्रो, यो तिम्रो... पंजाब, यू.पी., राजस्थान आदि-आदि, अलग-अलग भएका छन्। भाषामा पनि कति झगडा हुन्छ किनकि पारलौकिक माता-पितालाई चिनेका छैनन्। यहाँ स्वर्ग थियो, त्यतिबेला यी कुनै कुरा थिएनन्। अब फेरि स्वर्ग हुनु छ। बाबा बसेर सम्झाउनु हुन्छ, यो सृष्टिको चक्र कसरी फिर्छ। बेहदको बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– तिमी कति बेसमझ बनेका छौ। भन्दछौ पनि हे परमपिता परमात्मा। फेरि उहाँको जिवनीलाई जान्दैनौ। बाबा पतित-पावन, सद्गति दाता पनि हुनुहुन्छ। तिमीले त जान्दछौ, उनीहरूले त भनिदिन्छन्– ईश्वर सर्वव्यापी हुनुहुन्छ। सर्वव्यापी भन्नाले फेरि वर्सा कसरी मिल्छ। अवश्य पिता चाहियो नि, वर्सा दिनेवाला। लौकिक पिताले बच्चाहरूलाई जन्माउँछन्, फेरि उनीहरूलाई सोध– तिम्रो पिता कहाँ हुनुहुन्छ? के सर्वव्यापी भन्छन् र? अरे, बेहदका पिता त रचयिता हुनुहुन्छ नि। 

    उहाँलाई नै सबै भक्तहरूले पुकार्छन्– हे पतित-पावन, शिवबाबा आएर हामीलाई पतितबाट पावन बनाउनु होस्। जसरी स्वर्गमा पावन थियौं, त्यसैगरी हामीलाई आएर फेरि पावन बनाउनु होस्। हामी धेरै दुःखी छौं। जहिले देखि रावण राज्य सुरु हुन्छ, सबै मनुष्य पतित हुन थाल्छन्। द्वार-द्वारा धक्का खाइरहन्छन्। सम्झन्छन्– सबैमा परमात्मा हुनुहुन्छ। मूर्तिहरू ढुंगा-माटोले बनेका छन् नि, सम्झन्छन्– यसमा पनि भगवान् हुनुहुन्छ। अरे, पत्थरमा भगवान् कहाँबाट आउने! उहाँ त परमधाममा रहनुहुन्छ। कति धेरै चित्रहरू बनाउँछन् फेरि जब पुरानो हुन्छ अनि फ्याँकिदिन्छन्। यो हो गुडियाको पूजा। भन्दछन्– हे बाबा! हामीलाई सद्गति दिनुहोस्। सर्वका सद्गति दाता एउटै पतित-पावन शिवबाबा हुनुहुन्छ। उहाँलाई सबै मनुष्यले बिर्सिएका छन्। उहाँलाई सबैले याद गर्छन्। सबैका पतिहरूका पति अथवा पिताहरूका पिता उहाँ हुनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब पावन बन। तिम्रो आत्मा अब पतित भएको छ, मैला परेको छ। सच्चा सुनमा मिलावट गर्नाले अथवा अलाए पर्नाले सुनको मूल्य कम हुन जान्छ। त्यस्तै यो पनि तमोप्रधान दुनियाँ हो। पहिला गोल्डन एजमा छँदा सम्पूर्ण निर्विकारी थियौं। फेरि सिल्वरको खाद पर्योब फेरि कपर, आइरनमा आउँछौं। आत्मा पतित हुँदै जान्छ। अहिले त बिल्कुल नै आइरन एजको भएको छ। यही दुनियाँ सतोप्रधान थियो, अहिले तमोप्रधान बनेको छ। जो जो पहिला थिए, अवश्य उनीहरूलाई नै ८४ जन्म लिनु पर्छ। क्रिश्चियन आउँछन् नै पछि, उनीहरूले ८४ जन्म लिन त सक्दैनन्। उनीहरूले ३५-४० जन्म पाउँछन् होला। सृष्टिको आयु पनि अब पूरा हुन्छ फेरि नयाँ बन्छ। नयाँ दुनियाँमा हुन्छ सुख, पुरानो दुनियाँमा हुन्छ दुःख। पुरानो घरलाई भत्काइन्छ नि। पुरानो दुनियाँमा त सबै दुःखी छन्। फेरि यी सबैलाई सुखी बनाउनेवाला त बाबा नै हुनुहुन्छ। सत्ययुगमा जति पनि आत्माहरू थिए सबै सुखी थिए। बाँकी सबै आत्माहरू शान्तिधाममा थिए, जसलाई फेरि साइलेन्स वर्ल्ड भनिन्छ। साइलेन्स वर्ल्ड फेरि सूक्ष्मवतन। वहाँ शरीर नै हुँदैन भने आत्माले आवाज कसरी गर्छ। अहिले सबै आत्माहरू तमोप्रधान छन् त्यसैले यसलाई आइरन एज भनिन्छ। पहिला गोल्डन एजमा थियौं अब फेरि बाबा आएर गोल्डन एजमा लैजानुहुन्छ। मनुष्यलाई देवता बनाउनुहुन्छ। सत्ययुगमा स्त्री पुरुष दुवै पवित्र रहन्छन्। त्यसलाई रामराज्य भनिन्छ। अहिले त छ रावणराज्य, एक अर्कालाई काम कटारी चलाएर दुःखी बनाइरहन्छन्। भगवान् भन्नुहुन्छ– प्यारा बच्चाहरू! काम महाशत्रु हो, यसले नै तिमीलाई दुःखी बनाएको छ। तिमी बच्चाहरू गिर्दै आयौ। अहिले त कुनै कला रहेन फेरि १६ कला सम्पूर्ण बनाउन बाबा आउनु भएको छ। यसमा संन्यासीहरूले जसरी घरबार छोड्नु छैन। 

    पावन दुनियाँमा जानको लागि यस अन्तिम जन्म तिमी पवित्र अवश्य बन्नु छ। जो बाबाद्वारा पवित्र बन्छन् उनै पवित्र दुनियाँको मालिक बन्छन्। यहाँ तिमी बच्चाहरू आएका छौ बाबाको पासमा। यो हेड अफिस हो, जहाँ सबै आउँछन्। पारलौकिक बाबा आत्माहरूलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब देही-अभिमानी बन। आत्माहरूले पनि भन्दछन्– हुन्छ बाबा हामी हजुरको आदेश अवश्य मान्छौं। पवित्र बन्छौं। यो श्रीमत हो नि। श्रीमतबाट नै श्रेष्ठ बन्नु छ। रावणको मतबाट तिमी भ्रष्ट बनेका छौ। यस शरीरद्वारा आत्माले भन्छ– हे बाबा हामी हजुरको बनेका छौं। बाबा भन्नुहुन्छ– म आएको नै हुँ सबैलाई सद्गति गर्न। पाप आत्माबाट पुण्य आत्मा बनाउनको लागि। पवित्र अवश्य बन्नु छ। पहिला जब पवित्र बनेर ब्रह्माकुमार-कुमारी बन्छौ, तब नै शिवबाबाबाट स्वर्गको सुखको वर्सा पाउँछौ। तिमी फेरि आएका छौ– बाबा सँग वर्सा लिन। तिमी जुन देवी-देवता धर्मका थियौ, तिमीले नै ८४ जन्म लिएका छौ। अहिले ती देवी-देवता छैनन्। देवताहरू जुन पतित बनेका छन्, उनीहरू नै आएर पावन बन्छन्। जुन आएका नै पछि छन्, उनीहरू स्वर्गमा जान सक्दैनन्। जुन देवी-देवता धर्मवालाको ८४ जन्म पूरा भएको छ, उनीहरू नै फेरि पनि देवता बन्नु छ। बाबा भन्नुहुन्छ– म नै आएर ब्रह्माद्वारा देवी-देवता बनाउँछु। पवित्र नबनी तिमी देवी-देवता बन्न सक्दैनौ। यी कुरालाई बुझ्छ उसैले, जो आएर ब्रह्माकुमार कुमारी बन्छ। प्रजापिता गायन नि– मनुष्य सृष्टिको जगत् पिता र जगत् अम्बा। उनीहरूका यतिका बच्चा कसरी हुन्छन्। अहिले छन् ब्रह्मा मुख वंशावली। सबैले मम्मा-बाबा भन्छन्। कसरी बच्चा बने? शिवबाबाले ब्रह्माद्वारा तिमीलाई आफ्नो बनाउनु भएको छ। तिमीले शिवबाबालाई याद गर्दछौ, उहाँबाट स्वर्गको वर्सा लिन। सबै ब्रह्माकुमार-कुमारीहरू आपसमा भाइ-बहिनी ठहरियौ । यो हो युक्ति। बाबा भन्नुहुन्छ तिमी गृहस्थ व्यवहारमा बरु बस तर कमल फूल समान पवित्र होऊ। यो गरेर देखाऊ। घरबार छोड्ने कुरा होइन। आफ्नो रचनाको सम्हाल पनि गर, केवल पवित्र होऊ त यी देवताहरू जस्तो फेरि बन्छौ। देवी-देवता धर्मको स्थापना त अवश्य हुनु छ। बाबा बच्चाहरूलाई सम्मुख बसेर सम्झाउनुहुन्छ। 

    यो मधुबन हो हेड अफिस। कति सेन्टरहरू खुली राख्छन्। जो कल्प पहिला ब्रह्माकुमार-कुमारिहरू बनेका थिए उनै फेरि ब्राह्मणबाट देवता फेरि क्षत्रिय, वैश्य, शूद्र बन्दै आए। अब फेरि ब्राह्मण बन्नु पर्छ। चोटी ब्राह्मणहरूको हुन्छ नि। यी वर्णहरूबाट पास हुनु छ। बाबा भन्नुहुन्छ– तिमी नै देवी-देवता थियौ। अहिले तिमी फेरि शूद्रबाट ब्राह्मण बनेका छौ, देवी-देवता बन्नको लागि। तिमी पवित्र बन्छौ। गायन पनि छ– कुमारी त्यो हो, जसले २१ पीँढीको उद्धार गरोस्। तिमीहरू सबै ब्रह्माकुमार कुमारीहरू हौ। कुमार र कुमारीहरू त दुवै चाहिन्छ नि। तिमीले हर एकलाई २१ पीँढीको लागि सदा सुखको बाटो बताउँछौ। जाऔं– आफ्नो सुखधाम, यो हो दुःखधाम। अब बाबालाई याद गर्नु छ। बाबा भन्नुहुन्छ– पवित्र बन र म एकलाई याद गर। कुनै पनि देहधारीलाई याद नगर। बाबा नै बसेर बच्चाहरूलाई अपार सुख दिनुहुन्छ। अहिले कति दुःख छ। दुःखमा नै भगवान्‌लाई याद गरिन्छ। बाबाले स्वर्गमा लैजानुहुन्छ फेरि वहाँ किन याद गर्ने। भन्दछन्– हे प्रभु, अन्धाहरूको लठ्ठी। तर जानेका त केही पनि छैनन्। लक्ष्मी-नारायणको अगाडि पनि गएर भन्छन्– तिमी माता-पिता... अब उनीहरू त हुन् स्वर्गको मालिक। उनीहरू सबैको माता-पिता कहाँ हुन सक्छन् र। कृष्ण एक राजधानीको, राधा अर्को राजधानीको। फेरि उनको सम्बन्ध हुन जान्छ। स्वयंवर पछि फेरि नाम बद्लिन्छ। विष्णुको दुई रूप लक्ष्मी-नारायण बन्छन्। दीपावलीमा महालक्ष्मीलाई बोलाउँछन् नि। उनीहरू हुन् युगल। अहिले तिमी काम चिताबाट उत्रेर ज्ञान चितामा बस्छौ। तिमी हौ सच्चा ब्राह्मण। तिमीले पवित्रताको प्रतिज्ञा गराउँछौ। बेहदका बाबा भन्नुहुन्छ– पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्छौ। घर बसेर पनि याद गर्न सक्छौ। बाबा भन्नुहुन्छ– तिमीहरू सबैलाई मेरो पास आउनु छ। मर्नु त सबैलाई छ। यो उही महाभारतको लडाईं हो। यहाँ हुन्छ यौवनहरूको लडाईं। सत्ययुगमा कुनै लडाईं आदि हुँदैन। बाबा भन्नुहुन्छ– तिमीले यस रावणलाई जित। बाँकी लडाईं आदिको कुनै कुरा होइन। यो महाभारतको लडाईं पनि लाग्छ। बाँकी थोरै बाँच्छन्। भारतवर्ष हो अविनाशी खण्ड, बाँकी खण्ड खतम हुन्छन्। बाबाले सबैलाई वापस लैजानुहुन्छ। बाबाले सबैको सद्गति गर्नुहुन्छ। आत्माहरूलाई वापस लैजानुहुन्छ। अहिले तिमीले बाबा सँग वर्सा लिइरहेका छौ। संन्यासीले त दिन सक्दैनन्। उनीहरू कहाँ स्वर्गको रचयिता हुन् र। अहिले स्वर्गको स्थापना भइरहेको छ। बाँकी नर्कका मनुष्य सबै खतम हुन्छन्। मर्नु त छ, किन जीवन छँदै वर्सा नलिने। नत्र रुनु पर्नेछ। कुम्भकर्णको आसुरी निद्राबाट अन्तमा जाग्छन्। अहिले सारा चक्रको ज्ञान तिम्रो बुद्धिमा छ। तिमी नै पूज्य थियौ फेरि पुजारी बन्यौ फेरि पूज्य बन्छौ। पावन राजाहरू पनि थिए, पतित राजाहरू पनि थिए। अहिले राजा छैनन्। प्रजाको प्रजा माथि राज्य छ। फेरि सृष्टि दोहोरिन्छ, सत्ययुगमा आउनु छ। शिवबाबाले यिनको मुखबाट भन्नुहुन्छ– तिमी मेरा बच्चा हौ। तिमीले पनि भन्छौ– हो बाबा, हामी हजुरका बच्चा हौं। यो हो मुख वंशावली। तिमी ईश्वरको परिवार हौ। भगवानुवाच– एक बाबालाई याद गर। हामी आत्माहरू अब स्वीट होममा जान्छौं, जहाँ बाबा रहनुहुन्छ। फेरि बाबाले स्वीट स्वर्गमा पठाउनुहुन्छ, वहाँ पनि शान्ति र सुख हुन्छ। तिमी यहाँ आएका छौ पवित्रता, सुख, शान्तिको वर्सा लिन। २१ जन्मको लागि यो पढाइ हो। तिमीले यहाँको लागि पढ्दैनौ। यो हो नै मृत्युलोक। तिमीले अमरनाथद्वारा अमरकथा सुनेर अमर बन्छौ। जसले बाबा सँग आएर बुझ्छन्, उसैले पवित्रताको प्रतिज्ञा गर्छ। उही फेरि आएर वर्सा लिन्छ। ब्रह्माकुमार-कुमारीहरू त बढ्दै जान्छन्। दिन प्रतिदिन सेन्टर खुल्दै जान्छन्। शूद्रबाट ब्राह्मण बन्दै जान्छन्। अच्छा!


    धारणाको लागि मुख्य सारः

    १) बाबाबाट स्वर्गको वर्सा लिनको लागि गृहस्थ व्यवहारमा रहेर, रचनाको सम्हाल गर्दै कमल फूल समान पवित्र बन।

    २) हरेकलाई २१ पीढीको लागि सुखी बनाउने बाटो बताउनु छ। ज्ञान चितामा बसेर शूद्रबाट ब्राह्मण र फेरि देवता बन्नु छ।

    वरदान:

    आफ्नो शक्तिशाली मनसा शक्ति वा शुभ भावनाद्वारा बेहद सेवा गर्ने विश्व परिवर्तक भव   

    विश्व परिवर्तकको लागि सूक्ष्म शक्तिशाली स्थितिवाला आत्मा चाहिन्छ, जसले आफ्नो वृत्तिद्वारा, श्रेष्ठ संकल्पद्वारा अनेक आत्माहरूलाई परिवर्तन गर्न सकोस्। बेहदको सेवा शक्तिशाली मनसा शक्तिद्वारा, शुभ भावना र शुभ कामनाद्वारा हुन्छ। केवल स्वयं प्रति भावुक होइन, अरूलाई पनि शुभ-भावना, शुभ-कामनाद्वारा परिवर्तिन गर। बेहदको सेवा वा विश्वको सेवा सन्तुलन राख्ने आत्माहरूले गर्न सक्छन्। भावना र ज्ञान, स्नेह र योगको सन्तुलनद्वारा विश्व परिवर्तक बन।

    स्लोगन:

    बुद्धि रूपी हात बापदादाको हातमा दियौ भने परीक्षा रूपी सागरमा हल्लिदैनौ।  



    ***OM SHANTI***